राजविराज घटनाको राजनीतिक आयाम

rajendra kiratiराजेन्द्र किराती

 

राजविराज घटनामा पाँच जना मधेशी मोर्चाका कार्यकर्ता मारिए भने दर्जनौँ घाइते भए ।  एमालेको मेची महाकाली अभियानमा आयोजित कार्यक्रममा यो दुःखद घटना भएको थियो ।  भावनात्मक तथा प्राविधिक आयामबाट मूल्याङ्कन गर्दा एमालेको अभियान र मधेशी मोर्चाको विरोध कार्यक्रम स्वाभाविक नै देखिन्छ ।  किनकि लोकतन्त्रमा एजेण्डा मिले समर्थन र नमिले विरोध सँगै हुने गर्छ ।  तर राजनीतिक आयामबाट हेर्दा यो दुवै अतिवादी प्रवृत्तिकै परिणाम हो ।  चरम विरोध र वितृष्णाको वीचमा एमालेले कार्यक्रम गरेरै छाड्ने अतिवादी हठ र मधेशी मोर्चाले बिथोल्नै पर्ने अतिवादी सोच नै राजविराज घटनाको मुख्य कारण हो ।  यता सुरक्षाकर्मीले पनि निशस्त्र नागरिक माथि टाउको र छातीमा ताकेरै गोली हान्नु गैरसंवैधानिक हर्कत देखिन्छ ।
कुनै पनि दलले कार्यक्रम गर्नु र विरोध गर्नु लोकतन्त्रमा सामान्य प्रक्रिया हो ।  सरकार र प्रतिपक्ष, समर्थन र विरोध अनि सहमति र असहमति लोकतान्त्रिक चरित्र नै हो ।  समर्थन र विरोध गर्दैमा आकाशै खस्दैन तर यो नितान्त स्वाभाविक र सहज परिस्थितिमा मात्र सम्भव हुन्छ ।  पछिल्लो समय नेपालको लोकतान्त्रिक प्रक्रिया जटिलतातर्फ उन्मुख देखिन्छ ।  यहाँ एकातिर जवर्जस्तरूपमा ढोंँगी र चुनावी अतिराष्ट्रवादी प्रवृत्ति हावी हुँदैछ भने अर्कोतिर उत्पीडन र विभेदको नाममा अतिसाम्प्रदायिक सोच झाँगिएको देखिन्छ ।  अतिराष्ट्रवादी प्रवृत्तिले अन्तरविरोध, असमानता र अन्यायलाई बेवास्ता गर्छ ।  जनतन्त्र र जनजीविकालाई ओझेलमा राख्छ ।  पञ्चायती मण्डले राष्ट्रवाद यसैको नमुना हो ।  अमेरिकी राष्ट्रपति ट्रम्पसम्म आउँदा यो विश्वको प्रवृत्ति नै बनेको देखिन्छ ।  सर्वसाधरण जनतामाथि ‘ईमोशलन ब्ल्याकमेलिङ’ गर्दै चुनावी च्याँखे दाउ हान्ने प्रवृत्ति नै अतिराष्ट्रवाद हो ।  त्यसैले चुनावी मसलामा आधारित भौगोलिक राष्ट्रवाद ढोँगी, पाखण्ड र नक्कली हुने गर्छ  ।  यो सार्वभौम सच्चाइ हो ।
‘ब्ल्याकमेलिङ’ गर्ने अतिवादी राजनीतिक खेतीको लहर नै देखिन्छ ।  मधेशी जनताहरू उत्पीडनमा पारिएका छन,् यसमा दुईमत छैन ।  पहाडभन्दा मधेशमा विभेद र उत्पीडनको खाडल भयावह हुनुको साथै अन्तरविरोधहरू भयावह छ ।  मधेशमा राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक समस्या असाध्यै विकराल छ तर मधेशी अगुवाहरूबाट यसको स्थायी व्यवस्थापन गर्ने वस्तुवादी आधार छैन ।  उनीहरूको सभ्रान्त वर्गीय र साम्प्रादायिक अतिवादी सोच नै राजनीतिक अधिकार प्राप्तिको बाधक हुने खतरा देखिन्छ ।  प्रगतिशील विचारअन्तर्गत समानता र सामाजिक न्यायसहितको सार्वभौम वा सग्लो नेपाल निर्माणमा केन्द्रित राजनीतिक आन्दोलन बाहेक अरू सबै भ्रम हुन् ।  अर्थात् न्याय र समानता प्राप्तिका लागि कुनै पनि अतिवाद सहयोगी हुनसक्दैन ।  यो सच्चाइलाई अझै नबुझ्ने हो भने योभन्दा गम्भीर धोका खानुको विकल्प छैन ।
अतिवादी सोच वर्तमान विश्वको मूल प्रवृत्ति हो ।  अतिवादमा राजनीतिकभन्दा प्राविधिक र भावनात्मक आयाम अन्तरनिहीत हुन्छ ।  यसमा आतङ्कवाद बाहेक अति राष्ट्रवाद र अति साम्प्रदायिकतावाद पर्छ ।  अति राष्ट्रवादले आन्तरिक राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई बेवास्ता गर्छ ।  पञ्चायत कालमा यसलाई मण्डले राष्ट्रवाद भनिन्थ्यो ।  यता अति साम्प्रदायिकताले राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई बेवास्ता गर्छ ।  कुनै पनि मुलुकको राष्ट्रिय राजनीतिमा यस्ता अतिवादी प्रवृत्तिहरू मूल पक्ष हुन सक्दैन ।  यसले केवल दलको आयतन बढाउने र घटाउने, नेता बनाउने, भावनात्मक खेती गराउने अनि क्षणिक आत्मरति दिलाउने काम त गर्ला ।  तर राजनीतिक आयामलाई स्थापित गर्दै दीर्घकालीन राजनीतिक निकास दिन सक्दैन ।  यो नितान्त गलत, ढोँगी, भ्रमपूर्ण र पाखण्डी प्रवृत्ति हो ।    
 यस्तो संवेदनशील धरातलमा मधेशवादी दलहरूले उत्पीडन र विभेदको बहानामा उग्र साम्प्रदायिक राजनीतिक व्यापार त्याग्न जरुरी छ ।  मधेशी श्रमजीवी वर्गमा थोपरिएको सबै खाले उत्पीडनहरूको आवरणमा ‘ईमोशनल ब्ल्याकमेलिङ’ गर्दै आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने अवसरवादी प्रवृत्ति खेदजन्य देखिन्छ ।  मधेशी, थारू, जनजाति लगायतका उत्पीडित जनसमुदायहरूको वास्तविक उन्मुक्ति नै हाम्रो राजनीतिक कार्यभार हो ।  अन्तरविरोधहरूको न्यूनीकरण इतिहासको अपरिहार्य आवश्यकता हो ।  साँचो अर्थमा तमाम मधेशी लगायतका उत्पीडित जनसमुदायहरूको समग्र मुक्ति आन्दोलन सत्य हो भने ‘सुगरकोटेड’ नारा, भाषणवाजी र प्रतिबद्धताहरू सबै भ्रम हुन् ।  
यता अति राष्ट्रवादी ढोँगलाई एमालेले चुनावी छक्कापञ्जाको रणनीतिक दाउमा राख्दा अस्वाभाविक दुर्घटनाहरू भइरहेका छन् ।  समग्र राजनीति अनिर्णयको गोलचक्करमा घुमिरहेको छ ।  राष्ट्र, राष्ट्रियता, जनजीविका र जनतन्त्र अन्तरसम्बन्धित मुद्दाहरू हुन् ।  असली राष्ट्रवादको दायाँ र बायाँ दुवैतर्फ आन्तरिक राष्ट्रवाद र अन्तर्राष्ट्रियतावाद अन्तरनिहीत हुन्छ ।  यी द्वन्द्वात्मक पक्षहरूको वस्तुवादी समायोजनमा आधारित राष्ट्रवादले मात्र राष्ट्रिय सार्वभौमसत्ता, समानता र न्याय स्थापित गर्न सक्छ ।  आन्तरिक राष्ट्रियता र अन्तरराष्ट्रियतावादी सोचविनाको राष्ट्रवाद केवल ढोग र भ्रम मात्र हुन्छ ।  यसको अन्तरवस्तु महेन्द्रको मण्डले राष्ट्रवादजस्तै हो, जहाँ राष्ट्रियताको नारामा ‘इमोशनल ब्ल्याकमेलिङ’ गर्दै आन्तरिक राष्ट्रियता, जनजीविका र जनतन्त्रको घाँटी निमोठिदै आएको छ ।  त्यसैले जनतामाथि ‘इमोशनल’ व्यापार गर्ने कुञ्जी नै अतिराष्ट्रवाद हो ।  यसले राष्ट्रियताको रक्षा नगर्नुको साथै जनतामाथिको अन्याय र विभेदहरूको अन्त्य गर्दैन ।  एमालेजनहरूको अति राष्ट्रवादी ढोंग यही कोटीमा पर्छ ।
प्राविधिक तथा भावनात्मक आयामबाट राजविराज घटनाको विश्लेषण गर्दा एमाले र मोर्चाको आआफ्नै दाबी रहेको छ ।  यसमा एउटाले अति राष्ट्रवादी र अर्कोले अति साम्प्रदायिकतावादी प्रवृत्तिको प्रतिनिधित्व गर्छ ।  दुवै पक्षहरूलाई आफ्नो अडान वा हठ जायज लागिरहेको हुन सक्छ ।  भावनात्मक आयाम अनुरूप एमालेले राष्ट्रिय स्वाधीनता र मधेशी मोर्चाले उत्पीडिन र विभेदविरुद्ध लडिरहेको दाबी गरिरहेका छन् तर राजनीतिक आयामबाट संश्लेषण गर्दा यी अति राष्ट्रवादी र अति साम्प्रदायिकतावादी गलत सोचकै वास्तविक प्रतिबिम्बहरू हुन् ।  मूलतः यस्तो गलत रवैयाले वैदेशिक चलखेलको सम्भावना बढाइदिन्छ ।  उनीहरूका लागि हस्तक्षेपको उर्वर भूमि नै अतिवादद्वारा सिर्जित अस्थिरता, अनिर्णय र अन्योल नै हो ।  
त्यसैले, स्थानीय तह निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको प्रक्रियामा जानको लागि कुनै पनि अतिवादी प्रवृत्ति सहयोगी हुँदैन ।  यस्तो निषेध र हठ मानसिकताले निर्वाचन गरी संविधान कार्यान्वयनसँगै जनताको चीरप्रतिक्षित गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक लगायतका अग्रगामी एजेण्डाहरू संस्थागत गर्ने वातावरण बन्दैन ।  यता परिवर्तनकारी एजेण्डाविरुद्ध प्रतिगामी चलखेल शुरु भइसकेको देखिन्छ ।  राजनीतिक दलहरूमा साम्राज्यवादी दोहोरो घुसपैठ भइरहेको वास्तविकतालाई इन्कार गर्न सकिन्न ।  तसर्थ अतिवादी अडान र घमण्डलाई पन्छाउँदै, निषेधको राजनीतिलाई त्याग्दै अनि हदैसम्मको संयम अपनाउँदै सबैलाई समेटेर निर्वाचनमा जानुको अर्को विकल्प छैन ।  अन्यथा अरू सप्तरी दोहारिने खतरा हुन्छ ।  सरोकारवालाहरूलाई समयमै चेतना होस् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना