कञ्चनपुर काण्डको कठोर पाठ


puskar mathemaपुष्कर माथेमा

 

नेपाल तथा भारतबीचको सम्बन्ध विश्वकै दौत्य सम्बन्धका सन्दर्भमा विशेष किसिमको छ ।  यो विशिष्ट सम्बन्ध फूलै फूलले बनेको भने छैन ।  भारतको ‘ठूल्दाजु’ प्रवृत्तिका कारण छरपस्ट रूपमा उम्रेका काँडाहरूले ‘सुमधुर’ भनिने सम्बन्धलाई बेला बेलामा चिथोर्ने गरेको छ ।  अघोषित नाकाबन्दीको घाउको पीडा नेपालीको मनबाट अझै बिलाएको छैन, सीमा अतिक्रमणको समस्या त दीर्घरोगकै रूपमा जारी छ ।  आन्तरिक मामिलामा खुला हस्तक्षेपदेखि लिएर नागरिकता विवादसम्मका चिसो सिरेटोले द्विपक्षीय सम्बन्धलाई चिर्ने गरेको छ ।  सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय नियम मिचेर भारतीय पक्षबाट भइरहेका निर्माण कार्यजन्य पीडा नेपालीको नियमित नियति बनिरहेको छ ।  अन्तर्राष्ट्रिय सीमा अनुशासनविपरित भारतीय एसएसबीको घुसपैठबाट भएको नेपाली जनधन क्षतिको लामै सूची छ ।  पछिल्लो दुर्घटना कञ्चनपुरको सीमामा अवस्थित आनन्दबजारमा भएको छ ।  फागुन २६ गते भारतीय ज्या२दतिले एक नेपाली युवकको बली लिएको छ ‘रोटीबेटीको सम्बन्ध’मा रगतको छिटा छ्याप्दै ।  
भारतसँग जोडिएको एक हजार ८८० किमि लामो सीमास्थित नेपालका २६ जिल्लामध्ये २३ वटा जिल्ला सीमा विवादबाट मुक्त छैन ।  कतिपय स्थानका जग्गाको लालपूर्जामा नेपाल सरकारको छाप छन् तर ती जग्गाको वरैसम्म भारतीयको कब्जा छ भने सीमालाई जनाउने कतिपय जङ्गे स्तम्भको अस्तित्व मेटिइसकेको छ ।  दशगजा क्षेत्रमा मानवीय गतिविधि हुन नहुने अन्तर्राष्ट्रिय मान्यता नेपाल–भारत सीमाका लागि ‘कागजका फूल’ भइरहेको प्रतीत हुन्छ ।  सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपालका २३ जिल्लाका ७१ स्थानमा गरी ६० हजार छ सय हेक्टर जमिन भारतीय अतिक्रमणको शिकार बनेको छ र सन् १८५७ मा निर्मित जङ्गे स्तम्भ उखेलेर भारतीय नागरिक घुस्नु तथा नदीले प्राकृतिक रूपमा बाटो फेर्नु नै सीमा अतिक्रमणका मूल कारण हुन् ।  उहाँका अनुसार नेपाल–भारत सीमासम्बन्धी नक्सामा आठ हजार ५५३ सीमा स्तम्भ स्थापना गर्नुपर्ने उल्लेख भए पनि चार हजार दुई सय स्तम्भ मात्र निर्माण गरिएका थिए भने तीमध्ये एक हजार आठ सय स्तम्भ लोप भएको अवस्था छ ।  कञ्चनपुर घटना पनि नेपाल–भारतबीचको सीमासम्बन्धी अस्पष्टताकै उपज हो ।  विवाद भएको स्थानमा १९९ र २०१ नम्बरको खम्बा छ तर २०० नम्बरको खम्बा छैन ।  यसैको फाइदा उठाउँदै नेपाली सीमाभित्र आएर भारतीय पक्षबाट गोली चलाइएको छ ।
एक महिनापूर्व दुई देशबीच भएको सहमति अनुरूप नै नेपाली पक्षबाट कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित आनन्दबजारको नालामा निर्माण भइरहेको कल्भर्ट भारतीय सीमा सुरक्षा बलले मध्यरातमा भत्काउँदा सिर्जित घटना क्रमले गोविन्द गौतमलाई शहीद बनाइदियो ।  आनन्दबजार घटनामा पनि नेपाली पक्षबाट प्रदर्शित संवेदनशीलताका कारण नै दुर्घटनाले थप गम्भीर रूप लिन पाइरहेको छैन तर यहाँनिर यो प्रश्नलाई ओझेलमा पार्न सकिँदैन ।  आखिर यो एकपक्षीय सहिष्णुता र मौनता
कहिलेसम्म ? भारतको केन्द्र नेपाल–भारतबीच अतुलनीय सौहाद्र्रपूर्ण सम्बन्धबारे बोल्दै नथाकिरहेको समयमा सीमामा तैनाथ सेनाको बन्दूकबाट नेपालीको छाति प्वाल पर्नु हुँदैन थियो तर त्यसो भएको छ ।  यसको अर्थ मात्र दुईवटा हुन सक्छ– स्थानीय सुरक्षा बलमाथि केन्द्रको नियन्त्रण छैन अथवा भारतको केन्द्रीय सत्ताको बोली र व्यवहारमा समानता छैन ।  भारतीय प्रधानमन्त्रीले छिमेकीलाई प्राथमिकता दिनेसम्बन्धमा व्यक्त प्रतिबद्धतामाथि पनि गम्भीर प्रश्न उठाएको छ यस घटनाले ।
यस घटनाबारे नेपाल सरकारले दुःख व्यक्त गर्नुका साथै भारतीय सरकारलाई औपचारिक रूपमा जानकारी गराउँदै भारतलाई कूटनीतिक नोट पठाएको छ तर भारत सरकार नेपालीको घाउमा सहानुभूति देखाउनुको स्थानमा स्व. गौतमको शवपरीक्षण प्रतिवेदन मागिरहेको छ, नेपालस्थित भारतीय राजदूतावास एसएसबीले गोली चलाएकै हैन भन्ने अडान लिइरहेको छ ।  भारतीय नाकाबन्दीका क्रममा प्रदर्शनमा संलग्न भारतीय नागरिकको मृत्यु हुँदा नेपालका प्रधानमन्त्रीलाई फोन गरेर चासो व्यक्त गर्ने भारतीय प्रधानमन्त्रीले आफ्नै सेनाको हातबाट नेपालीको मृत्यु हुँदा नेपाली प्रधानमन्त्रीलाई फोन गर्ने औपचारिकतासम्म पनि देखाउन सकेको छैन ।  सन् १९६० मा चिनियाँ सुरक्षाकर्मीको गोलीबाट मुस्ताङमा एक नेपालीको मृत्यु हुँदा चीनले माफी मागेकोबारे जानकार नेपाली गौतमको मृत्युप्रति भारतको मौनताबाट स्तम्भित बनेका छन् ।  
नेपालको सार्वभौमसत्तालाई उपेक्षा गर्ने भारतीय प्रवृत्तिविरुद्धको विद्रोह कहिले तिलाठी बनेर उठ्ने गरेको छ भने पछिल्लो अत्यन्त संवेदनशील विद्रोह कञ्चनपुरमा देखिएको छ ।  कञ्चनपुरको आनन्दबजार भएको भारतीय एसएसबीको ताण्डव नृत्यका कारण सिङ्गो नेपालको स्वाभिमान दुखेको छ ।  भारतीय सञ्चार माध्यम भने विगतमा झैँ यस घटनामा पनि नेपाललाई दोषी देखाउने कुत्सित प्रयासमा लिप्त छ ।  नेपाल–भारत सीमास्थित दशगजामा नेपाली पक्षबाट मध्यरातमा लुकीलुकी पुल निर्माण गरिरहेको, भारतीय एसएसबीमाथि हमला भइरहेको, भारतीय क्षेत्रमा घुसेर नेपालको झण्डा गाडेको जस्ता मनगढन्ते जानकारीबाट भारतीय सञ्चार माध्यम भरिएको छ ।  संवेदनशील समयमा नेपालसम्बन्धमा गलत जानकारी दिएर स्थितिलाई थप गम्भीर बनाउन उद्यत हुने भारतीय सञ्चार माध्यम फेरि सक्रिय भइरहेको छ ।  नेपालबाहिरको विश्व सञ्चार माध्यमकै सूचनामा भर पर्ने भएकाले यस किसिमका भ्रामक जानकारीलाई चिर्ने र विश्व समुदायलाई यथार्थबारे सुसूचित गर्न नेपाली सञ्चार माध्यम सक्रिय हुनुपर्ने अवस्था अहिले छ ।  
नेपालमाथि भएको अन्तर्राष्ट्रिय अतिक्रमणविरुद्ध नेपालीलाई नै पीडा हुनेगरी बन्द जस्ता विरोध कार्यक्रम हुनु अँध्यारो कुनामा बसेर रुनु मात्र हो ।  यसको अर्थ ज्यादतीलाई सहेर बस्नु भने कदापि होइन ।  विरोध प्रदर्शन वा वक्तव्यबाजी राजनीतिक स्वार्थका लागि नभई ठोस समाधान निकाल्नका लागि हुनुपर्दछ ।  भारतीय बलमिच्याइँको विरोध नेपाली चढ्ने गाडीमा आगो लगाएर होइन, सीमा क्षेत्रमा एकता प्रदर्शनबाट हुनुपर्छ ।  नेपालका विभिन्न स्थानमा कोणसभाका आवाजले सरकारी पहलका दबाब पुग्न सक्ला तर हुनुपर्ने पहल भनेको कूटनीतिक स्तरको वार्ता तथा पत्राचार नै हो र सीमा व्यवस्थापनका लागि स्थायी समाधानका लागि उच्चस्तरीय सक्रियता नै हो ।  
सीमा नक्सामा कोरिएको एउटा धर्काे हैन, स्वाभिमानको ढुङ्गे रेखा हो ।  यससम्बन्धी समस्या सतहमा आइसकेपछि यसलाई सतही रूपमा हेरिनु दूरदर्शिता हुन सक्दैन ।  समयले सिकाएको पाठबाट सिक्नुनै बुद्धिमानी हुन्छ ।  सार्वभौमसत्ता र स्वतन्त्रताका दृष्टिकोणबाट समान दुई राष्ट्रले एक अर्काको स्वाभिमानलाई सम्मान गर्नु नै सन्तुलित कूटनीति हो ।  एकपक्षीय सहिष्णुता तथा समझदारी दीर्घकालीन रूपमा स्थायी हुन सक्दैन ।  यस्तो सहिष्णुतालाई कमजोरी सम्झनु पनि स्वस्थ सम्बन्धका लागि प्रत्युत्पादक हुनसक्छ ।  कञ्चनपुर काण्ड सीमा सुरक्षासम्बन्धमा नेपाललाई घोचेरै ब्युँझाउने घटना भएको छ ।  मिचिएको जमिनको क्रन्दनको सम्बोधन उचित रूपमा हुन सकेको छैन तर सीमामा बगेको नेपाली रगतले नेपाललाई पोल्नै पर्दछ ।  पछिल्लो भारतीय ज्यादतीले सीमा सुरक्षाको महìवलाई बोध गराएको छ ।  नेपालीको स्वाभिमानमाथि महाभूकम्प ल्याइदिने यो घटना नेपालका लागि एउटा गम्भीर शिक्षा हुनैपर्दछ ।  सत्तरीभन्दा बढी स्थानमा भइरहेको अतिक्रमणबारे अब के गर्ने भन्नेबारे सरकारले निर्णय लिनैपर्ने अवस्था आएको छ ।  
नेपाल–भारत सीमामा निरन्तर रूपमा हुने गरेका बलमिच्याइँका घटनाले सीमा क्षेत्रको व्यवस्थापनमा परिमार्जन गर्नुपर्ने आवश्यकतालाई औँल्याएको छ ।  नेपाल–भारतबीचको खुला सीमा कुनै बेला विशेष सम्बन्धको द्योतकका रूपमा थियो तर परिस्थितिमा निकै परिवर्तन आइसकेको छ र यही खुलापन सीमा क्षेत्रमा हुने गरेका विविध विकृतिको स्रोत बनिसकेको छ ।  पहिलो कुरा त सीमा व्यवस्थापनबारे बस्ने गरेका द्विपक्षीय बैठकमा नेपाली पक्ष हल्का रूपमा प्रस्तुत हुनुभएन, आफूसँग भएका प्रमाण प्रस्तुत गर्दै आफ्नो भूमिको रक्षामा सशक्त रूपमा प्रस्तुत हुनुप¥यो ।  द्विपक्षीय वार्ताबाट समस्या समाधान नभए तेस्रो पक्षको मध्यस्थतामा विवादलाई निक्र्यौलको दिशामा अग्रसर गराउन ढिला गर्नु भएन ।  दोस्रो आवश्यकता भनेको अनिर्णित अवस्थामा रहेका सीमा विवादलाई यथाशीघ्र समाधान गरी विद्यमान खुला सीमालाई कुनै न कुनै रूपमा बन्द गरेर आवतजावतका लागि परिचयपत्र वितरण गर्नु नै हो ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना