सामूहिक च्याउ खेतीबाट मनग्य आम्दानी

नेपालगञ्ज, चैत २ गते । बाँकेको सीतापुर २ सीगाउमा २५ जनाको समुह बनाएर सामूहिक रूपमा महिलाहरुले शुरु गरेको च्याउ खेतीबाट समुहमा संलग्न सबै महिलालाई एक सिजनमा जनही डेढ लाख आम्दानी भैरहेको छ । महिलाहरुले सामूहिक रूपमा सञ्चालन गरेको च्याउ फर्ममा दैनिक ५० किलो देखि साढे तीन क्विन्टलसम्म च्याउ उत्पादन हुुने गरेको समूहकी अध्यक्ष कृष्णा चौधरीले बताउनु भयो । एक सिजनमा करिब ३८ लाख रुपैयाँ आम्दानी हुने गरेको जनाउँदै उहाँले २५ जनालाई सो आम्दानी बाँड्दा जनही डेढ लाख पर्ने गरेको जनाउनु भयो । chyau-kheti-

अध्यक्ष चौधरीका अनुसार २५ जनाको समूह बनाएर १४ वटा टहरामा च्याउ खेती गरिएको छ । खर्च कटाएर एक सिजनमा हरेक महिलाको भागमा डेढ लाख रुपैयासम्म आम्दानी आउन थालेपछि महिलाको जीवनस्तरसमेत बदलिदै गएको चौधरीको भनाई छ । यसअघि महिलाहरूले व्यक्तिगत रूपमा च्याउ खेती गर्दै आएपनि गत वर्षबाट उनीहरूले यसलाई व्यावासायिक र सामूहिक बनाएका हुन् । गुरुङ, मगर र थारू जातिका १९ र दलित समुदायका ५ जना र ब्राह्मण समुदायकी एक महिला सो खेतीमा संलग्न छन् ।  उनीहरूले उत्पादन गरको च्याउ खरिद गर्न व्यापारीहरू घरमै आउने गरेका छन् । यसपालि उत्पादन भएको २८ क्विन्टल च्याउ बिक्री भइसकेको समूहकी अध्यक्ष चौधरीले जनाउनु भयो । उहाँका अनुसार करिब एक सय क्विन्टलभन्दा बढी च्याउ वैशाखभित्रमा उत्पादन हुने अनुमान छ ।
बजारमा २ सय ४० रुपैयामा बिक्री हुने च्याउ फर्मबाट २ सयमा बिक्री गरिएको चौधरीको भनाई छ । त्यहाँ उत्पादित च्याउ नेपालगञ्ज, खजुरा, कोहलपुरका साथै सुर्खेतसम्म पुग्ने गरको छ ।
मंसिरको पहिलो साता च्याउका पोका राखेकोमा वैशाखसम्म उत्पादन हुने जनाउँदै खर्च कटाएर एक सिजनको नाफा प्रतिमहिला डेढ लाख रुपैयासम्म हुने गरको अध्यक्ष चौधरीले बताउनु भयो ।
महिलाहरूले च्याउ खेतीमार्फत सबै आत्मनिर्भर बन्दै गएका छन् । टहरा बनाउदा श्रमदानदेखि पोका बनाउने, पराल पकाउने, च्याउ टिप्ने काममा पालो लगाई सबै महिलाले समान रूपले काम गरको समूहकी उपाध्यक्ष भगवती थापाले बताउनु भयो ।
समूहकी सचिव अम्बिका शर्माले च्याउ उत्पादन हुदाको रकम समूहको नाममा जम्मा गर्ने गरिएको बताउनु भयो । ‘च्याउ उत्पादन हुदा समूहको नाममा जम्मा गर्ने र उत्पादनको काम सकिएपछि खर्च कटाएर बाडफाट गर्ने गरका छौं,’ सचिव शर्माले भन्नुभयो, ‘घर व्यवहार चलाएर बचतसमेत गर्ने गरेका छौ ।’
सो च्याउ फर्मका लागि कृषि विकास मन्त्रालय अन्तर्गतको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले १८ लाख रुपैया सहयोग गरको र जिल्ला कृषि विकास कार्यालयले पनि विभिन्न प्राविधिक सहयोगहरु गर्दै आएको समहकी सचिव शर्माले बताउनु भयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना