दलहरुको चुनावी तयारी सुस्त

राजु शिवा

इलाम, चैत २  गते । स्थानीय तहको निर्वाचन आउन दुई महिना मात्र बाँकी भए पनि जिल्लामा दलहरुले चुनावी गतिविधिलाई तीव्रता दिएका छैनन् । सरकारले स्थानीय तहको चुनाव बैंशाख ३१ गते तोकेको छ । सोही अनुसार आयोगले निर्वाचन आचारसंहिता समेत जारी गरिसकेको छ । तर, जिल्लाका साना मात्र होइन ठूला दलहरुले पनि चुनावी तयारीलाई तीब्रता दिएका छैनन् । यसले गर्दा जिल्लामा चुनावी गतितिविधि शून्य प्रायः छ भने दलहरुको गतिविधि नदेखिँदा चुनाव नहुने हो कि भन्ने अन्योल सर्वसाधारणमा देखिएको छ । यसभन्दा अघिका संविधानसभाको चुनावमा निकै समयअघि आक्रमक रुपमा लाग्ने गरेका दलहरु यसपटक भने सुस्त देखिनुमा स्थानीय निकायको पुनर्संरचनालाई मूल कारण देखाइने गरेको छ । दलहरुले दुई महिनापछि हुने चुनावका लागि नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेद्वारहरुको सामान्य तयारी गर्न समेत जाँगर देखाएका छैनन् ।
चुनाव घोषणापछि जिल्लाका नेताहरुले कार्यकर्ता र मतदाता भेटघाटलाई बाक्लो बनाए पनि चुनाव लक्षित कार्यक्रम भने गर्न थालेका छैनन् । केही दलहरु स्थानीय निकायको पुनर्संरचना अनुरुपको दलको संरचना बनाउने गृहकार्यमा लागेका छन् । भने केही दलहरु केन्द्रको निर्देशन पर्खेर बसेका छन् । नेपाली कांग्रेसको भर्खरै भएको जिल्ला बैंठकले स्थानीय तह अन्तर्गत पार्टीको संरचना बनाउने तयारीमा लागेको छ । स्थानीय तह अनुसार पार्टीको संरचना बनाएर कार्यकर्ता र समर्थकहरुलाई स्थानीय तहको जानकारी दिइसकेपछि चुनावी तयारीमा लाग्ने नेपाली कांग्रेसका सचिव खगेन्द्र देवानले बताउनु भयो । ‘चैत पहिलो हप्ता जागरण अभियान राखेका छौं’–सचिव देवानले भन्नुभयो–‘पार्टी कमिटीको पुनर्संरचनापछि हामी उम्मेद्वारबारे निर्णय गरेर चुनावमा लाग्छौं ।’ स्थानीय निकायको पुनर्संरचना ढिला आएकाले अहिले नै चुनावी तयारीलाई तीब्रता दिन नसकिएको उहाँले बताउनु भयो ।
यसरी नै अर्काे ठूलो दल नेकपा एमालेले पनि चुनावको तयारी सामान्य रुपमा मात्र गरिरहेको छ । राष्ट्रिय कार्यक्रम अन्तर्गत संविधान कार्यान्वयनका लागि जागरण अभियान गाउँ–गाउँमा सञ्चालन गरेको एमालेले आफ्ना सबै मोर्चाहरुसँग बसेर छलफल गर्ने र मतदाताहरुसँगको सम्पर्क सहकार्यलाई बाक्लो बनाउँदै चुनावी वातावरण बनाउने काम भने गरिरहेको छ । स्थानीय तह अनुसार पार्टी कमिटीहरुको संरचना बनाउँदै चुनावी तयारीमा लागेको एमालेका सचिव महेश वस्नेतले जानकारी दिनुभयो । तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि स्थानीय तह अनुसार पार्टी कमिटीहरुलाई समायोजन गर्ने गृहकार्यमा जुटिरहेको छ । प्रदेशको बैंठकले नयाँ संरचना अनुसार पार्टीका कमिटीहरुलाई समायोजन गर्ने निर्णय भएकाले सोही अनुसार काम गरिरहेको केन्द्रका इलाम इन्चार्ज धिरेन्द्र शर्मा रमणले बताउनु भयो । नेता कार्यकर्ताहरु मतदातासम्म पुग्ने र भेटघाटलाई बाक्लो बनाउने काम भइरहे पनि उम्मेद्वारको विषयमा आधिकारीक छलफल शुरु नभएको इन्चार्ज शर्माले बताउनु भयो । उहाँले पार्टीलाई नयाँ संरचना अनुकूल बनाएपछि उम्मेद्वारको निर्णय गरेर चुनावी कार्यक्रमलाई तीब्रता दिने पनि बताउनु भयो । यता राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पनि चुनावी तयारीमा लागेको छैन । ‘हार–जीत जे भए पनि हामी चुनावमा खुलेर लाग्छौं’–पार्टीका अध्यक्ष हरि श्रेष्ठले भन्नुभयो–‘केन्द्रको निर्देशन पर्खेर बसेका छौं, निर्देशन आएपछि हामी मज्जाले चुनावमा लाग्ने छौं ।’ निर्वाचन कार्यालयमा १७ वटा दल दर्ता भएका छन् । तर, अन्य साना दलहरुले पनि खुलेर चुनावी तयारीमा लागेका छैनन् ।
इलाममा झण्डै दुई लाख मतदाता
आसन्न स्थानीय तहको निर्वाचनमा इलामका चार नगरपालिका र ६ गाउँपालिकामा एक लाख ९२ हजार १६६ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले यतिका संख्यामा आयोगमा मतदाताको नामावली पठाएको छ । कार्यालयले फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो । यसमा सरुवा भएर अन्य जिल्ला जाने र अन्य जिल्लाबाट इलाम आउनेको नामावली आयोगले मिलाउने भएकाले थोरै संख्या हेरफेर हुन सक्ने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चुलाचुली गाउँपालिकाका ६ वडाहरुमा १४ हजार १९३, फाकफोकथुम गाउँपालिकाका सात वडाहरुमा १४ हजार ४२८, देउमाई नगरपालिकाका नौं वटा वडाहरुमा २१ हजार ५६६, रोङ गाउँपालिकाका ६ वडाहरुमा ११ हजार १२७, माङसेबुङ्ग गाउँपालिकाका ६ वडाहरुमा ११ हजार १२७, माइ नगरपालिकाका १० वडाहरुमा १९ हजार ७८०, इलाम नगरपालिकाका १२ वडाहरुमा ३१ हजार ८८, माइ–जोगमाई गाउँपालिकाका ६ वडाहरुमा १५ हजार ७५, सन्दकपुर गाउँपालिका पाँच वडाहरुमा ११ हजार ७६२ र सूर्योदय नगरपालिकाका १४ वडाहरुमा ४० हजार ८५ जना मतदाताहरु रहेका छन् । सबैभन्दा बढी मतदाता सूर्योदय नगरपालिका र सबैभन्दा कम मतदाता माङ्सेबुङ्ग गाउँपालिकामा रहेका छन् ।
इलाममा ४२५ उम्मेद्वार
स्थानीय निकायहरु स्थानीय तहमा गईसकेपछि अब स्थानीय तह निर्वाचन नियमावली–२०७३ अनुसार स्थानीय तहको निर्वाचन हुने भएको छ । स्थानीय तहको निर्वाचनबाट इलामका चार नगरपालिका र ६ गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित चार सय २५ जना जनप्रतिनिधि निर्वाचित हुने छन् । नियमावलीले प्रमुख या उपप्रमुखमध्ये एक जना अनिवार्य महिला र प्रत्येक वडामा एक जना दलित महिलासहित दुई जना महिला अनिवार्य निर्वाचन हुने व्यवस्था मिलाएको छ । जस अनुसार जिल्लामा एक सय ७२ जना महिला जनप्रतिनिधिको रुपमा निर्वाचित हुने पक्का छ । जसमध्ये ८१ जना दलित महिलाहरु जनप्रतिनिधिका रुपमा निर्वाचित हुने छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना