मधेश, संशोधन अनि स्थानीय निर्वाचन


shib kumar bhattaraiशिवकुमार भट्टराई

 

सर्सती हेर्दा आगामी वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भइछाड्छ ।  कारण तोकिएको निर्वाचन सफल पार्न प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहमत छन् ।  यति ठूलो शक्ति सहमत भएपछि चाहेको काम नहुने त कल्पना गर्न पनि भएन ।  हुन पनि लामो अन्तरालपछिको निर्वाचनमा सहभागी हुन नेपाली नागरिक आतुर देखिन्छन् ।  यसका लागि ठूला दलहरूलाई दबाब पनि परेको हो ।  यसो भनिरहँदा हामीले एउटा पाटो भने चटक्कै बिर्सिएको प्रतीत हुन्छ ।  मधेशी मोर्चा यथास्थितिमा चुनावको पक्षमा बिल्कुलै देखिँदैन ।  अर्थात् अहिले उनीहरूको मागको सुनुवाइ नगरी चुनाव गर्ने हो भने कतिपय मधेशी जनताको भावना लत्याउनैपर्छ ।  अर्थात् मधेशी मोर्चाले उठाएका मागको सुनुवाइ नगरी निर्वाचन गर्दा त्यसले दिने सन्देश कस्तो होला ? प्रश्न यतिमात्र हो ।  चुनावको वैधानिकता होला तर राजनीतिक हैसियत कस्तो हुने ?
मधेश र मधेशी जनताको कुरा गर्दा कतिपय भ्रम नछरिएका होइनन् ।  मधेशमा बस्ने जति सबै भारतका दलाल हुन् भन्ने सोचले यदाकदा काम गर्ने गरेको छ ।  तर इतिहास साक्षी छ, मधेशी नागरिक सधैँ अखण्ड र सार्वभौम नेपालको पक्षमा सतिसाल भएर उभिएको छ ।  आजपर्यन्त मधेश टुक्र्याउने कुरा नागरिक तहबाट उठेको छैन ।  मुलुकलाई सङ्कट पर्दा होस् या जुनसुकै अवस्थामा पनि मधेशले ढालका रूपमा सुरक्षा प्रदान गरेको पाइन्छ ।  यद्यपि, कतिपय छट्टु नेता मधेशका नाममा दुनो सोझ्याउन नपल्केकाचाहिँ होइनन् ।  छिमेकीको इसारा र चाहनामा कतिपय अराष्ट्रिय काम उनीहरूबाट नभएका होइनन् ।  तर, उनीहरूको गल्तीलाई समग्र मधेशी जनताको अवधारणा मानियो भने भयानक अन्याय हुनेछ ।  त्यसको प्रमाणका रूपमा हामी मधेशी मतदाताले ती नेतालाई हराएर काँग्रेस एमालेलाई विजयमाला पहि¥याएको घटना बिर्सन मिल्दैन ।  अहिले पनि मधेशमा बलियो जनाधार मूलधारका राष्ट्रिय पार्टीकै रहेको पाइन्छ ।  मधेशको नाममा च्याँखे थाप्न खोज्ने छट्टु स्याल कथा अब मधेशी नागरिकले चाल पाइसकेका छन् ।  यी नेताहरूले मतदाताको विश्वासलाई श्रीमतीको जागिररूपी सांसद र मन्त्रीमा रूपान्तरण गरेको सत्य कसैबाट छिपेको छैन ।  अहिलेको रुन्चे राजनीति पनि यस्तै सोचबाट ग्रस्त छ ।  
यति हुँदाहुँदै पनि मधेश अझ खासगरी प्रदेश नं. २ को जनभावना भने ती नेताको भन्दा नागरिक तहबाट उठेको हो ।  विगतमा एमालेका नेताहरूबाट गरिएका टिप्पणीले यहाँका मतदाताको मन कँुडिएको प्रतिक्रया नआएको होइन ।  यो अवस्थामा केही नेताले धमिलो पानीमा माछा मार्ने प्रयत्न नगरेको अवश्य होइन ।  तर, मधेशी जनताको भावनालाई मूलधारका दलहरूले स्थान नदिँदा समस्या थप पेचिलो बन्न सक्छ ।  त्यसैको प्रतिक्रियास्वरूप सप्तरीको मलेठमा स्थानीयले एमाले र नेतृत्वको प्रतिरोध गरेका हुन् ।  यो यथार्थलाई हामीले स्वीकार गर्नैपर्छ ।
यसै प्रसङ्गमा संयुक्त मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता गरेको राजनीतिक प्रचार गरे पनि त्यसले वैधानिक आकार ग्रहण गर्ने अवस्था भने छैन ।  वर्तमान सरकारले मधेशी मोर्चाको माग सम्बोधन गर्ने भन्दै गएको पुसमा संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको छ ।  सरकारलाई समर्थन गरेको मोर्चाको माग राजनीतिक रूपमा सही ठहर गर्दै प्रस्ताव दर्ता भएको हो ।  सो प्रस्तावको विपक्षमा एमालेले ठूलै बबण्डर थियो ।  त्योे अवस्था अहिले पनि ज्यूँका त्यूँ छ ।  यस्तो परिवेशमा मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता गर्नु भनेको वैकल्पिक सरकार निर्माणका लागि प्रतिपक्षी दललाई आग्रह गर्नु हो भन्ने राजनीति अर्थ लाग्छ ।  तर, मोर्चा एमालेका लागि सहज हुने वातावरण तयार गर्न किमार्थ तयार छैन ।  
२०७२ असोजमा संविधान जारी गर्दा मधेशीका भावना समेट्न छुटेकै हो भनेर ठूला दलहरूले स्वीकारेकाले नै संशोधन प्रक्रिया अघि बढाइएको थियो ।  त्यसको औचित्य अझै सकिएको छैन ।  जहाँसम्म स्थानीय तहको चुनावको कुरा छ, त्यो सबैको चाहनाको विषय हो ।  चुनावमा सबैलाई समेटेर लैजान सक्दामात्रै लोकतन्त्र बलियो र सुदृढ हुनेछ ।  खासगरी मोेर्चालाई पनि यो प्रक्रियामा सहभागी गराउन सक्नुपर्छ ।  यसका लागि संविधान संशोधन प्रक्रिया अघि बढाउनु जरुरी छ ।  त्यसैले संशोधन र निर्वाचन दुवै प्रक्रिया सँगसँगै लैजाने वातावरण तयार गरिनु आवश्यक छ ।  यसमा मुलुकको सबैभन्दा ठूलो र जनमत प्राप्त दल नेपाली काँग्रेसले लिने अग्रसरताको अर्थपूर्ण रहन्छ ।  विडम्बनाको कुरो, ठूलो, पुरानो र विश्वासिलो दलको छवि बनाएको काँग्रेस आफैँ चाउरिएको छ ।  जनताको सबैभन्दा बढी मत पाएको भए पनि अर्काको मुद्दा पछ्याउनुपर्ने बाध्यता काँग्रेस नेतृत्वको नियति बन्न पुगेको छ ।  सत्ता र पद प्राप्तिको तृष्णाले नेतृत्व कमजोर बनेको छ ।  मधेश जे भए पनि काँग्रेसको आधार भूमि हो ।  अधिकांश मधेशी काँग्रेसप्रति आशावादी देखिन्छन् ।  त्यसैले मधेश र मधेशीको मुद्दामा काँग्रेसले संवेदनशीलता देखाउनुपर्ने हो ।  गएको संविधानसभा निर्वाचनमा मधेशबाट सबैभन्दा बढी मत काँग्रेसलाई नै प्राप्त भएको थियो ।  ती मतदाताको भावनाको कदर गर्न काँग्रेस चुक्नु भएन ।  यसका लागि अहिले नै संशोधन र निर्वाचन दुवै प्रक्रियालाई एकैसाथ लिएर सबै अटाउने निर्वाचनको माहोल बनाउन अग्रस्थानमा आउनुपर्छ ।  यसका लागि विभिन्न दल र पक्षसँग परिणाममुखी वार्ता गर्नुपर्ने अवस्था छ ।  आगामी चैत १० गते हुने केन्द्रीय कार्यसमिति बैठकमा यही विषयले प्राथमिकता पाउनुपर्छ ।  झण्डै पाँच महिनापछि हुन लागेको कार्यसमिति बैठकले मधेशको समस्या हल गर्ने उपाय खोज्नैपर्छ ।  यति भएमात्र काँग्रेसले मधेशप्रति न्याय गरेको ठहर्छ र आसन्न निर्वाचनमा पुरानो विश्वास र भरोसाको पुनरावृत्ति हुनेछ ।
यो प्रक्रियामा प्रमुख प्रतिपक्षी दल एमालेको भूमिका कम आँक्न मिल्दैन ।  सरकारले संशोधन प्रस्ताव पारित गर्न ३९६ को अङ्कगणितीय हिसाब मिलाउने मात्र नभई विश्वासको वातावरण तयार गर्न अग्रसरता देखाउनुपर्छ ।  अहिले जतिसुकै विरोध भए पनि एमालेले पनि संसद्मा मतदानकै अवस्था आए हालको प्रस्ताव परिमार्जन गरी पक्षमा मत दिने निर्णयमा पुग्नेछ ।  साथै राप्रपा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले समेत परिमार्जनसहितको संशोधन स्वीकार्ने जनाउ दिइसकेको अवस्था छ ।  त्यसैले एमालेलाई एक्ल्याएर दुईतिहाइको यात्रा तय गर्न खोज्दा विभिन्न अड्चन र ध्रुवीकरणको संभावनालाई बल पुग्नेछ ।  यो अवस्था दीर्घकालका लागि मुलुकको हितकर हुने छैन ।  एमाले स्वयम्ले पनि यो वस्तुस्थितिलाई सही विश्लेषण गर्न सकेन भने मुलुकले ठूलै क्षति बेहोर्नुपर्नेछ ।  विगतमा मेची–महाकाली अभियान कहाँ, कसरी गर्ने भन्ने विषयमा सही विश्लेषण गर्न नसक्दा सप्तरीमा ठूलो क्षति भएको हो ।  मधेशी जनताको मनमस्तिष्कमा रहेको भावनालाई संवैधानिक हक–अधिकारको आवरणमा कुल्चिन नसकिने अवस्थाको आँकलन गर्न नसकेकै हो एमालेले ।  केवल स्थानीय तहको निर्वाचनमा आफूमात्रै विजयी हुने अहङ्कार र अभिमानले एमालेलाई ग्रस्त पारेको अनुभूति भएको छ ।  आफ्ना नेताले विगतमा मधेशी जनताप्रति गरेको विषबमन र दुर्वाच्यको ख्याल नगर्दा यो अवस्था आएको हो ।  सही समयमा सही निर्णय गर्न चुकेकैले सप्तरी दुर्घटना भएको यथार्थ एमाले नेताले अहिले नमाने पनि कालान्तरमा स्वीकार्नैपर्छ ।  यद्यपि, पाँचजनाको ज्यान जाने अवस्था निर्माण भएलगत्तै प्रदेश नं. २ का कार्यक्रम स्थगित गरेर भूल स्वीकारेको अर्थमा बुझ्न गाह्रो छैन ।  देशको जिम्मेवार दल हो भन्ने सन्देश प्रवाहित गर्न र घोषित निर्वाचन सहज तुल्याउनसमेत संसद्मा दर्ता भएको संशोधन प्रस्तावको व्यवस्थापनमा एमाले सकारात्मक हुनु जरुरी छ ।  उता, एमालेइतरले उसलाई एक्ल्याएर कुनै निर्णय गरिहाल्यो भने त्यसको संवैधानिक अर्थ भए पनि राजनीतिक अर्थ भने शून्य हुन सक्छ ।
समग्रमा हेर्दा आगामी चुनावको भविष्य संशोधन प्रस्तावको व्यवस्थापनमा निर्भर देखिन्छ ।  प्रस्ताव परिमार्जनसहित पारित हुने अवस्था निर्माण हुँदाको निर्वाचनले मात्रै मुलुकलाई निकास दिन सक्छ ।  अन्यथा चुनावको नाममा मधेशको ठूलो हिस्सा मुठभेडमा जाने स्थिति छ ।  यो वास्तविकता मुलुकमा क्रियाशील ठूला राजनीतिक दलहरूलाई भलिभाँती ज्ञात छ ।  त्यसैले राजनीतिक सङ्क्रमण नटुङ्ग्याउनेगरी हुने निर्वाचनले मुलुकलाई नयाँ द्वन्द्वमा लैजाने अवस्था निर्माण नगर्ला भन्न पनि सकिन्न ।  अहिले व्यक्ति गुट वा पार्टीभन्दा माथि उठेर नेताहरूले सोच्ने बेला हो ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना