बढ्दैछ बालविवाह

Yasoda adhikariयशोदा अधिकारी

 

कानुनले महिला र पुरुषको विवाह गर्ने निश्चित उमेर तोकेको छ तर नेपालमा अझै पनि डरलाग्दो रूपमा बालविवाहको हुने गरेको तथ्याङ्कले देखाउँछन् ।  पछिल्लो समयमा बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि त भएको छ र त्यससँगै बालविवाहको क्रम पनि बढेको छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकाअनुसार नेपालमा ४१ प्रतिशत महिलाको बालविवाह हुने गरेको छ ।  त्यसमध्ये जम्मा ११ प्रतिशतमात्र केटाको बालविवाह हुने गरेको  छ ।  हुन त बाल विवाहसम्बन्धी उजुरीहरू कमै मात्रामा पर्छन् ।  उजुरी परेको आधारमा बालविवाह हुने सङ्ख्या बढेको देखिनुले यो जनाउँछ कि उजुरी नपरीकन भएका बालविवाहको अवस्था डरलाग्दो नै छ ।  बालविवाह गराइदिने, बालविवाहका लागि दबाब दिनेलाई कानुनले तीन वर्ष कैद र जरिवाना तोकेको छ ।  तर अझै मध्य तराई र सुदूरपश्चिमका जिल्लामा बालविवाह बढिरहेको छ ।  नेपालले बालविवाह रोक्न राष्ट्रियदेखि अन्तर्राष्ट्रिय रूपमा पहल त गरेको छ तर व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।  सन् २०१५ मा बेलायतमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२० भित्र बालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको थियो ।  यस्ता  अन्तर्राष्ट्रिय सहमति पत्रमा हस्ताक्षर गरेको सरकारले बालविवाह रोक्न भने सर्वसाधारणको पहुँचमा पुग्ने गरी कार्यक्रम ल्याएको छैन ।  जसले गर्दा जानेर वा नजानेर प्रत्येक वर्ष धेरै बालबालिकाको कलिलै उमेरमा विवाह हुने गर्छ ।  विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार अहिले पनि नेपालमा वार्षिक १३ हजार बालविवाह हुँदै आएको छ ।  जसमध्ये बढी महिला नै छन् ।
एक गैरसरकारी संस्थाले गरेको गोरखा र सिन्धुपाल्चोकमा गरेको अध्ययनले अझै ग्रामीण वस्तीमा बालविवाह कायम रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।  बालविवाहका कारण परिवारमा विभिन्न समस्या उत्पन्न हुने, पढाइ छाड्नुपर्ने, स्वास्थ्यमा समस्या आउने र पारिवारिक बेमेलका कारण महिलामाथि चरम हिंसा हुने गरेको अध्ययनले देखाएको छ ।  गोरखा र सिन्धुपाल्चोकमा गरिएको यो अध्ययनले के देखाउँछ भने ग्रामीण भेगमा अभिभावकको करबलमा बालविवाह हुने गरेको छ ।  अध्ययनले सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समयमा सात वटामात्र बालविवाहका घटना दर्ता भएको देखाएको छ ।  उजुरीकै आधारमाभन्दा गत वर्षको तुलनामा बालविवाहको घटना कम हो तर उजुरी नपरेका बालविवाह कति भए
होलान् ? सजिलै अनुमान गर्न सकिने अवस्था छ ।  रजस्वाला हुनुपूर्व विवाह गरिदिँदा पुन्य पाइने भन्दै अभिभावकले नै छोरीको बिहे चाँडै गराउने, गरिबी, अशिक्षा, धेरै सन्तान हुनु आदि बालविवाहका मुख्य कारण बनेका छन् ।  अध्ययनले ६ प्रतिशत बालविवाह परिवारको दबाबबाट भएको देखाएको छ ।  हुन त पछिल्लो पटक केटाकेटीको मन मिलेर भागी बिहे गर्ने प्रचलन बढेको अध्ययनले देखाएको छ ।  अध्ययनअनुसार ३३ प्रतिशत बालविवाह भागेर हुने गरेकोे  छ ।  
केन्द्रीय तथ्याङ्क विभागले सन् २०११ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ३८ प्रतिशतले बालविवाह गरेको जनाएको छ ।  विभागले हरेक १० वर्षमा बाल विवाहको तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ ।  सन् २०११ पछिको तथ्याङ्क त सार्वजनिक हुन बाँकी छ तर अनुमान के गर्न सकिन्छ भने पहिलाको तुलनामा बालविवाह बढेको छ ।  जनचेतना अभाव, गरिबीका कारण बालविवाह बढेको पाइन्छ कानुनले विवाह गर्ने न्यूनतम उमेर केटीका लागि १८ र केटाका लागि २० वर्ष तोकेको छ ।  तर हाम्रो समाजमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने युवायुवती धेरै छन् ।  अझ भन्ने हो भने सङ्ख्यात्मक रूपमा दक्षिण एसियामा सबैभन्दा बढी बालविवाह हुने गर्छ ।  दक्षिण एसियामा हुने ४२ प्रतिशत बालविवाह मध्ये  भारतमा मात्रै ३३ प्रतिशत बालविवाह भएको पाइएको छ ।  यसले के देखाउँछ भने कानुन बनाएर र घोषणा गरेरमात्र हुँदैन, व्यवहारमा लागू भएन भने समस्या झन् बढ्दै जाने गर्दछ ।  दक्षिण एसियाका मुलुकमा बालविवाह गर्ने मुलुकमध्ये नेपाल तेस्रो नम्बरमा छ ।  सबैभन्दा धेरै बालविवाह हुने मुलुकको रूपमा बङ्गलादेश पहिलो र भारत दोस्रो नम्बरमा छ ।  बालविवाह गर्ने चलन दक्षिण एसियामा मात्रै छैन ।  यस्ता चलन विश्वव्यापीरूपमै छ ।  युनिसेफले सन् २०१६ मा दक्षिण एसियामा बालविवाहबारे गरेको एक अध्ययनअनुसार प्रत्येक वर्ष १४ मिलियन (अर्थात् १ करोड ४० लाख) बालबालिकाको बिहे १८ वर्षभन्दा कम उमेरमा हुन्छ ।  जसमध्ये ४६ प्रतिशत बालविवाह दक्षिण एसियाका देशमा हुन्छ ।  विश्वव्यापी रूपमा प्रत्येक तीन जना बालिकामध्ये एकजनाको बालविवाह हुन्छ भने दक्षिण एसियामा प्रत्येक दुई बालिकामध्ये एकको बालविवाह हुने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण एसियामा सबैभन्दा बढी बङ्गलादेशमा ६५ प्रतिशत, भारतमा ४७ प्रतिशत, नेपालमा ४१ प्रतिशत र अफगानिस्तानमा ४० प्रतिशत बालविवाह हुने गरेको उक्त अध्ययनले देखाएको छ  ।  नेपालमा हुने ४१ प्रतिशत बालविवाहमध्ये १० प्रतिशत बालबालिकाको विवाह १५ वर्षभन्दा पनि कम उमेरमा हुने तथ्य अध्ययनले देखाएको छ ।  २०६८ सालको जनगणनाअनुसार एक लाख ३८ हजार १५ बालबालिकाहरूको १० वर्ष नपुग्दै बिहे भएका छन् ।  त्यसमा एक लाख १५ हजार १५० बालिका छन् भने २२ हजार ८६५ बालक छन् ।  १० देखि १४ वर्ष उमेर समूहमा १३ लाख ६३ हजार १०७ जनाले विवाह गरेका छन् ।  त्यसमध्ये ११ लाख एक हजार २२३ जना बालिका छन् ।  बालक दुई लाख ६१ हजार २२३ जना छन् ।  १५ देखि १९ वर्ष उमेर समूहमा ४३ लाख ४० हजार ४९७ बालिकाको बिहे भएको छ ।  यो तथ्याङ्कले बालकभन्दा बालिकामा बढी बालविवाह हुने गरेको देखाउँछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना