प्रस्तावित राजदूतको सुनुवाइ सुरु

काठमाडौंँ, चैत ८ गते ।  संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।  समितिले सोमबार अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पाको सुनुवाइ गरेको छ ।  उजुरीकर्तासँगको छलफलपछि समितिले  प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।  शेर्पाविरुद्ध समितिमा कुनै पनि उजुरी परेका छैनन् ।  
समिति सचिव ध्रुवप्रसाद घिमिरेले सुनुवाइ प्रारम्भ भएको बताउनुभयो ।  घिमिरेले भन्नुभयो, “आजदेखि सुनुवाइ सुरु भएको छ ।  भोलि ६ जनालाई बोलाइएको छ ।  अब निरन्तर सुनुवाइ प्रक्रिया अघि बढ्छ । ” सुनुवाइ प्रक्रिया सुरु भए पनि अनुमोदनसम्बन्धी निर्णय भने सबै प्रस्तावित पदाधिकारीको एकैपटक हुनेछ ।  
समितिले सोमबार प्रस्तावित पदाधिकारीको सुनुवाइ प्रक्रिया अघि बढाउनुभन्दा पहिले उजुरीकर्तासँग छलफल गरेको थियो ।  सुनुवाइका लागि प्रस्तावित १२ राजदूतमध्ये तीन जनाविरुद्ध उजुरी परेको छ ।  कतारका लागि प्रस्तावित रमेश कोइराला, ओमनका लागि प्रस्तावित शर्मिला पराजुली ढकाल र इजरायलका लागि प्रस्तावित नीरञ्जन थापाविरुद्ध उजुरी परेका छन् ।  तर, ओमनका लागि प्रस्तावित ढकालका उजुरीकर्ताबाहेक अन्य दुई उजुरीकर्ता समितिमा उपस्थित भएनन् ।  
समितिले मङ्गलबारको बैठकमा छ जना प्रस्तावित राजदूतलाई सुनुवाइका लागि बोलाएको छ ।  समितिले प्रस्तावित राजदूतहरू नीरञ्जन थापा, प्रतिभा राणा, डा. चोपलाल भुसाल, युवनाथ लम्साल लगायत छ जनालाई सुनुवाइका लागि बोलाएको छ ।  मङ्गलबार सुनुवाइका लागि बोलाइएकामध्ये इजरायलका लागि प्रस्तावित राजदूत थापाविरुद्ध मात्र समितिमा उजुरी छ ।
थापाविरुद्ध मल्लिक आयोगले कारबाहीका लागि सिफारिस गरेको, राष्ट्रिय पञ्चायत सदस्य रहँदा श्रीमतीलाई हुकुम प्रमाङ्गीबाट जागिर खुवाएको आरोप छ ।  यस्तै कतारका लागि प्रस्तावित राजदूत रमेश कोइरालाविरुद्ध पनि एक उजुरी परेको छ ।  सुरक्षित आप्रवासनसम्बन्धी काम गर्ने एक संस्थाले उजुरी दर्ता गरेको छ ।  कोइरालाको सम्बन्धित देशमा व्यावसायिक स्वार्थ जोडिएको भन्दै सिफारिस अस्वीकृत गर्न उजुरीमा माग गरिएको छ ।  
ओमनका लागि सिफारिस पराजुलीविरुद्ध दुईवटा उजुरी दर्ता भएका छन् ।  पराजुलीको व्यावसायिक स्वार्थ जोडिएको आरोप उजुरीमा छ ।  यस्तै उहाँका श्रीमान्को नाममा दर्ता रहेको फ्लोरिड ह्युमन रिसोर्सेजसँग मिलेर काम गर्ने गरेको र त्यस कम्पनीविरुद्ध श्रम विभागमा कामदारले क्षतिपूर्ति माग गरी २४ वटा उजुरी दिएको उजुरीकर्ताको दाबी छ ।  उजुरीकर्ताले विभिन्न मितिमा विभागमा दर्ता भएका २४ उजुरीको विवरणसमेत समितिमा बुझाएका छन् ।  
समितिले सिफारिस पदाधिकारीलाई समितिको दुई तिहाइ बहुमतले अस्वीकृत गर्न सक्नेछ ।  तर, अनुमोदन भने बहुमतले गर्नसक्छ ।  सुनुवाइ प्रक्रिया सुरु भएको ४५ दिनसम्म प्रक्रिया पूरा गरी निर्णय सरकारलाई उपलब्ध गराउनुपर्ने संसद् कार्य सञ्चालन नियमावली २०७३ मा व्यवस्था गरिएको छ ।  समितिले फागुन २० गतेबाट सुनुवाइको प्रक्रिया अघि बढाएको हो ।      
मन्त्रिपरिषद्ले सुरुमा १४ देशका लागि राजदूत सिफारिस गरे पनि विवादपछि यूएईका लागि प्रस्तावित आशा लामा र स्पेनका लागि प्रस्तावित भरत रायमाझीबाहेक १२ राजदूतको सुनुवाइ प्रक्रिया अगाडि बढाउन समितिमा पत्राचार गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार सुनुवाइका लागि पत्राचार भएका प्रस्तावित राजदूतमा म्यानमारका लागि भीम उदास, बङ्गलादेशमा चोपलाल भुसाल, श्रीलङ्कामा प्रा. डा. विश्वम्भर प्याकुरेल, दक्षिण कोरियामा अर्जुनजङ्गबहादुर सिंह र कतारमा रमेशप्रसाद कोइराला हुनुहुन्छ ।  
यस्तै अस्ट्रेलियामा लक्की शेर्पा, डेनमार्कमा युवनाथ लम्साल, साउदी अरेबियामा प्रा.डा. महेन्द्र सिंह, बहराइनमा पदम सुन्दास सिफारिसमा पर्नुभएको छ ।  जापानमा प्रतिभा राणा, इजरायलमा नीरञ्जन थापा र ओमनका लागि शर्मिला पराजुली ढकालको नाम पनि राजदूतका लागि सिफारिस भएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds