उत्तर प्रदेशमा महन्त

hari adhikariहरि अधिकारी


 

छिमेकी भारतको सबैभन्दा ठूलो र राजनीतिक रूपले महŒवपूर्ण राज्य उत्तर प्रदेश (युपी) को मुख्यमन्त्रीको पदमा गोरखपुर मन्दिरका महन्त एवं भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का सांसद योगी आदित्यनाथ नियुक्त हुनुभएको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले त्यस प्रदेशमा हालै भएको चुनावमा राज्य विधानसभाका कुल ४०३ मध्ये ३२५ स्थान जितेर दुईतिहाइ बहुमत हासिल गरेको थियो ।  भाजपाको त्यो जित ४० वर्ष यता भएका उत्तर प्रदेश विधानसभा चुनावमा कुनै पनि दलले प्राप्त गरेको सबैभन्दा प्रभावशाली जित थियो ।  युपी निर्वाचनको अभूतपूर्व परिणामलाई प्रम नरेन्द्र मोदीले लागू गर्न खोजेका, ठूलो अङ्कका ब्याङ्क नोटहरूको विमौद्रीकरण लगायतका आर्थिक सुधारका योजनाप्रति भारतीय जनताले व्यक्त गरेको विश्वासका रूपमा हेरिएको छ ।  यसका साथै युपी चुनावको त्यो परिणामले सन् २०१९ मा हुने संसदीय चुनावमा मोदीको दलले विजय हासिल गर्ने सम्भावनातर्फ सङ्केत गरेको छ भन्न सकिन्छ ।
यसपटकको चुनावी परिणाम प्रदेशको राजनीतिमा सन् १९५० देखि नै निरन्तर वर्चश्व राख्दै आएको देशको सबैभन्दा पुरानो पार्टी भारतीय राष्ट्रिय कङ्ग्रेसका लागि पीडादायी अनुभव साबित भएको छ ।  पार्टीका युवा उपाध्यक्ष र नेहरू गान्धी परिवारका उत्तराधिकारी राहुल गान्धीको नेतृत्वमा कङ्ग्र्रेस चुनावी मैदानमा उत्रिएकाले त्यस चुनावी दङ्गललाई उहाँको नेतृत्व क्षमताको रूपमा हेरिएको थियो, जसमा उहाँ पूरै असफल हुनुभएको छ ।  कङ्ग्रेसले यसपटक प्रदेशका निवर्तमान मुख्यमन्त्री अखिलेश यादवको दल समाजवादी पार्टीसँग चुनावी गठबन्धन गरेको थियो र दुई युवा नेताको मिलनले चामत्कारिक परिणाम ल्याउने दाबी दुवै दलले गरेका थिए ।  त्यो दाबी त्यतिबेला खोक्रो साबित भयो, जब गठबन्धनले कुल ४०३ मध्ये जम्माजम्मी ५४ स्थानमा मात्र जित हासिल गर्न सक्यो ।  दलित र पिछडिएका वर्गहरूको उत्थानको एजेन्डामा टिकेको र त्यसैका बलमा पटक–पटक सत्तामा पुगेको बहुजन समाज पार्टी (वसपा) र त्यसकी प्रमुख मायावतीका लागि त त्यो निर्वाचन
‘मतपत्रको वाटरलू’ साबित भएको छ ।  वसपाले जम्माजम्मी १९ स्थान मात्र जितेको छ ।
गोरखपुर संसदीय निर्वाचन क्षेत्रबाट लगातार पाँच पटक लोकसभा सदस्यको चुनाव जित्न सफल राजनीतिक योगी आदित्यनाथ (खास नाम अजयसिंह नेगी) प्रम मोदीको दल भाजपाको साङ्गठनिक संरचनामा खासै महŒवपूर्ण पदमा हुनुहुन्थेन ।  प्रदेशको चुनावमा प्रचण्ड बहुमत हासिल हुने भएपछिको जोडघटाउका क्रममा भारतको आत्मा र राजनीतिक मेरुदण्ड मानिने विशाल राज्य उत्तर प्रदेशको मुख्यमन्त्री पदको दाबेदार नेताहरूको सूचीमा महन्तको नाम देखिएको थिएन तर अन्त्यमा प्रम मोदी र पार्टीका शक्तिशाली अध्यक्ष अमित शाहले देशको सर्वाधिक जनसङ्ख्या भएको राज्यको शासनको लगाम योगीका हातमा सुम्पने निर्णय गरेकाले योगीजी लखनउको शानदार एवं अप्ठ्यारो कुर्सीमा विराजमान हुन पुग्नुभयो ।
भारतको विकास निर्माणको एजेण्डालाई बलियो तवरले उठाएर गुजरात राज्य हुँदै समग्र भारतको सत्तामाथि कब्जा जमाउन सफल हुनुभएका प्रम नरेन्द्र दामोदर दास मोदीको भारतीय राजनीतिमा शक्तिशाली नेताका रूपमा उदय भएपछि एसियाको त्यो शक्तिराष्ट्र आर्थिक रूपले सबल बन्ने प्रक्रियामा छिटो–छिटो अगाडि बढिरहेको सत्य हो ।  मोदीले भारतका तृणमूल तहका करोडौँ जनताको जीवस्तर उकास्ने हेतुले अनेक योजना ल्याउनुभएको छ, जसका सकारात्मक परिणाम देखिन थालेका छन् तर विकास र आधुनिकताको विस्तारका साथसाथै राष्ट्रिय जीवनमा देखिनुपर्ने सामाजिक सद्भाव, व्यक्तिको आस्थाको सुरक्षण र उदार धार्मिक सांस्कृतिक परिवेशको संस्थापनाका दृष्टिले आजको भारत पूर्णत निराशाजनक छ भन्दा अत्युक्ति हुनेछैन ।
मोदीराजमा स्वतन्त्र चिन्तकहरू, प्रतिपक्षी छात्र नेताहरू, पृथक् विचार राख्ने लेखक वुद्धिजीवीहरू र धर्मनिरपेक्षताका अभियन्तामाथि जसरी लगातार आक्रमण भइरहेको छ र जसरी धर्मान्ध असहिष्णुताको वेदीमा दर्जनौँ व्यक्ति बलि चढिसकेका छन्, त्यो त कहालिलाग्दो छँदैछ, त्योभन्दा खतरनाक विषय त्यस्ता घटनालाई लिएर मोदी प्रशासनले अख्तियार गरेको संवेदनहीनता छ ।  साथै आजको भारतमा हिन्दुत्व र राष्ट्रवादलाई एक ठाउँमा घालमेल गरेर जो हिन्दु छैन या भाजपाको राजनीतिमा विश्वास गर्दैन, त्यसलाई राष्ट्रविरोधी घोषित गरिदिने प्रयत्न सत्ताकै तर्फबाट हुन थालेको छ, त्यो ठूलो खतरातर्फको पहिलो कदम हो ।
देशको सबैभन्दा बढी जनसङ्ख्या भएको र सदैव राष्ट्रिय राजनीतिको निर्णायक युद्ध मैदान रहँदै आएको युपीको मुख्यमन्त्रीको पदमा कट्टर हिन्दुवादी नेता र हिन्दु योगीहरूको एउटा सम्प्रदायका धर्मगुरुलाई नियुक्त गरेको घटनालाई धेरैले मोदी र भाजपाको अन्तष्करणमा रहेको हिन्दु पुनःरुत्थानवादी सोचको प्रकटीकरणका रूपमा हेरेका छन् ।  योगीजीले आफ्नो रुचि र अभीष्टलाई लुकाउनुभएको छैन ।  उहाँ धर्मान्तरण, इस्लामी आतङ्कवाद र रामजन्मभूमिको विवादका सन्दर्भमा एकदमै प्रष्ट हुनुहुन्छ ।  अयोध्याको बाबरी मस्जिद भत्काइएको विवादास्पद ठाउँ नै रामजन्मभूमि हो र त्यहीँ नै राममन्दिर बनाउनुपर्छ भन्ने उहाँको दह्रो अडान छ ।  कुनै पनि मुसलमानले एक जना हिन्दु स्त्रीसँग विवाह गरेर इस्लाम कबुल गर्न लगायो भने प्रति एक जनाको सय जनाको दरले मुसलमानलाई हिन्दु बनाउँछु भन्ने घोषणा योगीजीले पहिले नै गरिसक्नुभएको छ ।  लखनउको सिंहासनमा योगीजीको आरोहण, त्यसैले धेरैका लागि गहिरो चिन्ताको विषय बनेको छ ।  जम्मु काश्मिरका विख्यात नेता तथा पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाले यही चिन्तालाई वाणी दिँदै लेख्नुभएको छ (युपीका मुसलमान अब तिमीहरूका दिन साबिकझैँ हुने छैनन् होस गर ।
सत्ताको शीर्षमा पुगेपछि धार्मिक र सामाजिक विषयमा उहाँको दृष्टिकोणमा सकारात्मक परिवर्तन आउनेछ भन्ने आशा गर्न भने सकिन्छ नै ।  योगी सुपठित, वितरागी र स्वच्छ चरित्रवान हुनुहुन्छ ।  उहाँले जानी–जानी हिन्दु प्रभुत्ववादको प्रवद्र्धन गरेर राजनीतिक द्वन्द्वका नयाँ मोर्चा खोल्नु हुनेछैन ।  त्यसका लागि सबैभन्दा पहिले त योगीजीले राममन्दिर निर्माणको मुद्दामा कमभन्दा कम जोखिमको कुनै समाधान खोज्न सक्नुपर्ने हुन्छ ।
योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री बनेपछि यहाँ नेपालका हिन्दुवादीहरूमा नयाँ उत्साहको जागरण भएको छ भनिँदैछ ।  आफूलाई मन पर्ने किसिमको राजनीतिक प्राणीले छिमेकमै भए पनि सत्ता पाएकोमा कोही खुसी हुन्छ भने त्यो स्वाभाविक हो तर नेपाललाई धर्मनिरपेक्षताबाट फर्काएर हिन्दु राष्ट्र बनाउने भन्ने कुरा आजको घडीमा एउटा कठिन विषय बनेको छ भन्ने ती सबैले बुझ्नु जरुरी छ, जो गोरखपुर पीठाधीश युपीको मुख्यमन्त्री बनेकोमा हर्षविभोर छन् ।  यो मामिला निक्कै पेचिलो छ ।  धर्मनिरपेक्षता संविधानमा उल्लेख भइसकेको अवस्थामा त्यसमा संशोधन गर्न संसद्मा विधिवत् संशोधन प्रस्ताव ल्याउनुप¥यो र त्यसलाई दुईतिहाइले पारित गराउनुप¥यो, अर्कोतर्फ हिन्दु राज्य र राजसंस्था एक अर्काका पूरक जस्ता विषय भएकाले हिन्दुराज्यको वकालत गर्ने व्यक्ति वा दलले यी दुई विषयलाई बेग्लाबेग्लै वा जोडेर हेरेको छ, त्यो प्रष्ट हुनुप¥यो र यो विषयलाई संसद्ले होइन जनमत सङ्ग्रहमा लगेर जनमतबाट टुङ्ग्याउनुपर्छ भन्ने हो भने जनमत सङ्ग्रहमा लैजान राष्ट्रव्यापी अभियान चलाउनुप¥यो ।  दक्षिणतिरबाटै सबै कुरा पूरा हुन्छ भन्दै
बस्ने हो भने त के भनूँ र खै !

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना