एमाले अभियान : दुई नम्बर प्रदेशमा पनि सञ्चालन हुने

काठमाडौँ, चैत १० गते ।  मेची–महाकाली राष्ट्रिय अभियान सम्पन्न गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रदेश नं. २ मा सोही अभियान लिएर जाने तयारी गरेको छ ।  
एमाले प्रदेश नं. २ का संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले अभियानको तयारी तीव्र गतिमा भइरहेकाले सम्भवतः चैत १६ पछि अभियान सुरु हुने जानकारी दिनुभयो ।  केही मधेसी दलका नेताले अभियानको विरोध गरे पनि त्यसको कुनै अर्थ नरहेको बताउँदै संयोजक मण्डलले शान्तिपूर्ण अभियान सञ्चालन गर्न पाउने संवैधानिक हक भएकाले अभियान सञ्चालन हुने बताउनुभयो ।
लोकतन्त्रमा विश्वास गर्ने दलका नेताले शान्तिपूर्ण अभियानको विरोध गर्नु हुँदैन भन्दै नेता मण्डलले एमालेको कार्यसूची र नीतिबारे मधेशका जनतालाई जानकारी गराउन अभियान सुरु हुने तर्क गर्नुभयो ।  गोरखापत्रसँग बुधबार कुरा गर्दै संयोजक मण्डलले भन्नुभयो, “एमाले लडाइँ र झडप चाहँदैन, पार्टीको नीति र कार्यक्रमबारे जनतालाई जानकारी गराउनु हाम्रो संवैधानिक र लोकतान्त्रिक
अधिकार हो । ”
संयोजक मण्डलका अनुसार धनुषा, सिराहा, महोत्तरीलगायतका बाँकी जिल्लामा एमालेको आगामी अभियान सुचारु हुनेछ ।  स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रदेश नं. २ मा कसरी अभियान सञ्चालन गर्ने विषयमा बिहीबारको स्थायी कमिटी बैठकले आधिकारिक निर्णय गर्ने बताउनुभयो ।     
“मेची–महाकाली अभियान हाइवे केन्द्रित थियो, प्रदेश नं. २ को अभियानको स्वरूप परिवर्तन गरेर लैजाने मोटामोटी कुरा भएको छ”, उहाँले भन्नुभयो ।  बाँकी ६ वटा जिल्लामा जिल्लागत भेला र आमसभा गर्ने तयारी पार्टीले गरेको छ ।
पार्टी कार्यालयका सचिव तथा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार स्थायी कमिटीको बैठक बिहीबारका लागि बोलाइएको छ ।  भक्तपुरस्थित पार्टी अध्यक्ष ओलीको निवासमा बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो ।  प्रदेश नं. २ मा गर्ने भेला र उम्मेदवारका मापदण्डका विषयमा समेत बैठकमा छलफल हुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना