प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान

राजेश चाम्लिड राई

काठमाडौँ, चैत ११ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ ।  प्रधानमन्त्री चीनको हेनानमा वार्षिक रूपमा आयोजना हुने ‘बोआओ फोरम फर एसिया’ सम्मेलनमा सहभागी हुन बिहीबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  
राति ११ः०० बजे चीन प्रस्थान गर्नुभएको प्रधानमन्त्रीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा सरकारका विशिष्ट अधिकारीहरूले बिदाइ गर्नुभएको थियो ।  प्रधानमन्त्रीलाई नेपाली सेनाको एक टुकडीले विशेष सलामी अर्पण गरेको थियो ।  बिदाइ समारोहमा उपप्रधानमन्त्रीहरू विमलेन्द्र निधि, कमल थापा, मन्त्रीहरू, मुख्य सचिव, प्रधानसेनापति, जनपथ तथा सशस्त्र प्रहरीका प्रमुख तथा सरकारका विशिष्ट अधिकारीको उपस्थिति थियो ।  
भूमण्डलीकरण र स्वतन्त्र व्यापारमा एसियन अवधारणा भन्ने मूल भावसहित आयोजना हुनलागेको सम्मेलनको उद्घाटन सत्रलाई प्रधानमन्त्री प्रचण्डले विशेष वक्ताका रूपमा सम्बोधन गर्नुहुनेछ ।  सम्मेलनको उद्घाटन सत्रमा सहभागी भएर प्रधानमन्त्री बेइजिङ जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  बेइजिङमा रहँदा प्रधामन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जीन पिङ तथा चिनियाँ कम्युनिस्ट पार्टीका शीर्षस्थ नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ ।  pm chaina visit KTM_230317_B
बेइजिङमा उहाँले बेइजिङ अन्तर्राष्ट्रिय अध्यायन विश्वविद्यालयमा बुद्धिजीवी, व्यापारी, प्राज्ञिक समुदाय तथा विद्यार्थीलाई ‘नेपाल चीन सम्बन्धः समृद्धि र विकासका लागि अवधारणा’ वषयमा प्रवचन दिनुहुने कार्यक्रम छ ।  बेइजिङमा  प्रधानमन्त्रीले त्यहाँस्थित विश्वविद्यालय परिसरमा स्थापित नेपाल अध्यन केन्द्रको उद्घाटन गर्नुहुनेछ ।  प्रधानमन्त्रीले चिनियाँ व्यापारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  
बेइजिङपछि ल्हासा हुँदै स्वदेश फर्कनुहुने प्रधानमन्त्रीले ल्हासा स्वायत्त जनसरकारका विशिष्ट अधिकारीहरूसँग भेट गर्नुहुने कार्यक्रम छ ।  प्रधानमन्त्री चैत १६ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।  
यसअघि, प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताउनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार चीन भ्रमणका सन्दर्भमा पूर्वप्रधानमन्त्री र विज्ञहरूसँग सुझाव लिँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।  
उहाँले आफू बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी दिँदैै यस क्रममा उच्च स्तरीय भेटघाट र छलफल हुने बताउनुभयो ।  प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण मूलतः सद्भावना भ्रमण भएको जानकारी दिँदै दुई देशबीच विश्वासको वातावरण बढाउने तथा नेपालको हितका विविध विषयमा छलफल हुने जानकारी दिनुभयो ।  प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री र विज्ञका सुझाव धेरै फलदायी रहेको बताउँदै सुझावका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।  
सो भेटमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्वमन्त्रीहरू डा. रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरू टङ्क कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतले आफ्ना महìवपूर्ण सुझाव दिनुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना