हिउँदमा सुक्खा पहिरो

laxmi upadhyayलक्ष्मीप्रसाद उपाध्याय

 


पुस लाग्दा नलाग्दै बागलुङको रिघामा सुख्खा पहिरो जाँदा आधा महिनासम्म मध्यपहाडी लोकमार्ग अवरुद्ध भयो । बल्लतल्ल घर आँगन छोएर गएको बाटो अवरुद्ध भएपछि स्थानीय बासिन्दाले पाउनुसम्मको सास्ती पाए । बर्खामा पुल नहुँदाको पीडा अनि हिउँदमा सुख्खा पहिरोको सास्ती । नेपालमा तराईको सानो भूभाग बाहेक अधिकांश भिरालो भूभाग भएकाले बर्खाभरि बाढी पहिरो र डुबानको समस्या अनि हिउँदमा सुख्खा पहिरोको पीडा भोग्नुपर्ने अवस्था छ । गाउँगाउँमा विकासका गतिविधि सञ्चालन हुन थालेपछि विनास बढ्दै जाँदा यो समस्याले झन् च्याप्न थालेको छ । बागलुङमात्र होइन, सिन्धुपाल्चोक, रसुवा, प्यूठान, कालीकोट, बाजुरा, अर्घाखाँची, दार्चुला, रामेछापलगायतका दर्जनौँ जिल्ला जोड्ने प्रमुख राजमार्गमा सुख्खा पहिरो जाँदा बाटो अवरुद्ध भएको समाचार आउने गरेका छन् । मुग्लिङ पोखरा सडक खण्डमा गएको सुख्खा पहिराले झण्डै दुई महिनासम्म नागरिकलाई पीडा दियो । सडक डिभिजन तनहुँको डोजर २४ घण्टा नै पहिरो सफा गर्नमा तैनाथ गर्नुप¥यो ।
यो वर्षको कात्तिकदेखि फागुन अन्तसम्मको आँकडा हेर्दा देशभरमा साना ठूला गरी सयौँ सुख्खा पहिरोमा परेर पाँच दर्जनभन्दा बढी सवारीमा क्षति तथा दश जनाको मृत्यु भएको छ । तीन महिनाको अवधिमा साना ठूला गरी सुख्खा पहिरोको सङ्ख्या झण्डैले एक हजारभन्दा बढी ठाउँमा गएको गृह मन्त्रालयले जनाएको छ । जसले गर्दा दैनिक यातायात, सिंचाइ कुलो नहर, जलविद्युत् गृहमा समेत असर परेको छ ।
देशैभर सुख्खा पहिरो
विनाश विना विकास हुँदैन, विनाशले विकासको सिर्जना गर्छ । पचासको दशकसम्म जिल्ला सदरमुकामसम्म सडक सञ्जालले छुने नीतिले प्रमुख राजमार्गको छेउछाउमा मात्र सुख्खा पहिरोको समस्या देखिन्थ्यो । २०४६ सालको परिवर्तनपश्चात् विकासप्रति नागरिकमा बढेको चेतना स्तर र गाउँ विकास समितिलाई आफ्नो गाऊँ आफैँ बनाऊँ भन्नेजस्ता सरकारी कार्यक्रमले गाउँगाउँमा विकासको लहर ल्याउन सफल भयो । सदरमुकाम सडकले जोडेपछि आआफ्नो गाउँ, इलाका र क्षेत्रतर्फ सडक, खानेपानी, सिँचाइ कुलोलगायतका पूर्वाधारका संरचना निर्माण गर्न एक किसिमको होडबाजी नै चल्यो । गाउँमा जाने दश लाखे बजेटले विकास भएको देखिन्छ तर विनाश कति र कुन हदसम्म भएको छ भन्ने अनुमान गर्न कठिन छ । विनाशविनाको विकास त हुनसक्दैन तर चाहिनेसम्मको विनाश गरेर विकास गर्नुलाई न्यायोचित मान्न सकिन्छ । तर पछिल्लो दिनमा विकासका नाउँमा विनाशको तह र विनाशले पु¥याउने सक्ने खतराको आँकलन नगरिकनै विकासका कार्यक्रम सञ्चालन गरिनाले हिउँदमा सुख्खा पहिरो जाने र तिनै विकासका आयोजना अवरुद्ध हुने गरेका छन् । लागतको दृष्टिले हेर्नुपर्दा त निर्माण सम्पन्न भइसकेका आयोजनामा वर्षौं वर्षसम्म थप लगानी गर्नु परिहरेको छ । ठेकेदार कम्पनीले हस्तान्तरण गर्न नपाउँदै पहिरो, भूस्खलनले आयोजनाको काम अनन्तकालसम्म सम्पन्न नहुने अवस्थामा पुग्न थालेको छ ।
कृषि तथा ग्रामीण सडक विभाग, गाउँ विकास समिति, नगरपालिका, सडक विभागको तथ्याङ्क हेर्ने हो भने एक वर्षमा देशभरमा साना ठूला गरी दश हजारभन्दा बढी सडक खण्डको निर्माणमा चार हजारभन्दा बढी डोजरको प्रयोग गर्ने गरिएको छ । कार्ययोजना विना नै रातारात डोजरको प्रयोग गर्दा स्थानीय माटो तथा चट्टानको विद्यमान अवस्था, डोजर चलाएपछि हुन सक्ने भूस्खलन, पहिरो तथा बाढीको स्थितिको आँकलन नगरिँदाको परिणाम यस्तो भएको हो । प्रमुख राजमार्ग र राष्ट्रिय गौरवका आयोजनाबाहेक कुनै पनि विकास निर्माणमा वातावरणीय प्रभाव मूल्याङ्कन नगरिनुको प्रतिफल बर्खामा मात्र होइन, हिउँदमा समेत सुख्खा पहिरो, दुर्लभ तथा लोपोन्मुख वनस्पतिको नोक्सान, वन विनाश, वन्यजन्तुको वासस्थान विनास तथा समग्र जैविक विविधताको ह्रास भइरहेको छ ।
समाधान के ?
विकास दिगो हुनुपर्छ । कम लागतमा पुस्तौँसम्म बढी लाभ दिने विकासलाई दीगो विकास भनिन्छ । अनावश्यक विनाश गरेर भएको विकासले पुनः विनाश निम्त्याउँछ । विकासका योजनाले निरन्तररूपमा प्रतिफल तथा सेवा दिन सक्दैनन् । निर्माणभन्दा निर्माणपछिको मर्मत सम्भार र निरन्तरतामा कैयौँ गुणा बढी खर्च हुने गर्छ । हाल नेपालका अधिकांश योजनामा यस्तै भइरहेको छ । हरेक वर्ष मर्मत सम्भार र सुचालू गर्नका लागि निर्माण लागतकै हाराहारीमा रकम विनियोजन गर्नुपर्दा थप विकासका ढोका बन्द भइरहेका छन् । विकासलाई एकीकृत विकास योजनाको रूपमा सञ्चालन गरिनुपर्छ । विकाससँग सरोकार राख्ने सबै निकायको घनिष्ठ समन्वय र सुझावका आधारमा विकासे योजना निर्माण गरिनुपर्छ । विकसित देशले हरेक विकास योजनामा एकीकृत जलाधारक्षेत्र विकास ढाँचा अनुसरण गर्ने नीति लिने गरेकोले उनीहरूको विकास दिगो हुने गरेको छ । पोष्ट कन्स्ट्रसन (निर्माणपछिको अवस्था) का लागि खासै समस्या देखिँदैन । किनकि विकास निर्माण हुने स्थानको माटो, ढुङ्गा तथा भौगर्भिक अवस्थालाई ध्यान दिएर विकास योजना तर्जुमा गरिएका हुन्छन् । वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने विधिलाई प्राथमिकतामा राखिन्छ अनि बर्खा होस् वा हिउँदमा न पहिरो न भूस्लखनको समस्याको पीडा भोग्नुपर्ने हुन्छ । हामीकहाँ हरेक योजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने प्रावधान त छ तर व्यवहारमा लागू हुन नसक्दाको परिणति हामीले भोगिरहेका छौँ । पहाडी मुलुक भएकोले बर्खामा त बाढी पहिरोको सामना गर्नु हाम्रा लागि स्वाभाविक भए पनि हिउँदमा समेत सुख्खा पहिरोको समस्या भोग्दा बाह्रैमास विकासको प्रतिफल अवरुद्ध हुने समस्याबाट मुक्ति पाउन एकीकृत जलाधार विकास योजना निर्माण गरी कार्यान्वयनमा जानुको विकल्प छैन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना