लोकहितमा दधीचिको देन

kamal rijalकमल रिजाल




वैदिक वैज्ञानिकहरूमा महर्षि  दधीचि पनि बिर्सनै नसकिने नाम हो ।  त्याग र तपस्याका धनी यी महर्षि परहित र परोपकारको पनि खानी नै मानिन्छन् ।  कतै  दधीचि र कतै कतै दध्यङ मात्र पनि भनिने यी महर्षिको दया, माया, मैत्री, करुणा र सेवाभाव त मूलभूत विशेषता नै हो ।  महर्षि  दधीचिको बाबुको नाम ब्रह्मपुत्र महर्षि अथर्वा हुन् भने आमाको नाम कर्दमपुत्री शान्ति हो तर कतै कतै ब्रह्मपुत्र भृगु नै अथर्वा हुन् भन्ने उल्लेख भएको पनि पाइन्छ ।  अथर्ववेदीय गोपथ ब्राह्मणको १ ।  ४ मा यसको गहन विवेच भेटिन्छ ।  वेद–विज्ञानका विशिष्ट धरोहर यी महर्षिको वैदिक संहिताहरूमा तीन पुस्ते योगदान रहेको छ ।  उनका बाबु अथर्वा अथर्ववेदका द्रष्टा ऋषि मानिएका छन् ।  अथर्वा ब्रह्माजीबाटै ब्रह्मविद्यामा दीक्षित व्यक्तित्वमा पर्छन् ।  उनैद्वारा दुष्ट मन्त्रको सँगालो भएकाले यसलाई अथर्व वेद संहिता भनिएको हो ।  त्यस्तै उनका छोरा पिप्पलाद पनि यसै वेदको पैप्पलाद शाखाका द्रष्टा ऋषि मानिएका छन् ।  पिप्पलादद्वारा दृष्ट मन्त्रको सँगालो भएकाले यसलाई पैप्पलाद शाखा भनिएको हो ।  
ज्ञान र विज्ञानका धनी महर्षि दधीचि त्यागी र तपस्वी मात्र होइनन् विशिष्ट याज्ञिक पनि देखिएका छन् ।  ऋग्वेद १ ।  ८० ।  १६ का अनुसार महर्षि अथर्वा र मनु जत्तिकै कुशल याज्ञिक मानिएका यी महर्षिले उनीहरूसँग मिलेर प्रशस्तै वैदिक यज्ञ अनुष्ठान सम्पन्न गरेका छन् ।  अङ्गिरा र अथर्वाहरूले अरणी मन्थन गरेर प्रकट गरेका अग्निलाई सर्वप्रथम प्रज्वलित गर्ने कार्यमा यिनै  दधीचिको विशेष भूमिका देखिन्छ ।  ऋग्वेद १ ।  ८३ ।  ४ तथा ६ ।  १६ को १३ र १४ मा यसको विस्तृत विवेचन भएको पाइन्छ ।  ऋग्वेदकै १ ।  १३९ ।  ९ का अनुसार कण्व, अत्रि, अङ्गिरा, मनु र प्रियमेध जत्तिकै प्राचीन मानिएका यी महर्षि उनीहरू जत्तिकै सर्वज्ञाता पनि देखिएका छन् ।  यस मन्त्रमा उनको ज्ञान, गुण र गतिविधिबारे जसरी प्रकाश पार्ने प्रयास भएको देखिन्छ त्यो निकै मनन योग्य छ ।  ऋग्वेद १० ।  ८७ ।  १२ का अनुसार असत्यका अनुयायी असुरहरू र आसुरी शक्ति नाश गर्ने कार्यमा विशेष योगदान दिएका दध्यङ अर्थात्  दधीचि र अथर्वाले यज्ञ अनुष्ठानका माध्यमबाट देवताहरूलाई सन्तुष्ट पारी दैवी सत्ता स्थापन गर्ने मामिलामा पनि उत्तिकै योगदान दिएका छन् ।  यस प्रसङ्गलाई ऋग्वेद १० ।  ९२ ।  १० ले निकै कलात्मक ढङ्गले चित्रण गरेको छ ।  
अध्यात्मविज्ञानका विशिष्ट विद्वान् महर्षि  दधीचि आधुनिक विज्ञानको क्षेत्रमा पनि सर्वाधिक अगाडि नै देखिएका छन् ।  वैदिक ग्रन्थहरूका शिर प्रत्यारोपणको चर्चा धेरै स्थानमा भएको छ ।  उनी यसको शीर्ष भूमिकामै देखापर्दै आएका छन् ।  अझै आधुनिक विज्ञान शिरप्रत्यारोपणको छेउछाउसम्म पनि पुग्न सकेको छैन तर उनले भने हजारौँ वर्षपूर्व यसमा सफलता पाइसकेका छन् ।  यसबाहेक प्रायः के देखिन्छ भने वैज्ञानिक अनुसन्धान अरूमाथि हुने गर्छ तर उनी भने यस्ता अदुभूत वैज्ञानिक पनि हुन् जसले आफैँमाथि अनुसन्धान गरेका छन्, गराएका छन् ।  उनले देवराज इन्द्रबाट मधुविद्या प्राप्त गरेका थिए ।  यसलाई उनीबाहेक अरूले प्राप्त गर्न नसकुन् भन्ने इन्द्रको चाहना थियो तर अश्विनिकुमारले समेत चाहना गरेकाले टार्न सकेनन् र आफ्नो टाउकोमा स्थानमा घोडाको टाउको जोड्न लगाई उनीहरूलाई मधुविद्या दिएका थिए ।  यतिबेला उनले आफ्नो टाउकोलाई कसरी घोडाको टाउको जोड्न लगाएका थिए भन्ने कुरालाई ऋग्वेद १ ।  ११९ ।  ९ ले बडो रोचक ढङ्गले उल्लेख गरेको छ ।  साथसाथै उनले त्यतिबेला अश्विनिकुमारलाई शरीरको भाँचिएको हड्डी लगायत अन्य अवयव जोड्ने विद्यासमेत सिकाएका थिए, जसको व्याख्यान महर्षि कक्षीवान दैर्घतमसले ऋग्वेद १ ।  ११६ ।  १२ र १ ।  ११७ ।  २२ मा निकै मार्मिक ढङ्गले दिएका छन् ।  उनले अश्विनिकुमारलाई दिएका मधुविद्या पछि ‘प्रवर्ग विद्या रहस्य’को नामले चर्चित हुन पुगेको छ ।  घोडाको मुखबाट निस्केको हुनाले यसलाई अश्वशिरा विद्या भन्ने गरिएको पनि पाइएको छ ।  
महर्षि  दधीचि आफू जति उपकारी दिए ।  उनकी पत्नी गभस्तिनी पनि उत्तिकै सहयोगी र सद्भाव प्रिय देखिएकी छन् ।  एक पटक देवताहरू असुरहरूको डरले हातहतियार लुकाइमाग्न उनको आश्रममा आएका थिए ।  उनलाई असुरहरूले पनि सम्मान गर्ने गरेकाले उनको आश्रममा राख्दा असुरहरूले शङ्का गर्दैनन् र आफ्नो हातहतियार सुरक्षित हुन्छन् भन्ने देवताहरूको सोचाइ थियो ।  यतिबेला कदाचित शङ्का गरे भने उनको आश्रम पनि सुरक्षित नरहने निश्चित नै थियो भने उनीजस्ता त्रिकालदर्शी महर्षिलाई यो कुरा थाहा नहुने पनि प्रश्नै थिएन ।  तैपनि उनले देवताहरूलाई पनि निराश बनाउन चाहेनन् र जे जसो पर्लापर्ला भन्दै बोझ जति आफ्नो टाउकोमा थापेर उनीहरूको बोझ हल्का गरिदिए ।  यसमा गभिस्तिनीले चाहेको भए आपत्ति जनाउन सक्थिन् तर उनले पनि कत्ति आपत्ति जनाइएनन् ।  बरु जति सकिन् सहयोग नै गरिन् ।  समय बित्दै गयो ।  देवताहरू हतियार लिन आएनन् ।  उता विस्तारै दानवहरूले पनि यो कुरा चाल पाएर आश्रममाथि नै आक्रमणको योजना बनाउन थाले ।  यतिबेला पनि  दधीचि भने आश्रममा आक्रमणको भन्दा पनि नासो कसरी सुरक्षित गर्ने भन्ने कुराकै चिन्ता गरिरहेका थिए ।  जब हतियार लुकाउने सुरक्षित स्थान कतै पनि फेला परेनन् त्यसपछि अर्को जोखिम उठाउँदै मन्त्रशक्तिद्वारा समग्र हतियारलाई जलतत्वमा बदली आफैँले पान गरी संसारलाई नै आश्चर्य चकित बनाइदिए ।  हेर्दाहेर्दै दैवी हतियार उनको हड्डीको तहमा जम्न पुगे ।  असुरहरू हेरेका हे¥यै भए ।  
केही समयपछि देवताहरू हतियार फिर्ता माग्न आए ।  ऋषिले यथार्थ निवेदन गरी लाचारी प्रकट गरे ।  तैपनि उनीहरू जसरी भए पनि हतियार चाहिन्छ भनेर अड्डी कस्न थाले ।  त्यसपछि उनले योगबलद्वारा प्राण त्याग गरी अस्थि दान गरेर अर्को अद्भूत उदाहरण प्रस्तुत गरे ।  यतिबेला पनि उनकी भार्या गभस्तिनीले विरोध गरिनन् ।  उल्टै पतिकै मार्ग अनुसरण गरी सहयोग गर्न पुगिन् ।  त्यतिबेला उनी गर्भिणी थिइन् ।  बरु विचरीले ढुङ्गाले हानेर गर्भ विदीर्ण गरी नवजात शिशुलाई वनजङ्गलको जिम्मामा सुम्पिदिइन् तैपनि पतिदेवको परहितकारी कार्यमा असहयोग गर्न चाहिनन् ।  यी वैदिक नारीले सर्वस्व त्यागिन् तर कसैबाट केही चाहिनन् ।  पछि देवराज इन्द्रले उनकै हड्डीबाट बज्र निर्माण गरी वृत्रासुर आदि ९९ वटा असुरहरूको नाश गरेका थिए ।  ऋग्वेद १ ।  ८४ ।  १३ र १४ मा यसको विसद चर्चा भेटिन्छ ।  
वैदिक ग्रन्थहरू मार्फत महर्षि  दधीचिले लोकहितका लागि परेको बेला जस्तोसुकै त्याग गर्न पनि पछाडि पर्नुहुन्न भन्ने जुन सन्देश दिएका थिए त्यसलाई हाल आपसी स्वार्थ र वैमनस्यताको धुलोले क्रमशः छोप्दै ल्याएको छ ।  उनले दुनियालाई दिएको सन्देशतिर सबैले ध्यान दिने हो कि ?

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना