वातावरणलाई बेवास्ता गरेको विकास दिगो हुँदैन

राजधानी काठमाडौँको वातावरणीय प्रदूषण तथा देशका अन्य प्रमुख सहरको प्रदूषणको अवस्था, प्रदूषण नियन्त्रण गर्न सञ्चालन भइरहेका गतिविधि तथा चुनौतीलगायतका विषयमा वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीसँग गरिएको कुराकानीको सार सङ्क्षेप ःdurga dawadi

० राजधानी सहर रहेको उपत्यका प्रदूषणमुक्त किन नहुन सकेको होला ?
– काठमाडौँ उपत्यकाको भूगोल हेर्ने हो भने कचौरा जस्तो छ ।  यहाँ प्रदूषण भइसकेपछि बाहिर निस्कनेभन्दा यतै भित्रै रुमल्लिने र फेरि तल झर्ने हुन्छ ।  यस्तो भूगोलका सबै ठाउँमा तुलनात्मक रूपमा प्रदूषणको मात्रा बढी नै हुन्छ ।  हामीले सामान्य आँखाले देखेको धूवाँ, धूलोलाई मात्र प्रदूषण भनिरहेका छौँ ।  उपत्यकाभित्र इँटा भट्टा सञ्चालनमा रहेका छन् ।  अस्पताल, उद्योगधन्दाबाट निस्कने फोहोरको उचित व्यवस्थापन हुन सकिरहेको छैन ।  वायु प्रदूषणको कुरा बढी उठेको देखिन्छ तर यहाँका नदी प्रदूषणको चपेटामा छन् ।  घरको फोहोर सोझै नदीमा फ्याँक्ने प्रवृत्ति रोकिएको छैन ।  आँखाले देखिने प्रदूषण, जुन अहिले जताततै देखिइरहेको छ, स्वास्थ्यका दृष्टिले यो हाम्रो घाँटीभन्दा तल जाँदैन र यो त्यति हानिकारक पनि हुँदैन तर सवारी साधनले पेट्रोल, डिजेल पोलेर फालेको धूवाँ, उद्योगधन्दाको धूवाँ सोझै फोक्सोसम्म पुग्ने भएकाले स्वास्थ्यमा बढी असर गर्छ ।  
त्यसलाई कम गर्ने उपायतिर हामी जानुपर्छ ।  उपत्यकाको प्रदूषणमा यसको योगदान करिब ४० प्रतिशत रहेको छ ।  
० प्लास्टिकका झोलाको प्रयोगलाई निरुत्साहित गर्ने कार्यक्रम फेरि सेलाएको देखियो, विभागले अनुगमन गर्न छाडेको हो ?
– प्लास्टिकको मानव जीवनसँग अत्यन्त घनिष्ठ सम्बन्ध छ ।  प्लास्टिक आफैँमा नराम्रो चिज होइन ।  त्यसको व्यवस्थापन गर्न नसक्दाको परिणामले मात्र फोहोर र दुर्गन्ध हुने हो ।  जथाभावी रूपमा प्लास्टिक फाल्दा सहरको शोभा बिग्रन पुगेको छ ।  नदीहरू फोहोरी भइरहेका छन् ।  विभागले बजार अनुगमन गरेर सामान जफत गर्ने, कारबाहीका लागि सिफारिस गर्ने गरेको थियो तर व्यक्ति स्वयं सचेत नहुञ्जेल विभागले कारबाही गरेर, सामान जफत गरेर मात्र हुँदैन रहेछ ।  अनुगमन पनि कति ठाउँमा गर्ने ? प्लास्टिकका झोला सानो कोठामा मेसिन राखेर पनि उत्पादन गर्न सकिने रहेछ ।  यसरी हेर्दा उत्पादन गर्नेभन्दा प्रयोग गर्ने सामान्य नागरिक कारबाहीमा पर्न थालेपछि अहिले अनुगमनमा विभागले कडाइ गरेको छैन ।  बरु सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।  प्लास्टिक पोल्दा निस्कने धूवाँले त झन् क्यान्सर गराउन सक्ने भएकाले प्लास्टिक नपोल्न र जथाभावी नफाल्नका लागि सबै सजग हुनु जरुरी छ ।
० विभागले उपत्यकाको प्रदूषण त नियन्त्रण गर्न सकेको छैन, देशभरिको प्रदूषण नियन्त्रण कसरी गर्न सक्छ ?
– प्रदूषण गर्ने काम विभिन्न निकायबाट भइरहेको छ ।  त्यसलाई नियन्त्रण गर्ने काम एउटै व्यक्ति, निकायले मात्र सम्भव छैन ।  जुन जुन निकाय, समुदाय तथा व्यक्तिले प्रदूषण गर्ने गरेका छन् ती निकाय, समुदाय वा व्यक्ति स्वयं जिम्मेवार हुनु जरुरी छ ।  फोहोर गर्ने, प्रदूषण गर्ने काममा धेरै सरोकारवाला सक्रिय हुने अनि सफा गर्न र नियन्त्रण गर्न एउटा विभागले किन सकेन भनेर भन्नु कति न्यायोचित होला ? हो, हाम्रो जिम्मेवारी उपत्यका मात्र होइन, देशभरिका सबै क्षेत्रमा हामीले वातावरणीय प्रदूषण हुने खालका क्रियाकलाप नियन्त्रण गर्नुपर्छ तर विभागसँग १६ जना मात्र वातावरण निरीक्षक छन् ।  पर्याप्त साधन स्रोत छैन ।  अनि प्रतिफल उत्कृष्ट खोजेर कसरी न्यायोचित हुन्छ ? विभागले उपलब्ध साधन, स्रोत र जनशक्तिलाई अधिकतम सदुपयोग गरेर काम गरिरहेको छ ।  
० वातावरणका मुद्दा उठाएर विकासका काममा नकारात्मक असर पार्ने काम भइरहेको आरोप लगाउने गरिएको छ नि !
– यो दुर्भाग्यपूर्ण कुरो हो ।  विकास चाहिन्छ तर वातावरण विनाश गरेर, वातावरण प्रदूषण गरेर गरिने विकास दिगो हुन सक्दैन भन्ने कुरामा सबै सहमत हुनुपर्छ ।  वातावरण विनाश नभएर विकास त हुन सक्दैन तर वातावरण संरक्षणको विषयलाई अघि राखेर विकासका योजना अगाडि बढाउनुपर्छ ।  विकास मानव समाजका लागि हो भने मानव स्वास्थ्यभन्दा ठूलो त विकास पनि छैन ।  विकासले स्वास्थ्यलाई सुधार्ने कि बिगार्ने ? वातावरण र विकासलाई एकीकृत गरेर लैजानसके वातावरणमैत्री र दिगो विकास गर्न सकिन्छ ।  वातावरण संरक्षण र विकास एक अर्काका परिपूरक हुन् ।  वातावरणलाई बेवास्ता गरेर विकास गर्छु भन्नु राम्रो कुरा होइन, यो कुरामा विकासविद् र वातावरणविद्ले साझामञ्चमा आउनै पर्छ ।  विकास र वातावरणको साझा मुद्दालाई लिएर एकीकृत कार्ययोजना बनाउनुपर्छ ।  
० अहिले नयाँ नयाँ सहर स्थापना हुँदैछन् ।  ती सहरमा पनि काठमाडौँको जस्तै समस्या नआउला भन्न सकिन्न, होइन र ?
–    हो, धेरै गम्भीर कुरो उठाउनुभयो ।  तराईमा हुलाकी राजमार्ग र पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्गका ठाउँ ठाउँमा नयाँ सहर विकास गर्ने योजना सरकारले बनाएको छ ।  ती सहर निर्माण गर्दा वातावरणीय विषयलाई विशेष ध्यान दिनु जरुरी छ ।  सडक, घर निर्माण हुनु मात्र विकास होइन भन्ने कुरा त काठमाडौँ उपत्यकाले देखाइसकेको छ ।  त्यस्ता सहरले पनि काठमाडौँकै जस्तो पीडा भोग्नु नपरोस् भन्नका लागि सवारी साधन थेग्न सक्ने संरचना, कलकारखाना स्थापना गर्ने क्षेत्र निर्धारण र फोहोरको व्यवस्थापनलगायतका आधारभूत कुराको उत्कृष्ट योजना बनाउनु जरुरी छ ।  नभए आउँदो १० वर्षपछि काठमाडौँको जस्तै समस्याले ती सबै सहरलाई पिरोल्ने छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना