विज्ञापनको भ्रम

laxaman pantaलक्ष्मणदत्त पन्त


नेपालमा पत्रकार तथा मिडियाआबद्ध व्यावसायी, सञ्चालक, मिडिया स्वतन्त्रता वा मिडिया विकासका लागि काम गर्ने भनिएका गैरसरकारी सङ्घ संस्था, पत्रकारको हकहितका लागि कार्यरत सङ्गठनदेखि छाता संस्थाको एउटै गुनासो वा माग सुनिन्छ, ‘हामीलाई विज्ञापन चाहियो, विज्ञापन नभई टिक्नै सकिन्न, हामी अर्थात् सञ्चारगृहलाई जोगाइदिनु प¥यो’ ।  ठूला भनिएका वा आफूले मिडिया उद्योग नै सञ्चालन गरेको भन्ने लगानीकर्ताले त बेलाबखत उद्योगको दाबी गर्दै राज्य वा सरकारसँगै सहयोगको याचना अर्थात् हारगुहार गरेका घटना छर्लङ्गै छन् ।  फलस्वरूप आमसञ्चारका माध्यमका सङ्ख्या ह्वात्तै बढेको छ ।  लगभग सर्वत्रजस्तो देखिने मिडियाको केवल सङ्ख्यात्मक वृद्धि मात्रै भएको हो भन्ने बुझ्न कठिन छैन ।  
आमसञ्चारका माध्यम सञ्चालनका लागि वैधानिक आयआर्जनको एकमात्र स्रोत वा साधन भनेको विज्ञापन हो ।  त्यसो त आमसञ्चारका मुख्य कार्य जस्तो कि सूचना सम्प्रेषण गर्ने, जनचेतना जागाउने, शिक्षा प्रदान गर्ने, मनोरञ्जन गराउने, आमधारणा तय गर्ने, सामाजीकरणको प्रक्रियामा संलग्न गराउने कार्यसँगै विज्ञापनलाई पनि एक महŒवपूर्ण कार्यकै रूपमा लिइन्छ ।  यद्यपि विज्ञापन सूचनाको ‘पेइड’ स्वरूप हो ।  एकातिर सङ्घ संस्था, व्यापारिक केन्द्र, उद्योग तथा कलकारखाना, साझेदार संस्था, सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक संस्था र उत्पादन केन्द्रलगायतले आफ्ना सेवा वा उत्पादनको प्रचारप्रसार र बजार पहुँचका लागि विज्ञापन अनिवार्य छ भने सञ्चारगृहले दिगो रूपमा आफ्ना कार्यका कार्यान्वयन अर्थात् सूचना सम्प्रेषणको कार्य सम्पन्न गर्न विज्ञापन नभई हुँदैन तर नेपालमा अपवादबाहेक प्रतिस्पर्धाबाट भन्दा पनि हारगुहार, रोइकराइ र सूत्रबाट विज्ञापन सङ्कलन गर्ने गरिएका कारण समग्र रूपमा समाचारका उत्पादन र सम्प्रेषण तथा सम्पादकीय निगरानी नै ओझेलमा परेको छ ।  
विज्ञापन दिनेले व्यवसाय वा सेवाको विस्तार हुने आशा कम र आमसञ्चारका माध्यम, तिनका सञ्चालक, सम्पादक र पत्रकारलाई आफ्नो नियन्त्रणमा राख्न सकिन्छ भन्ने मनसाय बढी बोकेको देखिन्छ ।  अर्कोतिर सञ्चारगृहले पनि विज्ञापन पाए सञ्चारगृह चल्ने भएकाले गलत कार्यप्रति आँखा चिम्लिएको विषय कतैबाट लुकेको छैन ।  सञ्चारगृहलाई टिकाइराख्न मूलतः सरकार र व्यापारिक संस्थासँग विज्ञापन माग्ने, विज्ञापनकै आशमा त्यस्ता संस्थाको प्रचारात्मक सामग्रीलाई समाचार वा अन्य विषयमार्फत प्राथमिकता दिने विषयले पनि व्यापकता पाएको छ ।  फलस्वरूप आममानिस, नागरिक, विज्ञापनदाता तथा सूचना प्रापकले सञ्चारमाध्यम मागिखाने साधन हुन्, यिनलाई विज्ञापन नदिइए रून्छन्, कराउँछन् र कतिपय अवस्थामा चरित्र हत्या गर्ने तथा भ्रामक समाचार सम्प्रेषण गर्छन् भन्ने रूपमा बुझेको पाइन्छ ।  
सञ्चारमाध्यमले विज्ञापन पाउनुलाई कृपा गरेको ठान्नु तथा विज्ञापनदाताले विज्ञापन दिनुलाई दया गरेको भनेर सोच्दासम्म नेपालमा विज्ञापन पाउने र दिने नाममा सूचना, समाचार र समग्रमा पत्रकारिताको अन्तर्वस्तु र निष्पक्षता नकारात्मक हिसाबले प्रभावित भई नै रहन्छ ।  साथै पत्रकारिताको विश्वसनीयतामा प्रश्नचिह्न खडा हुने स्थिति कायम रहन्छ ।  सञ्चारमाध्यम, पत्रकार र पत्रकारिता पेसाप्रति सम्मान बढाउन र कठिन समयमा मिडियाले शक्तिको रूपमा कार्य गर्छ भन्ने विश्वास आममानिसलाई जगाउन केही गम्भीर विषयमा सबैको ध्यानाकर्षण हुनु नितान्त आवश्यक छ ।  
सिद्धान्ततः विज्ञापनको लक्ष्य प्रतिस्पर्धा गर्नु होइन बरु सञ्चार गर्नु हो ।  आफ्ना उत्पादन वा सेवाका बारे जानकारी दिने वा अर्थपूर्ण सञ्चार गर्ने कार्य नै सबैखाले विज्ञापनको ध्येय हो ।  विज्ञापनदाताले यो विषय मनन गरे आफ्नो समय र अर्थ दुवैको सदुपयोग गर्न सक्छन् ।  अर्कोतिर दिगो रूपमा सञ्चारमाध्यमको सञ्चालन र व्यवस्थापन गर्न विज्ञापनलाई आफूतिर आकर्षित गर्न सक्छन् ।  दुर्भाग्य यो छ कि नेपालमा विज्ञापन पाउने भनेदेखि धेरैजसो सञ्चारमाध्यमले विज्ञापनजन्य सूचनाको आधिकारिकता र विश्वसनीयता नै मापन गर्दैनन् ।  
जनहितविपरीत र देशविरुद्ध हुने गरेका कार्य जस्तो कि राजस्व छली, गुणस्तरहीन वस्तुको उत्पादन र वितरण, आपराधिक संलग्नता वा भ्रमपूर्ण गतिविधिमा संलग्नबारे नेपाली मिडियाले निगरानी राख्दैन भन्दा अत्युक्ति हँुदैन ।  युनिटी प्रकरण, गुणस्तरहीन सिमेन्ट उत्पादन, चन्द्रागिरी केवलकारको उपभोक्ता लुट, दूरसञ्चार कम्पनी एनसेलको राजस्व छलीजस्ता घटनामा मिडियाको भूमिका निगरानी राख्ने भन्दा पनि एक–दुई पटक समाचार लेखेर आफू अनुकूल विज्ञापन आकर्षित गर्ने वा निःशुल्क दुई÷चार वटा टिकटको लोभमा गुणगानमात्रै गाउने गरिएको विषयलाई बेवास्ता गर्न मिल्दैन ।  यी प्रतिनिधिमूलक घटना मात्रै हुन् ।  
तालिमपश्चात् काम अर्थात् ‘जब ग्यारेन्टी’ भनेर त्यसो नगर्ने र निःशुल्क भर्ना भनी शुल्क लिने तालिम केन्द्र, शैक्षिक संस्था वा रोजगारी दिने भनिएका निकाय भ्रमपूर्ण सूचनाको उत्पादन गरेर प्रचार रणनीति बनाउने काममा जति दोषी छन्, त्यसभन्दा कैयौँ गुणा दोष त्यस्तो सूचनाको सम्प्रेषण गर्ने मिडिया र सम्पादकको छ ।  विज्ञानले खोजी गर्न नसकेको विषयमा कथित धामी – झाँक्री वा बाबाको हवाला दिएर एचआइभी रोग निको पारिन्छ, हात देखाएर जागिर पाइन्छ भन्ने जस्ता कपोलकल्पित विज्ञापन राजधानीबाटै प्रकाशित अखबार र प्रशारण हुने टेलिभिजन च्यानलमा दिनहुँ हेर्न, पढ्न र सुन्न पाइन्छ ।  सम्पादक समग्र अखबार वा सञ्चारमाध्यमकै सम्पादक हो ।  भ्रमपूर्ण विज्ञापनको खेती गर्न सक्रिय समूह, संस्था वा व्यक्तिकोभन्दा बढी दोष त्यस्ता विज्ञापनको सम्प्रेषण गर्न लगानीकर्तालाई जीहजुरी गर्ने सम्पादकको छ ।  
विज्ञापन विज्ञापनदाता, सञ्चारगृह र पत्रकारका लागि आर्थिक समृद्धिको माध्यम हो तर उत्पादन, विचार वा सेवाको सत्यता र विश्वसनीयता मापन नगरी विज्ञापन उत्पादन र सम्प्रेषण गरिए त्यसले सञ्चार वा पत्रकारिता आबद्धलाई मात्र होइन लाखौँ पाठक र उपभोक्तालाई प्रभावित गर्छ ।  मुनाफा कमाउने नाम र लोभमा अनन्त रूपमा विज्ञापनदाताको खोजी गर्ने, सरकारआबद्ध संस्थाबाट अनेक बहानामा सहुलियत र विज्ञापन मागिरहने पद्धतिको अन्त्य नहुँदासम्म सञ्चारकर्मप्रति नागरिक विश्वास बढ्न सक्दैन ।  
जनस्वास्थ्यमा हानि पु¥याउने, नागरिक वा पाठकलाई भ्रममा राख्ने, अस्थिरता र आतङ्क मच्चाउने तथा भ्रामक र कपोलकल्पित किसिमका विज्ञापनको सम्प्रेषण रोकिने अत्यावश्यक छ ।  व्यवसाय धान्न विज्ञापन माग्ने होइन, यो सूचनाको एक सोचसमझपूर्ण तयारी र सम्प्रेषण हो भन्ने हेक्का सबैले राख्नैपर्छ ।  विज्ञापन पनि एक किसिमको सूचना नै हो र यसको सम्प्रेषणका लागि समेत मिडिया कानुन, पत्रकार आचारसंहिता र स्वनियमनसम्बन्धी विषयलाई ध्यान दिइनुपर्ने वास्तविकतालाई मनन गरिनु आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना