चीन भ्रमणका आयाम

rajendra kiratiराजेन्द्र किराती

 

एकहप्ता लामो चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश आउँदै हुनुहुन्छ ।  वार्षिक रूपमा आयोजना हुने बोआओ मञ्चमा भाग लिने क्रममा उहाँ चैत १० गते चीन भ्रमणमा जानुभएको हो ।  प्रधानमन्त्रीले हाइनान प्रान्तमा ओयोजित बोआओ फोरममा चैत १२ गते सम्बोधन गर्नुभयो ।   त्यसपछि १४ गते बेइजिङ ग्रेटहल अफ द पिपलमा राष्ट्रपति सि जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो ।  भेटमा द्विपक्षीय हितका धेरै महŒवपूर्ण मुद्दामा छलफल केन्द्रित भएको बताइएको छ ।  यसबाट भ्रमणले औपचारिकता र सद्भावना मात्र नभएर राजकीय तथा कूटनीतिक हैसियत राखेको स्पष्ट हुन्छ ।  
भ्रमण धेरै किसिमका हुन्छन् ।  अमुक भ्रमण पदावलीले सबै प्रकृतिका भ्रमणको न्याय गर्दैन ।  किनकि, प्रत्येक भ्रमणको प्रकृति, उद्देश्य, प्रभाव र आयाम फरक हुन्छ ।  अर्थात् भ्रमणको आयामले यसको आवश्यकता, औचित्य, उपलब्धि र परिणामलाई निर्धारण गर्छ ।  मूलतः भ्रमणको राजनीतिक, कूटनीतिक, सांस्कृतिक, धार्मिक, औपचारिक र सद्भावीय आयाम हुन्छन् ।  राजकीय तथा कूटनीतिक आयाममा आधारित भ्रमणले राष्ट्रिय स्वार्थको रक्षा गर्छ ।  यसले द्विपक्षीय हित र सम्बन्धमा ऐतिहासिक तथा दूरगामी प्रभाव पार्छ ।  यता औपचारिक भ्रमणले सद्भावीय चरित्र बोक्छ ।  यसले औसत भावनात्मक सम्बन्ध र सद्भावलाई कायम गर्छ ।  यो भ्रमणसम्बन्धी सार्वभौम आयामेली द्वन्द्ववाद हो ।  
नियमतः राष्ट्रिय राजनीतिक परिस्थितिले समग्र कूटनीतिक धरातल निर्धारण गर्छ ।  राजनीतिक व्यवस्थापनविना परिपक्व कूटनीति सम्भव हुँदैन ।  राजनीतिलाई ‘ट्रयाक’ मा नल्याई त्यस मातहतका मुद्दा सल्टिँदैनन् ।  राजनीतिक मुहान सफा नभई तपसिलमा बग्ने खोला सफा हुँदैनन् ।  अर्थात् भद्रगोल र अस्थिर राजनीतिमा कूटनीति पनि बिग्रिएको हुन्छ ।  यसैको उपज हुनुपर्छ आज हाम्रो कूटनीतिक क्षमता र सम्बन्ध खस्किएको छ ।  यसरी राजनीति र कूटनीति गोलचक्करमा फसिरहेको बेला वैदेशिक हस्तक्षेप र चलखेलले प्रश्रय पाउँछ ।  यही धरातलीय यथार्थमा प्रधानमन्त्रीले चीन भ्रमण गर्नुभएको छ ।  यसलाई सकारात्मक सोचको साथ अवसर र चुनौतीका रूपमा आत्मसात् गर्नु श्रेयष्कर हुन्छ ।  नकारात्मक र आग्रहपूर्ण सोचले कोही कसैलाई फाइदा गर्दैन ।
मूलतः यो भ्रमण औपचारिकता र सद्भावनामा मात्र सीमित हुनुहुँदैन ।  राजकीय तथा कूटनीतिक हैसियत राख्दै आगामी दिनका लागि ऐतिहासिक महŒवको हुनुपर्छ ।  बोआओ फोरममा औपचारिक सम्बोधन र यसो फुर्सदमा ‘साइडलाइन’ वार्ताको खासै महŒव रहँदैन ।  यो सनातनी प्रक्रिया र प्रवृत्ति हो ।  यसले भ्रमणको सद्भावीय र प्राविधिक आयामको मात्र प्रतिनिधित्व गर्छ ।  गतिशील, चलायमान, प्रतिस्पर्धी र अन्तरविरोधपूर्ण विश्व राजनीतिमा सुस्त, निष्क्रिय र औपचारिकतामा आधारित कूटनीतिको धेरै अर्थ हुँदैन ।  यस्तो बेला राष्ट्रको हितमा रणनीतिक तथा दीर्घकालीक सम्झौता गरेर अघि बढ्ने हिम्मत गर्नुपर्छ ।  त्यसैले राजकीय तथा कूटनीतिक आयाममा आधारित भ्रमण राष्ट्रिय आवश्यकता हो ।  यसमा प्रधानमन्त्री स्वयं असाध्यै गम्भीर हुनुहुन्छ ।
खास गरेर राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय भेटवार्ताको ऐतिहासिक महŒव छ ।  यो हाम्रो लागि अवसर पनि हो ।  सर्वप्रथमतः भेटवार्तामा प्रधानमन्त्रीले चीनका राष्ट्रपतिको नेपाल भ्रमण सन्दर्भमा कुराकानी गर्नुभएको बताइएको छ ।  दोस्रो, अघिल्लो सरकारको पालामा औपचारिकता र प्रचारबाजीमै मात्र सीमित गरिएका सम्झौताका ठोस कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको छ ।  तेस्रो, ‘वान वेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने सहमति भएको छ ।  चौथो, भूकम्पबाट अवरुद्ध भएको तातोपानी नाका यथाशीघ्र सुचारु गर्न र केरुङ रसुवागढी सडक विस्तारमा पहल थाल्न सकारात्मक छलफल भएको बुझिएको छ ।  पाँचौँ, ल्हासाबाट केरुङ÷काठमाडौँ हुँदै लुम्बिनीसम्मको रेल्वेलाइन विस्तारबारे पनि कुराकानी भयो ।  यस अतिरिक्त ओलाङ्चुङ्गोला, किमाथाङ्का, खासा, केरुङ, खाल्सा र हिल्साको अतिरिक्त नयाँ नाका खोल्दै सडक तथा रेल सञ्जाल विस्तारको पहलबारे पनि वार्ता भयो ।  यता थाँती रहेको सीमासम्बन्धी प्रोटोकलमा हस्ताक्षर गर्ने वातावरण बनाउने विषयमा पनि छलफल भएको छ ।
त्यस्तै पूर्वाधार विकास, जलविद्युत्, संस्कृति र पर्यटनको क्षेत्रमा बृहत् रणनीतिक योजनामार्फत लगानी भिœयाउने सन्दर्भमा कुराकानी केन्द्रित भएको छ ।  भेटवार्तामा स्वतन्त्र व्यापार र ‘क्रसबोर्डर’ आर्थिक क्षेत्र र ‘क्रसबोर्डर’ विद्युत् ट्रान्समिशन लाइन निर्माण गर्ने सवालमा गम्भीर छलफल भएको छ ।  ल्हासाबाट सिधै काठमाडौँसम्म तेलको पाइपलाइन विस्तार र तेल भण्डारण गुरुयोजनाबारे पनि छलफल भएको छ ।  उत्तरतिरका सबै नाकाबाट सिधै तराई जोड्ने सडक सञ्जाल निर्माणको विषयमा पनि कुराकानी भयो ।  फ्रि तिब्बत गतिविधिको विरोध र एक चीन नीतिमा प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनुभएको छ ।  चिनियाँ पर्यटक आकर्षित गर्न निःशुल्क भिसाको बारेमा पनि छलफल भयो ।  भेटवार्तामा प्रधानमन्त्रीले चिनियाँ मुद्रालाई नेपालमा सहज रूपमा उपलब्ध गराउने विषय पनि उठाउनुभएको थियो ।  
यसरी चीनसँग द्विपक्षीय भेटवार्ता गरिरहँदा भारतसहित त्रिदेशीय र बहुदेशीय सम्झौताबारे पनि छलफल भएको बताइएको छ ।  यो चीनको विश्वबजार र प्रभाव विस्तार गर्ने आफ्नै रणनीति पनि हो ।  हाम्रो कूटनीति प्रतिस्पर्धी, आग्रहपूर्ण र एकपक्षीयभन्दा पनि सापेक्षित सन्तुलित हुुनुपर्छ ।  एउटालाई चिढाएर अर्को खुसी पार्ने सङ्कीर्ण र अतिवादी कूटनीतिक प्रवृत्ति गलत छ ।  यस्तो अति ‘इमोशनल’ कूटनीतिले अन्ततः मुलुकको हित गर्दैन ।  यसले भाषणमा ताली पड्काउला, ‘इमोशनल ब्ल्याकमेलिङ’ गर्ला, पार्टी वा चुनावी माहोल बन्ला, जनतालाई भ्रममा पार्ला अनि सरकार गठन वा विघटन गर्ला तर शान्त, स्वतन्त्र, स्थिर र समृद्ध नेपाल बन्दैन ।  बरु यसले अस्थिरतावाद, अराजकतावाद, विखण्डनवाद र प्रतिगमनवादलाई मलजल गर्ने खतरा छ ।  जसको कारण उत्तर, दक्षिण अनि पश्चिमाहरूले खेल्ने बाहना पाउनेछ ।  यो समानता, स्वाभिमान र समृद्धिको लडाइँ लडिरहेका नेपालीको हित प्रतिकूल हुनेछ ।
उत्तरसँग दक्षिण विरोधी अनि दक्षिणसँग उत्तर विरोधी हुने पछिल्लो अवसरवादी सङ्कीर्ण प्रवृत्ति गलत र प्रत्युत्पादक देखिन्छ ।  हामीले दुवैसँग सापेक्षित समदूरीको सम्बन्ध राख्दै उत्तर र दक्षिणको अन्तरविरोधमा समेत मध्यस्तता गर्ने कूटनीतिक परिपक्वता देखाउनु सक्नुपर्छ ।  तब दुवैबाट फाइदा लिन सकिन्छ ।  अन्यथा एउटाले सहयोग गर्दा अर्कोले विरोध गर्ने संस्कार बस्नेछ ।  यसले अनपेक्षित पीडा भोगाइको सम्भावना राख्छ ।  गतिशील, सिर्जनशील, परिपक्व र सन्तुलित कूटनीतिमा नै असली राष्ट्रवाद अन्तरनिहित हुन्छ ।  यसमा आन्तरिक राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पूर्ण अभ्यास गरिन्छ ।  शान्ति, एकरूपता, स्वतन्त्रता र समृद्धिको संस्कृति कायम हुन्छ ।  यो साँचो राष्ट्रवादको द्वन्द्वात्मक चरित्र हो ।  
राष्ट्रिय राजनीतिक परिस्थितिले कूटनीतिक पक्ष निर्धारण गर्छ ।  परिपक्व कूटनीतिले राजनीतिलाई नै टेवा दिन्छ ।  यसकारण राजनीतिक व्यवस्थापन र वस्तुवादी कूटनीतिको द्वन्द्वात्मक सम्बन्ध हुन्छ ।  सबै दलले यसलाई आत्मसात् गर्दै आन्तरिक राजनीतिक व्यवस्थापनमा लाग्नु अनिवार्य हुन्छ ।  प्रधानमन्त्रीको भ्रमण कूटनीतिक सम्बन्ध सुधार र टुटेको कडी जोड्नमा केन्द्रित भएको छ ।  गलत बुझाइ र स्वार्थवश फैलाइएका अपव्याख्या वा भ्रमलाई रामैसँग चिर्न सफल भएको देखिन्छ ।  भ्रमण राजकीय तथा कूटनीतिक आयाममा आधारित भएको छ ।  यो भ्रमण सद्भावमा मात्र सीमित थिएन ।  पुरानो सम्झौता कार्यान्वयन र नयाँ रणनीतिक मेघा योजनाको सन्दर्भमा राष्ट्रपति सीसँगको ३५ मिनेट लामो औपचारिक भेटवार्ताको विशेष महŒव रहेको छ ।  अर्थात् यो भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको छ ।  यसले विना तयारीको भ्रमण परम्परागत ‘लिगेसी’ मा सीमित हुने आग्रह र भ्रमपूर्ण प्रतिक्रियालाई गलत साबित गरिदिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना