‘सहमति गरेर चाँडै चुनावमा जान चाहन्छौँ’

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेताका रूपमा तराई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर सहमतिका लागि सरकारसँग पटक–पटक वार्तामा हुनुहुन्छ ।  मधेशी मोर्चाका तर्फबाट उहाँले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग अनेक पटक वार्ता गर्नुभएको छ ।  उहाँले सहमतिका विभिन्न उपाय पहिल्याउनुभएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनबाट फर्किनु भएपछि वार्ताका लागि तयारी अवस्थामा रहनुभएका ठाकुरसँग गोरखापत्रका पत्रकार सुरेशकुमार यादवले गर्नुभएको कुराकानीको सारसंक्षेप :MAHANTA-THAKUR


सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता के भइरहेको छ ?
– वार्ता जारी छ ।  भन्न लायकको उपलब्धि अहिलेसम्म केही भएको छैन ।  सरकारले वार्ताका लागि बोलाएका बैठकमा नियमित गइरहेका छौँ ।  अहिलेसम्मको उपलब्धि यही हो ।  
पछिल्लो वार्ता (फागुन १०) निकै सकारात्मक रूपमा भएको र अब सहमति होला जस्तो छ नि, के हो यथार्थ ?
– वार्ता त सकारात्मक नै भएको हो तर त्यो परिणाममा देखिएको छैन ।  वार्तामा धेरै कुरा हुन्छन्, धेरै प्रतिबद्धता र विश्वासका कुरा आइरहेका हुन्छन् तर जबसम्म त्यो कार्यान्वयनमा आउँदैन, तबसम्म त्यसलाई हामीले सकारात्मक मान्दैनौँ ।  कोठाभित्र मात्र राम्रा–राम्रा कुरा गरेर हुँदैन ।  बाहिर पनि देखिने गरी कुरा हुनुप¥यो ।  हामीसँग मधेश आन्दोलनका क्रममा मारिएका परिवारलाई क्षतिपूर्ति, मृतकलाई शहीद, घाइतेलाई निःशुल्क उपचार, बन्दी रिहा गर्ने तीन बुँदे सम्झौता भएको थियो तर हालसम्म केही भएको छैन ।  खोई त्यो सम्झौता कार्यान्वयन भएको ? त्यसैले सहमति भयो भनेर मात्र हुँदैन, त्यो कार्यान्वयन पनि हुनुपर्छ ।  हामीले यसपालि भनेका छौँ– सहमतिपत्रमा हस्ताक्षर गर्दैनौँ, देखिने गरी कार्यान्वयन हुनुपर्छ ।
सहमतिका लागि के–के कुरा हुन्छ त बैठकमा ?
– प्रधानमन्त्रीका कुरा सुन्नुहुन्छ भने उहाँले त सबै कुरा आजै हुन्छ जस्तो गर्नुहुन्छ तर केही भएको देखिँदैन ।  संविधान संशोधन नगरिकन चुनावको मितिको घोषणा हुँदैन भनी उहाँले पटक–पटक भन्नुभएकै हो तर चुनावको मिति घोषणा गर्नुभयो ।  संशोधन विधेयक उहाँले ल्याउनुभएको हो तर पारित गराउन सक्नुभएको छैन ।  अहिले पनि चुनावअघि विधेयक पारित हुन्छ भन्नुहुन्छ तर गर्न सक्नुभएको छैन ।  प्रधानमन्त्रीले वार्तामा निकै सकारात्मक कुरा गर्नुहुन्छ तर कार्यान्वयन गर्नुहुन्न, व्यवहारमा देखाउनुहुन्न ।  स्थानीय तहको सङ्ख्या बढाउने, गाउँपालिका, नगरपालिकाका प्रमुखलाई राष्ट्रियसभाका लागि निर्वाचन मण्डलबाट हटाउने, नागरिकता, भाषा र सीमाङ्कनका समस्या समाधान गर्ने भन्नुभएको छ ।  सुन्दा त सकारात्मक नै हो, आजै हुन्छ कि जस्तो लाग्छ तर कार्यान्वयन भएको कतै देखिएको छैन ।  
अहिले संसद्मा प्रस्तुत संशोधन विधेयकका चार विषयमध्ये तीन वटा तत्कालै पास गराउने र सीमाङ्कनलाई सङ्घीय आयोग बनाएर स्थानीय चुनाव सम्पन्न भएलगत्तै टुङ्ग्याउने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभएको छ ।  यो प्रस्ताव मान्न तयार हुनुभएको छ त ?
– हामीले अहिलेसम्म त्यो प्रस्ताव स्वीकार गरेका छैनौँ तर प्रधानमन्त्रीले जे–जे भन्नुभएको छ, त्यो कार्यान्वयनमा ल्याउन कसले रोकेको छ ? हामीले त रोकेका छैनौँ नि ।  यो अरू केही होइन, हामीलाई अल्झाउने र हाम्रो आन्दोलनलाई कमजोर गर्नका लागि सरकारले त्यस्तो गरेको हामीलाई लागेको छ ।  प्रधानमन्त्री आफैँले ल्याएको प्रस्ताव आफैँ किन कार्यान्वयन गराउन सक्नुहुन्न ? कसले रोकेको हो ? आफैँले गरेका प्रस्ताव पारित गराइयोस्, सहमति आफैँ अगाडि बढ्छ ।  त्यो नगरेर खाली वार्ता गर्ने र समय खेर फाल्ने काम मात्र सरकारबाट भएको हो ।  
आयोगबाट सीमाङ्कन टुङ्ग्याउने कुरा आएको छ, त्यसमा तपाईंहरू सहमत हुनुहुन्छ ?
– आयोगबाट नै सीमाङ्कनलाई टुग्याउनुपर्ने कुरा थियो भने सरकारले विधेयकका रूपमा संसद्मा किन लग्यो त ? प्रश्न यहाँ छ ।  सरकारले पहिला त्यसको जवाफ दिनुपर्छ ।  सरकारले सीमाङ्कनसम्बन्धी संशोधन विधेयक संसद्मा आफैँ लगेको हो, आज आफैँले त्यसलाई आयोगमार्फत टुङ्गो लगाउँछु भन्न सुहाउँछ ? अहिलेसम्म हामी संविधान संशोधन गरेर सीमाङ्कनसम्बन्धी विवाद टुङ्गो लगाउनुपर्छ भन्ने अडानमा छौँ ।  
चुनावको मिति घोषणा भइसक्यो, आन्दोलन पनि धेरै दिनदेखि भइरहेको छ, अब समाधानका लागि सरकार र मधेशी मोर्चा दुवै लचिलो हुनुपर्ने होइन ?
–तपाईं नै भन्नुस् अब हामी कति लचिलो हुने ? २०६४ सालदेखि अहिलेसम्म हामी कति लचिलो भएर आएका छौँ विचार गर्नुस् त ।  हामीले एक मधेश एक प्रदेशको माग गर्दै आन्दोलन गरेको सबैलाई थाहा छ ।  त्यो सहमति पनि भएको कुरा सबैलाई थाहा छ तर त्यो कार्यान्वयन भएन ।  अहिले हामी दुई प्रदेशमा झरेका छौँ ।  राज्य पुनःसंरचना उच्च स्तरीय आयोग र तत्कालीन संविधानसभा राज्य पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँट समितिले पनि कञ्चनपुरदेखि झापासम्म दुई प्रदेशको प्रस्ताव गरेको थियो ।  चितवनको १३ वटा गाउँ पनि मधेश प्रदेशमै राखिएको थियो ।  मधेशका भूभाग मात्र छुट्याइदेऊ भन्दा पनि मानिँदैन, योभन्दा अरू लचिलो के हुने ? आजसम्म हामी नै लचिलो हुँदै आइरहेका छौँ, गुमाउँदै आइरहेका छौँ तर सरकार कहीँ लचिलो भएको छैन, बरु हामीमाथि गोली मात्र चलाइएको छ ।
संसद्मा पेस भएको विधेयक पास गराउने दायित्व मधेशी मोर्चाको पनि हो ।  त्यसका लागि तपाईंहरूले पनि पहल गर्नुपर्ने होइन र ?
– विधेयक पास गराउन मधेशी मोर्चाको के कस्तो भूमिका हुन्छ, ती सबै प्रकारका सहयोग र पहल गरिरहेका छौँ तर मुख्य दायित्व सरकारको हो, किनभने विधेयक सरकारले ल्याएको छ ।  सरकारले पास गराउनुपर्ने हो ।  
प्रमुख प्रतिपक्षी दल एमालेले साथ दिइरहेको छैन नि ?
– एमालेलाई मनाउने काम सरकारको हो ।  त्यसका लागि हामी पनि पहल गर्छौ तर सरकारले त्यसको अगुवाइ गर्नुपर्छ ।  अर्को कुरा सरकारसँग दुईतिहाइ बहुमत नभए पनि बहुमत त छ ।  त्यही बहुमत लिएर संशोधनको प्रक्रिया सुरु गर्दा हुन्छ नि तर किन गरिरहेको छैन ।  प्रक्रिया सुरु भएपछि न थाहा हुन्छ कि कसले सहयोग गरिरहेको छ र कसले गरिरहेको छैन ।  पहिले नै फलानोले गरेन भनेर हुँदैन ।  
अहिले त तपाईंहरूले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनुभयो, संशोधन विधेयक पारित गराउन तपाईंहरूको समर्थन हुन्छ त ?
– संविधान संशोधनका लागि हामीले यत्रो आन्दोलन गरिरहेका छौँ ।  पहिला सरकार संशोधन विधेयक पारित गराउन त तयार होस् अनि हामी पनि त्यसका लागि तयार हुन्छौँ ।  परिमार्जनसहित संशोधन विधेयक पारित गराउन हाम्रो समर्थन रहन्छ तर सरकारले त्यसको अगुवाइ गर्नुपर्छ ।  
संविधानको धारा २७४ का सम्बन्धमा तपाईंहरूले गम्भीर रूपमा कुरा उठाउनुभएको छ, के छ त्यसमा त्यस्तो ?
– संविधानको धारा २७४ धारा मात्र होइन, संविधानका थुप्रै धारा यस्ता छन्, जो एक अर्कासँग बाझेका छन् ।  प्रधानमन्त्री बनाउनकै लागि संविधान बाधक हुँदा राष्ट्रपतिले फुकाएको हो नि ।  धारा २७४ ले अहिलेको सरकारलाई सीमाङ्कनका विवाद समाधान गर्ने अधिकार नै नदिएको जस्तो देखिन्छ, त्यसैले त्यसलाई पहिला सुधार गर्नुपर्छ भन्ने हाम्रो माग हो ।  
यो सुधार भएपछि सीमाङ्कन पछाडि टुङ्ग्याउनेमा सहमति जनाउनु हुन्छ त ?
– पहिला त्यो सुधार होस्, अनि कुरा गर्छौं ।  अहिले नै यो भयो भने यो गर्ने, त्यो भयो भने यो गर्ने भन्ने पक्षमा हामी छैनौँ ।  पहिला प्रधानमन्त्रीले गर्नुभएका प्रतिबद्धता र प्रस्ताव पूरा होऊन् अनि पछि के गर्नुपर्छ गरौँला ।  
अहिले सहमतिको प्रमुख बाधक प्रतिपक्ष दल एमाले कि सरकार त ?
– हामीले कसैलाई दोष दिन्नौँ ।  हाम्रा लागि तीन वटै दल उस्तै हुन् ।  कोही बढी, कोही कम होलान् तर तीन वटै दल आपसमा मिलेका छन् ।  उनीहरूलाई कुनै कुरा पास गराउनु छ, कुनै कुरा लागू गराउनु छ भने आपसमा मिल्छन् तर मधेशी मोर्चाका माग पूरा गराउन चाहिँ फुट्छन् ।  
अहिलेसम्म तीन दलको बीचमा केमा कुरा मिलेको छैन ? संविधान निर्माणदेखि लिएर हरेक कुरामा तीन दलबीच कुरा मिलेको छ तर मधेशी मोर्चासँग सम्बन्धित आएको एउटा संशोधन विधेयकमा उहाँहरू किन अलग हुनुहुन्छ ? यसबाट प्रष्ट छ कि तीन दल आपसमा मिलेका छन् ।  एउटै डुङ्गामा तीन वटै सवार हुनुहुन्छ ।  तीन दलबीच सत्ताका लागि मात्र लडाइँ हुन्छ, अरू सबै विषयमा कुरा मिल्छ ।
मधेशी मोर्चाले त विशेष रूपमा एमालेलाई ‘टार्गेट’ गरेको छ, किन त ?
– हामी कसैलाई ‘टार्गेट’ गरेका छैनौँ ।  आफ्नो अधिकारका लागि सङ्घर्ष गरिरहेका छौँ ।  हाम्रो कुनै पनि निर्णय वा दस्तावेजमा फलानो पार्टीलाई ‘टार्गेट’ गर्ने वा निषेध गर्ने भन्ने छैन तर हाम्रो सङ्घर्षको बाधक हुनेलाई कसरी सहेर बस्ने ? एमाले हाम्रो शत्रु होइन, अरू दल जस्तै त्यो दलसँग पनि हाम्रो सम्बन्ध छ ।  कुराकानी हुन्छ, छलफल हुन्छ ।  एमालेले आफ्नो काम गरिरहेको छ, हामीले आफ्नो काम गरिरहेका छौँ ।  
कुनै कारणले चुनाव भएन भने यसको दोष त मधेशी मोर्चालाई जान्छ नि ?
– हामी चुनावको विरोधी होइनौँ, चुनावका लागि हामीले पहिलेदेखि आवाज उठाएको हो तर हामीसँग भएका सहमति र प्रतिबद्धता पूरा गरिनुपर्र्छ भन्ने हो ।  हामीले चुनाव हुनुहुँदैन भनेका छैनौँ ।  हाम्रो माग पूरा गरेर चुनावका लागि बाटो सफा गर्न भनेका छौँ ।  हाम्रो माग जति छिटो पूरा हुन्छ, त्यति छिटो चुनावमा जान सक्छौँ ।  रह्यो कुरा दोषको ।  यसको दोष मधेशी मोर्चालाई किन जान्छ ? यो देशको जिम्मेवारी जसले लिएको छ, जसले हतार–हतारमा चुनावको मिति घोषणा गरेको छ, चुनाव गराउँछु भनेर कम्मर कसेर लागेको छ, त्यसलाई दोष जान्छ ।  हामी चुनावको बाधक कदापि होइनौँ, संविधान संशोधन जसले गर्दैन, त्यो नै चुनावको बाधक हुन्छ ।  बरु हामीलाई चुनावविरोधी देखाउने प्रयास भइरहेको छ ।  हामी काठमाडौँमा बसेर वार्ता गरिरहेका छौँ तर मधेशी जनता भन्छन् काठमाडौँ छाडेर आऊ ।  हामी आशावादी भएर त सरकारसँग वार्ता गरिरहेका छौँ नि ।  हामी चुनावको बाधक भएको भए यो बेला काठमाडौँ छाडेर मधेशमा बस्थ्यौँ ।  आन्दोलनमा हुन्थ्यौँ तर सरकारसँग हामी निरन्तर वार्तामा भएको कारणले बुझ्नुपर्छ कि हामी चुनावको बाधक होइनौँ ।
प्रधानमन्त्री प्रचण्ड चीनबाट फर्किनुभएको छ, अब सहमति होला नि ?
– उहाँ बुधवार चीनबाट फर्किनुभएको छ ।  हेरौँ सहमतिको सूत्र केही ल्याउनुभएको छ कि ।  हामी सहमति होस् भन्ने चाहन्छौँ ।  चीनले त पक्कै पनि मधेशको माग पूरा नगरी चुनाव गराउनु होला भनेको छैन होला ।  पत्रपत्रिकामा चीन चुनावप्रति सकारात्मक छ भन्ने समाचार आएका छन् ।  सही कुरा हो ।  कुनै पनि देश चुनावको विरोधमा हुनै सक्दैन तर यहाँको समस्या पनि समाधान हुनुपर्छ ।  अब प्रचण्डजीसँग कुरा हुन्छ, सहमतिलाई कसरी अगाडि बढाउनु हुन्छ, त्यो चाहिँ उहाँकै हातमा छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना