अन्तर्राष्ट्रिय महोत्सवमा नेपालका १८ चलचित्र

basudevकाठमाडौँ ।  स्विजरल्यान्ड हुने ‘फ्रिवर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नेपालबाट १८ वटा चलचित्र सहभागी गराइनेभएको छ ।  ‘न्यु टेरिटरी’ विधा अन्तर्गत नेपाली चलचित्रको विशेष प्रदर्शनी गरिनेभएको हो ।
इन्टरनेसनल डी फिल्म्स फ्रिवर्गको आयोजनामा (मार्च ३१ देखि अप्रिल ९) चैत १८ देखि २७ गतेसम्म हुने फेस्टिवलमा नेपाली कथानक चलचित्र अन्तर्गत नेपालको पहिलो रङ्गीन चलचित्र कुमारी प्रदर्शनी गरिने जनाइएको छ ।
चलचित्र विकास बोर्डले दिएको जानकारी अनुसार, सिन्दुर, वासुदेव, कागबेनी, नुमाफुङ, मुकुण्डोे, सुनगाभा, लुट, सेर्दाक, कालो पोथी, हु विल बी अ गुर्खा, सुन्तली, हाइवे, ह्वाइट सन (सेतो सूर्य) प्रदर्शन गरिनेछ ।  त्यस्तै छोटा चलचित्रमा दद्या, झा लो, काफल पाक्यो, मलामी, छोरा र भ्वाइस लेस चलचित्र प्रदर्शन गरिनेछ ।  
बोर्डका अनुसार नेपालमा छायाङ्कन गरिएका विदेशी चलचित्रमध्ये हलिउडको एभरेस्ट, कोरियाको हिमालय, जापानको एभरेस्ट–समिट अफ द गड्स, एरिक भ्यालीको डकुमेन्ट्री हिमालयन गोल्ड रस पनि महोत्सवमा प्रदर्शन गरिनेछ ।  नेपाली चलचित्र महोत्सव अवधिमा कम्तीमा दुईपटक प्रदर्शन गरिने जनाइएको छ ।
महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रको फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत नेपाली चलचित्र ‘ह्वाइट सन (सेतो सूर्य)’ र सर्ट फिल्ममा ‘झा लो’ले अन्य विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नेछन् । नेपालका निर्देशक सुवर्ण थापा अन्तर्राष्ट्रिय जुरीमा रहेका छन् ।  बोर्डका अनुसार नेपाली चलचित्रको विकास सम्बन्धी पब्लिक राउन्ड टेबल डिस्कसनमा नेपालका निर्देशक दीपक रौनियार, सुवर्ण थापा, सेनाङ ग्याम्जो तामाङ र निर्माता रामकृष्ण पोखरेल लगायतको सहभागिता रहनेछ ।
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली चलचित्रको सहभागिताबारे अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्रलाई प्राथमिकतापूर्वक प्रदर्शन गरिनुमा पछिल्लो समय नेपाली चलचित्रले अन्तर्राष्ट्रिय जगत्मा देखाएको उल्लेखनीय प्रशंसा र सम्भाव्यता मुख्य कारक हो भन्नुभयो ।  उहाँले अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रको सहभागिताले नेपाली चलचित्रको दायरा फराकिलो बनाउने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना