सङ्कटमा ‘हिमालकी रानी’

 laxmi p pangeniलक्ष्मीप्रसाद पंगेनी

    

 

विश्वमै अति दुर्लभ मानिएको सङ्कटापन्न हिमाली जीव हिउँचितुवा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको भन्दै संरक्षणकर्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।  समुद्री सतहबाट तीन हजारदेखि पाँच हजार ५०० मिटर उचाइ बीचका हिमाली क्षेत्रको हरियाली नभएका चट्टाने पहाड तथा हिउँ पर्ने क्षेत्रमा बसोबास गर्ने ठूलो बिरालो प्रजातिको मांसाहारी जीव हो हिउँचितुवा ।  आकर्षक शरीर तथा शान्त स्वभावको यो जीव बाघभन्दा अलि सानो आकारको हुन्छ ।  हिमाली क्षेत्रको उच्च जाडोसँग पौँठेजोरी खेल्न यसको शरीर बाक्लो भुत्लाले ढाकिएको हुन्छ ।  शरीरभरिका सेतो तथा हल्का खैरो भुत्लाको पृष्ठभूमिमा देखिने काला थोप्लाले हिउँचितुवालाई थप आकर्षक बनाउँछ ।  यसको सरदर तौल ३५ देखि ५५ केजीसम्म हुन्छ भने करिब पाँच फिट लामो शरीरमा तीन फिट जति यसको पुच्छर नै हुने गर्छ ।  चट्टाने हिमशृङ्खलामा शिकार गर्न तथा शत्रुबाट बच्न कुशलतापूर्वक कुद्नुपर्ने भएकोले यसको लचकदार पुच्छरले शरीरलाई सन्तुलनमा राख्ने गर्छ ।  यसको आँखा नीलो वा हरियो रङको हुन्छ ।  नौ देखि ११ सेमी लामो र सात देखि आठ सेमी चौडा पञ्जाको सहायताले यो जीव मानिसको घुँडासम्म आउने बाक्लो हिउँमा पनि सजिलै हिँड्ने र कुद्ने गर्छ ।  फराकिलो टाउको, उठेको निधार, सानो थुतुनोे र नाकको प्वाल ठूलो हुने यस जीवको कान पनि छोटो र सानो नै हुन्छ ।  
झट्ट हेर्दा अन्य चितुवाजस्तो देखिने भए पनि हिउँमा बस्ने भएकोले यसलाई नेपालीमा ’हिउँचितुवा’ र अङ्ग्रेजीमा ’स्नो लियोपार्ड’ भनिएको हो ।  हामीले ’गाईगोरु’ भने जस्तै हुम्ला, जुम्ला, मुगु, डोल्पा जस्ता जिल्लामा हिउँचितुवालाई ’साबुसामु’ भन्ने गरिन्छ ।  ’साबु’ भाले र ’सामु’ पोथी हो ।  मनाङ र मुस्ताङतिर यसलाई ’पाङ्चे’ र ’पाँजे’ तथा कञ्चनजङ्घा क्षेत्रमा यसलाई ’साओ’ भनिन्छ ।  अन्वेषक रडने ज्याक्सनले यसलाई ’हिमालय पर्वतकी महारानी’ को उपमा दिएका छन् भने यो छली तथा लजालु स्वभावको एवम् बिरलैमात्र दर्शन दिने भएकोले यसलाई स्थानीयले ’पर्वतको प्रेत’ को रुपमा पनि लिने गर्छन् ।  
हिउँचितुवाले हिमाली जैविक विविधता संरक्षणको प्रवद्र्धन गर्न मद्दत गर्ने भएकोले प्रकृति संरक्षणकर्ताले यसलाई ’संरक्षणको ध्वजा’ को रुपमा लिने गर्छन् ।  यसको वैज्ञानिक नाम ’अन्सिया अन्सिया’ भए पनि यो जीवको नाता बाघसँग बढी नजिक भएकोले जीवशास्त्रीहरूले आजभोलि यसलाई ’पान्थेरा अन्सिया’ भन्न थालेका छन् ।  अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, आइयुसीएनले पनि पछिल्लो वैज्ञानिक नामलाई मान्यता दिइसकेको छ ।
सन् २००३ मा गरिएको एक अध्ययनले विश्वभर हिउँचितुवाको सङ्ख्या चार हजार ८० देखि छ हजार ५९० सम्म रहेको आँकडा देखाएको छ ।  नेपालमा भने हिउँचितुवाको सङ्ख्या मोटामोटी ३०० देखि ५०० सम्म रहेको बताइए पनि बाघ, गैँडा जस्तै गरी यसको गणना हुन सकेको छैन ।  खासगरी हुम्ला, मुगु, डोल्पा, म्याग्दी, मनाङ, मुस्ताङ, रसुवा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ जिल्लामा हिउँचितुवा पाइने गर्छ ।  सामान्यतया हिउँचितुवाको आयु १०–१२ वर्षको हुन्छ भने २–३ वर्षको उमेरमै प्रजनन कार्यको लागि परिपक्व हुने गर्छ ।  प्रजननको समयमा यसले आफ्नो गन्ध चारैतर्फ छर्कने र चर्को आवाजमा कराउने गर्छ ।  १०–१५ दिनमै पोथी हिउँचितुवा गर्भवती हुन्छे भने करिब ९० देखि १०३ दिनभित्र २ वा ३ डमरु जन्मिन्छन् ।  हिउँचितुवाहरूले आफ्नो बासस्थानको सीमा क्षेत्र कायम गर्न १२ देखि ४० कि.मि. वरिपरिका ढुङ्गा, चट्टान तथा बोटबिरुवामा पिसाब फेरेर गन्ध छर्किन्छन् र त्यही गन्धको आधारमा एक अर्काको सिमाना अतिक्रमण गर्दैनन् ।  हिउँचितुवाहरू बिहान सूर्योदय पूर्व र साँझमा अत्यन्तै सक्रिय हुने गर्छन् ।  हिउँचितुवाको मुख्य आहारा भारल भेडा (ब्लुसीप) भए पनि यसले झारल (नाउर), वनभेडा, कस्तुरी, घोडा, फ्याउ मुसा, लिँडे मुसा, खरायो, च्याखुरा तथा घरपालुवा गाईवस्तुको पनि शिकार गर्ने गर्छ ।  एउटा शिकारले यसलाई करिब दुई हप्ता आहारा पुग्छ ।
हिउँचितुवाको सङ्ख्या घट्दै जानुको प्रमुख कारण अवैध चोरी शिकार नै हो ।  विश्वका धनाढ्य परिवारमाझ पहिरन तथा सजावटका लागि हिउँचितुवाको छाला, ऊन, दाँत तथा पुच्छर निकै लोकप्रिय छ ।  तिनै सम्भ्रान्त परिवारको तृष्णा मेटाउन अवैध शिकारी तथा तस्करहरू हिउँचितुवाको शिकार गर्न तल्लिन छन् ।  हिउँचितुवाको हड्डीलगायत अन्य अङ्ग परम्परागत चिनियाँ औषधि बनाउन प्रयोग हुने गर्छ ।  यस्ता औषधि शक्तिवद्र्धक तथा कामोत्तेजक हुने कुरामा पश्चिमा तथा एसियाली मुलुकका धनाढ्यहरू विश्वास गर्छन् ।  परम्परागत चिनियाँ औषधिमा प्रयोग हुने बाघको हड्डीको आपूर्ति कम हुन थालेपछि त्यस्ता औषधि उत्पादकहरूको ध्यान ठूला बिरालो प्रजाति अर्थात् हिउँचितुवातिर गएको बताइन्छ ।  
हिउँचितुवाको अवैध चोरी शिकार हुनुमा गरिबी तथा चेतनाको अभाव पनि अर्को कारण हो ।  रोजगारीको अभाव तथा एक छाक गर्जो टार्नकै लागि भए पनि स्थानीय हिउँचितुवाको अवैध शिकारमा संलग्न हुने गरेको पाइएको छ ।  जलवायु परिवर्तन तथा तापक्रम वृदिले पनि हिउँचितुवालाई प्रतिकूल प्रभाव पार्न थालेको छ ।  हिउँ पग्लिदै जाँदा हिउँचितुवाको बासस्थान मासिँदै जाने, आहारा प्रजातिका जीवजन्तु लोप हुँदै जाने तथा तापक्रम वृद्धिसँगै तल्लो क्षेत्रमा पाइने वन्यजन्तु र मानव समुदायबाट पनि माथिल्लो क्षेत्रमा अतिक्रमण हुँदै जाँदा हिउँचितुवा ज्यान जोगाउन बसाइँ सर्ने र भाग्दै जाने क्रममा सिकारीको फन्दामा पर्ने गरेका छन् ।  
वन्यजन्तुको अवैध व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) ले हिउँचितुवालाई पहिलो नम्बरको सूचीमा समावेश गरी यो प्राणीको अवैध ओसारपसारमा पूर्ण बन्देज लगाएको छ ।  राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु ऐन, २०२९ ले पनि हिउँचितुवालाई संरक्षित वन्यजन्तुको रुपमा परिभाषित गर्दै अनुसूची एकमा राखी यसको शिकार निषेध गरेको छ ।  
उक्त ऐनको दफा २६ अनुसार हिउँचितुवा जस्ता संरक्षित वन्यजन्तुलाई मार्ने, घाइते बनाउने वा आखेटोपहार राख्ने, खरिद गर्ने वा बिक्री गर्ने व्यक्तिलाई पचास हजारदेखि एक लाख रुपियाँ जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।  
हिमाली पारिस्थिकीय प्रणालीको प्रमुख सूचकको रुपमा हिउँचितुवालाई लिइन्छ ।  यसको बासस्थानमा सुधार हुँदा उच्च हिमाली क्षेत्रको समग्र जैविक विविधता राम्रो भएको मानिन्छ ।  त्यसैले हिमाली क्षेत्रको जैविक विविधता र संरक्षणका कार्य प्रभावकारी बनाउन यसको बासस्थान र चरिचरनका लागि उपयुक्त वातावरण निर्माण गर्नु जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना