शिक्षा सेवाका कर्मचारी अन्योलमा

काठमाडौँ, चैत २१ गते ।  वरिष्ठता कायम हुने गरी व्यवस्थापन नगरिएमा राज्यका तीनवटै तहमा समायोजन नहुने अडानमा शिक्षा सेवाका कर्मचारीहरू रहेका छन् । शिक्षा मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनीहरूले कनिष्ठका मातहतमा रहने गरी गरिने समायोजनलाई आफूहरूले कुनै पनि हालतमा स्वीकार नगरिने बताउँदै वरिष्ठताका आधारमा नेतृत्व पाउने विधिलाई अपनाउनुपर्ने बताए ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिक्षा सेवाका कर्मचारीहरूलाई स्थानीय तहमा व्यवस्थापन गर्न हालै दिएको निर्देशनका कारण शिक्षा निकायका कर्मचारीहरूको बुझाइ गाउँपालिका तथा नगरपालिकाका प्रमुख बनाइएका आफूभन्दा कनिष्ठ कर्मचारीको मातहतमा रही काम गर्नुपर्ने भन्ने रहन गएको छ ।
शिक्षामन्त्री डीआर पौडेलले शिक्षा सेवाका सबै कर्मचारीहरू समायोजन हुन तयार रहेको तर समायोजनसम्बन्धी खाका प्रष्ट नहुँदा अन्योल सिर्जना भएको बताउनुभयो ।
“तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्मलाई तत्कालका लागि समायोजन गर्नुपर्दछ”– उहाँले भन्नुभयो, “कनिष्ठको मातहतमा रहेर काम गर्नुपर्ने भयो भनेर कर्मचारीहरूमा आशङ्का सिर्जना भएको छ ।  उनीहरूलाई त्यसरी समायोजन गरिने होइन भनी विश्वस्त पार्नुपर्ने देखिएको छ । ” Ministry-of-Education
उहाँले विगतमा मन्त्री भइसकेकाहरू स्थानीय तहमा मेयरमा उठ्ने भनी घोषणा गरिरहेको तर विगतमा कार्यालय प्रमुख भइसकेकाहरू अन्य कुनै कर्मचारीको मातहतमा काम गर्न नचाहने गरेको प्रसङ्ग उल्लेख गर्दै थप्नुभयो, “राजनीति र कर्मचारीतन्त्र ठ्याक्कै फरक हुन्छ ।  सङ्घीय कानुनले यी सबै कुरालाई स्पष्ट पार्नेछ । ”
शिक्षा राज्यमन्त्री धनमाया विक खनालले संविधान कार्यान्वयनको सन्दर्भमा समायोजनको आधारमा अल्झिरहनु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो ।
प्रशासनिक अदालतका अध्यक्ष काशीराज दाहालले निश्चित मापदण्डका आधारमा तीनवटै तहमा समायोजन हुनुपर्दछ भन्दै कर्मचारीहरू तीनवटै तहमा समायोजन तथा सरूवा हुनका लागि बाटो खुला हुनुपर्ने बताउनुभयो ।
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सीमाना निर्धारण आयोगको जिम्मेवारी सम्हालिसक्नुभएका पूर्व शिक्षासचिव बालानन्द पौडेलले वरिष्ठ वा कनिष्ठभन्दा पनि सरकारले तत्कालका लागि अस्थायी रूपमा कर्मचारीलाई खटाएको रूपमा लिनुपर्दछ भन्नुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश थपलियाले प्रशासन सेवाका शाखा अधिकृतको मातहतमा शिक्षा सेवाका उपसचिव रहने गरी समायोजन गरिने भन्ने बजारिया हल्लामा सत्यता नरहेको स्पष्ट पार्नुभयो ।
शिक्षा मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद गौतमले सबै कर्मचारी समायोजन हुन तयार भए पनि सम्मानित तवरले समायोजन हुनुपर्दछ भन्नेमा सबैको एकमत रहेको बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना