युवा आकर्षण बढाउन सकिन्छ

वि.सं. २०३६ साल माघ १० गते शंकरबहादुर किसी र इन्द्रमाया किसीको सुपुत्रको रूपमा भक्तपुरको जगातिमा कृष्ण किसीको जन्म भएको हो ।  पत्रकारितामा स्नातकोत्तर गर्नुभएका किसीले १७ वर्षदेखि यस क्षेत्रलाई कर्मथलो बनाउनुभएको छ ।  भक्तपुरस्थित ख्वपः कलेजको पत्रकारिता विभागको प्रमुखको जिम्मेवारीमा समेत रहनुभएका उपप्राध्यापक किसीसँग गोरखापत्रका समाचारदाता उपेश महर्जनले गर्नुभएको कुराकानीको सारसंक्षेप ःkisi

पत्रकारितामा युवा आकर्षण कत्तिको छ ?
विगतमा पत्रकारितामा युवा आकर्षण थियो ।  वि.सं.२०६२/६३ सालतिर मिडियाले हरेक आन्दोलनमा खेलेको भूमिकाका कारण युवा विद्यार्थीको ‘चार्मिङ’ ह्वात्तै बढेको थियो ।  दुई/तीन सिफ्टसम्म स्नातकको पढाइ हुन्थ्यो ।  अहिले कम हुँदै गएको छ ।  राजनीतिक परिवर्तनपछि मिडिया क्षेत्रमा स्नातक अध्ययन गरेका विद्यार्थीले रोजगारी त पाए तर तिनीहरूले राम्रो तलबको अपेक्षाविपरीत नियमित तलब पाउनु नै ठूलो कुरा भएपछि उक्त आकर्षण घट्दै गएको छ तर पत्रकारिता आकर्षक पेसा हो ।  दाम र माम नपाइने भए पनि इज्जत, सम्मान र नामकै लागि पनि धेरै युवाले पत्रकारिता गरिरहेका छन् ।

पत्रकार बन्नका लागि औपचारिक शैक्षिक योग्यता चाहिँदैन  भनिन्छ, तर अहिले पत्रकारितामै विद्यावारिधिसम्मको औपचारिक शिक्षा नेपालमै सुरु भएको छ , तपाइँलाई के लाग्छ ?
हो, विगतमा पत्रकार बन्नका लागि साधारण लेखपढ गरेपछि पुग्थ्यो ।  अहिले त्यस्तो रहेन ।  कुनै पनि मिडियाले पत्रकार पदपूर्तिको लागि ‘भ्याकेन्सी’ खोल्दा नै शैक्षिक योग्यता तोकेर माग्ने गर्छन् ।  सामान्यत स्नातक अनिवार्य र त्योभन्दा माथिको योग्यता समेत खोज्ने गरिएको छ ।  त्यसैले शैक्षिक योग्यताबिना नै पत्रकारिता गर्ने हिजोको अवस्थाले अहिलेको प्रतिस्पर्धात्मक समाजमा सम्भव छैन ।  

विदेशमा समाजशास्त्री भएपछि पत्रकार बन्ने प्रावधानलाई के भन्नुहुन्छ ?
राम्रो हो ।  समाज बुझेका व्यक्ति पत्रकार बन्दा सत्य, तथ्य र सन्तुलनको समाचार तयार हुन्छ ।  नेपालमा पनि पत्रकारिताको न्यूनतम आचारसंहिता र कानुन कार्यान्वयनमा छ ।  यसले राम्रै गरिरहेको छ ।  समाज बुझेको व्यक्ति भए अति उत्तम ।

पत्रकारप्रति हुने गरिएका दुव्र्यवहारलाई कसरी लिनुहुन्छ ?
पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा केही लज्जाजनक घटना नभएका होइनन् ।  सरकारले पत्रकार आचारसंहितालाई कडाइपूर्वक कार्यान्वयन गर्न सके त्यस्तो कार्य निरुत्साहित हुन्छ ।  सरकारले ढिलै भए पनि न्यूनतम पारिश्रमिक निर्धारण समितिले ल्याएको नीतिलाई अनुशरण गरेको छ ।  निजी लगानीमा सञ्चालित मिडिया हाउसले उक्त नीति पछ्याउँदै नियमितरूपमा तलब दिने व्यवस्था गर्दा पत्रकारितामा हुने र देखिने विकृति कम हुँदै जानेछ ।  निजी क्षेत्रका कतिपय पत्रिकाका सम्पादकको मासिक तलब एक लाखसम्म हुन्छ तर त्यहाँ समाचारदातालाई सरकारले तोकिदिएको न्यूनतम पारिश्रमिक दिन समेत कन्जुस्याईं गरिन्छ ।  यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्छ ।  

पत्रकारितामा  भविष्य कत्तिको देख्नुहुन्छ ?
विकासशील देशहरूमा कुनै पनि पेसाको भविष्य सुरक्षित भने हुँदैन ।  पत्रकारिताको पनि त्यस्तै हो ।  पत्रकारिता क्षेत्रमा नाम छ भन्दैमा दामबिना त कसैले भोकभोकै काम गर्न सक्दैन ।  केही वर्षको नामपछि अन्यत्र थुप्रैले दामको पछि पत्रकारितालाई दुरुपयोग गरेको वा पत्रकारिताबाटै पलायन भएका थुप्रै उदाहरण छन् ।

कस्तो नीति ल्याए युवा आकर्षण बढ्छ ?
नेपालमा स्वस्थ पत्रकारिताको विकास अपरिहार्य छ ।  समाजको तेस्रो र राज्यको चौथो आँखाको रूपमा परिभाषित आवाज विहीनहरूको आवाजको रूपमा मिडियालाई सबैले प्रयोग गर्नुपर्छ ।  सामुदायिक समाचारलाई प्राथमिकता दिनुपर्छ ।  तीन करोड नेपालीलाई छोडेर तीनजना नेताको वरिपरि मात्र समाचार केन्द्रित हुनुभएन ।  पत्रकारितामा भएको नकारात्मक सोचलाई निस्तेज गर्दा राम्रो हुन्छ ।  पत्रकारितामा नामसहित दामको उचित व्यवस्था भए युवा आकर्षण बढाउन सकिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना