निर्वाचनमा वागी उम्मेदवारी


bibas wostiविवश वस्ती


 

स्थानीय तहको निर्वाचनमा प्रमुख राजनीतिक दलदेखि साना दलहरूसमेत निर्वाचनमा पूर्णतः होमिइसकेका छन् ।  महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाहरूमा क्रियाशील हरेकजसो राजनीतिक दलभित्र सम्भावित उम्मेदवारको चर्चा–परिचर्चा र खोजी कार्य प्रारम्भ भइसकेको छ ।  तीन प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले समय सीमा तोकेरै उम्मेदवारहरूको नाम छनोट गर्न निर्देशन दिएसँगै अपेक्षाकृत रूपमा चुनावी वातावरणले नगर र ग्रामीण भेकसमेत रङ्गीन पुगेका छन् ।  
राजनीतिक दलहरूका निम्ति स्थानीय तहको निर्वाचन ठूलो र महìवपूर्ण अवसरका रूपमा आएको छ ।  स्थानीय तहको निर्वाचन नभएको लामो अवधि भएको हुँदा राजनीतिक दलहरूले तल तलसम्म आफ्ना एजेन्डाहरू लैजान पाएका थिएनन् ।  न त स्थानीय तहमा नेतृत्व विकास नै हुनसकेको थियो तर अहिलेको स्थानीय तहको निर्वाचनले यी दुवै अवसर प्रदान गरेको छ दललाई ।  अधिकांश दलले स्थानीय तहका नेता–कार्यकर्तालाई व्यवस्थापन गर्ने सुनौलो अवसरका रूपमा पनि निर्वाचन छ ।  दुई दशकसम्म निर्वाचन नहुँदा जिम्मेवारीबोधबाट टाढै रहेका राजनीतिक कार्यकर्ताले अब जनताका समस्यालाई केलाउने जिम्मेवारी पाउँदैछन् ।  र, स्थानीय तहका नेता–कार्यकर्ताले आफूलाई जनपङ्क्तिमा स्थापित तुल्याउने विशेष अवसर पनि हो यो ।  
राजनीतिक दलहरूलाई चौतर्फी रूपमा अवसर, फाइदा र नवीन सम्भावना प्राप्तिको रूपमा हेरिएको स्थानीय तहको निर्वाचनले दलहरूलाई जनताबीचको सम्बन्धलाई पुनःनवीकरण दिलाउने अवस्था त छ नै तर इमानदार, सक्षम र जनपङ्क्तिमा भिजेका उम्मेदवार उठाउने सवालमा राजनीतिक दलहरू चुक्लान् कि भन्ने आशङ्का पनि उत्तिकै छ ।  खासगरी, जनताका बीचमा को लोकप्रिय छन् र कसको जनाधार शून्यमा झरेको छ भन्ने छिनोफानो गर्न पनि कठिन देखिन्छ ।  किनकि, स्थानीय तहका जनताले राजनीतिक दलहरूले गरेका राम्रा कामहरूलाई मूल्याङ्कनको तराजुमा जोखेर मत देलान्, कतिपय सवालमा भने जनताले अनुहार हेरेर पनि मत दिन चाहन्छन् ।  आफ्नै थलोमा रहेर, आफ्नै समस्याहरूलाई निप्ट्यारा गर्न कुन चाहिँ व्यक्ति सक्षम छन्, कसले आफ्ना समस्याका गाँठो फुकाउन पहल गर्छन्, यस्ता पक्षहरूले पनि महìवपूर्ण भूमिका खेल्छन् ।  तसर्थ, जनताबीच भिजेका र जनताका समस्यामा चनाखो हुने प्रतिनिधिलाई नै स्थानीय जनताले पहिलो प्राथमिकतामा राख्ने सम्भावना रहेको हुँदा दलहरूले त्यस्ता अनुहारलाई निर्वाचनको मैदानमा उभ्याउँदा ‘हेभिवेट’ सावित हुने देखिन्छ ।  
प्रमुख राजनीतिक दलहरू सक्षम, इमानदार र जनताबीच लोकप्रिय उम्मेदवार नउठाउँदा पराजयको स्वाद चाख्नुपर्ने कुरामा जति चनाखो देखिन्छन्, वागी (विद्रोही) र अन्तरघातको समस्या झेल्नुपर्ने पक्षले पनि उत्तिकै सशङ्कित एवं चलाख देखिएका छन् ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघि आफ्नो पार्टी निकटका बुद्धिजीवीहरूको भेलामा त्यही चिन्ता प्रकट गर्नुभयो ।  संसदीय होस् वा स्थानीय तहका, हरेकजसो निर्वाचनमा वागीको समस्या झेल्दै आएका र अन्तरघातले थिल्थिलो परेका राजनीतिक दलका नेतृत्व पङ्क्तिलाई यो पक्षले झस्काउनु स्वाभाविकै हो ।  त्यही भएर, काँग्रेस सभापति देउवाले काँग्रेसले वागी र अन्तरघातको विगतको समस्या र व्यथालाई बुझ्दै त्यसलाई शून्यमा झार्ने रणनीति अपनाएको उल्लेख गर्नुभएको थियो ।  
वागी र अन्तरघातको पीडाबाट प्रायः सबै राजनीतिक दल पीडित छन् ।  वागी र अन्तरघातीहरूकै सक्रियताका कारण विगतमा कतिपय जित्ने ठाउँमा पनि दलका उम्मेद्वारहरूले पराजयको नराम्रो स्वाद ग्रहण गर्नुपरेको छ ।  खासगरी, काँग्रेस र एमालेले २०४८ सालको आमनिर्वाचनका पालादेखि नै वागी र अन्तरघातीको समस्या झेल्दै आएका छन् ।  पछिल्लो दुई निर्वाचनमा भाग लिएका माओवादी केन्द्रले पनि यो समस्यालाई भोगिसकेको छ ।  कुनै पनि राजनीतिक दलहरू वागी उम्मेदवार र अन्तरघातले निम्त्याउने समस्याबाट बेखबर देखिँदैनन् ।  
राजनीतिक दलमा पसिना बगाएका प्रायः सबै नेता–कार्यकर्तालाई निर्वाचनमा उम्मेदवार हुने लालसा हुनु अनौठो पक्ष होइन ।  किनकि, राजनीति गर्नुको उद्देश्य नै जनप्रतिनिधिमा निर्वाचित भएर जनताको सेवा गर्नुका साथै आफ्नो राजनीतिक क्षमता प्रदर्शन गर्ने पनि हो ।  त्यही कारण, निर्वाचनमा टिकट पाउने, उम्मेदवार हुने र निर्वाचित भएर जनताका नेता बन्ने अपेक्षा राजनीति गर्नेहरूमा स्वतः हुन्छ ।  तर, आफूले टिकट नपाएर आफ्नै समकक्षी, कनिष्ठ वा कतिपय ठाउँमा गुटगत आधारमा टिकट वितरण हुँदा इख र गुटगत मानसिकताका कारण वागी उम्मेदवार खडा हुनु स्वाभाविक देखिँदै आएको छ ।  वागी उम्मेदवारकै कारण कतिपय राजनीतिक दलले महँगो मूल्य समेत चुकाउनुपरेको विगत छ ।  तसर्थ, वागी उम्मेदवारको समस्या उत्पन्न हुनु भनेको कार्यकर्ता पङ्क्तिलाई उचित व्यवस्थापन र प्रशिक्षण गर्न नसक्नुकै परिणति हो, कार्यकर्तालाई अनुशासनको डोरोमा बाँध्न नसक्नुको प्रतिफल हो र पार्टीभित्र उत्पन्न अराजकता, असन्तुष्टि र अन्यमनस्कतालाई हल गर्न नसक्नुको उत्पादन हो ।  
हरेक राजनीतिक दलहरू गुटगत क्रियाकलाप र मानसिकताबाट मुक्त छैनन् ।  यो नेपालका राजनीतिक दलहरूमा देखिएको ठूलो रोग हो ।  र, कहिल्यै खाटा बस्न नसक्ने घाउ हो यो ।  अलिअलि खाटा बस्दै गए पनि कुनै घटना–सन्दर्भमा फेरि बल्झिहाल्छ ।  निर्वाचनका क्रममा वागी उम्मेदवार खडा हुनु र अन्तरघात झाँगिनुको पृष्ठभूमिमा यही गुटगत क्रियाकलाप र मनोवृत्तिले काम गरेकोमा कुनै आशङ्का देखिँदैन ।  विगतमा त कस्तोसम्म गलत प्रवृत्ति मौलाएको थियो भने, एउटा समूहका उम्मेदवारले टिकट पाउँदा अर्को समूहले देखादेखी असहयोग गर्ने मात्र होइन, पराजयको डिलमा पु¥याउने खेलसमेत भएका थिए ।  खासमा, यो पार्टीभित्र व्याप्त गुटबन्दीको पराकाष्ठा थियो ।  
स्थानीय तहको निर्वाचनमा वागी उम्मेदवार नउभिऊन् र अन्तरघातको पीडा पनि झेल्नु नपरोस् भनेर प्रमुख राजनीतिक दलहरूले अहिलेदेखि नै सचेतता अपनाउन थालिसकेका छन् ।  त्यसका निम्ति काँग्रेस, एमाले, माओवादी केन्द्रजस्ता दलहरूले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र प्रजातान्त्रिक बनाउने अभ्यास थालिसकेका छन् ।  
तल्लो तहबाटै सिफारिस भएर आएका व्यक्तिलाई उम्मेदवार चयन गर्ने प्रक्रियामा प्रमुख राजनीतिक दलहरू सहमत भएका छन् ।  यस्तो अभ्यासले स्थानीय तहमा रुचाइएका व्यक्तिहरू आउने सम्भावना प्रवल हुन्छ तर भुल्न नहुने पक्ष के हो भने, स्थानीय तहका पार्टी सङ्गठनहरूले लोकप्रिय, चुनाव जित्ने हैसियत बोकेका र इमानदार व्यक्तिहरूको नाम चयन गर्नुको साटो बहुमतका आधारमा आफ्नै गुटका, अलोकप्रिय एवं सान्दर्भिकता हराइसकेका पात्रलाई चयन गर्नसक्ने खतरा पनि विद्यमान छ ।  
यस्तो स्थिति उत्पन्न हुँदा वागीहरूको लहर लाग्ने, अन्तरघातको जालो झनै फैलिने र विगतका जस्तै पीडाबाट जेलिने समस्यामा राजनीतिक दलहरू फस्ने छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना