विश्वविभूति महर्षि वाल्मीकि


kamal rijalकमल रिजाल








वैदिक दर्शनमा आफँै वैदिक मन्त्रद्रष्टा ऋषिमा पर्दैनन् तर उनको कृतिमा वेद र वेदान्तको राम्रै उपस्थिति भेटिन्छ ।  मन्त्रद्रष्टा ऋषिहरू वेदमन्त्रको खोजीमा गएका छन् तर उनका हकमा भने तिनै वेद र वेदान्त आफैँ खोज्दै आएका छन् ।  उनका आदिम महावाक्य आजसम्म विश्वसाहित्यको बीजाक्षर बनेर रहेका छन् ।  निद्रालोकमा हराइरहेको विश्वसमाजलाई सर्वप्रथम जगाउने व्यक्ति महर्षि वाल्मीकि नै हुन् भन्दा फरक पर्दैन ।  त्यसैले उनलाई संस्कृत साहित्यको मात्र नभई विश्वकै आदि महाकवि भन्न कत्ति हिचकिचाउनु पर्दैैन ।  विश्वका प्रायः सबै भाषा परिवारमा संस्कृत शब्द भेटिनुले संस्कृत भाषा विश्वकै प्राचीनतम भाषा हो भन्ने सङ्केत गर्छ ।  अतः यदि संस्कृत भाषा संस्कारकै प्राचीनतम भाषा हो भने सोही भाषाको आदिम महाकवि संसारकै आदिम महाकवि नहुने भन्ने प्रश्नै आउन्न ।  
आफ्ना कृति वाल्मीकीय रामायण, आनन्द रामायण, अद्भूत रामायण, योग वासिष्ठ रामायण आदिद्वारा तमसाच्छन्न दुनियाँलाई तमसो मा ज्योतिर्गमयको स्वाध्याय गराउँदा गराउँदै आफैँ विशिष्ट प्रकाश पुञ्ज बन्न पुगेका यी महर्षि प्रज्ञाचक्षुका जति धनी देखिएका छन् दया, माया, मैत्री, करुणा, स्नेह, सद्भाव र सहिष्णुताका त्यति नै ठूलो खानी मानिन्छन् ।  उनको जीवनको परम उद्देश्य भनेकै विश्व–मानव समाजमा आपसी सद्भाव र भाइचारा कायम गर्नु रहेको छ ।  मूलतः उनको जन्म नै मानवीय सभ्यता कुन चराको नाम हो भन्नुपर्ने अवस्थामा भएको थियो ।  उनका समकालीन महर्षि प्रशुरामकोे गतिविधि र तिनका कारक तìव तत्कालीन परिवेशलाई सम्यक मनन गर्ने हो भने यसबारे धेरै कुरा अनुमान लगाउन सकिन्छ ।  यस्तो अवस्थामा एकातर्फ संसारमा करुण रस प्रवाह गरी दुनियाँलाई दया र माया भन्ने पनि केही हुँदोरहेछ भन्ने कुराको सन्देश दिनु थियो भने अर्कातर्फ असल चरित्र र संस्कारद्वारा मानवीय मर्यादाको पाठ सिकाउनु उत्तिकै आवश्यक थियो ।  त्यसैले उनले आफ्ना काव्यमा सीता, राम, लक्ष्मण, भरत, हनुमान, सुग्रीव आदि यस्ता पात्र खडा गरेका छन्, जसले आफैँं प्रयोग भई आफ्नै चरित्रद्वारा समग्र मानव समाजलाई वसुधैव कुटुम्बकमको शिक्षा दिएका छन् ।  
युगप्रवर्तक महर्षि वाल्मीकिमा वैज्ञानिक चेत पनि उत्तिकै प्रौढ भेटिन्छ ।  उनी ज्योतिर्विज्ञानको त आदि वैज्ञानिक नै हुन् भन्ने कुरा अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाको अध्ययनले नै प्रष्ट पारिसकेको छ ।  उनले आफ्ना कृतिहरूमार्फत त्यतिबेलै आधुनिक विज्ञान र प्रविधिको ढोका राम्रैसित खोलिदिएका छन्, जसमध्ये केहीमा आधुनिक वैज्ञानिकहरू हालै प्रवेश गरेका छन् भने केहीमा प्रवेश गर्ने तरखर गर्दैछन् ।  आधुनिक विज्ञानको निकै डरलाग्दो उपज मानिएको आणविक हतियारलाई त्यतिबेलै सक्रिय र निस्क्रिय पारेर देखाइदिएका थिए ।  आधुनिक वैज्ञानिक प्रयोगशालामा तयार भएका जति पनि विमान तथा वस्तीभेदी क्षेप्यास्त्र छन् तिनलाई समेत आग्नेयास्त्र, वायवेयास्त्र, वरुणास्त्र, पर्जन्यास्त्र, पवनास्त्र आदिको नामबाट वाल्मीकिले चर्चामा ल्याएका थिए ।
सृष्टिविज्ञानमा पनि महर्षि वाल्मीकि एक पाइलो अगाडि नै देखिन्छन् ।  आधुनिक विज्ञानले क्लोन प्रविधि र टेस्टट्युव वेवी प्रकरणलाई भरखरै प्रयोगमा ल्याएको छ तर उनका कृतिहरूमा त्यतिबेलै यसको उल्लेख भएका मात्र छैनन् व्यावहारिक प्रयोगमै आइसकेका छन् ।  उनको प्रमुख नायिका वैदेही सीताको जन्म नै ऋषिहरूको रक्त–क्लोनबाट भएको छ भने उत्पत्ति घडाबाट भएकोले यसलाई टेस्टट्युव बेबी सिर्जनाको प्रतिनिधि चेतनाको रूपमा लिन सकिन्छ ।  उनका कृतिमा जे जति शकुन विज्ञानको चर्चा भेटिन्छ त्यसको त छेउछाउसम्म पुग्न पनि आधुनिक विज्ञानलाई अझै कति समय पर्खनु पर्ने होला !
यस्ता विश्वविभूति महर्षि वाल्मीकि नेपाल र नेपालीका लागि त किन पनि अझ बढी महìवका ठहरिएका छन् भने उनी पनि नेपाली भूमिसित सम्बन्धित छन् ।  पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार उनी पूर्व जन्ममा महर्षि प्रचेताका पुत्र थिए ।  त्यतिबेला उनको नाम अग्नि शर्मा थियो तर कारणवश बाल्यकालमै किरात प्रदेशमा पुगी डाँकुहरूको सरदार बन्न बाध्य भएका थिए ।  त्यतिबेला भने उनको नाम रत्नाकर रहन गएको थियो ।  पछि तिनै रत्नाकर नै देवर्षि नारदको उपदेशअनुसार रामनामको मन्त्र साधना गरी महर्षि वाल्मीकि बन्न पुगेका हुन् ।  भनिन्छ, मन्त्र साधनाका बेला उनको शरीरमा धमिराले गुँढ लगाएको थियो ।  त्यसैले उनको नाम वाल्मीकि रहन गएको हो तर कतै कतै उनलाई किरातपुत्रकै रूपमा लिने गरिएको पनि पाइन्छ ।  यसअनुसार उनी प्रचेता पुत्र हुनु अघि किरातपुत्र रहेका देखिन्छन् ।  जे भए पनि किरात प्रदेश नेपालकै भूभाग हो ।  त्यसैले किरात प्रदेशमा वाल्मीकि बनेका भए पनि वा किरातपुत्र नै वाल्मीकि हुन पुगेका भए पनि उनी नेपाली नै हुन् भन्नेमा भने कत्ति शङ्का छैन ।  उनको आश्रम त्रिवेणीधाम नेपालमै पर्छ भने स्कन्दपुराण नेपाल महात्म्यमा उल्लेख भएअनुसार उनले रामायण लेखेका स्थान वीरा र भद्रा नदीको सङ्गम भक्तपुरको हनुमान घाट मानिएको छ ।  यसबाहेक उनकै अर्को कृति आनन्द रामयण पनि नेपालमै लेखिएको विद्वान्हरूको अनुमान छ ।  
तथापि विडम्बना त के भने यस्ता विश्वविभूति वाल्मीकि र उनीसित सम्बन्धित स्थानबारे धेरै कुरामा हामी अझै अनभिज्ञ नै छौँ ।  वि.सं. २००७ अघि यसबारे चर्चा नै हुँदैनथ्यो ।  जे जति हुन्थे सबै सरकारकै गुणगानमा सीमित रहन्थे ।  सातसालको परिवर्तनपछि संस्कार र सम्पदाप्रेमी केही सहृदयी राष्ट्रसेवकहरूको सद्प्रयासले उनको आश्रमले केही चर्चा पाउँदै आएको पाइए पनि उनले रामायण लेखेका प्रसिद्धस्थल हनुमानघाटको भने धेरैलाई नामैसम्म थाहा नभएको अवस्था छ ।  यद्यपि हाल केही सम्पदाप्रेमीले विश्व– आदि महाकवि वाल्मीकि परिषद् गठन गरी यसको विकासमा चासो देखाएका छन् ।  महर्षि वाल्मीकि नामक मुखपत्र प्रकाशित गरिसकेको संस्थाले महर्षि वाल्मीकि र उनको देनबारे व्यापक प्रचार–प्रसार गर्दै उनको धर्मस्थल र कर्मस्थललाई विश्वसम्पदा सूचीमा आबद्ध गराउन प्रयास गर्नेसम्मको प्रतिबद्धता जनाइसकेको छ तर यत्तिले मात्र पुग्दैन ।  महर्षि वाल्मीकिलाई राष्ट्रिय विभूति घोषित गराउन प्रयास गर्नेदेखि उनको जन्मस्थल एकिन गरी त्यसप्रति सबैको ध्यानाकर्षण गराउनेतर्फ पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ ।  केही दिन अघि व्यासको जन्मभूमिको प्रचारका लागि भारतीय उच्चस्तरीय विज्ञ टोली आउन लागेको र यसको अगुवाई वेद अनुयायी प्रतिष्ठान नेपालले गरेको पनि समाचार आएको थियो ।  यसतर्फ पनि वाल्मीकि परिषद्को ध्यान जानसके अझ राम्रो हुनेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना