टोखादेखि थानसिंह फाँटसम्म सुरुङमार्ग बनाउने तयारी


भउचप्रसाद यादव

काठमाडौँ, चैत २८ गते ।  काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमानासँग जोड्ने उद्देश्यसहित राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म चार किलोमिटर सुरुङमार्ग निर्माण हुने तयारी भइरहेको छ ।  
सडक विभाग, वैदेशिक महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गरिने तयारी भइरहेको जानकारी दिनुभएको छ ।  उहाँका अनुसार काठमाडौँं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्ग अन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भइरहेको छ ।
सुरुङमार्ग निर्माणका लागि अध्ययन कार्य पूरा भइसकेको जानकारी महाशाखा प्रमुख श्रेष्ठले दिनुभयो ।  उहाँका अनुसार अध्ययनले सो सुरुङमार्गको निर्माण सम्भव रहेको देखाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्तावित  त्यस सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गरेको थियो ।  सडक विभागले अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाइसकेको जानकारी उहाँले दिनुभयो ।  अध्ययन अनुसार शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंह फाँटसम्म पुग्ने सो सुरुङमार्गको निर्माण गरिनेकछ । surungmarg
टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म जम्मा चार किलोमिटर रहेको सो सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क
(एआईआईबी)लाई प्रस्ताव पेस गरिसकेको छ ।  प्रस्ताव अनुसार कुल रकम २७ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।  
सरकारले आफ्नै लगानीमा सो सुरुङमार्गको निर्माण गर्ने हो कि भन्ने विषयमा समेत अहिले मन्त्रालयस्तरीय छलफल भइरहेको जानकारीसमेत वैदेशिक महाशाखा प्रमुख श्रेष्ठले दिनुभयो ।
सो सुरुङमार्गको निर्माणपछि साढे दुई घन्टामै राजधानीदेखि चीनको सिमाना केरुङसम्म पुग्न सकिनेछ ।  उहाँका अनुसार यो सुरुङमार्ग निर्माण भएपछि थानसिंह फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना सरकारको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बादेले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्कले सो सुरुङमार्ग निर्माणका लागि ऋण सहयोग गर्न तयार भएमा छिट्टै नै निर्माण प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।  
सरकारले २० वर्षे दीर्घकालीन सडक गुरुयोजना (सन् २००२–२२) अन्तर्गत मुलुकका विभिन्न भागमा सडक निर्माण गरिरहेको छ ।  बीसवर्षे यो दीर्घकालीन सडक गुरुयोजना अनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दूरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य लिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना