राजनीतिको चपेटामा नेपाली पत्रकारिता

laxaman pantaलक्ष्मणदत्त पन्त

 

राजनीतिक आबद्धता, आग्रह–पूर्वाग्रह, आर्थिक तथा अन्य स्वार्थहरू हावी भएका कारण नेपालमा पत्रकार र पत्रकारितासँग आमनागरिकले सत्य, तथ्य तथा वस्तुगत सूचनाको अपेक्षा कम गरिरहेको यथार्थ कतैबाट लुकेको छैन ।  सञ्चार संस्था, मिडियाआबद्ध सङ्गठन, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले आयोजना गर्ने कार्यक्रम होस् वा विभिन्न समयमा गरिएको छलफल र अध्ययनहरूले पत्रकार वा सञ्चारसंस्थाले निजी स्वार्थ, असक्षमता, तालिम र शिक्षाको कमी तथा मूलतः राजनीतिक आबद्धताका कारण दिनप्रतिदिन विश्वासनीयता गुमाउँदै गएको देखाएको छ ।  सन् २०११ देखि २०१३ का बीचमा विश्वविद्यालय अनुदान आयोगका लागि गरिएको सोधले पनि मूलधार भनिएका सञ्चार माध्यमका समाचार कक्ष र सम्पादकहरूले पाठकको रुचि र सूचनाको वस्तुनिष्ठताभन्दा प्रकासक, लगानीकर्ता र विज्ञापनदाताको स्वार्थमा काम गर्ने गरेको देखाएको छ ।  
आर्थिक प्रलोभनका लागि एक अमुक पात्रलाई अर्बपति अर्थविद् भनी प्रस्तुत गरिएको रसेन्द्र भट्टराई प्रकरण होस् वा लाखौं रुपियाँ भेटेर पनि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको भनी इमानदारीको उदारहण देखाउन खोजिएको अनुजा बानिया प्रकरण देशको एक प्रमुख अखवारले सूचनाको योजनाबद्ध सम्प्रेषणमार्फत पाठकलाई विश्वासघात गरेर विश्वसनीयता सङ्कटमा पारेका केही उदाहरण हुन् ।  पहिलो हुने होडवाजीमा निर्वाचनको परिणाममा राजनीतिक फाइदा लिएर आफूअनुकूल हारजित भएको देखाउन होस् वा कुनै प्रसिद्ध व्यक्ति बिरामी भएर अस्पतालमा भर्ना हँुदा चिकित्सकले प्रमाणित नगर्दै मृत्यु भएको भनी प्रकाशन प्रसारण गरिएका समाचार आदिले समाचार सत्यापनविनै सम्प्रेषण हुन्छ भन्ने प्रमाणित गरेको छ ।  
दर्ताविनै र पत्रकारिताको मूल्य मान्यता तथा सिद्धान्त थाहा नै नभई सञ्चालित अनलाइन समाचार पोर्टलको अव्यावसायिक, अमर्यादित र आपत्तिजनक सूचना सम्प्रेषणका कारण त वास्तविक रूपमा पत्रकारिता अभ्यास गर्नेलाई पनि अप्ठ्यारो परेको सर्वविदितै छ ।  प्रेस काउन्सिल नेपालले बारम्बार सचेत गराउँदासमेत त्यस्ता अनलाइन पोर्टलहरू, थुप्रै साप्ताहिक अखवार, टेलिभिजन च्यानलहरू र केही दैनिक अखवारसमेतले जवाफदेही र जिम्मेवार पत्रकारिताको अभ्यास गर्न सकेका छैनन् ।  अर्कोतिर सूचना र समाचारको सत्यतामाथि निगरानी राख्ने निकाय वा संयन्त्र नभएका कारण पनि अपवादवाहेक पत्रकारिता पर्चाकारिता, प्रचारवाजी र स्वार्थपूर्तिको साधन भएको छ ।  
लोकतान्त्रिक समाजमा विविधतालाई वस्तुनिष्ठ तरिकाबाट प्रस्तुत गर्न सञ्चारमाध्यम र पत्रकार स्वतन्त्र, निष्पक्ष, व्यावसायिक हुनु अनिवार्य छ ।  नेपालमा मिडिया विकास वा पत्रकारको हकहितका लागि काम गर्ने भनिएका संस्थाले समेत यी सिद्धान्तको वकालत भने गरेकै देखिन्छ ।  तर विडम्बना चर्चा गरिएका सिद्धान्त पालना हुँदैनन् ।  परिणामस्वरूप स्वतन्त्र छु भन्ने पत्रकार नै सबैभन्दा बढी दलीय आबद्धताको दलदलमा फस्दै गएका थुप्रै उदाहरण नै छन् ।  कुनै पनि दलको सदस्यता लिने वा प्रत्यक्ष राजनीतिमा संलग्न हुनेलाई सदस्यता दिन नमिल्ने भनिएको पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घका तीन–तीन जना पूर्व अध्यक्षहरू नै हालै एक दलले आफ्नो निर्वाचन प्रचार समितिमा सदस्यका रूपमा राखेको राजनीतिक स्वतन्त्रताका हिसाबले जति स्वाभाविक छ त्यसभन्दा धेरै व्यावसायिकताका हिसाबले खतरनाक ।  
पत्रकारले पत्रकारिता गरुञ्जेल राजनीतिक गतिविधिलाई मतदानमा मात्रै सीमित राख्न सके पेशेवर पत्रकार कहलाउन सक्छ ।  विडम्बना, हाम्रोमा त्यो दिन आउने सङ्केत छैन ।  फलतः पत्रकारिता ‘पेशा कम रुचि बढी’ र पत्रकारहरू ‘पेशेवर कम राजनीतिक कार्यकर्ता बढी’ भएको गुनासो सर्वत्र छ ।  
राजनीतिक दल तथा तिनका भातृसंस्थाको निर्वाचन, दल सहभागी हुने राष्ट्रिय वा स्थानीय स्तरका निर्वाचन, पेशागत भनिएका सङ्घसंस्थाका निर्वाचन वा पत्रकारको छाता सङ्गठन भनिएको पत्रकार महासङ्घको निर्वाचनका समयमा अधिकांश पत्रकारहरूको राजनीतिक कित्ता छर्लङ्ग हुने गरेको छ ।  गतसाता काठमाडौँ विश्वविद्यालयमा पत्रकारिताका एक विद्यार्थीले यस पङ्क्तिकारलाई पत्रकार महासङ्घ राजनीतिक दल हो सर ? भनेर प्रश्न गरे ।  करिब एक घण्टा त्यस प्रश्नको सवाल जवाफमा मैले कानुनतः महासङ्घ राजनीतिक दल होइन भन्ने विषय ती विद्यार्थीलाई सम्झाएँ ।  तर एक दैनिक अखवारमा पत्रकारसमेत रहेका ती विद्यार्थीको प्रश्न, नेपाल पत्रकार महासङ्घमा आबद्ध सदस्यहरू विभिन्न राजनीतिक दल वा दलका भातृसंस्था पदाधिकारी वा सदस्य रहेको प्रमाण सुन्दा व्यावहारिक रूपमा महासङ्घ राजनीतिक संस्था होइन भन्ने नैतिक आधार रहेन ।  
महासङ्घका पूर्व तीन अध्यक्षहरू एक दलको निर्वाचन प्रचार समितिमा सदस्य रहेको समाचारको वेभलिंकसमेत ती विद्यार्थीले नै सामाजिक सञ्जालको इनवक्समा पठाए ।  र, उनले त्यसबारे धारणाको अपेक्षा गरे ।  यहाँ पत्रकारिता व्यावसायिकता र राजनीतिक संलग्नताको सन्दर्भ उठाउनुको कारण पनि त्यस्ता विद्यार्थीको खुल्दुली मेटाउनु नै हो ।  
पत्रकारिता पत्र वा आमसञ्चारका माध्यममार्फत सूचनाको सङ्कलन, चयन, प्रशोधन, सत्यापन, सम्पादनपश्चात समाचारका रूपमा सम्प्रेषण गरिने पेशागत प्रक्रिया हो ।  अभिव्यक्ति स्वतन्त्रताकै एक अग्रणी माध्यमका रूपमा पत्रकारितालाई लिइन्छ तर पत्रकारितामा सबैले अभिव्यक्ति गर्ने क्षमता राख्दैनन् वा तिनीहरूसँग त्यस्तो कला, आत्मविश्वास, तालिम वा शिक्षा हुँदैन ।  सबै पत्रकारहरू अभिव्यक्ति स्वतन्त्रता अभ्यास गर्दछन् तर अभिव्यक्ति दिने सबै व्यक्ति पत्रकार हँुदैनन् ।  नेपालमा यो महìवपूर्ण विषयमा संवाद र छलफल कम छ, छलफलमा सहभागी गराउनुपर्ने व्यक्ति राजनीतिक कार्यकर्ता बढी पत्रकार कम छन् ।  परिणामस्वरूप पत्रकारिता र राजनीति उस्तैउस्तै हो भन्ने भ्रमको खेती गर्नेहरूको हालीमुहाली देखिन्छ ।  
पत्रकारिता मूलतः सूचनाको विश्लेषण र समाचारको सम्प्रेषणको समग्र रूप हो ।  सम्पादकीय वा विचार लेखमार्फत सम्पादक वा अखवार बाहिरको लेखकले पनि आफ्नो विचार अभिव्यक्त गर्न सक्छ ।  सम्पादकीय वा लेखमार्फत व्यक्त विचारमा प्रेस वा मिडिया स्वतन्त्रताभन्दा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास हुन्छ ।  समाचारमा राजनीति गर्नु अर्थात् पत्रकार वा संवाददाताका रूपमा कार्यरतलाई राजनीति गर्ने छुट हँुदैन ।  पत्रकारको आवरणमा राजनीतिक दलको कार्यकर्ता वा नेताका रूपमा पेश हुनेलाई दलको प्रचारका लागि पर्चाकारिता गरेको भन्न सकिन्छ ।  
राजनीतिक स्वार्थ वा लक्ष्य पूरा गर्न दलीय पत्रकारिता गरिएको भन्ने पनि सुनिन्छ ।  वास्तवमा पत्रकारिता पत्रकारिता नै हुन्छ ।  यो दलीय, धार्मिक, जातीय वा क्षेत्रीय हँुदैन ।  पत्रकारितालाई त्यस्तो कुनै रूप दिन खोज्नु व्यावसायिकतामाथि धावा बोल्नु नै हो ।  कुनै व्यक्ति राजनीतिक स्वार्थ वा प्रचारका लागि आमसञ्चारका माध्यमको प्रयोगमार्फत सूचना सम्प्रेषण गर्ने वा राजनीतिक जागरणमा संलग्न हुने कार्यलाई राजनीतिक तथा नागरिक अधिकारका दृष्टिकोणले नाजायज भन्न मिल्दैन ।  यहाँनेर महìवपूर्ण विषय भनेको उसलाई पत्रकार भन्ने कि राजनीतिक दलको कार्यकर्ता भन्नेमा हो ।  राजनीतिक मिसनका लागि आमसञ्चारका माध्यममार्फत सूचना सम्प्रेषण गर्ने र राजनीतिक दलको प्रचारप्रसारमा लाग्ने व्यक्ति राजनीतिक दलको कार्यकर्ता हो भन्नेमा शङ्का गर्नुपर्दैन ।  त्यस्तो कार्यमा संलग्नबाट निष्पक्षता वा व्यावसायिकताको अपेक्षा गर्नु हास्यास्पद हुन्छ ।  परम्परागत रूपमा र नेपालको राजनीतिक वृत्तमा पत्रकारले राजनीति गर्नुलाई स्वाभाविक रूपमा लिइए पनि पत्रकार बन्ने दृढविश्वास राख्ने सक्षम, शिक्षित, आत्मनिर्भर र कर्मठ युवा पिंढी पत्रकारितामा राजनीति संलग्न भएको हेर्न चाहँदैन ।  यसतर्फ सरोकारवाला सबै गम्भीर हुनु जरूरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना