अर्थतन्त्र उँभो लाग्ने सङ्केत

Junar_babuजुनारबाबु बस्नेत

 

मुलुकको अर्थतन्त्रमा केही सकारात्मक परिसूचक देखिन थालेका छन् ।  धेरै वर्षपछि महँगी घटेको तथ्याङ्क देखिएको छ ।  महँगी घट्नु आफैँ आश्चर्य पनि हो ।  चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर पनि उच्च हुने प्रक्षेपण आएको छ ।  लामो समयसम्म महँगीको पारो धेरै उच्च थियो ।  महँगी उच्च भए पनि न्यून आर्थिक वृद्धिमा मुलुकको अर्थतन्त्र चेपिएको थियो ।   यतिबेला त देश निर्वाचनको ताप र चापमा परेको छ ।  निर्वाचनले मौद्रिक विस्तार भई केही महँगी बढाउने खतरा त हुन्छ तर सँगसँगै आर्थिक क्रियाकलाप ग्रामीण तहसम्म विस्तार हुन्छ ।  त्यसले आयको आयात बढाउँछ ।  अहिले अनुमान गरेको वृद्धिदरमा सहयोगी हुन सक्छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षको सात महिनामा बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर ३ दशमलव ३ प्रतिशत कायम भएको छ ।  यो महँगी दर हो ।  यस्तो महँगी दर गत आर्थिक वर्षको माघ महिनासम्ममा ११ दशमलव ३ प्रतिशत थियो ।  दोहोरो अङ्कको मूल्यवृद्धि थियो ।  हुन पनि गत वर्षको माघ महिनामा मुलुक भारतीय नाकाबन्दी चरम पीडामा थियो ।  आपूर्ति व्यवस्था ठप्प भयो ।  इन्धनको आपूर्तिमा आएको कमीले सबैखालका वस्तु र सेवामा मूल्यवृद्धिलाई उच्च बनायो ।  त्यसैले पनि गत आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि एक प्रतिशतभन्दा न्यून अर्थात् शून्य दशमलव ७७ प्रतिशतमात्र खुम्चन बाध्य भयो ।
महँगी धेरै घट्यो भनेर अहिल्यै मख्ख पर्ने बेला भने होइन ।  गत वर्ष नै उच्च मूल्यवृद्धि थियो ।  अहिलेको वृद्धिका लागि त्यो आधार मूल्य हो ।  गत वर्षको तुलनामा मात्र अहिले अलि न्यून मूल्य हो ।  तर पनि कतिपय उत्पादनमा आएको सुधारले पनि सकारात्मक प्रतिफल दिएको देखिएको छ ।  अर्को कारण भारतमा मूल्यवृद्धिको चाप गत वर्षदेखि नै न्यून रहेको थियो ।  त्यहाँ पाँच प्रतिशत हाराहारीको मूल्यवृद्धि थियो ।  त्यसको सकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा प¥यो ।  चालु आर्थिक वर्षको सात महिनासम्म सकारात्मक असर देखियो ।  यता, एक÷डेढ महिनामा भने त्यहाँ पनि मूल्यवृद्धिमा केही चाप पर्न थालेको छ ।  भारतमा मूल्यवृद्धि न्यून हुनुमा पेट्रोलियम पदार्थका अन्तर्राष्ट्रिय असाध्य तल्लो बिन्दुमा आउने कारण पनि प्रमुख कारण हो ।
भारतमा अहिले ३ दशमलव ७ प्रतिशतको मूल्यवृद्धि मात्रै रहेको छ ।  खासगरी भारतीय राजनीतिमा तीन वर्षअघि नरेन्द्र मोदीको सत्तारोहणपछि मूल्यमा निरन्तर सुधार आएको छ ।  इन्धनको भाउ अन्तर्राष्ट्रिय बजारमा निरन्तर घट्नु ठूलो अर्थतन्त्रको भारतका लागि भाग्य पनि थियो ।  आपूर्तिमा सहजता भयो ।  अब भने भारतमा मूल्यवृद्धिको चाप पर्न सक्छ ।  तेलको भाउ चलमलाउन थालेको छ ।  मूल्यमा चाप पर्ने खतरा छ ।  असर नेपालमा पनि पर्छ ।  दुईतिहाइ आयात भारतमै निर्भर छ ।  नेपालमा निर्वाचनको चहलपहल अनि बाह्य कारणले चैत महिनामा महँगीको पारो तात्न थालेको उपभोक्ताले महसुस गर्न थालिसकेका छन् ।  
गत वर्ष महँगी उच्च हुनुमा खाद्यपदार्थको मूल्य असाध्य उच्च थियो ।  खाद्य पदार्थहरूमा गत वर्षको पहिलो सात महिनामा १२ दशमलव ८ अर्थात् झण्डै १३ प्रतिशतको मूल्यवृद्धि थियो ।  यो वर्ष भने लगभग मूल्यमा बजार स्थिर रहेको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ ।  खाद्य मुद्रास्फीतिमा शून्य दशमलव २ प्रतिशतको ऋणात्मकले यही भन्छ ।  औसतमा यो अवस्था भए पनि कतिपय उत्पादनको बजार भने राम्ररी नै बढेको छ ।  सबैभन्दा बढी चिनीको मूल्यवृद्धि देखिएको छ ।  चिनी र चिनीबाट बनेको वस्तुहरूको मूल्य १६ दशमलव ५ प्रतिशतले बढेको छ ।  बिडम्बना नै भन्नुपर्छ, एकातिर चिनीको मूल्य उच्च छ भने अर्कातिर उखु किसानले उखुको राम्रो मूल्य पाएनन् ।  समयमा चिनी मिलले लग्दैनन् र पैसा पनि समयमा दिँदैनन् ।  
खाद्यान्नकै कतिपय वस्तु र समूहको भने यो वर्ष पनि मूल्य बढेको छ ।  दलहन तथा गेडागुडी र घ्यु तथा तेल दुवैको मूल्यमा ८ दशमलव ४ प्रतिशतले बढेको छ ।  तरकारीको मूल्यमा गत ५ दशमलव ८ प्रतिशतले बढेको छ ।  फागुन, चैतयता तरकारीको मूल्यमा थप वृद्धि हुने देखिएको छ ।  तरकारी बजारबाट उपभोक्ता अत्तालिन थालिसकेका छन् ।  मासु तथा माछाको मूल्य २ दशमलव ४ प्रतिशतले मात्र वृद्धि देखिएको छ ।  आमउपभोक्ताले उपभोग गर्ने खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ० दशमलव ४ प्रतिशतले कमी आउनु उपभोक्ताका लागि ठूलो राहत हो ।  यो कमी आउनुमा धानको उत्पादन असाध्य राम्रो भयो ।  नेपालमा जागिरमा भनसुन र बालीविरुवालाई मनसुन भन्छन् ।  सरकारले सिँचाइको प्रबन्ध राम्रो गर्न नसकेकै कारण किसान खेतिपातीका लागि अकाशे भर पर्नुपर्छ ।  त्यसो त यो वर्षको वर्षात्मा राम्रो पानी प¥यो ।  हिउँदमा पनि पानी प¥यो ।  हिमालमा हिउँ नै प¥यो ।  त्यसैले समग्र खाद्य सामग्रीमा महँगीको चाप न्यून परेको हो ।  मदिराको खपत असाध्य बढ्दै गएको छ ।  बाहिर गएर नेपाली युवाले ल्याएको रेमिट्यान्स आयको ठूलो अंश अहिले मदिरा आयातमा बाहिरै जान थालेको छ ।  गत वर्षमात्र नेपालीले ५३ अर्ब रुपियाँको आयातीत मदिरा घुट्क्याएका थिए ।  नाकाबन्दीको समयमा पनि उति धेरै मदिरा आयात हुन्थ्यो भने अब त झनै बढ्नै नै भयो ।  
कृषिप्रधान देश भएर पनि खाद्यान्न र पेयमा बाहिरी वस्तुकै पल्ला भारी भइरहेको छ भने गैरखाद्य वस्तुहरू आयातमै आधारित हुनु अनौठो हुँदै भएन ।  त्यसैले गैरखाद्य वस्तुको मूल्य अवस्था अलि उच्च नै रहेको छ ।  आर्थिक वर्षको पहिलो ६ महिनामा गैरखाद्य मुद्रास्फीति ६ दशमलव १ प्रतिशत रहेको छ ।  खाद्य वस्तुको तुलनामा यो उच्च मूल्यवृद्धि हो ।  कतिपय वस्तुको मूल्य न्यून भए पनि कतिपय वस्तुको भाउ उपभोत्तासम्म पुग्दा महँगो नै पर्ने देखिएको छ ।  गत वर्ष गैरखाद्य वस्तुको मूल्य १० दशमलव १ प्रतिशतले बढेको थियो ।  आपूर्ति व्यवस्था सहज भएका कारण लत्ताकपडा, जुत्ता तथा घरायसी सामानको मूल्यमा गत वर्षभन्दा कमी आएको छ ।
क्षेत्रगत रूपमा हेर्ने हो भने महँगी काठमाडौँ उपत्यकाले नै राहत पाएको छ ।  गत वर्ष १४ दशमलव ३ प्रतिशतको उच्च मूल्यवृद्धि रहेको काठमाडौँमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा १ दशमलव १ प्रतिशतको मात्र महँगी बेहोरेको छ ।  यो अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५ दशमलव ९ प्रतिशत, हिमालमा ३ दशमलव २ प्रतिशत, तराईमा ३.० प्रतिशत रह्यो ।  अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११ दशमलव ४ प्रतिशत, हिमालमा १० दशमलव ५ प्रतिशत, तराईमा ९ दशमलव ६ प्रतिशत थियो ।  आपूर्ति व्यवस्थाका कारण मूल्यमा राहत देखिन थालेको छ ।
योपटक राम्रो के भएको छ भने ज्यालादर बढ्दा पनि मूल्यमा स्थिरता देखिएको छ ।  बजेटले कर्मचारीको तलबमा गरेको वृद्धिलगायतले राष्ट्रिय ज्यालादर सूचकाङ्क १४ दशमलव ४ प्रतिशतले बढेको छ ।  ज्याला बढ्दा उपभोक्ताको आयमा भएको वृद्धिको चाप बजारमा दृश्य रूपमा पर्न नसक्नु सकारात्मक हो ।  सबैभन्दा राम्रो पक्ष त एसियाली विकास बैङ्कले चालु आर्थिक वर्षमा ६ प्रतिशतसम्मको आर्थिक वृद्धिको अपेक्षा गरेको छ ।  सरकारले त चालु आर्थिक वर्षका बजेटको अर्धवार्षिक समीक्षा पनि बाहिर ल्याएको छैन ।  खासगरी विकास बजेट खर्चमा देखिएको शिथिलताले आय, उत्पादन र रोजगारीमा प्रतिकूल असर परिरहेको छ ।  तर पनि ऊर्जा आपूर्तिमा आएको सकारात्मक परिवर्तनले उद्योग र सेवा क्षेत्रमा अनुकूल प्रभाव परेको छ ।  लगानी माग बढेका कारण ब्याजदर उच्च हुँदै गएको छ ।  लगानी सम्मेलनले झण्डै १४ खर्ब रुपियाँको प्रत्याभूति त्यसै आभामा सम्भव भएको थियो ।  अब हिंसा, बन्द र हडतालले टाउको नउठाए अर्थतन्त्र उँभो गति लाग्ने स्पष्ट सङ्केत देखिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना