पर्सा बाघको सुरक्षित बासस्थान

haribhadra acharyaहरिभद्र आचार्य

प्रमुख संरक्षण अधिकृत
पर्सा वन्यजन्तु आरक्ष


० केही वर्ष पहिले पर्सा वन्यजन्तु आरक्षको विस्तार र बस्ती स्थानान्तरण गर्ने काम गरियो । यसले संरक्षणमा कस्तो प्रभाव पारिरहेको छ ?
– विशेषगरी बाघको बासस्थान सुधार, आहार प्रजाति बढाउनेलगायतका कामका लागि पर्सा जिल्लाका भाता, रामभोरी, रमौली, प्रतापपुरलगायतका बस्ती स्थानान्तरण गरिएको हो । हामीले सन् २०१३ मा बाघको गणना गरेका थियौँ । त्यसपछि हरेक वर्ष बाघको शूक्ष्म अनुगमन भइरहेको छ, जसमा बाघको सङ्ख्या बढिरहेको छ । यो अवधिमा बाघले आरक्षभित्र बच्चा जन्माएको हामीले भेटेका छौँ । यसले पर्सा बाघको बच्चा जन्माउन सक्ने बासस्थानका रूपमा विकास भएको भन्न सकिन्छ । रमौली र प्रतापपुरलाई घाँसे मैदानका रूपमा विकास गर्न हामी सफल भएका छौँ । वन्यजन्तुका लागि विभिन्न स्थानमा पानीपोखरी निर्माण गर्ने र पानीको स्रोत संरक्षण गर्ने काम गरिरहेका छौँ । घाँसे मैदान र पानीको स्रोतका कारण बाघका लागि आहार प्रजातिका वन्यजन्तुको सङ्ख्या बढिरहेको छ । यो क्षेत्र गैँडाका लागि उपयुक्त बासस्थान बन्ने सम्भावना रहेको छ । त्यसैगरी, आरक्ष विस्तार भएपछि निकुञ्जको पूर्वी सीमाको हल्गोरिया दह क्षेत्रमा त्यस परपरका बासिन्दाको माछा मार्ने, काठ कटानीलगायतका समस्या समाधान भएका छन् । यो विस्तारित क्षेत्रमा बाघ, हात्ती तथा गैँडाजस्ता ज्यादै महत्वपूर्ण वन्यजन्तुलाई विचरण गर्न निकै मद्दत पुगेको छ ।
० त्यसो भए अब यो आरक्षलाई थप विस्तार गर्नुपर्ने आवश्यकता छैन ?
– आरक्षसँग जोडिएको दक्षिणी सीमातर्फ रहेको करिब एक सय वर्ग किलोमिटरको क्षेत्रलाई साझेदारी वनका रूपमा संरक्षण गरिँदै आइएको छ । त्यो क्षेत्रमा पनि आरक्षभित्रका वन्यजन्तु ओहोरदोहोर गर्ने गरेका छन् । बाघको अनुगमन गर्दा त्यो क्षेत्रसम्म बाघले विचरण गरेको भेटिएको छ । बाघ देखिएको ठाउँमा अन्य वन्यजन्तु पनि सहजै देख्न सकिन्छन् । त्यसैले त्यो क्षेत्रलाई थप प्रभावकारीरूपमा संरक्षण गर्नुपर्ने आवश्यक देखिएको छ तर त्यो क्षेत्रलाई आरक्षभित्रै राख्नुपर्छ भन्नेचाहिँ छैन, उपयुक्त संरक्षणको ‘मोडल’ मा त्यो क्षेत्रमा थप प्रभावकारी ढङ्गले संरक्षण गर्नु आवश्यक ठानिएको छ । आरक्षको पूर्वी सीमानातिर पनि महìवपूर्ण वन्यजन्तुको ओहोरदोहोर भइरहने भएकाले सम्भावित बासस्थान हुनसक्ने क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरी काम गर्न सकिन्छ ।
० तराईका सबै संरक्षित क्षेत्रमा हात्ती पाइन्छ तर पनि पर्सा वन्यजन्तु आरक्षमा पाइने हात्तीको विशेषता के हो ?
– नेपालमा पाइने रैथाने हात्तीको संरक्षण गर्ने भनेर स्थापना भएको आरक्ष हो । यहाँका हात्ती नेपालकै रैथाने हुन् । अन्य संरक्षित क्षेत्रमा पाइने हात्ती भारत तथा नेपाल दुवै देशका संरक्षित क्षेत्रमा बस्ने गर्छन् तर पर्सा वन्यजन्तु आरक्षमा बस्ने हात्तीको झुण्ड अन्य क्षेत्रमा बस्दैनन् ।
० संरक्षण अन्तरसम्बन्धित विषय हो, एउटै निकायको सक्रियताले मात्र संरक्षण सम्भव हुन नसक्ने परिप्रेक्ष्यमा आरक्षले अन्य सरोकारवालासँग कसरी समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ ?
यो आरक्षले मकवानपुर, बारा र पर्सा जिल्लालाई छोएको छ । स्थानीय समुदायको सहयोग र सहभागिताबिना संरक्षण कार्य प्रभावकारी हुनसक्दैन । त्यसैले मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीय समुदायको सक्रिय सहभागिताका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गरिएको छ । सुरक्षामा खटिएको नेपाली सेनाको तारादल गण छ, संरक्षण साझेदार संस्थामा विश्व वन्यजन्तु कोषलगायतका संस्थाले काम गरिरहेका छन् । निकुञ्ज प्रशासनले यी सबै सरोकारवाला निकाय तथा संस्थासँग अन्यन्तै नजिकको सम्बन्ध राखेर संरक्षणमा समन्वयकारी र सहजीकरण गरिरहेको छ । स्थानीय प्रशासनलगायत सबैसँग निकटको सम्बन्ध स्थापित गर्न हामी सफल भएकाले नै होला, चोरी शिकार नियन्त्रणमा आएको छ । समन्वय भन्ने कुरा एकपटक गरेर सधैँका लागि पुग्ने नभएकाले यसलाई निरन्तर अगाडि बढाउने काम भइरहेको छ ।
० संरक्षणमा के कस्ता चुनौती देखिएका छन् ?
– आरक्षको अवस्थितिलाई हेर्दा चुरे र भावर क्षेत्रको इकोसिस्टमलाई यसले प्रतिनिधित्व गर्छ । भावर अलि सुख्खा क्षेत्र छ, वन्यजन्तुलाई अत्यावश्यक पर्ने पानीको स्रोतको व्यवस्थापन गर्नु प्रमुख चुनौती देखिएको छ । चुरेको फेदीबाट पाइपमार्फत ल्याएर भावर क्षेत्रमा पानीको स्रोत निर्माण गर्नुपर्ने अवस्था छ भने भावर क्षेत्रका घाँसे मैदानको व्यवस्थापन गर्नु अर्काे चुनौती छ । हाम्रा प्रयास यसतर्फ जारी छन् । आरक्षको बीच भागबाट राजमार्ग गएकाले गैँडा, बाघ, हात्ती तथा अन्य आहार प्रजातिका वन्यजन्तुले ओहोरदोहोर गर्दा दुर्घटना भइरहेको छ । त्यसलाई कसरी न्यून गर्ने भन्ने चुनौती छ । फेरि पनि राजमार्ग विस्तार गर्ने योजना रहेको सुनिन्छ । आउँदा दिनमा ती योजना निर्माण गर्दा वन्यजन्तु ओहोरदोहोर गर्ने ‘अण्डर पास’ वा ‘ओभर पास’ को व्यवस्था मिलाउनु जरुरी छ । दक्षिणी भेगमा काठको कटानी हुने, चुरे भेगमा अवैधरूपमा गोठ राख्ने र जरायो, चित्तल, मृग मार्ने, खोलानालाका ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन हुने जस्ता क्रियाकलाप नियन्त्रणमा राख्न आरक्ष प्रशासनले बढी समय खर्चनु परिरहेको छ ।
० यहाँ पर्या–पर्यटनको सम्भावना कत्तिको देख्नुहुन्छ ?
– दूरीका हिसाबले यो क्षेत्र राजधानीबाट निकै नजिक छ । पर्यटकका लागि अत्यन्त महìवपूर्ण मानिएको चितवनसँग यो क्षेत्र जोडिएको छ । ‘वाइल्ड टुरिजम’ को कुरा छ, ‘नेचर ट्रेक’ गराउन सकिन्छ । गढीमाई मन्दिर नजिक छ । जनकपुरको रामजानकी मन्दिरलाई यसैमा समेट्न सकिन्छ । सिमरामा हवाई सेवा सञ्चालन हुनु, यो आरक्ष राजमार्गको छेउमा रहनु र भारतीय सीमा क्षेत्रबाट नजिक रहेकाले प्रशस्त भारतीय पर्यटक भिœयाउन सकिन्छ । आरक्षबाट अलिमाथि चुरेतिर उक्लँदा मन लोभ्याउने दामन डाँडो पनि यसको नजिकै छ । पर्या–पर्यटनका यति धेरै सम्भावना हुँदाहुँदै पनि विशेषगरी वन्यजन्तुको बासस्थान सुधारका साथै संरक्षणलाई केन्द्रमा राखेर आरक्ष स्थापना भएकाले पर्या–पर्यटनको विषय अलि ओझेल परेको हो तर यसलाई निकुञ्जमा विकास गरेर यहाँको पर्या–पर्यटनको सम्भावनालाई थप विकास गर्न सकिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना