लोडसेडिङ घट्नुको खास कारण

 shobhakar parajuliशोभाकर पराजुली

 

लामो समयदेखि लोडसेडिङको मार खेपिरहेका हामी नेपालीले अहिले केही राहत महसुस गरेका छौँ ।  यो सुखद पक्ष हो ।  उद्योगहरूमा पर्याप्त विद्युत् आपूर्ति हुन बाँकी रहेको र काठमाडौंँ बाहिर खासगरी तराईतिर बेला–बेलामा विद्युत् आपूर्ति काटिइरहेको अवस्था छ ।  गर्मीको मौसमका कारण बीच–बीचमा विद्युत् आपूर्ति बन्द हुने अवस्थाको पूर्ण समाधान हुन सकेको छैन ।  लोडसेडिङमुक्त घोषणा गरे पनि मोफसलमा अघोषित रूपमा केही घण्टा विद्युत् आपूर्ति बन्द भएको छ ।  यसको निराकरण जरुरी छ ।  विद्युत् लाइन जडान हुन बाँकी रहेको तर्फ तदारुकताका साथ उत्पादन बढाउन लाग्नैपर्छ ।  हुन त भारतबाट आयात गरिएका कारण लाडसेडिङबाट राहत पाइएको हो भन्ने त सबैमा जानकारी नै छ ।  जे होस् केही सुविधा प्राप्त भएको छ ।  यथार्थ वास्तवमा यथार्थ नै हुन्छ ।  
मुलुकमा अहिले सबै क्षेत्रमा यथोचित इमानदारिताको अभाव देखिएको छ ।  त्यसैगरी विद्युत् प्राधिकरणका कर्मचारीले धेरै पहिलेदेखि नै गर्दै आइरहेको अनियमितता बाहिर आएको छ ।  त्यसको कानुनी कारबाहीसमेत अघि बढेको छ ।  कर्मचारीको हैसियतबाट गरेका सबैखाले अनियमितताको सुक्ष्म र निष्पक्ष अध्ययन आवश्यक छ ।  यो प्रक्रिया जारी रहनुपर्छ ।  दोषी प्रमाणित भएकालाई कडा कानुनी सजाय गर्नुपर्छ ।  यस्तो कानुनी सजायको व्यवस्था गर्नुपर्छ कि भविष्यमा कसैले पनि अनियमित क्रियाकलाप गर्न नसकोस् ।  विद्यमान कानुनको अविलम्ब संशोधन गरी भ्रष्टाचार गर्नेहरूलाई क्रिमिनल र भविष्यमा कुनै सामाजिक पद धारण र समाजसँग सरोकार राख्ने विषयमा समेत अयोग्य ठहरिऊन् ।  यसमा कडाइ गरिनैपर्छ ।  भ्रष्टाचारीलाई कुनै पनि राजनीतिक दल, नेता र सङ्घ÷संस्थाले प्रत्यक्ष वा परोक्ष संरक्षण दिनुहुँदैन ।  संरक्षण दिएको प्रमाण पाइएमा त्यस्तालाई समेत कानुनी कारबाहीको दायरमा स्वतः पार्ने खालको कानुनी व्यवस्थाको तर्जुमा गरिनुपर्छ ।  यो आजको माग र आवश्यकता दुवै हो ।  
विद्युत् चुहावट, महसुल समयमा नदिने प्रवृत्तिलाई निरुत्साहित गर्न पूर्व सूचना गरेर यो क्रियाकलाप पनि भ्रष्टाचार नै हो भन्ने सोच र मानसिकता बनाई कानुनको समयसापेक्ष संंशोधन गरिनुपर्छ ।  विद्युत् चोरेको प्रमाणित भएमा राज्यबाट नागरिकलाई प्राप्त हुने सुविधाबाट वञ्चित गर्ने खालको कडा कानुनी व्यवस्था गरियो भने त्यसमा कमी आउँछ ।  जिम्मेवार तह, पद, उद्योग आदिले त्यस खालको अनियमितता गरेको प्रमाणित भएमा सामान्य नागरिकलाईभन्दा कमसेकम दोब्बर सजाय र कसैको विवेकाधिकार नरहने गरी सजाय हुने व्यवस्थाको प्रयोग हुनुपर्छ ।  हो, अनुसन्धान गर्दा सुक्ष्म, पारदर्शी र निष्पक्ष भने हुनैपर्छ ।  पक्षपाती र अनियमित गरेको पक्षमा निर्णय दिइएमा निर्णयकर्तालाई समेत कडा सजाय हुने व्यवस्था हुनैपर्छ ।  यसतर्फ सम्बन्धित सबैको अविलम्ब ध्यानाकर्षण होस् ।     
हाम्रो स्मरण शक्ति लामो छैन ।  हामी छिटै हौसिने र छिटै निरास हुने गर्छौं ।  यो मानवीय स्वभाव भए पनि हामी नेपाली गहिरो अध्ययन र अनुसन्धान नै नगरी कसैका प्रतिको धारणासमेत बनाइहाल्छौँ ।  अन्य देशका नागरिकभन्दा यसमा हामी अग्रपङ्क्तिमा छौँ ।  आज म एउटा यस्तो व्यक्ति जसलाई हामीले सदैव स्मरण र श्रद्धा गरिरहनुपर्छ, उनको इतिहास, सिद्धान्त, व्यवहार, पारदर्शिता र इमानदारिताको विषय कोट्टयाउन खोज्दैछु ।  उहाँ हुनुहुन्छ स्वनामधन्य
व्यक्तित्व – शैलजा आचार्य ।  सबैलाई थाहा भएको विषय हो कि उहाँ कृषिमन्त्री हुँदा संसद्को रोष्टमबाट भ्रष्टाचार संस्थागत भएको छ भन्ने अभिव्यक्ति दिएका कारण या त त्यो अभिव्यक्ति फिर्ता लिनुपर्ने वा मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आउँदा उहाँले राजीनामा नै रोज्नुभयो ।  भन्नु परोइन, उहाँ २०१७ साल पुस १ गते कालो झण्डा हातमा लिएर तत्कालीन राजा महेन्द्रले लोकतन्त्रको हत्या गरेको कदमको विरोधमा उत्रने वीरांगना महिला हुनुहुन्थ्यो ।  उहाँको इमानदारिता, पारदर्शिता र स्पष्ट वक्ताको छवि सदा स्मरणीय र पुजनीय नै रहनुपर्छ ।  उहाँ जलस्रोत मन्त्री
(उपप्रधानमन्त्री) समेत हुनुभयो ।  हुन त नेपाली काँग्रेसको उपसभापति जस्तो पदमा रही नेपालको लोकतन्त्रको उदाहरणीय नेतामा समेत सफल र खरो उत्रनुभएको व्यक्तित्व हो शैलजा आचार्य ।  
शैलजा आचार्य छोटो समयका लागि जलस्रोत मन्त्री रहँदा उहाँले अख्तियार गर्नुभएका नीतिका कारण अहिलेको लोडसेडिङ कमीमा ठूलो योगदान रहेको विषय सत्य भए पनि यो बाहिर आउनुपर्छ भन्ने सदासयताले यहाँ स्मरण गरिएको हो ।  ताकि सबै मन्त्री, सांसद, राजनीतिकर्मीलाई दूरदर्शी र इमानदार बन्ने प्रेरणा प्राप्त होस् ।  जलस्रोत मन्त्री रहँदा उहाँले गरेका निर्णय, नीतिहरू रेकर्डमा नै छन् ।  त्यो अहिले पनि हेर्न सकिन्छ ।  छोटो समयमा धेरै काम गर्नु भई एउटा निर्णयमा त्यतिबेला तीन अरब रुपियाँ कमिसन प्राप्त हुने अफर आउँदा त्यो तीन अरब रुपियाँ देशलाई नै आओस् भनेर गर्नुभएका निर्णय र कार्यान्वयनका विषयमा कुनै बेला चर्चा गरौँला र भनौँला कि– नेपालमा त्यस्ता व्यक्ति पनि मन्त्री बनेका थिए तर आज लोडसेडिङ कम हुनुको कारणमा भारतीय सहयोगका अतिरिक्त शैलजा आचार्य जलस्रोत मन्त्री रहँदा ताकाको निर्णयको कारणले समेत हो भन्ने केही बुँदा यहाँ उल्लेख गर्न उपयुक्त हुनेछ ।
उहाँ जलस्रोत मन्त्री हुनुभन्दाअघि २५ मेगावाटभन्दा साना जलविद्युत् आयोजना बनाउन पाइने प्रावधान थिएन ।  उहाँले नेपालजस्तो देशका लागि स–साना जलविद्युत् आयोजना बन्न उपयुक्त हुन्छ भन्ने महसुस गरी २५ मेगावाटभन्दा साना जलविद्युत् आयोजना बनाउन अनुमति दिने नीति पारित गराउनुभयो ।  त्यही नीति अनुरूप अहिले २५ मेगावाटभन्दा कमका जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत्का कारण लोडसेडिङमा कमी आएको हो ।  आयोजना निर्माण गर्न लाग्ने लागत र समयका बारेमा प्राविधिकलाई थाहा छ ।  परिणाम आउन त केही समय लाग्छ नै ।  त्यो नीति पारित भएपछि स्वदेशी लगानीकर्ता उत्साहित भए र केही आयोजना तयारसमेत भए ।  
उत्साहित नेपाली लगानीकर्तालाई बैङ्क तथा वित्तीय संस्थाहरूले ऋण प्रवाह गरे ।  निजी क्षेत्रमा बैङ्क तथा वित्तीय संस्था खोल्ने विषय पनि नेपाली काँग्रेसकै पालामा काँग्रेसकै अग्रसरतामा भएको हो भन्ने यथार्थ हामीले बताउनैपर्छ ।  बैङ्क तथा वित्तीय संस्था यसरी विना रोकतोक खोल्न पाउनुहुँदैन भनेर त्यतिबेला विरोध गर्नेले पनि अहिले आफ्नो सोचमा संशोधन गरिसकेको सुखद अवस्था छ ।  
शैलजा आचार्यले गर्नुभएको त्यही नीतिअन्तर्गत तयार भएका जलविद्युत् आयोजनाबाट गत वर्षभन्दा यस वर्ष १०० मेगावाट विद्युत् थप भएको छ ।  हो, अहिले गरिएको प्रयास पनि सकारात्मक देखिएका छन् ।  यो प्रयास अझ बढी पारदर्शी र इमानदारी रूपमा अघि बढोस् ।  भित्रि रूपमा कुनै अनियमितता नहोस्, नगरियोस् भन्ने चासो र सजगता रहनुपर्छ ।  राम्रो कामको उच्च मूल्याङ्कन र त्यसको जगलाई बिर्सनुहुँदैन भन्ने यो सानो दृष्टान्त मात्र हो ।  अझै पनि मुलुकमा कतिपय व्यक्ति शिरदेखि पाउसम्म इमानदार छन् ।  तिनीहरू राजनीतिमा पनि छन् तर विकृतिले ओझेलमा पारिएका कारण आशातीत प्रगति हुन सकेको छैन ।  यसतर्फको सचेतना आगामी दिनमा आओस् ।  
लोकतन्त्रले भ्रष्टाचारमुक्त सुशासन दिनुपर्छ ।  अहिले जनताको चिन्ताको विषयमध्येको प्रमुख भनेकै भ्रष्टाचार हो ।  राज्यका सबैतिर सुशासनको अभाव छ ।  भ्रष्टाचार राज्यको क्यान्सर नै हो ।   क्यान्सररूपी भ्रष्टाचार अहिले झनै झाँगिएको छ ।  देशको अस्थायी सरकार (राजनीतिक क्षेत्र) र स्थायी सरकार (कर्मचारीतन्त्र) जनताको विश्वास, आशा र भरोसाको दायराभन्दा बाहिर देखिएका छन् ।  जनतामा निराशा र वितृष्णा बढ्दो छ ।  जताततै निरासै निरासाका अभिव्यक्ति सुनिन्छन् ।  यो दुःखद पक्ष हो ।  यसको अन्त्यका लागि सबैको समान दायित्व छ र रहनुपर्छ ।  आ–आफ्नो क्षेत्रमा हामी निरन्तर क्रियाशील रही इमानदारिताले समाजहित हुन्छ भन्ने भावनाको व्यावहारिक रूपान्तरण हुन सक्यो भने केही समयपछि नै सुखद परिणाम प्राप्त हुन सक्छन् ।  
जसरी शैलजा आचार्यको इमानदारिताले अहिले लोडसेडिङमा कमी आउन योगदान पु¥यायो, त्यसै गरी उहाँको पदचिह्नलाई पछ्याउँदै अघि बढ्न सक्यौँ भने नेपालको भविष्य उज्ज्वल रहन्छ ।  आगामी नोभेम्बरदेखि अरूण तेस्रो जलविद्युत् आयोजनाको काम सुरु भई त्यसको पाँच वर्षमा ९०० मेगावाट विद्युत् उत्पादन हुन्छ, जसको १९ प्रतिशत नेपाललाई निःशुल्क प्राप्त हुन्छ ।  आखिर २१ वर्ष पहिले त्यसबेला प्रतिपक्षमा रहेको दल नेकपा एमालेले विरोध गरेका कारण आजभन्दा १६ वर्ष पहिले नै विश्व बैङ्कको सहुलियत ऋणमा उक्त आयोजना सम्पन्न भइसकेको हुने थियो ।  अब यी र यस्ता आयोजना बन्न दिउँ, कसैले बाधा÷अड्चन नपु¥याऔँ ।  यसैमा हाम्रो कल्याण छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना