जलवायु परिवर्तनको असर कम गर्न जोड

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौंँ, वैशाख १ गते ।  जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेका नेपाल जस्ता अल्पविकसित मुलुकलाई जलवायु परिवर्तनबाट अनुकूलन हुने कार्यक्रमका लागि सहयोग गर्न विज्ञ तथा वैज्ञानिकले विश्व समुदायलाई आग्रह गरेका छन् ।  
दिगो विकासका लागि पर्वतीय क्षेत्रका जल तथा मौसमसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा काठमाडौँमा जमघट भएका विश्वभरका जलवायु परिवर्तन विज्ञ, वैज्ञानिकहरूले यस्तो आग्रह गरेका हुन् ।  जलवायु परिवर्तनले नेपाल जस्ता पर्वतीय मुलुकका हिमाल पग्लनु, हिमनदी घट्दै जानु, नयाँनयाँ हिमताल निर्माण हुनुका साथै हिमाली, पहाडी तथा तराईका जनजीवनमा पारेको असरका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।  
जल तथा मौसमविद् समाज तथा जल तथा मौसम विज्ञान विभागको संयुक्त आयोजनामा भएको सम्मेलनमा जलवायु परिवर्तनको असरले नेपाललाई पारेको समस्या र प्रभावलाई अन्तर्राष्ट्रियकरण गर्न सहज भएको नेपाली विज्ञहरूले दाबी गरेका छन् ।  सम्मेलनका निष्कर्षबारे जानकारी दिँदै जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले भन्नुभयो, “हामीले नेपालको वस्तुस्थितिलाई विश्वभरका विज्ञ तथा वैज्ञानिकका अगाडि राख्ने अवसर पायौँ ।  यसले जलवायु परिवर्तनले पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्न सहज भएको छ । ”
युरोप, अमेरिका, एसियालगायतका दुई दर्जन देशका १६० जना विज्ञ तथा वैज्ञानिकको सहभागिता रहेको सम्मेलनमा पर्वतीय क्षेत्रका देशमा जलवायु परिवर्तनले पारेको असर, पछिल्लो समयमा फेरबदल भएको जलचक्र, हिमाली क्षेत्रमा परेको असर, हिमाल काला हुनु, हिमनदीमा परेको असर, हिमाली जनजीवन, वन्यजन्तु तथा जैविक विविधतामा परेको असरबारे कार्यपत्र प्रस्तु भई व्यापक छलफल तथा अन्तरक्रिया भएको छ ।  सम्मेलनका अन्तिम दिन चारबुँदे काठमाडौँ घोषणापत्र पनि जारी भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना