वैदेशिक रोजगारीका कारण घरेलु हिंसा

bisnu lamichhaneविष्णुकुमारी लामिछाने


    

नेपाली दिन प्रतिदिन रोजगारीको सिलसिलामा विदेश जाने क्रम बढ्दो छ ।  वैदेशिक रोजगारीमा जाने प्रायः पुरुष अर्थात् श्रीमान् नै छन् ।  केही श्रीमान्–श्रीमती दुवै जना सँगै पनि गएका छन् भने श्रीमती मात्रै पनि रोजगारीको क्रममा विदेशिएका छन् ।  रोजगारीको कारण लामो समय परिवारबाट टाढिनुपर्ने भएको हुँदा पारिवारिक समझदारीमा कमी आउन थालेको पाइन्छ ।  जसले गर्दा घरेलु हिंसाका घटना हुने गरेका छन् ।
लामो समय होस् या छोटो समय वैदेशिक रोजगारीमा बसेका केही विवाहित महिला, पुरुषले स्वदेशमा रहेको आफ्नो परिवार बिर्सिएर पुनः विवाह गर्ने गरेका यथार्थ हाम्रो समाजमा छन् ।  परिवारको लालनपालनका लागि विदेशिएकाले आफ्नो यथार्थ बिर्सिएका कारण आश्रित परिवारको बिचल्ली भइरहेको छ ।  बालबालिका आफ्ना अभिभावकको माया, स्याहार, संरक्षण, हेरचाहबाट वञ्चित भइरहेका छन् ।  जसले बालबालिकालाई भविष्यमा एक असल र सिर्जनशील वयस्यकका रूपमा समाजमा स्थापित हुने गरी हुर्किने वातावरणबाट अलग गराइरहेको हुन्छ ।  अभिभावकहरू सन्तानको मायाबाट वञ्चित हुनुपरेको छ ।  यसरी वैदेशिक रोजगारीको कारण सामाजिक विचलन पैदा हुँदै गएको छ ।
नवविवाहित जोडी एकआपसमा नजिक हुन नपाउँदै छुट्टिनुपर्ने अवस्थाको सिर्जना भएको छ ।  केही समयसम्म सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहे पनि बिस्तारै विविध कारणले गर्दा टाढिन पुग्छन् ।  श्रीमान्ले म घर आउँदा तँलाई देख्न नपरोस्, अब कुनै सम्बन्ध छैन, जता जानुपर्छ उतै गए हुन्छ भन्ने गालीगलौज गर्छन् ।  वैदेशिक रोजगारीमा गएका सहकर्मीहरूको श्रीमतीले नराम्रो कार्यव्यवहार गरेका रहेछन् भने सोही कुरालाई अनुमान गर्दै अरूले पनि आफ्नी निर्दाेष श्रीमतीमाथि शङ्काको कुदृष्टिले हेर्ने गर्छन् ।  श्रीमान्ले नै टाढिन र मानसिक पीडा दिन थालेपछि परिवारले पनि उनै महिलामाथि पीडा थोपरिरहेका हुन्छन् ।  छिमेकीले पनि अर्काको घरको मामिला भनेर बढी सरोकार राखेको हुँदैन ।  
परिवारमा साझा सरोकारका विषय थुप्रै हुन्छन् जसमा श्रीमान्–श्रीमतीको समझदारी आवश्यक हुन्छ ।  परिवारका अन्य सदस्यसँगको मेलमिलापलाई कायम राख्ने, छोराछोरीको स्याहार सुसार, शिक्षा दीक्षा, लेनदेन कारोबार, सामाजिक व्यवहार लगायत दैनिकीसँग जोडिएका कुरामा आपसी सरसल्लाह हुनुपर्छ ।  सरसल्लाह र एकले अर्कोलाई जानकारी गराउने परिपाटीले श्रीमान्–श्रीमतीको सम्बन्धमा गाढापन ल्याउन मद्दत गर्छ ।  कतिपय दम्पती एकले अर्कोलाई वास्ता नै नगरी एकल निर्णय गर्ने गर्छन् ।  कुनै कार्ययोजना बनाउँदा एक अर्कोसँग सल्लाह नगरी निर्णय लिने परिपाटीले गर्दा सम्बन्ध चिसिँदै गएको र चिसो सम्बन्धकै कारण विच्छेदको रूप लिएका घटना पनि बढिरहेको पाइन्छ ।
वैदेशिक रोजगारीमा जानुपर्नाको कारण स्वदेशमा रोजगारी सुनिश्चित नहुनु नै हो ।  यसले पुरुषमात्र नभई महिला पनि विदेशिन बाध्य भएका छन् ।  महिला वैदेशिक रोजगारमा जाँदा उनीहरूलाई समाजमा हेर्ने दृष्टिकोण पुरुषकोभन्दा फरक छ ।  उनीहरू विदेशमा सुरक्षित रहन सकेका छैनन् ।  एकातर्फ महिला विदेशमा बलात्कार, शारीरिक एवम् मानसिक दुव्र्यवहार, वैवाहिक प्रलोभनमा पार्ने, गर्भवती बनाउने र छोडिदिने, पारिश्रमिक नदिने आदि लगायतका शोषण र हिंसा खप्न बाध्य छन् भने अर्कोतर्फ स्वदेशमा फर्केर आएपश्चात् उनीहरूलाई परिवार र समाजले राम्रो व्यवहार गर्दैन ।  यसले गर्दा महिला दोहोरो हिंसाको मार खेप्न बाध्य भइरहेका छन् ।  
अत्यन्तै मेलमिलाप भएको परिवारको नै किन नहोस्, श्रीमान् रोजगारीको सिलसिलामा विदेश गएको छ भने उनको श्रीमतीलाई परिवारको कुनै सदस्य वा छिमेकीले अनावश्यक लाञ्छना लगाउँदै विदेशिएको पुरुषलाई सुनाउन पुग्छन् ।  आफ्नो कान नछामी कागको पछाडि लाग्ने भनेझैँ श्रीमान्ले श्रीमतीप्रति कुदृष्टिको भावले हेर्न पुग्छन् ।  एकअर्काको भावना टाढिदै जान्छ, पारस्परिकता हराउँदै जाने हुँदा त्यसले हिंसाको रूप लिन पुग्छ ।  
वैदेशिक होस् वा स्वदेशको रोजगारीबाट गरिएको आम्दानी सबैलाई प्यारो लाग्नु स्वाभाविक हो ।  हिजोआज श्रीमान्–श्रीमतीको एक अर्काबीच आर्थिक पारदर्शिता नभएको कारणले पनि सम्बन्ध टाढिएको पाइन्छ ।  श्रीमान्ले कमाएको सम्पत्ति श्रीमतीले सदुपयोग नगरी फजुल खर्च गर्ने, सल्लाह नगरी लगानी लगाउने अथवा श्रीमतीले कमाएको सम्पत्तिले श्रीमानले मादक पदार्थ खाने, जुवातास खेल्ने र अनावश्यक ठाउँमा खर्च गर्ने नराम्रा व्यवहारहरूले गर्दा एक अर्काप्रतिको विश्वासलाई घटाउँदै लगेको पाइन्छ ।  यस्ता व्यवहारहरूले गर्दा दुई जनाबीचको सम्बन्धलाई बिगार्दै लगेको पाइन्छ ।
विवाह गरेर श्रीमती, छोराछोरी घरमा अथवा बजारमा राख्ने र आफू विदेशिने प्रवृत्ति बढ्दो छ ।  समाजमा बस्ने अन्य पुरुष जो बेरोजगार छन् या रोजगारीमा नै छन् उनीहरूले श्रीमान् विदेशिएका श्रीमतीहरूलाई ललाइफकाइ नजिकिन पुग्छन् र खेलौनाको रूपमा प्रयोग गर्छन् ।  कोही महिलाले पनि श्रीमान् घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध गाँस्ने गर्छन् ।  यसरी देशको सम्पत्ति, काम गर्ने जोस, जाँगर भएको युवा पुस्ता विदेशिएर परदेशी भूमिमा आफ्नो पसिना बगाउन बाध्य भइरहेका छन्, जसको कारण पारिवारिक पृष्ठभूमिमा विचलन उत्पन्न हुने गरेको छ ।  श्रीमान्–श्रीमतीको सम्बन्धमा गाढापन नभई टाढापन देखिँदै गइरहेको छ ।
यसर्थ राज्यले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारीको सिर्जना गर्ने वातावरण मिलाउनुपर्छ ।  देशमा रहेका युवाशक्तिको जोस, जाँगर तथा सीपले स्वदेशमा नै विभिन्न आर्थिक उपार्जनका क्रियाकलाप सञ्चालन गर्न सकिन्छ ।  स्वदेशमा उपलब्ध हुने रोजगारीले पारिवारिक निकटतालाई कायम राख्न सघाउ पु¥याउँछ र एक अर्कालाई नजिकबाट बुझ्ने, साथमा साथ दिन सक्ने, आशङ्काको परिधिबाट टाढा रहने साथै छोराछोरीले पनि अभिभावकको छत्रछायाँ पाउने हुँदा एक सभ्य समाजको परिकल्पना गर्न सकिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना