विक्रम संवत्को ऐतिहासिक महत्त्व

Dirgh raj prasai दीर्घराज प्रसाईं




विक्रम संवत् २०७४ प्रारम्भ भएको छ ।  मीन राशि समाप्त भई मेष राशि प्रारभ्भ हुनासाथ वैशाख महिना प्रारम्भ हुन्छ ।  वैशाख महिना वसन्त ऋतुको शृङ्गारबाट पुलकित हुन्छ ।  पशुपति पुराणमा उल्लेख छ– ‘अथ सूर्यवंश प्रभावान्नेपाले किराँत राजन निजित्य लिच्छवि वंश प्रवर्ततेः।” अर्थात् सूर्यवंशी लिच्छविको प्रभावले किराँत राजालाई जिती लिच्छवि वंश सुरु भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिबर्मा, विक्रमादित्य राजाको शासनकालदेखि नै विक्रम संवत् सुरु भएको उल्लेख छ ।  योगी नरहरिनाथले “श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः” भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ति राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाँउमा राजसिंहसान थियो’ भन्नुभएको छ ।  विक्रम संवत्बारेमा नेपाल सरकार पुरातŒव विभागबाट प्रकाशित नयनाथ पौड्यालबाट सम्पादित भाषा वंशावलीको अध्ययनबाट धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रसादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा (हालको नारायणहिटी) बनाई तीर्थ चलाएर विक्रम संवत् चलाएको देखिएको छ ।  लिच्छवि राजाले आफूलाई ‘वैशालाधिपति’ भनेर पशुपतिनाथको तपस्याले काशीको पनि राजा भएका केही प्रमाणहरू हिमवत्खण्ड पुस्तकको १६२ अध्यायमा पाइन्छ ।
विक्रम संवत् आदिकालदेखि प्रचलित थियो भन्ने धेरै प्रमाण छन् ।  नेपालमा चल्दै आएको प्रमाण साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एउटा मन्दिरमा विक्रमादित्य राजाको टाउको राखिएको छ ।  विक्रमादित्य राजाको टाउकाको पूजा गरेर बज्राचार्य वंशका पुजारी अध्यावधि बसेका छन् ।  काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किंवदन्ती छ ।  लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ, विक्रम संवत् ९४५ मा हरिसिद्धि नाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ ।  नेपालका खोजकर्ता इतिहासविद् शङ्करमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका संवत्हरू शक संवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्हरूलाई विक्रम संवत् नै मान्नुभएको छ ।  फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अङ्कित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ ।  गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ ।  अछामको वरदादेवी मन्दिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ ।  भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिमपट्टिको भित्तामा विक्रम संवत् १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्णपट्टामा विक्रम संवत् १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल संवत् ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम संवत् १७३४ उल्लेख भएको नयनाथ पौड्यालबाट अभिलेख सङ्ग्रहमा उल्लेख गरिएको छ ।  राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको, जयप्रकाश मल्लले विक्रम संवत् १८१४ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण प्रमेय’ मा उल्लेख गर्नुभएको छ ।  
विक्रम संवत् यस क्षेत्रको प्रचलित संवत्को रूपमा मानिएकाले पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि वसन्तपुर दरबारको अभिलेखमा ‘राजा पृथ्वीनाराण शाहको वंश गुह्येकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ भनेर विक्रम संवत् १८२५ उल्लेख गरेका थिए ।  इतिहासकार दिनेशराज पन्तले ‘राजीवलोचन जोशीका बराज्यू’ नामक पुस्तकमा ‘विक्रम संवत् १७२१ मा लमजुङमा वीरमर्दन शाह राजा थिए र विक्रम संवत् १७४१ मा लमजुङमा केहरिनारायण शाह राजा थिए ।  विक्रम संवत् १७९६ मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन्’ भनी (पूर्णिमा १० पूर्णाङ्कको ३९) उल्लेख गर्दै विक्रम संवत् १७२१ प्रयोग भइआएको देखाउनुभएको छ ।  इतिहासकार ज्ञानमणि नेपाल लेख्नुहुन्छ, ‘मध्यकालमा बाइसी–चौबीसी, सेन, मल्ल, शाह राजाले विक्रम संवत् चलाउँदै आएका थिए ।  केन्द्रका तीन शहरका मल्ल राज्यहरूमा पनि पूर्व मल्लकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यहरूमा विक्रम संवत्को प्रयोग हुँदै आएको थियो ।  भक्तपुरमा नववर्ष प्रारम्भ हुनुभन्दा अगाडि बिस्केटजात्रा मनाइन्छ ।  तराईमा थारूहरू वैशाख सुरु हुने दिनदेखि नै सिरुवाजात्रा मनाउँछन् । ’
विक्रम संवत् एसियाका धेरै देशमा पनि चलनचल्तीमा आयो ।  भारतको आसाम र पश्चिम बङ्गालमा पनि वैशाख १ गते उत्सवको रूपमा मनाउँछन् ।  श्रीलङ्का, कम्बोडिया, लाओसमा पनि वैशाख १ गतेमा उत्सव स्वरूप मनाउने चलन अध्यावधि रहेकाले पनि यसको प्रभाव परेको देखिन्छ ।
नेपालमा संवत्हरूमा विक्रम संवत्, शक संवत्, नेपाल संवत् र ईस्वी संवत्हरू तिथिको आधारमा र आवश्यकताअनुसार चलनचल्तीमा आएका छन् ।  शक संवत् विक्रम संवत् भन्दा १३५ वर्षपछि उठान भएको र नेपाल संवत् विक्रम संवत्भन्दा १३७ वर्षपछि उठान भएको हो ।  विक्रम संवत्, शक संवत्, नेपाल संवत्हरू तिथिबाट मात्र चल्ने हुँदा र तिथिहरू गडबड भइरहने हुँदा राज्य व्यवस्था सञ्चालनमा अप्ठ्यारो भएको हुँदा ज्योतिष सम्मेलनको सुझावको आधारमा तिथिहरूमा अन्तर नपर्ने गरेर चन्द्रशमशेरले विक्रम संवत् १९६१ मा शासन व्यवस्थामा सजिलोको लागि वैशाख १ गते, मेष सङ्क्रान्तिदेखि गतेमा लेख्ने चलन चलाएका हुन् ।  विक्रम संवत्मा गतेबाट लेख्ने चलन चलेपछि अरू संवत्हरूभन्दा यो लोकप्रिय हुन गएको हो ।  नेपाल संवत् र शक संवत्हरू तिथिको आधारमा मात्र चल्ने र वर्षमा ३५४ दिन मात्र हुने तथा विक्रम संवत्मा वर्षमा ३६५ दिन हुने र गतेबाट पनि चल्न थालेपछि विक्रम संवत्को दाँजोमा नेपाल संवत् र शक संवत् व्यावहारिक हुन सकेनन् ।  
शक संवत् भारतका सम्राट कनिष्कबाट उठान भएको भारतको मौलिक संवत् हो ।  यसलाई भारतको मौलिक संवत् मानेर पं. जवाहरलाल नेहरूले भारत स्वतन्त्र भएपछि चलाउन खोजेका थिए ।  शकका पनि वर्षमा ३५४ दिन हुने र तिथिहरूबाट मात्र चल्ने हुँदा व्यावहारिक हुन नसकेपछि अङ्ग्रेज साम्राज्यको समयदेखि नै प्रचलनमा आइरहेको ईस्वी संवत् प्रचलनमा ल्याइएको हो ।  शक संवत् र नेपाल संवत्का तिथि वारहरू विक्रम संवत्बाट ग्रहण गरिएका हुन् ।
भारत, पाकिस्तानलगायत अङ्ग्रेजी साम्राज्य कायम भएका राष्ट्रमा त्यहाँका मौलिक संवत्हरूलाई विस्तापित गरेर ईस्वी संवत् चलाइयो ।  ती देशमा अध्यावधि ईस्वी संव्त चलेको छ तर नेपाल सम्राज्यवादी शक्तिको पकडमा नपरेको हुँदा यहाँका मान्यता यथावत् रहिरहेकाले विक्रम संवत् पनि लोकप्रिय संवत्को रूपमा चलिआएको हो ।  नेपालमाथि कुनै विदेशीको आधिपत्य थिएन भन्ने कुराको ज्वलन्त प्रमाण हो– विक्रम संवत्को निरन्तरता तर केही ख्यातीप्राप्त विद्वान्ले विक्रम संवत्लाई विदेशी संवत् हो भनेर लेखेकाले केही मात्रामा दिग्भ्रमित पनि हुन गएको छ ।  कविवर चक्रपाणि चालिसेले कालीदासको मेघदूत नेपालीमा अनुवाद गर्दा लेखे– ‘कालीदासको समयका विक्रमादित्य चन्द्रगुप्त द्वितीयले नै विक्रम संवत् उठान गरेका थिए । ’ यसले गर्दा नेपाली जनमानसमा भ्रम सिर्जना हुन गएको हो ।  वास्तवमा विक्रम संवत् उठान भएको ४०० वर्षपछिका गुप्तवंशी समुन्द्रगुप्तका बुबा चन्द्रगुप्तले आफूलाई विक्रमादित्यको उपाधि धारण गरेको आधारमा नै विक्रम संवत् उनैले उठान गरेको भन्नु इतिहाससम्मत कुरा होइन ।  त्यस्तै अर्का विद्वान् इतिहासविद् नयराज पन्तले लेख्नुभयो कि चाँगुनारायणस्थित मन्दिरमा मानदेव प्रथमले उल्लेख गरेका संवत् ३८६ लगायत मानदेवका सबै अभिलेखमा उल्लेखित संवत्हरू कार्तिकादि शक संवत् हुन् भन्ने लिच्छवि संवत्को निर्णय भन्ने पुस्तकमा उल्लेख छ ।  यसले केही विवाद उठ्न गएको हो तर यो सत्य हो– नेपाल संवत् कार्तिक शुक्ल प्रतिपदा (गोरु तिहार) का दिन प्रारम्भ हुन्छ भने शक संवत्को उठान चैत्र शुक्ल प्रतिपदाका दिन प्रारम्भ हुन्छ ।  यस तत्यलाई कसैबाट नकार्न सक्ने कुनै तर्क छैनन् ।  
भारत गुजरातका विद्वान् खोजकर्ता पं. भगवानलाल इन्द्रजी विक्रम संवत् १९३७ मा नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजेर लगी लिच्छविकालमा उल्लेखित संवत्हरूलाई विक्रम संवत् ठह¥याएका थिए ।  त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन्–
‘मानदेवको संवत् ३८६ को चाँगुको अभिलेखको संवत् विक्रम संवत् हो ।  यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् । ’ विक्रम संवत्को उठान भारतमा भएको भनिएपछि इतिहासभित्र भ्रम पनि सिर्जना नभएका होइनन् ।  विक्रम संवत् बारेमा इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नुभएको छ– ‘जुन समय ई.पू. ५८ वर्षमा यो संवत् उठान भएको थियो, उस समयमा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन ।  उज्जयनीका खण्डहरूको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य भएको चिह्न भेटिएको छैन । ’ त्यसैले विक्रम संवत्का अभिलेख र प्रचलनको आधारमा नेपालको पुरानो र व्यावहारिक संवत्को रूपमा स्थापित भएको छ ।  
आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सम्पर्कका लागि नेपालमा अन्तर्राष्ट्रिय लेखापढीमा ईस्वी संवत्लाई पनि प्रयोग गर्ने गरिन्छ ।  विक्रम संवत्भन्दा ४७ वर्षपछि ईस्वी संवत् प्रचलनमा आएको हो ।  ईस्वी संवत् प्रचलनमा ल्याइएपछि सबै महिना, वार विक्रम संवत्बाटै लिइएका हुन् ।  विक्रम संवत् प्रकृतिसँग सम्बन्धित छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना