लोपोन्मुख दङ्गर गिद्ध प्राकृतिक बासस्थानमा

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, वैशाख ३ गते ।  अति सङ्कटापन्न अर्थात् लोप हुनै लागिसकेको प्रजातिको सूचीमा परेको दङ्गर गिद्ध (ह्वाइट रम्पड भल्चर) प्रजातिको गिद्धलाई प्रजनन केन्द्रमा हुर्काएर प्राकृतिक रूपमा विचरण गर्न शनिबार नवलपरासीको जटायु रेस्टुरेन्ट (कृत्रिम रूपले पनि खाना उपलब्ध गराइएको)मा छोडिएको छ ।  विज्ञका अनुसार यसरी गिद्धलाई प्रजनन केन्द्रमा संरक्षण गरेर प्राकृतिक बासस्थानमा छाडिएको संसारमै पहिलो घटना हो ।  
चितवनको कसरामा स्थापना गरिएको गिद्ध संरक्षण केन्द्रमा बच्चालाई पालेर हुर्काएको छवटा वयस्क गिद्धलाई नवलपरासीको कावासोती नगरपालिका अन्तर्गत रहेको नमुना मध्यवर्ती सामुदायिकभित्रको जटायु रेस्टुरेन्ट पिथौलीमा छाडिएको हो ।  gidhha
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गिद्धको प्रजनन गर्न चितवनको कसरामा प्रजनन केन्द्र स्थापना गरेको छ ।  संसारमै गिद्धको सङ्ख्या निकै कम हुँदै गएपछि यसलाई अति सङ्कटापन्न प्रजातिको सूचीमा राखिएको छ ।  दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान लगायतका देशमा मात्र पाइने यो प्रजातिको गिद्धको सङ्ख्या २०१० को दशकमा निकै घटेपछि सरकार र संरक्षणकर्मीले गिद्ध संरक्षणको साझा अभियान सञ्चालन गरेका छन् ।  हाल नेपालमा यसको सङ्ख्या दुई सयको हाराहारीमा रहेको अनुमान गरिएको छ ।  
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार हाल चितवनको कसरा प्रजनन केन्द्रमा ५४ वटा गिद्ध संरक्षण गरेर राखिएका छन् ।  तीमध्ये नौवटा गिद्धले बच्चा कोरलेका छन् ।  शनिबार नवलपरासीमा छाडिएका छवटा गिद्ध सबै पोथी हुन् ।  
गिद्धलाई प्राकृतिक कुचीकार मानिन्छ ।  यसले मारेर आहार खोज्दैन तर मरेका जीवजन्तु, गाईपशुबस्तुको सिनो खाने भएकाले यसलाई प्राकृतिक कुचीकार भनिएको हो ।  मरेका जीवजन्तु, गाईबस्तु सडेर, दुर्गन्धित हुने र महामारी फैलिनबाट बचाउने भएकाले यसको संरक्षण मानव समाजको विकासका लागि पनि उत्तिकै महŒव रहेको कुरा नेपाल पक्षी संरक्षण सङ्घका कार्यकारी अधिकृत नरेन्द्र प्रधानले बताउनुभयो ।  
प्रधानले भन्नुभयो, “यो प्रजातिको गिद्धलाई संरक्षण केन्द्रमा प्रजनन गराएर, संरक्षण गरेर प्राकृतिक बासस्थानमा स्थानान्तरण गरिएको पहिलोपटक हो ।  संसारमा नेपालले गरेको यस्तो प्रयास कहीँ भएको छैन ।  ”
सरकारले गिद्ध संरक्षण गर्न पाँचवर्षे कार्ययोजना निर्माण गरी सरोकारवाला सबै निकायको सहकार्यमा प्रभावकारी संरक्षणको कार्य सुरु गरेको छ ।  विभागका महानिर्देशक खड्काले भन्नुभयो, “गाईभैँसी लगायतका पशुबस्तुलाई औषधिका रूपमा प्रयोग गरिने डाइक्लोफेनाइकलाई प्रतिबन्ध लगाएपछि पछिल्लो वर्षमा गिद्धको सङ्ख्या बढ्न थालेका छन् ।  ”
गाईभैँसी बिरामी हुँदा तथा कुकुरलाई रेबिज लाग्दा डाइक्लोफेनाइट नामक औषधि दिइने र त्यो औषधि सेवन गरेको पशुबस्तु मरेको सिनो खाँदा गिद्ध पनि मर्ने गरेको अध्ययनले देखाएपछि सरकारले त्यो औषधिलाई प्रतिबन्ध लगाएको हो ।  
नमुना मध्यवर्ती सामुदायिकभित्र हाल करिब एक सयको सङ्ख्यामा गिद्धको संरक्षण भइरहेको छ ।  बूढा गाईभैँसीलाई यो सामुदायिक वनमा छाडिने र मरेपछि गिद्धको आहार हुने भएकाले यो क्षेत्रलाई जटायु रेस्टुरेन्ट भनिएको हो ।  मध्यवर्ती सामुदायिक वनका अध्यक्ष धनबहादुर चौधरीका अनुसार चितवनबाट ल्याइएका गिद्धलाई तीन महिनासम्म अद्र्धप्राकृतिक संरक्षण घरमा राखिनेछन् ।  त्यस अवधिमा ती गिद्धले प्राकृतिक गिद्धको नजिकमा रहेर प्राकृतिक गिद्धका आनीबानी, सिकार खोज्ने, उड्ने तथा अन्य विचरणका सबै क्रियाकलापमा घुलमिल हुनेछन् ।  प्राकृतिक रूपमा बाँच्नसक्ने भएपछि ती गिद्ध जङ्गलमा छाडिने  योजना  छ ।  
पक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत प्रधानका अनुसार सन् २०१९ सम्म गिद्ध छाड्ने योजना छ ।  त्यस अवधिसम्म नवलपरासी लगायतका गिद्ध बाँच्नसक्ने ठाउँमा गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिनेछन् ।   
दक्षिण अमेरिकी केही राष्ट्रले गिद्धलाई राष्ट्रियताको प्रतीक मान्ने भएकाले यसको सिकार गर्नेलाई कडा दण्डको व्यवस्था गरिएको पाइन्छ ।  संसारमा पाइने २३ प्रजातिका गिद्धमध्ये नौ प्रजातिका गिद्ध अति सङ्कटापन्न अवस्थामा रहेको विज्ञले बताएका छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना