'संस्कृतिविद्को सम्झनामा स्मृति भवन र शालिक निर्माण'

फलेवास (पर्वत), ३ वैशाख । पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानमा एक पुराना संस्कृतिविद् तथा प्रजातन्त्रका सेनानी स्व कृष्ण पन्तको नाममा स्मृति भवन तथा शालिक निर्माण गरिएको छ ।

समाजमा विद्यमान रहेको विभेदपूर्ण व्यवहारलाई हटाउन सामाजिक समावेशी कार्यक्रम सञ्चालन गर्ने तथा नेपालको सामाजिक र सांस्कृतिक क्षेत्रका समसामयिक विषयको अध्ययन, अनुसन्धान गर्ने उद्देश्यले उक्त शालिक र भवन निर्माण गरिएको स्मृति प्रतिष्ठानले जनाएको छ ।

रु ५० लाखको लागतमा निर्माण गरिएकोे पक्की स्मृति भवनको छतमा पन्तको पाँच फिट अग्लो शालिक निर्माण गरिएको छ । मुलुकको सामाजिक, सांस्कृतिक, ऐतिहासिक, साहित्यिक, खगोल शास्त्र र ज्योतिष विषयमा गरिएका अध्ययन अनुसन्धान वा विभिन्न विषयका श्रष्टाहरुलाई नियमित रुपमा सम्मान गर्ने तथा पुरस्कार प्रदान गर्नुका साथै अध्ययन अनुसन्धानका लागि अनुदान प्रदान गर्ने उद्देश्यले कृष्ण पन्तको शालिक र स्मृति भवन निर्माण गरिएको पन्तका पुत्र शोभाभक्तले बताउनुभयो ।

तत्कालीन जिल्लाको लिमिठानामा विसं १९६४ मा जन्मनुभएका कृष्ण पन्त बाल्यकालदेखि नै सक्रिय, सिर्जनात्मक र जुझारु व्यक्तिका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँले २००७ सालमा प्रजातन्त्र ल्याउनको निम्ति अग्रणी भूमिका खेल्नुभएको थियो । उहाँ छुवाछूत प्रथाको घोर विरोधी हुनुहुन्थ्यो । पन्तको सम्झनामा घर परिवारले निर्माण गरेको स्मृति भवन स्थानीयवासी पर्वत र बागलुङका सांसदले उद्घाटन तथा अनावरण गरेका हुन् ।

भवन उद्घाटन तथा शालिक अनावरण गर्दै पर्वत क्षेत्र नं १ सांसद अर्जुनप्रसाद जोशीले कृष्ण पन्तजस्ता व्यक्ति इतिहासले विरलै जन्माउने बताउनुभयो । त्यस्तै पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले स्वर्गीय पन्तको योगदानको चर्चा गर्नुभयो ।

बागलुङ क्षेत्र नं २ का सांसद प्रकाश पौडेलले कृष्ण पन्त विचार र सिर्जनाको धनी भएकाले अहिले उहाँको योगदानले मुलुक परिवर्तनमा सघाउ पुगेको बताउनुभयो ।

राष्ट्रियस्तरमा स्थापित हुनुभएका राजनीतिक, इतिहासकार र लोक साहित्यका स्रष्टा कृष्ण पन्त र उहाँकी श्रीमतीको नाममा स्थापना गरिएको उक्त प्रतिष्ठानको संरक्षण तथा संवद्र्धन गर्न सबैको साथ मिल्नेमा आफूहरुले आशा व्यक्त गरेको संस्थापक अध्यक्ष पार्थिवेश्वरप्रसाद तिमिल्सेनाले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds