निर्वाचनमा सहमतिको प्रश्न

Hari prashad bhattraiहरिप्रसाद भट्टराई




अदृश्य शक्तिको खेल वा भनौँ आन्तरिक सत्तालिप्साको राजनीतिले मुलुकलाई वर्षौंदेखि गाँज्दै आएको छ ।  ठूला दलसँगै अन्य स–साना दलसमेत मधेशी मोर्चाआबद्ध दललाई साथमा लिएर स्थानीय तहको चुनावमा जाने वातावरण बनिरहेको बेला अन्तिम समयमा आएर कुरा बल्झिन पुग्यो ।  यसले गर्दा सकारात्मक राजनीतिक गतिविधि उकालो चढ्दै सर्वत्र आशाको किरण देखापरिसकेको अवस्थामा पनि सुखद अनुभूति भएन ।  राजनीतिक निकासको सकारात्मक छिनोफानो हुनैलाग्दा मधेशी मोर्चाको बालहठले मुलुकलाई त्यो सुखद प्रतिफल दिलाउन सकेको छैन ।  यद्यपि आशा अझै मरिसकेको छैन ।
मधेशी मोर्चाका मागलाई सम्बोधन गरेर संविधान संशोधनका लागि सरकारका तर्फबाट संसद््मा विधेयक प्रस्तुत गरी सबैको सहमतिमा पारित गर्ने र त्यसपछि मधेशी मोर्चासहित निर्वाचनमा जुट्ने सहमति यस अगाडि बनेको थियो ।  यस समझदारीले मुलुकवासीमा राजनीतिक निकासको आशा पलाएको थियो ।  त्यो आशा कहीँ कतैबाट अदृश्य शक्तिको खेल भएन भने पूरा हुने अड्कलबाजी सबैमा थियो तर जुन शङ्का थियो अन्ततः त्यही भयो ।  मधेशी मोर्चाको पछिल्लो भनाइ एवम् संविधान संशोधनबारे सरकारद्वारा प्रस्तुत प्रस्तावको विरोधले त्यही कुरा देखाउँछ ।  मोर्चाको असहमतिका बाबजुद एवम् त्यसबाट आकाश नै खस्ने गरी त्यस्तो उथलपुथल केही नहुने भए पनि दाँतमा ढुङ्गा लागेझैँ मुलुक समृद्धिको बाटोमा केही अवरोध, विलम्ब पैदा गरेकोमा शङ्का छैन ।  सरकारले यतिखेर मधेशी मोर्चालगायतका दललाई वार्ताका लागि आह्वान गरिसकेको छ ।  केही दिनमा दलहरू पुनः वार्तामा बसेर निकास दिन सकेनन् भने निर्वाचन त हुन्छ नै तर त्यसले मुलुकको विकास, राजनीतिक स्थायित्व र समृद्धिमा अवरोध पु¥याउने निश्चित छ ।  त्यसैले राजनीतिक दलहरू र विशेषगरी मधेशी मोर्चाआबद्ध दल यही स्थानीय तहको निर्वाचनमा भाग लिन सक्ने गरी पुनः छिट्टै वार्तामा जुट्नु जरुरी छ ।  निर्वाचनको समय घर्किनै लागेकोले यस कार्यमा विलम्ब गरिनुहुँदैन ।  
रात रहे अग्राख पलाउँछ भनेझैँ यस्तै किचलो रहिरहे अदृश्य शक्तिलाई खेल्ने समय र मौका मिल्छ ।  यसमा कुनै विवाद नहोला ।  त्यसैले अझै त्यस्तो ठूलो केही बिग्रेको छैन ।  समय रहुञ्जेल सहमति, सहकार्यको कार्यलाई सबैले आत्मबोध गर्नु राम्रो हुन्छ ।  बाह्य तथा आन्तरिक शक्तिको खेललाई परास्त गर्न पनि अब विवाद समाधानमा विलम्ब गरिनुहुन्न ।  विशेषतः मधेशी मोर्चाले अब बालहठ त्यागेर सहमतिमै जुट्नु बुद्धिमत्ता हुनेछ ।  किनकि मधेशका बहुसङ्ख्यक नागरिक निर्वाचन चाहिँ भइछाडोस् भन्नेमा छन् ।  यो कुरा मोर्चाका नेतालाई पनि जानकारी छ ।  तराई मधेश जल्नसम्म जलिसकेको छ ।  निरन्तरको आन्दोलनका क्रममा विकास निर्माण त परै जाओस् धेरै क्षति भइसकेको छ ।  त्यस वातावरणले जहाँ त्यही पार्नेसम्मको प्रभाव पारिसकेको छ ।  अब यो अवस्था सहिरहन के मधेश, के हिमाल पहाड, कसैले पनि सक्ने अवस्था छैन ।  
यो संविधान संशोधनीय भएकोले आफ्ना थप माग पछि पनि पूरा हुन सक्ने ठानी मधेशवादी दलहरू अहिलेलाई संविधान कार्यान्वयन र स्थानीय सरकार निर्माणका निम्ति स्थानीय निर्वाचनमा जुट्नु बुद्धिमानी हुनेछ ।  किनकि विगत झण्डै १५ वर्षदेखि स्थानीय निकाय जनप्रतिधिविहीन छन् ।  स्थानीय तहका नीति निर्माण र विकास निर्माणका महŒवपूर्ण निर्णय हुन नसकेको अवस्था छ ।  कर्मचारीहरूको भरमा ती निकाय चल्दा विकास निर्माणले गति लिन सकेको छैन ।  आमनागरिकलाई सरकारी सेवा प्रवाह र सुशासनमा प्रभाव परेको छ ।  यो कुरा सबै दल तथा नेतालाई थाहा नभएको होइन तर यस्तो महŒवपूर्ण कुरामा पनि दलहरू एक ठाउँमा उभिन नसकेर राजनीतिक निकासको विषयमा केही दल र नेताहरू अनेक खाले बाहानाबाजी गर्दै हलो अड्काउने खेलमा लिप्त छन् ।  अब अति भइसकेको छ ।  जनताले राजनीतिक दलहरूको यसखाले हलो अड्काइको खेललाई नजिकबाटै नियालिरहेका छन् ।  अब धेरै समय पर्खिन उनीहरू सक्दैनन् ।  यो कुरा दलहरूले बुझ्नु जरुरी छ ।  
संविधानको दोस्रो संशोधनको विषयलाई लिएर अब स्थानीय तहको निर्वाचन रोकिने अवस्था छैन र रोकिनुहुँदैन ।  किनकि निर्वाचनको वातावरण बनिसकेको छ ।  ठूला तथा साना दलहरू निर्वाचनको पक्षमा छन् मात्र, सबैको चाहना के हो भने संविधानमा सर्वस्वीकार्यता बढाउने र संविधानले सुनिश्चित गरेबमोजिम तीनै तहका निर्वाचन बेलैमा विना अवरोध सम्पन्न गर्ने गरी असन्तुष्ट पक्ष मधेशी मोर्चासमेतलाई साथमा लिएर जाने हो ।  नत्र कसैको बालहठकै कारण मुलुकलाई अनिर्णयको बन्दी बनाउने कुरा आउँदैन र त्यो सोचमा अब ठूला–साना मोर्चा बाहेकका कुनै दल छैनन् ।  मोर्चाभित्रैका कतिपय नेताको चाहना त्यस्तो छैन ।  मोर्चाका जिम्मेवार नेताहरूले यो कुरा आत्मसात् गर्नु राम्रो हुन्छ किनकि मुलुक सबैको हो ।  सबैका विचार, चाहना र हक–अधिकारलाई सबैले सम्मान गर्न जान्नुपर्छ ।  मेरो गोरुको बाह्रै टक्का भन्ने सोच बनाउनु हुँदैन ।  
अब मधेश स्वयम्कै हितमा पनि निर्वाचनलाई आत्मसात् नगरी धरै छैन ।  यतिखेर आमनागरिकलाई निर्वाचनको माहोलले तताइसकेको छ ।  यसमा अवरोध पु¥याउनु भनेको आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्नु सरह हुनेछ ।  साथै निर्वाचन आयोगले पनि यतिखेर निर्वाचनको तयारी द्रूत गतिमा अगाडि बढाइसकेको छ ।  यो कुरा पनि बुझ्नु आश्यक छ ।  मधेशी दलहरूले अब घर्किदै गएको स्थानीय तहको निर्वाचनको संघारमा बेलैमा आफू स्वयम्ले बुझ्नु र अरूलाई पनि बुझाउनु आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना