वन्यजन्तुसँग रात बिताउँदै मचानमा पर्यटक

चितवन, वैशाख ४ गते । चितवन राष्ट्रिय निकुञ्जभित्र निजी क्षेत्रका होटल बन्द भएपछि तिनै होटलको अनुभूति दिलाउने गरी यहाँका मध्यवर्ती सामुदायिक वनले पर्यटकलाई सेवा दिन थालेका छन् । फस्टाउँदो मध्यवर्ती वनभित्र अग्ला मचान निर्माण गरी तिनीहरुमा रात बिताउन सक्ने गरी कोठा बनाएर पर्यटकलाई सेवा दिन थालिएको हो । झन्डै पाँच वर्षअघि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका सात वटा होटल बन्द भएपछि निकुञ्जभित्रै बास बसेर रमाउन चाहने पर्यटकलाई लक्षित गरी मचान निर्माण गरिएको हो ।

निकुञ्ज घुम्न आउने पर्यटकलाई तिनै मध्यवर्ती वनभित्र हात्ती, जिप, डुङ्गा, पैदल यात्रा गराइन्छ । निजी हात्ती निकुञ्ज प्रवेश गर्न नपाउने भएपछि हात्ती चढ्ने अधिकांश पर्यटकले गैँडा, बाघ, भालु,लगायतका वन्यजन्तु तिनै सामुदायिक वनमा हेर्दै आएका छन् । पछिल्लो समय गैँडा र बाघको सङ्ख्या बढेसँगै यहाँका अधिकांश सामुदायिक वनमा सहजै बाघ गैँडा देख्न पाइन्छ ।

मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गतको खोरसोर मध्यवर्ती सामुदायिक वनमा चार वटा र बाघमारामा एउटा रात बिताउन मिल्ने गरी मचान निर्माण गरिएको छ । सोही समितिअन्तर्गतको मिलिजुली र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा मचान बन्दैछ भने टिकौली मध्यवर्ती सामुदायिक वनमा बन्ने तयारीमा छ । कुमरोज मध्यवर्ती सामुदायिक वनको सिम्रेनी र जनकपुरमा दुई वटा मचान सञ्चालनमा छन् ।

त्यसैगरी अन्य मध्यवर्ती सामुदायिक वनमा पनि मचान बन्ने क्रममा रहेको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुङ्गानाले बताउनुभयो । वनमै पाइने काठैकाठ प्रयोग गरेर कतिपय मचान बनाइएको छ भने कतिपयले सिमेन्टसमेत प्रयोग गरेका छन् ।
साँझ र बिहानको समयमा मचानका छेउछाउमै दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालु, हरिण, जराया, मृग, गोही, मयुरलगायतका वन्यजन्तु देख्न सकिने ढुङ्गानाले बताउनुभयो । हरेक मचान सातदेखि १० जनाको हाराहारीमा रात बिताउन मिल्ने गरी बनाइएका छन् । सोलारबाट बत्ती र पङ्खाको व्यवस्था गरिएको छ ।
मृगकुञ्जअन्तर्गतका मध्यवर्ती सामुदायिक वनभित्र मचान निर्माणका लागि दातृ संस्थाले सहयोग गरेका छन् । ढुङ्गानाले विश्वभर ‘ट्रि हाउस’ प्रख्यात रहेको भन्दै चितवनमा मध्यवर्ती वनमा बनेका मचानले शौखिन पर्यटकलाई तान्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

व्यवस्थित मचान भर्खरै बनेका हुँदा परीक्षणकालका लागि एक रातको एक जनाको रु ५०० देखि दुई हजार ५०० सम्म शुल्क लिने गरिएको छ । खानाका लागि पर्यटकले तयारी खाना आफैँ लैजानु पर्ने हुन्छ । उनीहरुको सुरक्षा र सहयोगका लागि कर्मचारीको व्यवस्था गरिएको छ ।

सुविधासम्पन्न एउटा मचान बनाउँदा कम्तीमा रु १५ लाख खर्च हुने गरेको उहाँले बताउनुभयो । वनभित्रका अधिकतम काठ प्रयोग गरिने हुँदा मचान निर्माणमा खर्च कम लाग्ने गरेको छ ।

कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीरा गुरुङले वनभित्र निर्माण गरिएका मचानबाट पर्यटकले वन र वन्यजन्तुलाई नजिकबाट नियाल्न पाउने बताउनुभयो । स्वदेश र विदेशबाट आएर मचानमा बस्ने पर्यटकले आआफ्नो क्षेत्रका अन्य पर्यटकलाई मचान बस्न सुझाव दिने गरेको उहाँले बताउनुभयो ।

मचानको प्रचारप्रसार होटल व्यवसायी र ट्राभल एजेन्सीमार्फत विदेशमा पनि गराइदै आएको बाघमारा सामुदायिक वनका अध्यक्ष बिपी चौधरीले बताउनुभयो । यसले पर्यापर्यटन प्रवद्र्धन र वनको अनुगमन गर्न पनि सहज भएको उहाँले बताउनुभयो ।

सौराहा क्षेत्रका मध्यवर्ती सामुदायिक वनले पर्यटकलाई निकुञ्ज घुमाएर र बसाएर वार्षिकरुपमा रु एक करोडदेखि रु एक करोड ५० लाखसम्म आम्दानी गर्दै आएको जनाएका छन् । जुन रकम सामुदायिक वनको प्रवद्र्धन, समुदायको जीवनस्तर उकास्न र विकास निर्माणमा खर्च हुँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना अघिदेखि निकुञ्जभित्र रहेका होटल २०६९ साउन १ गतेबाट बन्द अवस्थामा छन् । ४३ वर्षअघि चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको हो भने ५० वर्षअघि टाईगर टप्स होटल खुलेको थियो ।

निकुञ्जभित्र टाईगर टप्स खुलेपछि अन्य होटल पनि खोलिएका थिए । टेम्पल टाईगर, मचान, गैँडा, चितवन जङ्गल लज, आइल्यान्ड जङ्गल रिसोर्ट र नारायणी सफारी गरी सात वटा होटल निकुञ्जभित्र रहेका थिए । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds