स्वाभिमान रक्षाका लागि चुनावी एकता

ramesh bhattaraiरमेश भट्टराई ‘सहृदयी’



 

स्थानीय निर्वाचनको चहलपहल बढेसँगै संविधान कार्यान्वयनको लोकतान्त्रिक चरणले स्वाभिमान रक्षामा नातो गाँस्न चाहन्छ ।  जनताले २०४६ देखिको उपलब्धिदेखि ०६२÷६३ को आन्दोलनका एकताको इतिहासलाई सम्झिँदै छ ।  जनविश्वासका आकाङ्क्षाले नेतृत्वलाई आ–आफ्ना हठमा त्यागको मध्यमार्गसँग हातेमालो गर्न आग्रह गर्दैछ ।  जनता त सत्तापक्ष र प्रतिपक्षले वार्ताका टेबलमा एकताको जोस बढाउँदै संविधान कार्यान्वयनबाट शान्ति अमनचयन वातावरण दिएको हेर्न चाहन्छन् ।  टुसाएको यो आशाले हुर्कन पाउनु सबैको हितकारक पनि छ ।  सत्तामोहको साङ्लोमा देखिँदै आएका भड्किला घटनाले निम्त्याएका नरसंहारसँग नेपाली मन युगौँदेखि हैरान छ ।  मेरो गोरुको बाह्रै टक्का भन्ने सोचभन्दा सहकार्यमा जनभावनासँगै लम्किनुमा रहेको बुद्धिमत्ता जति अर्को उत्तम कुरा छैन ।  
दुश्मनी चक्रको जञ्जालमा नै फस्नलाई त विषयवस्तुको कुनै अभाव छैन, देशमा ।  संविधानको मूल बाटो बिराएपछि मानवअधिकारको चरम बलात्कार हुँदा आतङ्कको चर्को स्वरूपमा बल्लतल्ल बनेका भौतिक संरचना मुख्र्याइँपूर्ण भावमा तोडफोड हुँदारहेछन् ।  शान्तिको भावनामा क्षेप्यास्त्र प्रहार हुँदै गर्दा परिणाममा द्वन्द्वको मुसल चल्दोरहेछ ।  देश बनाउन कति कठिन छ तर बन्द, हडताल, चक्काजामको बाघचालमा भासिँदै जाँदा राजनीतिका कुकार्यले नेपाली मन विक्षिप्त छ ।  एकातिर हिजो भूकम्पीय सङ्कटमा हातेमालो गरेको सापेक्ष सामाजिक सफलता अनि अर्कातिर त्यो एकताको धज्जी उडाएर हुर्केको राजनीतिक महŒवकाङ्क्षाको शिकार सोझा जनता नै बनेका छन् ।  लोकतन्त्र हो, बहस, आरोप, प्रत्यारोप त हुन्छ नै भन्दै जनताले चित्त बुझाउने या लोकतन्त्रले जनताको रोजगार र विकासको इच्छासँग सामीप्यता राख्नुपर्ने हो ? प्रश्न उठ्छ ।  बुद्धभूमिको देशमा दशौँ वर्ष सङ्क्रमणको घाउ नपुरिएको इतिहास बनिसक्यो ।  नाबालकको शिक्षा पाउने अधिकार कुण्ठित भइरहेको हुन्छ ।  बिहान–बेलुकाको छाक टार्ने ध्याउन्नले भोकभोकै मर्नुपरेको पीडा एकातिर छ भन्नै लाज लाग्छ, दशौँ वर्ष देश– घटना जन्माउने, बहस गर्ने, सत्ता टिकाउने, सत्ता ढाल्ने, घुक्र्याउने, सरकार बनाउने, विपक्षीको राम्रै काम भए पनि कमजोरी खोजेर बज्रप्रहार गर्ने भद्रगोलको चक्रब्यूहमा सीमित छ ।  कुर्सीको खेलमा जनतालाई ढाल र तरबार बनाएर जनताकै शिकार हुनुमा हाम्रै सूक्ष्म सोचले भूमिका खेल्दोरहेछ ।  भड्किएका साम्प्रदायिक सद्भावसँगै दण्डहीनता बढ्दै गएमा जनआशा र अपेक्षा नै पन्छिदै जाने खतरा छ ।
हामी नेपालमा बस्छौँ तर पश्चिमी विचारका ठेलीलाई लाद्ने सपनामा खेल्छौँ ।  पश्चिमी सभ्यता पढ्नु, जान्नु र बुझ्नु अवश्य ज्ञानात्मक कसीमा सराहनीय होला तर के हाम्रो पहिचानबाटै हामी बाँच्न सक्दैनौँ ? अलिकति खारेर, अलिकति तिखारेर अलिकति आधुनिकतामा बढेर अनुशासित भएर हाम्रो देश चल्न सक्दैन र ? शान्तिप्रेमी बुद्धका वाणीमाभन्दा पश्चिमी मोडलको आधुनिकीकरणका विचारले देशमा प्रश्रय पाइरहेको छ ।  राजर्षि जनकको इतिहासबाट सिक्नुपर्ने राजनीतिभन्दा हामीलाई पश्चिमी संस्कारका द्वन्द्ववादप्रति दिलचस्पी छ ।  सीताको आदर्शलाई प्राचीन बुर्जुवापनाको संज्ञा दिन्छौँ ।  हिंसा, युद्ध, द्वन्द्व यी घटनाका प्रत्येक सिँढीले आखिर हामीमा कति खुसी दियो ? के मारेर या मरेर पाइएको उपलब्धि मात्र हाम्रो सबल इतिहासको दृष्टान्त हो ? हाम्रा तमाम दुर्घटनातिर फर्किदा प्रजातान्त्रिक सोचमै खिया लागेको प्रतीत हुन्छ ।  हामीले शहीदको नामसँग जुन विषय जोड्छौँ, त्यहाँ अमानवीय अशान्तिका लप्का छन् ।  आजको अत्याधुनिक प्रजातान्त्रिक युगमा हामी अधिकारका नाममा रगतको होली खेल्दैछौँ ।  हामी कार्ल माक्र्सलाई जति महान् ठान्छौँ, त्यति महर्षि वेदव्यासका ठेली र विचारलाई मान्दैनौँ ।  फ्रान्सेली क्रान्तिबाट, अमेरिकी स्वतन्त्रता सङ्ग्रामका कित्ताबाट सिकिएका राजनीतिलाई जति उदाहरणीय भन्छौँ, त्यति महाभारतका युधिष्ठिरको धर्म र सत्यताको परीक्षामा घोत्लिन चाहँदैनौँ ।  धर्मनीति, अर्थनीति र राजनीतिमा विज्ञ विदुरको धर्मसङ्कटमा राष्ट्रियताको बचाउ अनि भिष्मपितामहको माटोको कसममा सत्यता जति सम्मानजनक छ, त्यति धृतराष्ट्रको महŒवाकाङ्क्षा र कौरवको कपटी राजनीति निन्दनीय छ ।  रामको आदर्शनीतिका धनी हामीलाई भोल्टेयर, रुसोको विचारमा गर्व हुन्छ ।  आखिर हामै्र आफ्नापनमा हामी कति बाँच्दैछौँ ? हामी सहजै भन्दिन्छौँ– यी त पण्डितका पुराण भन्दै गरिखाने, कमाउने, प्राचीनताप्रेमीका मनगणन्ते प्राचीन विचार हुन् ।  
चुनावी माहोलसँग आज हरेक नेतृत्वले भिरेको पार्टी मात्रको विकेन्द्रित कुभावनाका अङ्कुरले सिङ्गो देशको आवाज छायाँमा पर्दै छ ।  लोकतन्त्र, गणतन्त्र या आजसम्म भनिएका उपलब्धिबाट कति प्रतिशत जनता लाभान्वित भएका होलान् ? के देशले हिजोका युद्ध र द्वन्द्वका लागि प्रायश्चित्त गर्न सकेको छ ? नेपाल आमाका सन्तानलाई दुख्ने घाउलाई तराईको माटोमा, रङ, रूप, सिमाना, पार्टीको पोल्टामा पोक्याइन्छ भने त्यहाँ राष्ट्रिय स्वार्थ चुक्दैन र ! भूराजनीतिको ध्रुवीय सत्तायात्राका महायज्ञबाट चुलिएको विकेन्द्रीकृत सोचसँग देशमा अपसकुन भइरहेका दुःखद सत्यमा आखिर कस्तो शान्तिको उद्घोष छ ? संविधान निर्माणको सफलतामा जुटेको सबल दलीय एकताको उदाहरण मक्यायो भने त्यो कुनै एक दलको अक्षमता होइन ।  
सप्तरी घटना कुनै जाति, सम्प्रदाय या पार्टीको पीडा होइन, यो सिङ्गो नेपाल आमाको वेदना हो ।  समस्यामा प्रतिशोध, निषेध अनि ढिपीको भावनाले समाधानको बिजाङ्कुरण गराउन सक्दैन ।  यस्ता राष्ट्रिय समस्यामा शान्ति, अमनचयन कायम गर्न संयमित भएर, लोकतन्त्र र गणतन्त्रको स्थायित्वका लागि सबैखाले हिंसात्मक भाव त्याग्नुभन्दा बुद्धिमानी र सबल मार्ग अरू हुन पनि त सक्दैनन् ।  
कञ्चनपुरमा भारतीय सैनिकको ज्यादतीले गोविन्द गौतम शहीद बन्नुभयो ।  सरकारले राहत दियो, राष्ट्रिय र मानवीय सरोकारको विषय हो ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामान्य पाराले दुःख व्यक्त गरे औपचारिकता देखाए ।  ‘माफी’ रूपी शब्द कहाँ प्रयोग भयो र आखिर ! नेपालीलाई राम्रैसँग थाहा छ, केही समयअघि मोहनी लगाउने भाषण छाँटेर भूकम्पले थिल्याएको चोटमा राम्रैसँग नाकाबन्दीको नुनचुक छरेको विगतका बारेमा ।  अर्कोतिर सदियौँदेखि सीमाक्षेत्रमा बन्दुक बोकेर दशगजा मिच्ने, हैकम जमाउने, रातारात सैनिक दमन गर्ने, नेपालीका घरमा छिरेर जथाभावी कुटपिट गर्ने गरेका कर्तुतको शिकार बनेको भारतीय निर्ममतासँग नेपाल र नेपालीको मन साँच्चै कुँडिएको छ ।  शहीद गोविन्द गौतमको शोकमा स्तब्ध नेपाली मनले भारतीय दूतावासबाट ‘भारतीय सैनिकले गोली नचलाएको’ भनी निकालिएको झुटो विज्ञप्तिलाई हेरेर दोषीलाई सजाय होला भन्नेमा नै कसरी विश्वास गर्ने ? तानाशाही निरङ्कुश दमनकारी कुकृत्यका सिकार बनिरहने सीमावर्ती नेपाली जनताको सुरक्षा र सीमा रक्षाका विषय दुर्घटनापछिका दुई÷चार दिन पर्दामा आएर अर्को घटनाको पर्खाइमा सीमित नरहोस्, आमजनतामा चिन्ता छ ।  स्वाभिमान रक्षाका विकल्पमा आपैmँलाई मजबुत पार्दै सीमामा प्रवेशाज्ञा लागू गर्ने, सीमाङ्कनको रेखा आधुनिक म्यापका आधारमा तय गर्नेजस्ता अन्य नूतन विकल्प खोज्न दलहरू लाग्नुपर्छ ।  
प्रत्येक घटनाको सम्बोधनका लागि सडकमै उत्रिनुपर्ने संस्कार र बाध्यता बनिरहेको छ, देशमा ।  जनता बाध्य छन्, पार्टीको पछाडि लागेमा मात्र न्यायालयको ढोकामा पुग्ने आधार बन्ने तर निमुखाका त्यस्ता आवाज खोलाको गीत बन्ने गरेका पीडादायी गुनासा कम छैनन् ।  नेतृत्वको पछाडि लागेर आक्रोश, अडान र हुलमुलको जत्थामा एउटै झण्डाको कदर गर्ने हामीले आफ्नै परिवारमा राँको जलाएको लामो इतिहास हामी सामु छन् ।  घरझगडामा नै रगतको होली खेलिएको देखेपछि बाह्य शक्तिले बन्दुक चलाउन कति सहज ठान्यो ! हामी घरमै मारामार गर्दैछौँ ।  बाह्य शक्तिको ज्यादतीमा एकढिक्का भएर न्यायको झोली थाप्ने बेलामा हामी आपसमा भाडिइरहेका छौँ ।  आफ्नैसँग आरोप–प्रत्यारोप गर्दै आपैmँले सास्ती जन्माएर आपैmँ त्यसको पीडा सहेर गाँड कोराकोर गरेका हामीलाई गरिबी, बेरोजगार र अभावको झोला भिराएको पनि धेरै भइसकेको छ ।  कार्यकर्तालाई बलिको बोको बनाउने अभियानमा होम्न जान्ने तर विकासको महायज्ञ र शान्तिको रङ्गमञ्चमा तरङ्गित बनाउन नसक्ने विसङ्गतिको मुस्लोले राजनीति अछूतो छैन ।  
अतः चुनावी भाषणका सैद्धान्तिक खोक्रोपनभन्दा अब मुलुकको परिवर्तन र स्वाभिमानका लागि विकासका बाटामा मतभेदको अन्त्य आवश्यक छ ।  सहमतिको सुमार्गमा सम्पूर्ण जनता, दल र देश एकढिक्का हुनुको अर्को विकल्प देखिँदैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना