स्थानीय चुनावमा मतदाताको क्षमता

राममाया लामिछाने

 

राजनीति सेवा हो ।  आफूलाई नागरिकको सेवक बनाउनु राजनीतिज्ञको धर्म मानिन्छ ।  राजनीति गर्नुले कुनै दिन राजनीतिक पद प्राप्ति हुन्छ तर जीवनभर आफूले कुनै पेसा सीप वा जागिर नगरे बापत्को शुल्क राजनीतिक पद प्राप्तिबाट असुल हुन्छ भन्ने मान्यता राख्नेहरूका कारण राजनीति विकृत बनेको छ ।  पदप्राप्तिका लागि ‘मनी, मसल, पावर’ र दलीय पारिवारिक नाताको अत्यधिक प्रयोग भएको छ ।  आफूले विश्वास गरेको सिद्धान्त बोकेको दलका नाममा विधिविहीन कार्य मौन स्वीकार गर्ने परम्पराले राजनीतिमा भ्रष्टाचार मौलाएको छ ।  राजनीतिलाई सामाजिक सेवाबाट विस्थापित गरी पैसा कमाउने पेसामा परिणत गर्दै पुस्तौँका लागि सम्पत्ति जोड्ने माध्यम बनाइएको छ ।  सेवा प्रदायक बन्नुपर्ने सरकार तथा यसका निकायले विधि प्रक्रियालाई नियन्त्रणमा लिएका छन् ।  यसरी नागरिकको अधिकारलाई न्याय विमुख बनाउँदै नागरिकको समानताको अधिकार, प्रजातान्त्रिक अभ्यास, कानुनी शासन, सक्षमता, स्वतन्त्रता, नागरिकप्रतिको जवाफदेहिता जस्ता विधिको शासनका आधार स्तम्भ खल्बलिएका छन् ।
विधिको शासनमा विश्वास गर्ने प्रजातन्त्रको न्यूनतम आधार आवधिक चुनाव हो ।  लामो समयदेखि स्थानीय निकायको चुनाव नहुँदा पनि चुनावसँग राजनीतिक दलहरू डराइ आफू सरकारमा रहँदाको अवस्थामा मात्र चुनावलाई उपयुक्त ठानिनु जनाधार नभएको प्रमाण हो ।  राज्यको स्रोतको दोहनले मात्र मताधिकार प्राप्त हुने आँकलन आफैँमा असफल राजनीति हो ।  उम्मेदवार नै सक्षम, योग्य, दक्ष नभई केवल ‘मनी, मसल र पावर’ ले बनेको अवस्थामा योग्य दक्ष सक्षम इमानदार प्रतिनिधि चाहने नागरिकको नागरिक तथा राजनीतिक अधिकारलाई चुनावको पहिलो चरणमा नै अपहरित गर्ने गरिन्छ ।  राजनीतिक सिद्धान्तका आडमा स्थापित वा निर्मित राजनीतिक दलले दिने टिकटमा योग्य, सक्षम, दक्ष व्यक्तिको छनोट र सो छनोटको आधार र कारण पारदर्शी बनाउन सकेको खण्डमा मात्र बहुदलीय व्यवस्थाको राम्रो अभ्यास हुन सक्छ ।   
घोषित स्थानीय तहको चुनावमा केवल दलको नाममा मात्र कम योग्य उम्मेदवारको छनोट हुन गयो भने मतदाताले पनि अलोकतान्त्रिक संस्कारलाई नै मान्यता दिएको ठहरिनेछ ।  लोकतान्त्रिक अभ्यासमा मात्र भ्रष्टाचारको नियन्त्रण सम्भव हुन्छ ।  व्यक्तिको योग्यता, क्षमता, दक्षता र इमानदारिताको कदर हुन्छ ।  त्यसैले राजनीतिक दललाई भोलिसम्मका लागि पारदर्शी, जवाफदेही, उत्तरदायी बनाउनमा सहयोग पुग्ने गरी योग्य व्यक्तिको छनोट आवश्यक छ ।  एक पटकलाई आफूले आस्था गरेको दलको कम योग्य उम्मेदवारलाई हराइदिँदा पुस्तौँका लागि योग्य उम्मेदवार खडा गर्ने दलीय संस्कार विकास हुनेछ ।  स्थानीय चुनावमा योग्य उम्मेदवारको चयनले बिग्रँदो राजनीतिक अभ्यासलाई सही ‘ट्रयाक’ मा ल्याउनेछ ।  त्यसैले आफूले विश्वास गरेको राजनीतिक सिद्धान्त बोकेको दलले योग्य सक्षम इमानदार उम्मेदवार दिन्छ कि दिँदैन ? त्यसको परीक्षण गरी मताधिकारबाट सही परिणाम निकाल्ने अवसर चुनाव भएकोले यसको सदुपयोग गर्न आवश्यक छ ।   
नेपालमा अदूरदर्शी, अपारदर्शी, निरङ्कुश व्यवहार भएको नेतृत्वले वास्तविकतामा आधारित निष्पक्षता, इमानदारिता, राष्ट्रवादको राजनीतिक अभ्यास गर्न सकेको छैन ।  दल र त्यसले अवलम्बन गरेको सिद्धान्तलाई बेवास्ता गरी गुट, यसबाट पनि परिवारको समृद्धिका लागि राजनीतिलाई दुरूपयोग गरिनु दुःखद विषय हो ।  दलका प्रमुखको आफन्तका आधारमा पद प्राप्ति र प्राप्त पदीय दायित्वको बोध हुन नसकी अधिकतम दुरूपयोग भएको छ ।  यसरी सक्षम योग्य र दक्षबाट नागरिकलाई सेवा दिने लिने अवसर गुमेको छ ।  पदीय दुरूपयोग वा पद अनुसारको कार्य नगर्नु भष्टाचारको विषय हो तर यसलाई हेर्नेे अनुगमन गर्ने इमानदार निकाय वा व्यक्तिको अभाव भएको छ ।  अरूलेभन्दा कम भ्रष्टाचार गरेकोले उन्मुक्ति पाउनुपर्ने तर्क र प्रमाण पेस गरिन्छन् ।  भष्टाचार नियन्त्रण गर्ने निकाय यसलाई रोक्ने कार्यमा लाग्नुको सट्टा भ्रष्टाचारीसँग बार्गेनिङमा रहेको बुझिन्छ ।
नागरिक हकको रक्षार्थमा उभिनुपर्ने न्यायालयलाई कमजोर बनाउन खोजिएको छ ।  न्यायाधीश नियुक्ति जस्तो उत्कृष्ट कार्यमा समेत कानुन, विधि र प्रक्रियालाई स्वीकार गर्न सकेको देखिँदैन ।  यस्ता कार्यविरुद्धको जिम्मेवार निकाय न्यायालयले सङ्केत आफ्नो दायित्वलाई इमानदारिता र विश्वसनीयताका साथ पूरा नगरेको गुनासो आउँछन् ।  यो अवस्थालाई परिवर्तन गर्न राजनीतिले नै सक्छ तर राजनीति जनताका लागि, जनताबाट जनताद्वारा भन्ने मान्यता स्थापित हुन सकेको छैन ।  यो मान्यता स्थापित गर्न अब स्थानीय चुनावको सन्दर्भबाट युवाले सक्छन् ।  युवा भनेको वास्तविक राष्ट्र निर्माणको कर्णधार हुन् भनी प्रमाणित गर्ने अवसर हो यो स्थानीय चुनाव ।  घरदैलोको सरकारमा कस्तो व्यक्तिलाई चयन गर्ने ? कति योग्य, सक्षम र इमानदारबाट शासित हुने ? जस्ता विषयको छनोट यो चुनावबाट गर्न सकियो भने कम योग्यको बहिर्गमन र योग्य व्यक्तिको आगमन हुनेछ राजनीति र विकास कार्यमा ।  यसका लागि पहिलो पटक भोट दिने युवाले मात्रै भए पनि मतको सही प्रयोग गर्न सकेमा मतदाताको अधिकार पुनःस्थापित हुनेछ ।  यसले दलभित्रको गुटवाद र आफन्तवादलाई अन्त्य गर्नेछ ।  फोहरी खेलका रूपमा चिनिएको राजनीतिलाई परिवर्तन गर्न र राजनीतिलाई जनता सेवा बनाउन युवाको सही मत प्रयोगले सहयोग गर्छ ।  
अयोग्य उम्मेदवारलाई मत नदिनु र सिद्धान्तमा विश्वास गर्नु फरक विषय हुन् ।  आफ्नो विचारलाई बोक्न नसक्ने, केवल दलबाट टिकट लिने उम्मेदवारलाई मत दिनुभनेको आत्मघाती राजनीतिक गोल हान्नु ठहरिनेछ ।  किनकि त्यस्ता प्रतिनिधि केवल टिकटदाताप्रति वा लगानीको उठानप्रति अवश्य इमानदार होलान् तर योग्य प्रतिनिधि छनोट गर्न नसक्ने मतदाताप्रति इमानदार हुन आवश्यक ठान्दैनन् र जवाफदेहिताविहीन हुन्छन् ।  मतदातामा यो क्षमताको विकास हुन सकेको खण्डमा राजनीतिक दलले पनि योग्यमध्येको योग्य, सक्षममध्येको सक्षम र इमानदारमध्येको उच्च इमान्दारलाई मात्र टिकट दिने प्रचलन सुरु हुनेछ ।  जसबाट प्रजातान्त्रिक लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाले आन्तरिक र बाह्य रूपमा स्वीकार गरेको जनताको सार्वभौमिक अधिकारलाई सुनिश्चित गर्नेछ ।  योग्य प्रतिनिधि छनोटको शिक्षा आजको अपरिहार्यता हो ।  नागरिकले राजनीति सिद्धान्त र व्यक्तिको उम्मेदवारीलाई छुट्याएर हेर्न सकेको खण्डमा मात्र बहुदलीय व्यवस्थामा नागरिकको अधिकार सुनिश्चित हुन सक्छ ।  राजनीतिप्रति आएको वितृष्णालाई हटाइ प्रजातन्त्रको उपभोग गर्न पाउने अवस्थाको परिकल्पना मतदाताको क्षमता र दलभित्रको प्रजातान्त्रिक अभ्यासले मात्र सम्भव छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds