सडकले ल्याएको खुसी

बागलुङ, वैशाख ७ गते । “यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ”, जैमिनी नगरपालिका–७ जैदी, बोरका ७५ वर्षीय नैनसिंह रानाले भन्नुभयो – “बुढ्यौलीमा विकास देख्न पाइयो ।” विकासबाट वञ्चित बोर गाउँ सडकसँग जोडिएपछि गाउँभरि खुसी छाएको छ । मङ्गलबार बोर पुगेका जिप, ट्र्याक्टर, मोटरसाइकलाई गाउँलेले बाजागाजासहित स्वागत गरे ।

गाउँमा मोटर आएको अवसर छोपेर स्थानीयवासीले ‘खुसियाली कार्यक्रम’ को आयोजना गरेका थिए । मोटर चढेर गाउँ पुगेका अतिथिलगायत सवारी चालकलाई गाउँलेले फूलमालाले सम्मान गरे । दिनभरजसो नौमती बाजामा नाचगान गरेर स्थानीयवासीले ‘उत्सव’ नै मनाए । ९१ घरधुरी रहेको बोर गाउँमा गत महिनामात्र सडक पुगेको थियो । कुश्मीसेरा–सर्कुवा–बिनामारे–अर्जेवा–जैदी–छिस्ती कृषि सडकअन्तर्गतको एउटा खण्ड बोर गाउँमा पर्छ ।

जैदीकै पाहाकोटसम्म गत वर्ष नै मोटर गुडे पनि पाँच किमी टाढाको बोरसम्म सडक पुग्न एक वर्ष लाग्यो । “पारि गाउँमा मोटर गुडेको हेरेर चित्त बुझाउँथ्यौँ”, स्थानीयवासी जङ्गबहादुर रानाले भन्नुभयो – “अहिले त बोर गाउँको मुहार फेरियो, विकासको मेरुदण्ड सडक आयो ।” सडकलाई उत्पादन र आर्थिक गतिविधिसँग जोड्नुपर्ने रानाले बताउनुभयो । स्थानीय दीपज्योति आमा समूहकी अध्यक्ष कलावती रानाले बोर गाउँवासीको विकासको सपना पूरा भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले सडकसँगै अन्य विकासका पूर्वाधार निर्माणमा गाउँले एकजुट हुनुपर्ने बताउनुभयो । सडकले सदरमुकामसँगको यात्रालाई छोटाएपछि गाउँलेले ठूलो सुविधाको अनुभव गरेका छन् । दिनभर हिँडेर पनि नपुगिने सदरमुकाम बागलुङ बजारमा अहिले तीन घन्टामै पुग्न सकिने भएको छ । तत्कालीन जिविसले वर्षौंअघि खन्न सुरु गरेको कृषि सडक बल्लतल्ल बोर गाउँसम्म पुगेको हो । सडक उपभोक्ता समितिका अध्यक्ष लीला रानाले ठूलो मेहनतले सडकलाई जैदीमा छिराएको बताउनुभयो ।

उहाँका अनुसार सडकलाई छिस्तीसम्म पु¥याउन अझै धेरै काम बाँकी छ । जिल्लाको पश्चिम क्षेत्र सडक सञ्जालमा छिटो जोडिए पनि दक्षिण भेग पछाडि परेको उहाँको भनाइ छ । “जिविसको ठूलो योजनामध्येमा परे पनि धेरै कठिनाइ र अवरोधका कारण सडक निर्माणमा ढिलाइ भएको हो”, अध्यक्ष रानाले भन्नुभयो – “अब सहज ढङ्गले छिस्तीसम्म सडक जोडिन्छ ।” जिल्ला समन्वय समिति ९तत्कालिन जिल्ला विकास समिति० ले चालु आवमा सडकका लागि रु १३ लाखँ अनुदान छुट्याएको थियो ।

यस्तै, आर्थिक केन्द्रअन्तर्गतको अर्थ मन्त्रालयबाट प्राप्त रु २० लाख पनि सडकमा खर्च भइसकेको उपभोक्ता समितिले जनाएको छ । कृषि सडकको बाँकी मार्ग खोल्न आवश्यक बजेट व्यवस्था गरेर समयमै काम पूरा गरिने जिल्ला समन्वय समितिले जनाएको छ । उक्त सडकले जैमिनी नगरपालिकाका अधिकांश वडालाई समेटेको छ ।

कृषि उत्पादनलाई बजारसम्म ल्याउन र अन्य आर्थिक गतिविधिका लागि कृषि सडक महत्वपूर्ण मानिएको छ । सडक पुगेको अवसरमा खुसियाली मनाउन बोर साहित्यिक सङ्गम, दीपज्योति आमा समूह, जनप्रिय युवा क्लब र सयपत्री युवा क्लबले कार्यक्रमको आयोजना गरेका थिए । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds