पेरिस आक्रमणले राष्ट्रपतीय निर्वाचनमा ठूलो प्रभाव पार्न सक्छ ः ट्रम्प

वासिङटन (अमेरिका),  वैशाख ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिसमा भएको घातक आक्रमणको फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पर्ने शुक्रबार बताउनुभएको छ । आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ ।

“पेरिसमा भएको अर्को आतङ्कवादी हमलाका कारण फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पार्नेछ, ” अमेरिकी राष्ट्रपतिले फ्रान्सको आइतबार हुने निर्वाचनका विषयमा रहेको अमेरिकी मौनतालाई भङ्ग गर्दै ट्वीट गनुृभएको छ ।

ट्रम्पको ट्वीट पेरिसमा एक बन्दुकधारी आक्रमणकारीले एक प्रहरीको मृत्यु भएपछिको केही घण्टापछि आएको छ ।

फ्रान्सको राष्ट्रपतिका लागि आइतबार हुने पहिलो चरणको निर्वाचनको सिलसिलामा रक्तपातपूर्ण घटना हुनसक्ने भनी सतर्कता अपनाइरहेका बेला आईएसद्वारा आक्रमण भएको छ । सन् २०१५ पछि पटकपटक जिहादी अतिवादी समूहले फ्रान्सका विभिन्न ठाउँलाई लक्षित गरी आक्रमण गराएका छन् । पछिल्ला दुई वर्षको अन्तरमा २३० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

आक्रमणपछि फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा प्रमुख प्रतिस्पर्धामा रहेका चार नेतामध्ये तीन जना ले पेन, इमान्युयल म्याक्रोन, फ्रास्वाँ फिलनले शुक्रबारका लागि तय गरेका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।

आइएस लडाकूद्वारा पेरिसमा आक्रमण

 पेरिसमा बिहीबार बेलुका भएको आतङ्ककारी आक्रमणको घटनाको अतिवादी समूह इस्लामिक स्टेट (आइएस) लडाकूहरुले जिम्मा लिएका छन् ।


घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

फ्रान्सको गृह मन्त्रालयका प्रवक्ताले उक्त आक्रमणका क्रममा आक्रमणकारीले कारबाट ओर्लेर स्वचालित हतियारद्वारा गोली प्रहार गरेको बताउनुभयो ।

उहाँले घटनामा संलग्नहरुको खोजी र अनुसन्धानकार्य अगाडि बढाइसकिएको जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थलबाट विभिन्न दृष्टीकोणले घटनाका बारेमा अध्ययन गरिरहेको र प्रमाणहरु संकलन गरेको उहाँले बताउनुभयो ।

उक्त हमलापछि फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ अलान्दले सुरक्षा परिषद्को बैठक बोलाइएको जानकारी दिनुभयो ।

उहाँले ट्विटरमार्फत् घटनामा मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै घाइतेहरुप्रति सहानुभूति र सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

राष्ट्रपतीय चुनावको पहिलो चरणको मतदान हुनु केही दिन अघि यस्तो घटना भएको हो । घटनापछि पेरिसमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

 रासस/एएफपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds