‘हाइड्रो भिलेज’ नारच्याङमा १० जलविद्युत् आयोजना


म्याग्दी, वैशाख १० गते । कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना भित्रिएका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने नारच्याङ दर्जनौँ हिमशृङ्खला, मगर समुदायको कला र संस्कृति, नारच्याङ छहरासँगै अन्नपूर्ण प्रथमको आधार शिविर रहेका कारण पर्यटकीय गाविसका रुपमा चिनिँदै आएको यो गाउँमा अब जलविद्युत् आयोजना भित्रिएसँगै ‘हाइड्रो भिलेज’का रुपमा चिनिन थालेको छ ।

नारच्याङमा विसं २०४३ मा निर्माण सुरु भएर २०४४ सालदेखि जिल्लामै पहिलो पटक विद्युत् वितरण थालेको दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जिल्लामै जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो । जलस्रोतको अथाह भण्डार भएको यस गाउँमा निर्माण सम्पन्न भएको एक आयोजनासहित १० वटा जलविद्युत् आयोजना भित्रिएको नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङले बताउनुभयो ।

अन्नपूर्ण दक्षिणबाट बग्ने घलेम्दी, नीलगिरि हिमालबाट बाग्ने नीलगिरि अर्थात् मिस्ती र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत् उत्पादनका लागि अहिलेसम्म नारच्याङमा मात्रै करिब दुई सय ९० मेगावाट क्षमताका १० वटा जलविद्युत् आयोजना दर्ता भइसकेका छन् । “अहिले गाउँमा भित्रिएका जलविद्युत् आयोजना निर्माण चरणमा प्रवेश गरेका छन्, यसले छिट्टै यस नारच्याङलाई ‘हाइड्रो भिलेज’मा परिणत गराउने सम्भावना बढेको छ,” जलसरोकार समितिका सदस्य गुरुङले भन्नुभयो । अहिले गाउँमा भित्रिएका जलविद्युत् आयोजनामध्ये पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्तीखोला आयोजनाले धमाधम पूर्वाधार निर्माण गरिरहेका छन् ।

त्यसैगरी, ३८ मेगावाटको नीलगिरि, ६२ मेगावाटको नीलगिरि क्यास्केट, १० मेगावाटको रेले खोला जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम सकेको नारच्याङ जलसरोकार समितिले जनाएको छ । नारच्याङमा १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो र ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएर इआइएको चरणमा रहेका छन् ।

अनुमतिपत्र खारेजीमा परेको एक सय ६५ मेगावाट क्षमताको कालीगण्डकी गर्जको विस्तृत सर्भेक्षणको काम सकिएको र करिब तीन सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएकाले उक्त आयोजनासमेत लगानीकर्ताको खोजीमा रहेको बुझिएको छ । जलविद्युत् आयोजनाको आगमनसँगै गाउँको सामाजिक र भौतिक पूर्वाधार विकासले समेत गति लिएको अनुभव गरिँदै छ । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीका साथै अन्य सहायक खोलानालालाई विद्युत्का लागि उपयोग गर्दै सिङ्गो जिल्लालाई मुलुककै ‘हाइड्रो हब’ बनाउने सङ्कल्प यहाँका स्थानीय निकाय र जनताले गरिसकेका छन् । नारच्याङमा दर्ता भएका जलविद्युत् आयोजनाले अहिले धमाधम काम गर्न थालेपछि जिल्लाभर यसले सकारात्मक सञ्चार गराएको छ ।

स्थानीयस्तरमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सय २० केभी क्षमताको सबस्टेसन तथा ३८ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरिएपछि जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएका हुन् । आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सबस्टेसनको अभावमा यसअघि अनुमति लिएर लामो समयदेखि आयोजना दर्तामै थन्किनु परेको थियो ।

जलविद्युत् आयोजनाको ‘हब’ रहेको करिब चार सय ८० घरधुरीको बसोबास रहेको नारच्याङमा अहिले सर्वसाधारण नागरिक फुर्सदमा देखिन छाडेका छन् । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेकोे घलेम्दीखोला जलविद्युत् आयोजनामा अहिले करिब ९० जनाभन्दा बढी स्थानीयवासीले रोजगारी पाएका छन् । आयोजनाको सुरुङ मार्ग, बाँध निर्माणलगायत आयोजनाका लागि आवश्यक पर्ने जनशक्ति स्थानीयस्तरमा उपलब्ध भए उनीहरुलाई नै अवसर दिने नीतिले समेत नारच्याङमा स्थानीयवासीलाई रोजगारीको अवसर सिर्जना भइरहेका छन् ।

यस गाउँबाट रोजगारीका लागि गाउँमा अवसर नपाएर बिदेसिनुपर्ने बाध्यताको अन्त्य भएको छ । घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव विमल रिजालले आयोजनामा सीप नभएकालाई पनि अन्य व्यक्तिबाट सीप सिकेर क्षमताअनुसारको काम गर्ने अवसर दिइएको बताउनुभयो । नारच्याङ गाविसका जनताले आयोजनामा करिब रु एक करोडको सेयर लगानी पनि गरेका छन् । उपल्लो नारच्याङको लेकगाउँका अधिकांश घरधुरीबाट आयोजनामा लगानी भएको छ ।

नारच्याङमा घलेम्दीसँगै रोबस्ट इनर्जी कम्पनीले निर्माण गर्न लागेको ४२ मेगावाट क्षमताको मिस्तीखोला जलविद्युत् आयोजनासमेत निर्माण चरणमा प्रवेश गरेपछि नारच्याङमा जलविद्युत् आयोजनाको चहलपहल झनै बढेको छ । आयोजनामा काम गर्ने कामदार र लगानीकर्ताको आवतजावत यहाँ बढ्न थालेको छ । जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि सडक, पुल लगायतका भौतिक विकास निर्माणलाई समेत अगाडि बढाइँदा यसले स्थानीयवासीलाई प्रत्यक्षरुपमा सहजता समेत प्रदान गरेको छ ।

जलविद्युत् आयोजनाले स्थानीयवासीलाई रोजगारी र लगानीका अवसर सिर्जना गर्ने तथा दीर्घकालीनरुपमा समेत यसले गाउँको विकासमा सघाउने भएकाले स्थानीयस्तरबाट समेत जलविद्युत्को विकासका लागि आवश्यक वातावरण तयार गर्ने काम भइरहेको स्थानीय युवा अर्जुन मगर बताउनुहुन्छ । नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले रोजगारी र लगानीको अवसर मात्रै नभई स्थानीय विद्यालयको निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउने, विकास निर्माणका पूर्वाधार निर्माण गर्नेजस्ता सामाजिक काममा गाउँलेलाई प्रत्यक्ष राहत मिलेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना