उतारचढाव माझ सेयर बजार

sarojसरोज अधिकारी

 

 

राजनीतिक अस्थिरतालाई मुख्य मुद्दा बनाएझैँ गरेर नेप्से पुनः एक पटक ओरालो लाग्न थालेको बजार राजनीतिक वातावरण मिलेको सङ्केतपश्चात् सम्हालिएको छ ।  बजारमा सधैँ चलखेल हुन्छ भन्ने देख्नेले भने ठूला लगानीकर्ता, म्युचुअल फण्ड र दलालहरूको समेत मिलोमतोमा सेयरको मूल्य बढाएर बिक्री गरे अनि बजार घटाए भन्ने प्रतिक्रिया अब अवश्य पनि आउने छ ।  चुनावमा मधेशी मोर्चा नजाने भन्दैमा ह्वात्तै बजार तल अनि चुनाव हुने पाँच दलको प्रतिबद्धताले एकै दिनमा झण्डै ५० अङ्कको बढोत्तरी बुझ्नै नसकिने छ ।  सेयर बजारमा अनलाइन ट्रेडिङ अब छिट्टै आउने समाचारले बजार बढ्ने अनि त्यो प्रक्रिया पूरा भएर आउन अझै एक वर्षभन्दा बढी लाग्ने सेवा खरिदमा घोटालाको सङ्केत जस्ता समाचारले बजारमा गिरावट देखिने जस्ता हल्ला व्याप्त छन् ।  
सेयरमा लगानी गर्नेले राम्ररी अध्ययन गरेर मात्र लगानी गर्न आग्रह बारम्बार सम्बन्धित निकाय र विज्ञहरूले गर्दै आएकै छन् ।  बजार बढेका बेला हौसिएर आर्थिक स्वास्थ्य र भविष्यमा राम्रो प्रतिफल दिन नसक्ने कम्पनीको सेयर खरिद गरिहाल्ने अनि घट्दा अरूलाई दोष दिन मिल्दैन ।  यो बजारमा सबैको कुरा सुन्ने अनि निर्णय आफैँले लिने हो ।  बजार घट्दा धितोपत्र बोर्डलगायतका नियमनकारी निकायलाई पनि दोष दिने प्रचलन नेपाली लगानीकर्तामा देखिन्छ ।  यसपालि पनि धितोपत्र बोर्डले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा बजार यति पुग्छ उति पुग्छ भन्ने समाचार र सूचनाको आधारमा सेयर खरिद बिक्री नगर्नु भन्ने आह्वान गरेलगत्तै बजार घट्न थालेको छ ।  त्यसैगरी बजार घट्दा चर्को बिक्रीको चाप थाप्न नसकेर ऋणमा सेयर किन्न बेच्न बाध्य हुनुपरेका बेला राम्रो कम्पनीको सेयर पनि अध्ययन नै नगरी बेच्ने लगानीकर्ता पनि प्रशस्तै भेटिन्छन् ।  बजारमा हुने यस्ता प्रकारको गल्तीबाट बच्ने एक मात्र उपाय भनेको आफूले धान्न सक्ने हैसियतको मात्र लगानी गर्ने र लामो समयका लागि लगानी गर्ने नै हो ।  
सेयर बजारमा लामो समयसम्मका लागि लगानी गर्नुपर्छ भन्ने पाठ ०७३ सालभरको कारोबारले नै लगानीकर्तालाई सिकाएको छ ।  ०७३ साल साउन २२ गतेका लागि नेप्से एक हजार ८८८ को बिन्दु छोएको समयमा पनि हौसिएर नेप्से तीन हजार पुग्छ भन्ने मान्यतामा कम्पनीको आधारभूत विश्लेषण नै नगरीकन सेयर खरिद गर्नेहरू अहिले पछुताएका छन् ।  त्यसपछि बजारमा निरन्तर गिरावट आएर फागुन २ गतेसम्म आइपुग्दा एक हजार २१८ को न्यूनबिन्दु बनाएको अवस्था पनि नेप्से परिसूचकाङ्क अब तीन अङ्कमा नै आउँछ भन्ने हल्लाको पछाडि लागेर राम्रो आर्थिक स्वास्थ्य भएका कम्पनी धमाधम बिक्री गर्नेले पछुताउनुपरेको छ ।  नाफा बुकिङ गर्ने लगानीकर्ता एक हजार ८८८ नजिक पुगेका बेला नाफा पुग्यो भनेर सन्तोष लिँदै बेच्ने र एक हजार २१८ को बिन्दु नजिक पुग्दा राम्रो आधारभूत विश्लेषण गर्दै आर्थिक स्वास्थ्य बलिया भएका र भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनी खरिद गर्नेले नै नाफा कमाएका छन् ।  
अबको बजार कता ?
नेप्से एक हजार २१८ को बिन्दुसम्ममा ओर्लिएर छोटो समयमा नै पुनः एक हजार ७०० को बिन्दु पार गरेको थियो ।  हाल त्यसमा ‘करेक्सन’ आएर एक हजार ६५० को नजिक बजार घुमेको छ ।  नेप्सेमा करिब दुई महिनामा नै चर्को वृद्धि भइसकेकोले प्राविधिक विश्लेषणअनुसार बजारमा करेक्सन आउनु स्वाभाविक नै हो ।  त्यसमा पनि स्थानीय चुनावको राजनीतिक वातावरणका बजार बढ्यो तर मधेशी मोर्चाको पुनः विरोधले नकारात्मक असर पर्नु स्वाभाविक नै हो ।  अनि चुनाव हुने निश्चित भएपछि लगानीकर्ताको मनोबलमा सुधार आएर केही अङ्क उक्लनु पनि स्वाभाविक नै हो तर महŒवपूर्ण कुरा भनेको जुनसुकै समयमा पनि आधारभूत विश्लेषणमा आर्थिक स्वास्थ्य राम्रो भएका कम्पनीले भविष्यमा दिन सक्ने प्रतिफलको आँकलन गर्दै लगानी गर्ने हो भने अहिले पनि राम्रा र लगानीयोग्य कम्पनी प्रशस्त भेटिन्छन् ।  
बजार माथि जाने आधारमा नेपाली सेयर बजारमा ठूलो हिस्सा ओगटेको बैङ्क तथा वित्तीय संस्थाहरूको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक भइरहेका छन्, जसमा उपलब्धि सन्तोषजनक नै देखिन्छ तर पुँजी वृद्धिको अनुपातमा उन्नति सही हो वा होइन भन्ने विश्लेषण जरुरी छ ।  नाफामा बढोत्तरी भन्ने समाचारको भरमा मात्रै पछाडि लाग्नु उपयुक्त होइन ।  त्यसैगरी विगत डेढ दशकपछि विश्व बैङ्कलगायतले गरेको अनुमानमा नेपालको आर्थिक वृद्धिदर छ प्रतिशतको हाराहारीमा रहने कुरा बजारका लागि सकारात्मक पक्ष हो ।  लोडसेडिङको अन्त्य र वैदेशिक लगानी भित्रने क्रम बढ्नु पनि बजार सुधारको दिशामा सहयोगी हुने निश्चित छ ।  फास्ट ट्रयाक, मेलम्ची आयोजना पूरा हुने, पोखरा र सिद्धार्थ विमानस्थलको स्तरोन्नतिमा सुधार, माथिल्लो तामाकोसीको निर्माण गति सन्तोषजनक जस्ता निर्माण कार्य र चुनावले पनि बजार सुधारमा सहयोग पुग्ने आशा गर्न सकिन्छ ।  
 निक्षेप र कर्जाको ब्याजदरमा कमी नआउनु अनि बचत खातामा समेत ब्याजदर बढ्नुले बजारलाई थप माथि लान केही बाधा पु¥याउने देखिन्छ ।  चर्को ब्याजमा सेयर कर्जा लिएर दोस्रो बजारमा आउन सक्ने अवस्था बनिसकेको छैन ।  लक्ष्मी बैङ्क, नेपाल बैङ्क, नेपाल बङ्गलादेश बैङ्क जस्ता ठूला रकमको हकप्रद खुलेको र अन्य कैयौँ हकप्रद, एफपीओ र प्राथमिक सेयर आउने क्रम जारी नै रहेकोले बजारमा सेयरको चर्को आपूर्ति बढ्ने अवश्य पनि देखिन्छ ।  त्यसले बजार माथि जान अवरोध गर्न सक्छ ।  
वर्तमान परिस्थितिमा सेयर बजार एकाएक माथि गएर दुई हजार पाँच सयको बिन्दु नाघ्ने जस्ता बजारी हल्लाले मूर्तरूप लिन आगामी केही महिना गाह्रो देखिन्छ ।  त्यसैगरी बजारको आकार निकै ठूलो भइसकेको अवस्थामा बजार घटेर एकाएक तीन अङ्कमा आउने कुरासँग पनि सहमत हुन सक्ने आधार छैनन् ।  
चुनाव दुई चरणमा हुने तय हुनु र मधेशी मोर्चासँग तीन बुँदे सहमति भएपश्चात् एकाएक बढेको बजार एकदिन पनि धानिएन र अर्को दिन घट्यो ।  यसले पनि बजार निकै उतारचढावयुक्त बनेको छ भन्ने स्पस्ट भएको छ ।  तसर्थ, बजार आगामी केही महिना एक हजार पाँच सयदेखि दुई हजारसम्मको बिन्दुमा नै रहने अनुमान गर्न सकिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना