चुनावको राजनीतिक र प्राविधिक पक्ष

rajendra kiratiराजेन्द्र किराती

    

 

  नेपालको इतिहासमा पहिलो पटक स्थानीय तहको चुनाव हुँदैछ ।  चरम राजनीतिक सकस र अन्योलताकै बीचमा सरकारले दुई चरणमा चुनाव गर्दैछ ।  यसका लागि पहिलो चरणअन्तर्गत वैशाख ३१ मा ३, ४ र ६ नम्बर प्रदेशमा र दोस्रो चरणमा १, २, ५ र ७ गते चुनाव गर्ने ऐतिहासिक निर्णय गरेको छ ।  यो आमनेपाली जनताका लागि खुसीको कुरा हो ।  आवश्यक वातावरण बनाउने हरपहल र प्रयत्न भइरहेको देखिन्छ, यद्यपि सबैलाई मिलाउन त्यति सजिलो भने देखिँदैन ।  वास्तवमा चुनावी वातावरण निर्माण गर्ने विषयमा राजनीतिक आयाम हो भने मिति घोषणा गर्नु प्राविधिक आयाम हो ।  दुवै आयामको वस्तुवादी द्वन्द्वात्मक समायोजनमा सफल निर्वाचन अन्तरनिहित हुन्छ ।  सार्वभौमतः राजनीतिक आयाम प्रधान हुन्छ भने प्राविधिक आयाम सहायक हुन्छ ।  राजनीतिक व्यवस्थापनविनाको चुनावले अझ सङ्कट पैदा गर्छ ।  यद्यपि यो ऐतिहासिक पर्व घोषणालाई सकारात्मक रूपमा लिनैपर्ने हुन्छ ।
   लोकतन्त्रमा आवधिक निर्वाचन सामान्य राजनीतिक प्रक्रिया हो तर यसको पनि दुईवटा आयाम हुन्छन् ।  यसमा एउटा राजनीतिक आयाम र अर्को उपभोक्तावादी वा प्राविधिक आयाम ।  मुलुकमा विद्यमान समग्र राष्ट्रिय समस्याको समाधान दिनु चुनावी प्रक्रियाको राजनीतिक अन्तरवस्तु हो ।  यो चुनावको मुख्य पक्ष हो ।  यसलाई राजनीतिक आयाम भनिन्छ ।  यता केन्द्रदेखि स्थानीय स्तरसम्मको सरकार वा सत्ता संरचनाको निरन्तरता र आवधिक नवीकरण गर्नु चुनावको प्राविधिक अन्तरवस्तु हो ।  यसलाई हार–जित वा आलोपालोसँग जोडिएको प्राविधिक आयाम भनिन्छ ।  तात्कालीक रूपमा प्राविधिक आयाम हावी भए पनि दीर्घकालीक रूपमा राजनीतिक आयाम निर्णायक हुन्छ तर नेपाली राष्ट्रिय राजनीतिमा यस्ता आयामको सन्दर्भमा वस्तुवादी एवम् तथ्यपरक बहस भएको छैन, जुन विडम्बनाको विषय हो ।  बरु उल्टै आआफ्नै निहित स्वार्थमा यसको अपव्याख्या गरिँदैछ ।  यसले आमजनतामा निर्वाचनसम्बन्धी अनावश्यक भ्रम र द्विविधा मात्र सिर्जना गरेको छैन, सत्यलाई समेत कमजोर बनाइरहेको छ ।  यो राम्रो सङ्केत होइन ।  
पछिल्लो घटना क्रमले राजनीतिकभन्दा प्राविधिक वा उपभोक्तावादी आयाममा निर्वाचनलाई सीमित गरिँदैछ ।  यस सम्बन्धमा अतिवादी प्रवृत्ति हावी भइरहेको छ ।  प्राविधिक आयामले बहुमत, अल्पमत र हार–जित हुन्छ ।  सरकारी संरचनाको निरन्तरता र आवधिक संवैधानिक नवीकरण अनि सरकार गठन, विघटन पनि हुन्छ तर राजनीतिक गतिरोध समाधान गर्छ नै भन्ने केही हुँदैन ।  विद्यमान समस्याको उचित व्यवस्थापनविना जसरी पनि चुनाव गर्ने मानसिकता प्राविधिक आयामकै उपज हो ।  यसले लोकतान्त्रिक कभरमा हमेशा आफू र आफ्नो दलको हार–जितलाई केन्द्रमा राखेर साधारण जनताको चुनावी कमलो भावनामा ब्ल्याकमेलिङ गर्छ ।  आफ्नो अनुकूलता र प्रतिकूलताको आधारमा चुनावको वकालती र विरोध गर्छ ।  सहमति नभए पनि चुनाव गर्ने हठ लोकतान्त्रिक राजनीतिक संस्कृति होइन ।  यो चुनावसम्बन्धी प्राविधिक आयामकै इमोसनल अभिव्यक्ति हो ।
यसरी चुनावको प्राविधिक आयामले दलगत र पात्रगत अनुकूलता सिर्जना गरे पनि राजनीतिक निकास दिन सक्दैन ।  यसले परिस्थितिलाई सामान्यीकरण होइन झनै जटिल बनाउँछ ।  समाधान र सहजीकरण भन्दा पेचिलो तुल्याउँछ ।  समग्र राजनीतिक गत्यावरोधको गाँठो फुकाल्ने चुनाव हाम्रो दायित्व हो ।  अन्यथा चुनाव राजनीतिक सङ्कट र अस्थिरताको मूल कारण बन्न सक्छ ।  विखण्डन, प्रतिगमन, विदेशी हस्तक्षेप, द्वन्द्व र अशान्तिको भरपर्दो बाहाना हुन सक्छ, जुन साम्राज्यवादी शक्ति केन्द्र मूलभूत रणनीतिभित्र पर्छ ।  यसकारण राजनीतिक आयाममा आधारित निर्वाचन इतिहासको अपरिहार्य आवश्यता हो ।  यसका लागि अधिकतम रूपमा राजनीतिक सहमति कायम गरी चुनाव गर्नु बुद्धिमानी हुन्छ ।
कतिपय दलले बजाइरहेको चुनावी डम्फूको तालमा राजनीतिक सङ्गीत मिलिरहेको छैन ।  राजनीतिक सङ्गीत र चुनावको ताल मिले मात्र मुलुकले अग्रगामी बाटो समात्न सक्छ ।  राजनीतिक थिति वसाल्न सक्छ ।  यद्यपि ताल मिलाउने विषय सजिलो छैन ।  यसका लागि सर्वप्रथमतः असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउनुपर्छ ।  संविधान संशोधन प्रक्रियामार्फत मधेशी मोर्चालाई पनि चुनावी प्रक्रियामा सहभागी गराउनुपर्छ ।  यो सरकारको पहिलो कार्यभार हो ।  दोस्रो, प्रतिपक्षी दललाई संविधान संशोधन प्रक्रियामा सामेल गराएर अधिकतम चुनावी वातावरण बनाउनुपर्छ, जुन निकै सकसपूर्ण रहेको छ ।  यसका लागि अधिकतम पहल र प्रयत्न गर्नुपर्छ ।  प्रतिपक्षी दलले पनि समग्र राजनीतिक गाम्भीर्यतालाई नजरअन्दाज गर्दै प्राविधिक चुनावी एकतारे रेटाइ बन्द गर्नुपर्छ ।  अन्यथा राजनीतिक गतिरोध झनै पेचिलो हुनेछ ।  तेस्रो, राष्ट्रिय राजनीतिक सहमतिको वातावरण तयार गर्नुपर्छ ।  सरकार, प्रतिपक्ष र आन्दोलनरत पक्षहरूको बीचमा सकारात्मक सोच र मित्रता बढाउनुपर्छ ।  अर्थात् समृद्ध नेपाल निर्माणतर्फ चुनावी मिसनलाई केन्द्रीत गर्नुपर्छ ।
केही समूह चुनाव भाँड्ने दाउमा देखिन्छ ।  यो पनि चुनौती रहेको छ ।  यता सरकारमा सहभागी कमल थापाहरू सनातन हिन्दुत्वसहितको राजतन्त्र फर्काउने दुष्साहस गर्दैछन् ।  यस्तो धरातलमा राजनीतिक आयाम र औचित्यसहितको चुनाव गर्नु कठिन देखिन्छ ।  किनकि सुख्खा मौसममा डढेलोका लागि झिल्को नै काफी हुन्छ ।  विशिष्ट राजनीतिक परिवेशलाई नजरअन्दाज गर्दै अङ्कगणितीय दम्भ प्रदर्शन गर्नु राजनीतिक संस्कृति होइन ।  यो निषेध र सहअस्तीत्व स्वीकार नगर्ने अलोकतान्त्रिक एवम् हठ प्रवृत्ति हो ।  मूलतः यस्तो रवैया अन्ततः प्रत्युत्पादक नै हुँदै आएको तितो इतिहास रहेको छ ।  प्राविधिक आयाममा आधारित चुनाव मुख्य सवाल होइन ।  यसले केवल दल वा समूहको आयतन बढाउन र खुम्च्याउन सक्छ ।  कुनै दलले एउटा चुनाव हार्नु र जित्नु ठूलो विषय होइन ।  यो लोकतन्त्रमा निरन्तर भइरहने प्रक्रिया हो तर मुख्य मुद्दा राजनीतिक समस्या समाधान गर्नु हो ।  राजनीतिलाई थितिमा ल्याउनु हो ।  यो राजनीतिक आयाममा आधारित चुनावबाट मात्र सम्भव देखिन्छ ।  यसले मात्र दीर्घकालीक राजनीतिक पद्धति कायम गर्दै गतिरोधको गाँठो फुकाउन सक्नेछ ।
अब निर्वाचनको मिति आउन तीन साता मात्र बाँकी छ ।  संविधान संशोधन दोस्रो ड्राफ्ट संसद्मा टेबल मात्र गरिएको छ ।  यसको छिनोफानो कसरी गर्ने अझै ठेगान छैन ।  उता मधेशी मोर्चाले अनिश्चितकालीन आमहडताल लगायतका आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ ।  यता निर्वाचन आयोगले चुनावी वातावरण बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरिरहेको छ ।  यद्यपि निर्वाचनको प्राविधिक तयारी भने लगभग सम्पन्न भइसकेको आयोगको दाबी रहेको छ ।  यो राम्रो पक्ष हो ।  दलहरूले आ–आफ्नो पुरानै डम्फू बजाइरहेको छ ।  यद्यपि प्रधानमन्त्रीको पहलमा वैशाख ६ गते भएको प्रमुख पाँच दल बीचको सहमति प्रयासलाई सकारात्मक कदमकै रूपमा लिनुपर्ने हुुन्छ तर ठोस रूपमा कुनै निर्णय गरेको छैन ।  यसले चाहेर पनि तोकिएको मितिमा चुनाव गर्नु कठिन हुने सङ्केत गरिरहेको छ ।  जसको कारण जनतामा चुनाव हुने र नहुनेमा आशङ्का र अन्योलता कायमै देखिन्छ ।
संसदीय लोकतन्त्रमा सामान्य अवस्थामा जुनसुकै दलले चुनाव चाहान्छ नै ।  यो निर्विवाद सत्य हो तर विशिष्ट अवस्थामा चुनावमाथि प्रश्न उठ्दै आएको छ र उठ्ने गर्छ ।  वर्तमान नेपाली राजनीतिक गत्यावरोधको पारो कस्तो हो सही र वस्तुवादी आँकलन गर्नुपर्छ ।  त्यसैले पेलेरै चुनाव गर्ने हठले मुलुक अनपेक्षित भलखाँडोमा फस्ने खतरा हुन्छ ।  यसले तराई पहाड बीचमा विभाजित मनोविज्ञानलाई बढवा दिन्छ, जुन संवेदनशील विषय हो ।  यता चुनाव सबै समस्याको बनिबनाउ समाधन होइन ।  यसको विगत अनुभव धेरै लामो छ ।  जनता पनि भुक्तभोगी छन् ।  मूल मुद्दा राष्ट्रिय राजनीतिको वस्तुवादी व्यवस्थापनको हो ।  जसरी पनि चुनाव गर्ने भावोत्तेजना रूपमा सही भए पनि सारतः यसले द्वन्द्व, अस्थिरता, विखण्डन, प्रतिगमन एवम् वैदेशिक हस्तक्षेप निम्त्याउने खतरा रहन्छ ।  यद्यपि सैद्धान्तिक र सामन्य अवस्थामा चुनाव भनेको लोकतन्त्रको आदर्श हुनुको साथै निर्विवाद पक्ष हो ।  यो सबै नेपालीलाई थाहा भएकै विषय हो ।
तसर्थ, प्राविधिक तथा उपभोक्तावादी आयामबाट निर्देशित चुनावले राजनीतिक गतिरोध अन्त्य गर्दैन ।  राजनीतिक आयाममा आधारित चुनावले मात्रै गाँठो फुकाउने हैसियत राख्छ ।  यसका लागि आन्दोलनरत पक्षको सहभागिता सुनिश्चित गर्ने आयाम असाध्यै महŒवपूर्ण छ ।  अन्यथा चुनावको कमलो र सकारात्मक भावनामा ब्ल्याकमेलिङ गर्न खोज्दा मुलुक द्वन्द्व र अस्थिरतामा फस्ने गम्भीर खतरा देखिन्छ ।  अन्तर्राष्ट्रिय अनुभवमा पनि ठूलो निहुँ र बिउविना नै साम्प्रादायिक र विखण्डनवादी हिंसा भड्किएको विडम्बनापूर्ण इतिहासलाई पनि नजरअन्दाज गर्नुहुँदैन ।  यसको चरित्र राजनीतिकभन्दा पनि भावनात्मक र साम्प्रादायिक हुन्छ ।  यसकारण यो संवेदनशील पक्ष हो ।  तसर्थ सबै सरोकारवालाले ठण्डा दिमाग बनाएर वर्तमान राष्ट्रिय राजनीतिक संवेदनशीलता बुझ्नु जरुरी छ ।  तब मात्र नेपाल र नेपालीको चाहना अनुरूप चुनाव, संविधान कार्यान्वयन, विकास निर्माण, सुशासन अनि समृद्धिको समग्र प्रक्रिया एकसाथ घनीभूत रूपमा अगाडि बढाउन सकिन्छ ।  यसमा सबैले ठण्डा दिमाग बनाएर सोच्न जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना