भूकम्पीय विपद र सुस्त पुनःनिर्माण

Gopinath-mainali-npcगोपीनाथ मैनाली

 

दुई वर्षअघि वैशाख १२ गतेको भूकम्पीय त्रासदीलाई हामीमध्ये धेरैले भुलेको प्रतीत हुन्छ ।  एकपटक फर्केर हेरौँ, विनाशकारी भूकम्पले अकल्पनीय रूपमा मानवीय क्षति र खर्बौं मूल्यको विकास संरचनालाई ध्वस्त पारेको थियो ।  मानवीय, भौतिक तथा मनोवैज्ञानिक क्षतिले नेपाली अर्थतन्त्र, विकास व्यवस्थापन र सामाजिक व्यवस्थालाई खलबल्याई दिएको थियो ।  मुलुक नै शोकमग्न भएको बेला राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरी र स्वयंसेवक उद्धारकर्मी पहिलो चरणको विपद व्यवस्थापन अर्थात् उद्धार र तत्कालीन रहातमा अद्वितीय समपर्णमा जुटेका थिए भने राष्ट्रिय योजना आयोग आफ्नै कार्यालय खुला चौर र चौतारामा भएको अवस्थामा विपदपछिको आवश्यकता आँकलन र पुनःनिर्माणको योजना बनाउन उदाहरणीय नेतृत्व देखाउन सफल थियो ।  यो राष्ट्रिय नेतृत्वको ढाँचा थियो, ठूला विपदमा परेको मुलुकमा त्यस्तो ढाँचा पनि विरलै देखिन्छ ।  छोटो अवधिमा नै विपदपछिको आवश्यकता आँकलन र राष्ट्रिय पुनःनिर्माणका लागि दाता सम्मेलन सम्पन्न गर्न सकिएको थियो ।  यसले एउटा सामथ्र्य, विश्वास र उत्साहको सञ्चार आम नेपालीमा गरेको थियो ।   
दुई वर्ष वितिसकेको छ ।  यो सानो समय होइन ।  विपद व्यवस्थापनका दृष्टिमा भन्ने हो भने दुई वर्ष भनेको निकै लामो अवधि हो ।  यसबीच निर्माणका योजना मात्र होइन, पुनः नवनिर्माण गरिसक्नुपर्ने अवधि हो ।  कोवे, सिचुवान, गुजरात, पाकिस्तानमा आदिको उदाहरणबाट पनि हामीले शिक्षा लिनुपर्ने थियो ।  हामीले हाम्रै २०४५ साल विपदको पुनःनिर्माणको सुस्त गतिबाट पनि सिक्नुपर्ने थियो ।  तर दुई वर्षका अवधिमा आठ लाखभन्दा बढी क्षतिग्रस्त आवास संरचनामध्ये करिब ४९ हजार मात्र निर्माणको क्रममा छन् ।  फेरि पनि अस्पष्ट राजनीति, अकर्मण्य कमचारीतन्त्र, निरीह पुनःनिर्माण प्राधिकरण र उदासिन नागरिक समाज भनेर सबैलाई दोष दिइरहेका छौँ ।  विपदपछिको आवश्यकता आँकलन बैठकमा इण्डोनेशियाका पुनःनिर्माण विज्ञ डा. कुन्टुरोले भन्नुभएको थियो– पुनःनिर्माणमा तीन कुराबाट अलग रहनु पर्दछ, पहिलो राजनीति, दोस्रो कर्मचारीतन्त्र र तेस्रो भ्रष्टाचार ।  हाम्रो पुनःनिर्माणमा यी कुराबाट कति अछुतो छ ?
समकालीन नेपाली इतिहासमा यति पीडादायी क्षणको अनुभव वर्तमान पुस्ताले कहिल्यै गरेन ।   पुनःनिर्माणको क्रम शुरु भए पनि प्रभावित क्षेत्रमा मनोत्रासदी अझै बाँकी छ ।  यो प्राकृतिक विपत्तिको पीडालाई पुनःनिर्माणमा परिवर्तन गरी आगामी दिन र भावी पुस्तालाई कसरी आश्वस्त र सुरक्षित पार्न सकिन्छ भन्ने चिन्ता अहिलेको प्रमुख विषय हो ।  र, असल पुनःनिर्माणका लागि यस विपत्तिलाई अवसरका रूपमा उपयोग गर्ने दायित्व पनि आम नेपालीमा छ ।  मुलुक तत्काल असल पुनःनिर्माणको अभियानमा जुट्न आवश्यक थियो, राजनीतिक कारण त्यो सम्भव भएन र प्रकोप पीडित हजाराँै मानिस भत्केको घर नजिकै प्लास्टिक ओतमा छन् ।  समयमै अस्थायी आवासहरू बनाउन सकिएन र मनसुन तथा वर्षाका अरु विपत्तिमा कस्टकर जीवन बिताउन वाध्य भए ।  ठूलो विपत्तिमा के गर्ने भन्ने हाम्रा अनुभव र क्षमता पनि छैन ।  हालैको दशकमा काश्मिर चक्मा उपत्यका, हाइटी र सिचुआनले भोगेको यस्तै विपत्तिको अनुभव र सानातिना हाम्रै सिकाइबाट यस विपत्तिको व्यवस्थापनका लागि चरणवद्ध रूपमा काम गर्नु आवश्यक थियो, त्यो अवसरबाट पनि हामी टाढा हँुदै छांै ।   
प्रकोप व्यवस्थापनका सन्दर्भमा पहिलो चरणमा गरिने काम उद्धार, खोज र राहतको हो ।  त्यो चरण पूरा भयो ।  दोस्रो चरणको पहिलो काम प्रारम्भिक पुनरुत्थान हो भने दोस्रो पुनस्र्थपना र पुनःनिर्माण ।  
प्रारम्भिक पुनरुत्थान वा तत्कालको आवश्यकता व्यवस्थामा अस्थायी आवास पुनःनिर्माण, आधारभूत सेवा व्यवस्थापन र मनोत्रासदी हटाउने कार्य सीमित रूपमा भए पनि गरिए ।  यस चरणमा आफ्नो आवास भग्नावशेष भएको स्थान वा यस्तै सम्भाव्य क्षेत्र जहाँ अन्य सेवा प्रबन्ध गर्न सजिलो पर्दछ, त्यहाँ अस्थायी बास निर्माण गरिए ।  यस्ता संरचना निर्माणमा स्थानीय सामग्री (भत्केका संरचनाका काठ, ढुङ्गा माटो, बाँस, जस्ता पाता, बाबियो, अमरिसो आदि) र प्रविधिको उपयोगमार्फत अस्थायी आवास निर्माणलाई युद्धस्तरमा सञ्चालन गरिनुपर्ने हो, जसले  जनजीवनलाई समान्यीकरण गरी सर्वसाधारणहरू विपदबाट सामान्य दैनिकीमा आउन सकून् ।  यसरी निर्माण गरिने अस्थायी आवास संरचना कम्तीमा वर्षभन्दा बढी टिक्ने खालका हुनु आवश्यक थियो ।  तर वितरणमा रहेको प्लास्टिक पालहरूले झरी, बतास र घामलाई खेप्न सकेन भने चित्रा, मान्द्रा र अस्थायी टहराले पनि वास्तविक ओत दिन सकेन ।  भत्केका विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, विद्युत् संरचना र बाटोको मर्मत गरी तत्काल सेवा दिन सकिने हालतमा ल्याउने काम अत्यन्तै सीमित रूपमा भए ।  खाद्यान्न आपूर्तिलाई पनि प्रारम्भिक पुनरुत्थानको अनिवार्य अङ्ग बनाइनु पर्दथ्यो, जुन काम हुन सकेन ।  विश्व खाद्य कार्यक्रम लगायतका मानवतावादी अन्तर्राष्ट्रिय निकायहरू यस कार्यमा क्रियाशील बनाउन आह्वान गर्ने काम पनि भएन ।  अभिभावक गुमाउने बालबालिकाहरू र आश्रयदाता गुमाउने वृद्धवृद्धाहरूको मानसिक एवं शारीरिक जोखिमलाई दृष्टिगत गरी मनोपरामर्श पनि पुनरुत्थानको प्याकेजमा समावेश गर्ने काम सैद्धान्तिक रूपमा ठीक थियो तर पुनःनिर्माणमा भन्दा यसैमा खर्चमा मात्र ध्यान दिने र यसैका नाममा प्रकोप पीडितका लागि आएको सहयोय दुरुपयोग हुने काम समेत भयो ।  प्रारम्भिक पुनरुत्थानका कार्यमा स्थानीय पीडितका ‘एक परिवार एक रोजगार’ अवधारणा कार्यान्वयनमा ल्याइनु पथ्र्याे, जसले कामको अपनत्व, सामुदायिक सहयोग र स्थायित्वको लागि समेत उपयुक्त हुन्थ्यो ।  
तेस्रो चरण पुनःनिर्माणको हो ।  कतिपय अधिकारीहरूले यसलाई नवनिर्माणको रूपमा लिएका छन् ।  यस अर्थमा नवनिर्माण कि कतिपय अव्यवस्थित र जोखिमपूर्ण आवास स्थललाई सुरक्षित र व्यवस्थित गर्ने अवसर पनि हो ।  ठूला विपद सामना गरेका धेरै मुलुकहरूले विपदपछिको पुनःनिर्माणलाई नवनिर्माणकै अवसर बनाएका छन् ।  यो सुरक्षा, सौन्दर्यीकरण र सघनबस्ती संरचनालाई एकीकृत रूप दिने यो एक अवसर हो ।  नवनिर्माणको यो योजना कार्यान्वयनको निश्चित समयसीमा (तीन वर्ष) निर्धारण गरिनु पर्दथ्यो ।  
विपद व्यवस्थापनको प्रथम चरण (उद्धार र खोजी) मा ‘क्राइसिस मेनेजमेन्ट’ का रूपमा रहने भएकाले त्यति व्यवस्थित हुँदैन, जस्तो कि हाम्रो ‘सङ्कट मोचन अभियान’ ।  सुरक्षा संयन्त्र नै यस चरणको संस्थागत भूमिका निर्धारण गर्ने संयन्त्र हो ।  त्यसपछिका चरणका लागि तत्काल अधिकार सम्पन्न संस्थागत संयन्त्र आवश्यक पर्दथ्यो ।  अन्य मुलुकहरूको विपद व्यवस्थापन हेर्ने हो भने विपदको साता पनि नबित्दै प्राधिकार निकाय गठन भइसकेको पाइन्छ ।  हामीकहाँ पनि एक प्राधिकरण गठन गरियो, त्यो पनि निकै ढिला र यसले काम गर्न थाल्ने बित्तिकै अवसान हुनपुग्यो ।  प्राधिकरणलाई अधिकार निकै सीमित गरेर जिम्मेवारी सुम्पियो ।  जसबाट संक्षिप्त कार्यविधि अवलम्बन गरी कार्यक्रम कार्यान्वयन गर्ने काममा प्राधिकरण अल्मलियो ।  यसलाई राजनीतिक प्रभाव र कर्मचारीतन्त्रीय संस्कृतिबाट बिल्कुलै अलग राखिनु पर्नेमा त्यसो हुन सकेन ।  पुनःर्निर्माणका लागि आवश्यक तथ्याङ्क संकलन तथा डिजाइन कार्य नै निकै सुस्त भयो ।  घर निर्माणका लागि उपलब्ध गराइने नगद अनुदान समयमा पीडितको हातमा पुग्न सकेन ।  
यस महाविपत्तीबाट क्षतविक्षत संरचना पुनःनिर्माण गर्न नेपाली साधन र स्रोत मात्र अपुग होइन कि जनशक्ति पनि अपुग थियो ।  सबैभन्दा कमी नै जनशक्तिको हो ।  हाम्रो विपत्तिप्रति मानवीय संवेदना र सहानुभूतिका कारण कलाकारदेखि खेलाडीसम्म, सरकारदेखि राष्ट्रसङ्घसम्म र पुँजीपतिदेखि मानवतावादी कार्यकर्तासम्म चन्दा सहयोगका लागि लागिपरेका हुन् ।  तर नेपालको निर्माणका लागि नेपाली मन भएका मानिसहरू चाहिन्छ ।  नेपालको माटोसँग नाता जोडिएको मन चाहिन्छ ।  विश्वभरि छरिएर रहेका करिब साठीलाख नेपाली छन् ।  नेपालको नवनिर्माणका लागि उनीहरूलाई खास समय र खास सहुलियत दिने गरी राष्ट्रिय आह्वान हुनुपर्दथ्यो ।  यसो भएको भए उनीहरूले सिकेको सीप, आर्जित आय र मनदेखिका भावनालाई नवनिर्माणमा उपयोग गर्दा जनशक्तिको अभाव त पूरा हुने नै थियो, त्योभन्दा बढी मानवीय संवेदनासहितको कर्मले नवनिर्माणको गतिलाई स्थायी र अपनत्वबोधी पनि बनाउन सकिने थियो ।  
पुनःनिर्माणलाई कति अवधिमा सम्पन्न गर्ने ? स्पष्ट समयसीमा निर्धारणसहित पुनःनिर्माणमा जानुपर्दथ्यो ।  झण्डै आठ लाख आवास र अन्य संरचनाको विनाश र साठी लाखभन्दा बढी मानिसको मनोविज्ञानमा पुगेको क्षतिलाई छोटो अवधिमा सामान्य अवस्थामा लैजान निश्चय नै सकिँदैन थियो ।  तर उपयुक्त समयसीमा निर्धारण गरेर तत्कालीन पुनरुत्थान, पुनःनिर्माणको काम सम्पन्न गरिनु पर्दथ्यो ।  जति ढिला गरियो त्यसको गति, गुणस्तर र प्राथमिकता कम हुन्छ ।  हाम्रा लागि यो समयसीमा तीनवर्षको उचित हुन्थ्यो ।  तर विपदको करिब वर्ष दिनपछि नियुक्त भएका प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल नै चार वर्षको भनियो ।  बीच बीचमा कार्यकारी अधिकृत परिवर्तनको पीडाले पनि पुनःनिर्माणको नेतृत्व दिग्भ्रमित देखियो ।   
हामी विचार, दर्शन, स्वार्थ, जात, लिङ्ग, भाषा र संस्कृतिका कुराहरूमा किचलो झिक्न शुरु गर्दैछौँ ।  जसका कारण संयुक्त जनआन्दोलनपछिको झण्डै एकदशक बित्थामा खेर गयो ।  पटक–पटक यिनै कारणले सानो ठूलो राष्ट्रिय विपत्ति आइप¥यो र मुलुक अनिर्णयको बन्दी भयो ।  तर विपदले विचार, वर्ग र क्षेत्र नभनी क्रूरता प्रस्तुत ग¥यो ।  नेपाली जनताले महाविपद सम्बोधन गर्न सबै दल, वर्ग र सम्प्रदायलाई झिनामसिना कुरा भुल र राष्ट्रिय अभियानमा समाहित बन भनेको थियो ।  दलहरूले राष्ट्र निर्माणमा समवेत स्वर मिलाउने र जनताको दुःख निवारणमा क्रियाशील हुने अवसर यस महाविपदले दिएको बुझ्नुपथ्र्यो ।  तर त्यो शिक्षा हामीले लिन सकेनौँ र पुनःनिर्माणलाई नव निर्माणको अवसरका रूपमा जुट्ने राष्ट्रिय अवसर गुमायौँ ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना