कस्ता चुनावी नारा

 Padam raj kalauniडा. पदमराज कलौनी  


 

चुनावी फैसलाले सम्पूर्ण देशको सर्वाङ्गीण विकासलाई प्रभावित गर्छ ।  प्रत्येक मतदाताको मतको मूल्य, पवित्रता, दृष्टिकोण र प्रवृत्तिको बारेमा खासै अनुसन्धान हुन नसके पनि क्षणिक मतदानको माध्यमले जनताको सार्वभौम अधिकार हस्तान्तरण नेतामा हुन्छ ।  यस प्रकारको भीषण प्रतियोगितामा मतदाताले सही छनोट गरी मतदान गर्नु अत्यधिक महìवपूर्ण हुन्छ ।  
नेपालमा पहिलो चुनाव वि.सं. २००४ मा ‘म्यूनिसिपल’ को गरिएको इतिहास देखिन्छ ।  नेपालमा बालिग मताधिकारको आधारमा पहिलो चुनाव २०१५ सालमा (आम निर्वाचन) भएको थियो ।  वालिग मताधिकारको आधारमा भएका चुनाव प्रतिनिधि सभा निर्वाचन २०१५, राष्ट्रिय जनमत सङ्ग्रह २०३६, राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०३८, राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०४३, प्रतिनिधिसभा निर्वाचन २०४८, प्रतिनिधिसभा निर्वाचन २०५१, प्रतिनिधिसभा निर्वाचन २०५६, संविधानसभा निर्वाचन २०६४ र संविधानसभाको दोस्रो निर्वाचन २०७० हुन् ।  यस्तै, स्थानीय पञ्चायत निर्वाचन २०३९, स्थानीय पञ्चायत निर्वाचन २०४४, स्थानीय निकाय निर्वाचन २०४९, स्थानीय निकाय निर्वाचन २०५४, नगरपालिका निर्वाचन २०६२ भए ।  
चुनावी सरगर्मीसँगै राजनीतिक दल वैचारिक, सङ्गठनात्मक र समसामयिक विकासे मुद्दाका आधारमा जनताको घरदैलोमा जाँदैछन् ।  मतदानको प्रक्रियाले राजनीतिक शक्ति प्राप्त गर्न दल हरप्रयत्नमा छन् ।  चुनाव जनशक्ति प्राप्त गर्ने माध्यम हो ।  लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको स्थान केन्द्रीय अवधारणामा हुन्छ ।  दलले सामाजिक व्यवस्थामा शक्तिको वितरण र सत्ताको आकाङ्क्षी व्यक्ति एवं समूहको प्रतिनिधित्व गर्छन् ।  उनीहरू परस्पर विरोधी हितका समयसारणी, अनुशासन र सामञ्जस्यका प्रमुख साधनको रूपमा देखा पर्छन् ।  दल सधैँ आपूmलाई सामाजिक लक्ष्य, सामाजिक गतिशीलता, सामाजिक परिवर्तन, परिवर्तनका अवरोधक तथा सामाजिक आन्दोलनसँग सम्बन्धित रहेर क्रियाशील हुन्छन् ।  आधुनिक राज्यमा राजनीतिक दललाई नै सरकार बनाउने प्रमुख संस्थाको रूपमा हेरिन्छ ।  विभिन्न किसिमका पेशागत सङ्गठनले शासन सत्तासँग प्रत्यक्ष सरोकार नराख्ने भएको हुँदा जनमत निर्माण गरेर तथा आफ्ना माग शासकसम्म पु¥याउने हुन् ।  
राजनीतिक दलको निर्माण आर्थिक वा वर्गीय आधारमा भएको देखिन्छ ।  माक्र्सका अनुसार राजनीतिक दल तथा वर्गको परस्पर सम्बन्ध राज्य वा राजनीतिक सिद्धान्तको केन्द्र विन्दुसँग हुन्छ ।  वर्गीय हित, दलीय सम्बद्धता तथा निर्वाचनको रुचिका बीच घनिष्ठ सम्बन्ध हुन्छ ।  अधिकांश समाजमा राजनीतिक दल निर्वाचन वर्गीय हितको प्रतिनिधित्व गर्छन् ।  वर्गीय साअवधारणाकै आधारमा ब्रिटेनमा श्रमिक दल, नेपालमा कम्युनिष्ट दल, भारतमा मजदुर दललगायत अन्य पेशागत श्रमिक एवं किसानका युनियन स्थापित भएका देखिन्छन् ।  
चुनावमा राजनीतिक दल रचनात्मक नाराको माध्यमले जनताको घरदैलोमा उपस्थित हुने गर्छन् ।  समसामयिक समस्यामा संकेत गर्न आकर्षक नारा लगाएर जनताको मन मस्तिष्क जित्ने प्रयास गर्छन् ।  चुनावी नाराले समस्याको समाधान गर्न वैचारिक धरातललाई सङ्केत गरिरहेको हुन्छ ।  समस्याको समाधान कसरी गर्ने भन्ने अन्तरवस्तु बोकेको हुन्छ ।  नेपालको राजनीतिमा नाराको इतिहास राजनीतिकै जुम्ल्याहा मानिन्छ ।  नारा आकर्षक शब्द चयन र संयोजनसहित समस्यालाई उजागर र समाधान, भावी रणनीतिसहित देश र जनताको भविष्य सुनिश्चित गर्नेतर्फ उन्मुख हुन्छ ।  कैयौँं राजनीतिक नारा जनताको हृदयमा मौलिक छाप तथा पहिचान छोड्न सफल हुन्छन् तर प्रतिशोध तथा राजनीतिक दललाई होच्याई कद घटाउने खाले घृणित संस्कारका कारण चुनावले राजनीतिक वितृष्णा जन्माई राजनीतिक दूरी बढाउन समेत ठूलो मद्दत गर्छ ।  यसबाट सजग बनी राजनीतिलाई निर्माण र विकासमा केन्द्रित गर्नु आजको आवश्यकता हो ।  
आकर्षक, कलात्मक र विकासवादी नाराका माध्यमले राजनीतिक दल मतदातासँग जोडिन्छन् ।  नारामा जनताको सुखको प्रत्याभूति हुनुपर्छ ।  सत्तामा गएर के गर्ने भन्ने स्पष्ट सोच झल्कनुपर्छ ।  नाराकै कारण चुनावी मैदानमा जनतासँग घुलमिल हुने हो ।  प्रत्येक राजनीतिक दलको प्रयास मतदातालाई आफ्नो पक्षमा पार्ने हुन्छ ।  प्रायः मतदाता कुनै दल विशेषका हुँदैनन् ।  त्यसकारण राजनीतिक संस्कारलाई मर्यादित गर्न संस्कारित चरित्रको निर्माण हुनुपर्छ ।  चुनावका बखत राजनीतिक दलले संस्कारित र रचनात्मक हुन्छौं भन्ने प्रत्याभूति मतदातालाई दिन सक्नुपर्ने हुन्छ ।  नारामा बौद्धिकता र वैचारिक वर्ग पहिचान झल्कनु पर्छ ।  नाराले विचारलाई सङ्क्षेपमा संश्लेषित गरेको हुन्छ ।  सन् २००८ मा अमेरिकी राष्ट्रपतिको चुनावमा बराक ओबामाले ‘एस वी क्यान’ नाराले अमेरिकी जनताको मत प्राप्त गर्न सफल भएका थिए ।  उक्त नाराले उनको कार्यशैली र बौद्धिकताको परिचय दिएको थियो ।  
देश अनुसारको भेष भनेझैँ नारामा धर्म, क्षेत्र, जात तथा भाषाको गन्ध आउँछन् नै ।  तर मूल ध्येय देशलाई समृद्ध तथा स्वाभिमानी बनाउने हुनुपर्छ ।  नारामा आम जनआकाङ्क्षा प्रतिबिम्बित हुनुपर्छ ।  खराब तथा दुषित नाराले राजनीतिक महìवाकाङ्क्षालाई लाभान्वित गरे पनि राजनीतिक दलको असली रूप र वैचारिक स्खलन देखाउँछ ।  चुनावी नारा हरेक तहअनुसार बदलिँदै जान्छन् ।  स्थानीय तहको चुनावमा केन्द्रीय तहको चुनावका लागि तय गरिनुपर्ने नारा बनाउँदा ती नारा तय गर्नेको बुझाइ नै कमजोर देखिनेमात्र होइन, जनतालाई गुमराहमा पार्न खोजेको प्रतीत हुन्छ ।
चुनाव जित्नका लागि भाषण पनि एउटा सशक्त माध्यम मानिन्छ ।  भाषणमा आमजनता र बौद्धिकवर्गको चेतनालाई प्रष्फुटन गर्ने शक्ति हुनुपर्छ तर नेपाली राजनीतिमा यसको अभाव देखिन्छ ।  चुनावी नारा राम्रा भएर मात्र चुनाव जितिने होइन, नेताको चरित्र र व्यवहारले ती नारालाई प्रभावहीन बनाइदिन सक्छ ।  
दलीय वैचारिक धरातलमा चुनावी नारा निर्माण हुन्छन् ।  संयमित भएर जनअदालतमा गएपछि फैसला जनताले गर्छ ।  कुनै कुनै दलको नाराले धैर्य, संयम र सन्तुलन बोकेको हुन्छ भने कसैले समाजलाई विखण्डन, द्वैषभाव फैलाउने प्रयत्न गरेका हुन्छन् ।  नारामा सम्पन्नता एवं विपन्नता र सकरात्मक तथा नकारात्मक पक्ष दुवै भेटिन्छन् ।  नारा तय गर्दा कस्ता मान्छेको बहुमत र निर्णायक भूमिका थियो भन्ने सङ्केत स्वयं नाराले गर्छ ।  
चुनावी नाराले राजनीतिक दलको विज्ञापन गरेका हुन्छन् ।  जनता देश सञ्चालनको प्रमुख भूमिकामा रहेका राजनीतिक दलको बारेमा आवश्यक सूचना प्राप्त गर्न खोजिरहेका हुन्छन् ।  दलीय प्रकाशन तथा वैचारिक अवस्थाको बारेमा आमजनता परिचित हुँदैनन् ।  त्यसकारण राजनीतिक विज्ञापन चुनावमा प्रभावकारी हुन्छ ।  यो विज्ञापन वा नाराले दललाई जनसमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्छ ।  जनस्मृतिलाई प्रभावित गर्दै सामीप्यतामा मद्दत पुग्छ ।  वैचारिक अन्तरक्रिया गराउँछ ।  राजनीतिक दल र जनताको बीचमा सेतुको सम्बन्ध स्थापित गर्छ ।  दलका बारेमा तुलनात्मक अध्ययन गराउँछ नाराले ।  राज्य व्यवस्थामा चलायमान कुन दलले देश र जनताको कल्याणमा आफूलाई समर्पण गरेको छ र राजनीतिक स्थिरता प्रदान गर्न सक्छ भन्नेसँगै कसले ढाँटेर जनतालाई झुक्याउन खोजेको छ भन्ने पनि नाराबाटै थाहा पाउन सकिन्छ ।  यो चुनावमा कस्ता नारा लगाउने ? दलले नै विचार गर्ने कुरा हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना