जलवायु परिवर्तनले पारेको असर

laxmi upadhyayलक्ष्मीप्रसाद उपाध्याय

 

 

विकसित मुलुकले सञ्चालन गरेका आणविक भट्टी र औद्योगिकीकरणले विश्वव्यापी रूपमा तापक्रम अपत्यारिलो ढङ्गले वृद्धि भइरहेको छ ।  यसका कारण जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा परिरहेको छ ।  विश्व तापक्रम वृद्धिमा नेपाल जस्ता अल्पविकसित मुलुकको भूमिका त खासै छैन तर यसको मार भने विकसित मुलुकभन्दा यिनै मुलुकले बढी मात्रामा भोग्नुपर्ने यथार्थ छ ।  नेपाल हिमाली राज्य हुनुले पनि यसको मार बढी भोग्नुपरेको हो ।  
हिमालको हिउँ पग्लेर काला पहाडको रूप लिँदैछन् भने त्यसको असर पहाडमा बाढी पहिरो र तराईमा डुवान हुने घटना बर्सेनि भइरहेका छन् ।  हिउँ पग्लेसँगै उच्च हिमाली क्षेत्रमा बस्ने हिउँ चितुवाको बासस्थानसम्म खल्बलिएका छन् र त्यहाँ पहाडी क्षेत्रमा पाइने चितुवा देखिन थालेका छन् ।  तराईमा मात्र देखिने लामखट्टेले लेकसम्म डस्न थालेका छन् ।  
मनसुन नियमित रूपमा सुरु हुने समयभन्दा झण्डै दुई हप्तापछि मात्र शुरु हुन थालेको छ ।  हेर्दाहेर्दै मानिसका खाने आनीबानी, लगाउने पहिरन तथा दैनिकी पनि परिवर्तन हुन थालेको छ ।  यही गतिमा जलवायु परिवर्तनको असर परिरहने हो भने विश्वले पुरानो पात्रो फेर्नुपर्ने अवस्था आउन सक्छ ।  पानी पर्ने ऋतुमा पानी नपर्ने र हिउँदमा जाडो नहुने हो भने पुराना पात्रोले कसरी काम गर्न सक्छन् भन्नेतर्फ अध्येताहरू चिन्तित हुन थालेका छन् ।  
जलवायु परिवर्तनको असरले विशेषगरी प्राकृतिक स्रोतमाथि बढी निर्भर हुने समुदायलाई पिरोलिरहेको छ ।  सामान्यतया अत्यधिक गर्मी हुँदा नजिकको जङ्गलबाट आउने चिसो हावाको उपभोग गर्ने ग्रामीण समुदायले आज तातो हावा “लु” को पीडा भोगिरहनुपरिरहेको छ ।  शहर बजारमा बस्ने व्यक्तिले ग्रामीण भेगमा बस्नेको जति पीडा भोग्नुपरेको छैन ।  पङ्खा, ‘एसी’, ‘कुलर’ जस्ता साधनको उपयोगद्वारा वातानुकुलित व्यवस्थापन मिलाइ शहरी जीवन चलिरहेको छ ।  ठीक यस्तै अवस्था विकसित राष्ट्र र अविकसित राष्ट्रको भएको छ ।  विकसित राष्ट्रले सञ्चालन गरेको आणविक भट्टीका कारणले भएको विश्वव्यापी तापक्रम वृद्धि अनि जलवायु परिवर्तनको असरले ती मुलुकभन्दा अल्पविकसित मुलुक बढी पीडित भइरहेका छन् ।  विकसित मुलुकले त आफूलाई अनुकूलित पार्दै विभिन्न प्रविधिको विकास गरिरहेका छन् ।  
नेपालमा जलवायु परिवर्तनको असर कुन–कुन क्षेत्रमा परिरहेको छ ? यसको गहन अध्ययन अनुसन्धान हुनु जरुरी छ ।  विज्ञका भनाइमा आज गरिएका अध्ययनकोे निष्कर्ष भोलि नमिल्न सक्ने हुन सक्छन् ।  किनकि तापक्रम निरन्तर रूपमा घटबढ भइरहेको छ, जसले गर्दा समग्र जीव, जन्तु, ‘इकोसिस्टम’ तथा मानव समाजको दैनिकी नै फेरबदल भइरहेको छ ।  जलवायु परिवर्तनले नेपालमा मुख्यतया कृषि तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, जलस्रोत तथा ऊर्जा, मानव स्वास्थ्य, पूर्वाधार र शहरी विकासमा असर परिरहेको छ ।
कृषि तथा खाद्य सुरक्षा ः जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि क्षेत्रमा परिरहेको छ ।  वातावरण मन्त्रालयका पूर्व सचिव डा. कृष्णचन्द्र पौडेलका अनुसार उचित समयमा पानी नपर्ने, लामो समयसम्म सुख्खा खडेरी हुने, पानी पर्दा एकै छिनमा धेरै पानी परेर बगाउने, बाढी पहिरो जाने लगायतका घटनाले खेती प्रणालीमा प्रत्यक्ष असर पारिरहेको छ ।  यसकारण कृषि उत्पादनमा आएको ह्रासले खाद्य सुरक्षामा असर परिरहेको छ भने कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा वार्षिक आर्थिक वृद्धिदर घट्न गई समग्र अर्थतन्त्रमा असर पर्छ ।  
पर्यटन क्षेत्र ः हिउँदमा हिउँ नपर्ने तर तापक्रम वृद्धि हुँदै जाँदा हिमालको हिउँ पग्लने दर निकै बढिरहेको छ ।  विशेषगरी हिमाल हेर्न आउने पर्यटकका लागि यो घटनाले दीर्घकालसम्मका लागि पर्यटन क्षेत्रमा ठूलो असर पु¥याउने देखिएको छ ।  हिमनदी साँघुरिनु, हिमालको तल्लो क्षेत्रमा हिउँ पाइने स्थान काला पहाड हुँदै जाँदा हिमाल र हिमाली क्षेत्रको सौन्दर्यमा कमी आउँदा नेपालको पर्यटन व्यवसाय प्रत्यक्ष प्रभावित हुँदैछ ।  
मानव स्वास्थ्य ः लगातार रूपमा तापक्रम उतारचढाव हुँदा होस् वा लामो समयसम्म गर्मी वा जाडो हुँदा, त्यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्ने गर्छ ।  वैशाख, जेठसम्म पानी, असिना र उच्च हिमाली क्षेत्रमा हिउँ पर्नु अनि वर्षात्का महिना सुख्खा खडेरीले कृषिलगायत मानव स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ ।  नयाँ–नयाँ रोग देखिनु, तराईमा देखिने रोग पहाड र पहाडमा देखिने रोगको पीडा हिमाली समुदायले समेत भोग्नुपरिरहेको छ ।  
वन्यजन्तु, वनस्पति तथा जैविक विविधताः जलवायु परिर्वनको प्रत्यक्ष असर वन्यजन्तु, वनस्पति तथा जैविक विविधतामा पर्ने गरेको छ ।  कतिपय लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको वासस्थान बिग्रँदा उनीहरू सङ्कटमा पर्ने गरेका छन् ।  बासस्थान, आहारलगायतका कुराको प्रत्यक्ष सम्बन्ध जलवायुसँग हुने भएकाले वन, वन्यजन्तु र जैविक विविधतामा असर परिरहेको छ ।  
शहरी विकास ः विकासको पद्धतिले ग्रामीण इलाका शहरीकरण हुँदै जानुलाई आधारभूत विकासको चरण मान्ने गर्छ ।  बस्ती विकासलाई भौतिक पूर्वाधार, हावापानी लगायतका कुराले पनि असर पारिरहेको हुन्छ ।  पछिल्लो चरणमा जलवायु परिवर्तनको प्रभावले विकसित भएका घटनालाई आधार मानेर बस्ती विकास हुने वा बस्ती विकासको क्रम भङ्ग हुने क्रम पनि बढिरहेको छ ।  तराईमा अत्यधिक गर्मी हुन थालेपछि मानिसको रोजाइ चुरे तथा पहाडी इलाका हुन थालेका छन् ।  
जलस्रोत तथा ऊर्जा ः जलवायु परिवर्तनको असरले पानीको मूल सुक्ने, हिमालको हिउँ पग्लने, मौसम छिनछिनमा परिवर्तन हुने लगायतका घटनाले जलविद्युत् गृह तथा वैकल्पिक ऊर्जाको स्रोतमा पनि असर परिरहेको छ ।  लामो समयसम्म वर्षा नहुँदा जलाशयहरू नभरिने अनि अकस्मात अत्यधिक पानीले बाढी पहिरो आएर जलायशमा माटो, ढुङ्गा, बालुवा थुप्रिँदा जलविद्युत् आयोजना प्रभावित भइरहेका छन् ।  
पूर्वाधारका संरचना ः अप्रत्यासित रूपमा हुने बाढी पहिरो लगायतका घटनाले नदी तथा खोला किनार भएर निर्माण गरिएका राजमार्ग, बाटोघाटो, पुलपुलेसा जस्ता विकासका पूर्वाधनर बगाउने, पुरिने क्रम जारी छ ।  
यसरी विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तनका असरबाट बच्ने दुईवटा उपाय हुन्छन् ।  पहिलो, औद्योगिक विकास तथा आणविक भट्टी सञ्चालन गरेका विकसित मुलुकले त्यसलाई न्यूनीकरण गर्ने कार्यक्रम ल्याउनुपर्छ भने अर्काेतिर नेपाल जस्ता अल्पविकसित मुलुकले जलवायु परिवर्तनको असरसँग अनुकूलन हुने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।  स्थानीय पराम्परागत ज्ञानलाई आधार मानेर कृषि, ऊर्जा, जैविक विविधता, जलस्रोतको व्यवस्थापनमा अनुकूलनका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।  नेपाल सरकारले यही कुरालाई ध्यानमा राख्दै राष्ट्रिय जलवायु अनुकूलन कार्यक्रम (नापा) निर्माण गरेको छ ।  
नापाले वर्गीकरण गरेका जलवायु परिवर्तनबाट अति सङ्कटापन्न, सङ्कटापन्न र कम सङ्कटापन्न क्षेत्र र समुदायमा सुधारिएको गोठ, जैविक मलको प्रयोग, थोपा सिँचाइ, आकाशे पानीको सङ्कलन तथा सदुपयोग गर्न घैँटो सिँचाइ प्रणालीको विकास, सिमसार तथा पानी मुहानको संरक्षण, प्लास्टिक पोखरीको निर्माण, वृक्षारोपण तथा वनजङ्गलको संरक्षण, सुधारिएको चुलो तथा वैकल्पिक ऊर्जाको स्रोतको विकासलगायतका कार्यक्रम सञ्चालन गरेर जलवायु परिवर्तनले पारेको असरसँग जुध्न सक्ने सीप तथा दक्षताको विकास गर्नु जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना