पत्रकारलाई प्रश्न

Luckyलक्की चौधरी




 

सामान्यतः ‘पत्रकारले अरूलाई प्रश्न गर्छ’ भन्ने बुझाइ छ ।  पत्रकारले प्रश्नमात्र गर्ने अरूले जवाफमात्र दिनुपर्छ भन्ने पत्रकारिताको धर्म हुँदै होइन ।  न त त्यो कुनै देशको संविधान, विधिविधान र ऐनमा लेखिएको विषय नै हो ।  पत्रकार आचारसंहितामा पनि त्यो कुरा उल्लेख छैन ।  नेपाल पत्रकार महासङ्घको विधानले पनि त्यो भन्दैन ।  ‘पत्रकारले प्रश्न गर्नुपर्छ’ भन्ने परम्परागत बुझाइ हो ।  पत्रकार अरूभन्दा भिन्नै, अरूलाई तर्साउँदै हिँड्ने, आफू चाहिँ जवाफदेही हुनै नपर्ने अर्कै ग्रहका व्यक्ति पनि होइन ।  पत्रकारिताको ‘ट्रेण्ड’ (प्रवृत्ति) हेर्दा सार्वजनिक सरोकारका ओहदामा बस्नेहरूलाई जिज्ञासा राखेर नागरिकका लागि जवाफ खोज्ने ‘ब्रिज’) पुल) मात्र हो पत्रकार ।  उसले आफ्ना लागि होइन, पाठक, स्रोता, दर्शक या आमनागरिकका लागि प्रश्न गर्छ ।  यसको अर्थ पत्रकारले मात्र प्रश्न गर्न पाउँछ अरूले पत्रकारलाई प्रश्नै गर्नु हुन्न पनि होइन ।  पत्रकारले जसरी अरूलाई जिज्ञासा गरेर कुरा खोतल्छ, त्यसरी नै सर्वसाधारणले पत्रकारलाई प्रश्न तेस्र्याउन छुट छ ।  पत्रकारलाई जिम्मेवार बनाउन पनि त्यसले मद्दत गर्छ ।
बेलाबखत पत्रकारप्रति थरिथरिका प्रश्न तेर्सिने गर्छन् ।  तर ती प्रश्नको जवाफ नआउँदै प्रश्न ओझेलमा पर्छन् ।  कारण, उत्तर दिने निकायले त्यसमा वेवास्ता गर्नु र प्रश्नकर्ताले ‘फलोअप’ नगर्नु ।  पत्रकारलाई प्रश्न गर्दा उल्टै फसादमा परिने पो हो
कि ! कतिपयको मनमा यस्तो मानसिक भय देखिन्छ ।  तर पत्रकार अरूलाई औंँलामात्र ठड्याउने हो, अरूले खुरुखुरु जवाफमात्र दिने हो भन्ने सोच्नु हुन्न ।  यस्तो सोचले पत्रकार जिम्मेवार बन्दैनन् ।  पत्रकारलाई परिपक्व र संवेदनशील बनाउने आम पाठक, स्रोता नै हो ।  
यसको जवाफ नागरिकले पाउनुपर्छ ।  पत्रकारिता पेशामा आउनेहरू पढ्नै नपर्ने होइन ।  कुनै न कुनै परीक्षा उत्तीर्ण गरेरै आएका हुन्छन् ।  हो, पत्रकारिताका केही मूल्य मान्यता र विशेषता छन् ।  पत्रकार हुन आमनागरिकले पढ्ने विषयले मात्र पुग्दैन ।  पत्रकारिता विषय या अभ्यासमा पत्रकार दक्ष हुनैपर्छ ।  अरूभन्दा अलि फरक ज्ञान नै पत्रकारको औजार हो ।  पत्रपत्रिका दर्ताका लागि ऐन नियममा योग्यताक्रम तोकिएको छ ।  सम्बन्धित क्षेत्रको अनुभवको समयको किटान गरिएको छ ।  त्यही नियमानुसार पत्रकारले पत्रिका दर्ता गर्छन् ।  पत्रकार बन्छन् ।  अरूले दर्ता गरेका सञ्चारगृहमा काम गर्न पाउँछन् ।  
पहिले नेपालमा पत्रकारका लागि अनुभव, योग्ताको मापदण्ड थिएन तर नेपाली पत्रकारिता तत्कालीन शिक्षास्तरमा बढी नै पढे – जानेका विद्वान्हरूले नै अगाडि बढाएका थिए ।  समयक्रममा औपचारिक शिक्षाका स्नाताकोत्तर होऊन् वा एसएलसी पास गरेका मात्र वा त्यो प्रमाणपत्र पनि देखाउन नचाहने होऊन्, सूचना सङ्कलन र लेखन क्षमताका आधारमा पत्रकार बनेको देखिन्छ ।  पत्रकरिताको सैद्धान्तिक उच्चशिक्षाको उपलब्धता यहीं भइसकेको अवस्थामा पनि पत्रकारिताको कुनै मूल्य मान्यता थाहा नभएका उद्योगपतिदेखि ‘क्याविन
गर्ल÷ब्वाई’ पत्रकार परिचयपत्र बोक्न थालेपछि पत्रकारको योग्यता निर्धारण गरिएको छ ।  
नेपाल पत्रकार महासङ्घको विधानको दफा ४ (१, क) मा महासङ्घको सदस्यता प्राप्त गर्न योग्यताक्रम निर्धारण गरिएको छ ।  पत्रकारिता वा अरू कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारितामा संलग्नलाई सदस्यता दिने, (ख) पत्रकारिता वा अन्य कुनै विषयमा उच्च माध्यमिक तह वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति तर महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारू, मुस्लिम, अपाङ्गता भएका, अल्पसङ्ख्यक, उत्पीडित वा पिछडिएका वर्गका लागि भने एक वर्षको पत्रकारिता अनुभव भए पुग्ने व्यवस्था छ ।  
त्यस्तै, प्रेस काउन्सिल नेपालको ०७२ फागुन १९ गतेको बैठकले पत्रकार हुन परीक्षा निर्धारण गर्नेसम्बन्धी एक कार्यदल गठन गरेको थियो ।  पत्रकारिता पेशामा प्रवेशपूर्व योग्यता परीक्षणको व्यवस्था के कसरी गर्ने ? कार्यदललाई कार्यक्षेत्र तोकिएको थियो ।  कार्यदलले पत्रकारिताका लागि छवटा तìवको निक्योल ग¥यो ।  (क) विशेष किसिमको सेवा प्रदान गर्ने, औपचारिक शिक्षा, तालिम र सीपको आवश्यक्ता ।  (ख) व्यवसायी र सेवाग्राहीबीचको गोपनीयताको सम्बन्ध (ग) विशेष ज्ञान र सार्वजनिक दायित्व (घ) आचारसंहिताको व्यवस्था र त्यसको अनुगमन (ङ) सार्वजनिक हित सम्बद्र्धन गर्ने दायित्व र (च) व्यावसायिक सङ्गठन र ऐक्यबद्धता ।  
सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिनाको संयोजकत्वमा गठित सो कार्यदलले अध्ययन प्रतिवेदन काउन्सिललाई बुझाइसकेको छ ।  कार्यदलले तीनवटा एकाइमा रही पत्रकारले परीक्षा दिनुपर्ने सुझाव दिएको छ ।  एकाइ १ मा २५० पूर्णाङ्कको पत्रकारिताको सामान्य परिचय, एकाइ २ मा ५० पूर्णाङ्कको अन्तर्वार्ता र एकाइ ३ मा १०० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा ।  यी तीन प्रकारका परीक्षा लिनुपर्ने सिफारिस कार्यदलले गरेको छ ।  विद्यालयमा उत्तीर्ण नभएपछि पत्रकार बन्छन् भन्ने आमनागरिकको आरोप छ ।  त्यसको खण्डनका लागि पनि पत्रकारिता परीक्षामा बस्न कुनै पनि विषयमा स्नातक उत्तीर्ण गरेका विद्यार्थीले परीक्षामा बस्ने पाउने योग्यताक्रम निर्धारण कार्यदलले गरेको छ ।  यसले पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउने बुझाइ कार्यदलको छ तर सो प्रतिवदेन बुझाएको वर्ष दिन बढी भए पनि काउन्सिलले त्यसबारे थप क्रियाकलाप अगाडि बढाएको छैन ।  
प्रायः पत्रकारले राज्य र सरकारलाई जिम्मेवार बनाउन पारदर्शिताको प्रश्न गर्ने गर्छ ।  सरकार सञ्चालन गर्नेलाई पारदर्शिताका लागि घच्घच्याउँछ ।  सार्वजनिक सरोकारका ओहदामा बस्नेमाथि प्रश्न वर्षाउँछ ।  यसले ती व्यक्तिलाई जिम्मेवार र पारदर्शी बनाउनमा मद्दत पुग्छ तर पत्रकार र उसको संस्था कति पारदर्शी छ भन्ने जिज्ञासा नागरिकबाट उठ्छ ।  हाल नेपालमा ठूलठूला सञ्चारगृह सञ्चालनमा छन् ।  त्यसमा क–कसको कति लगानी छ ? कुन आयस्रोतले त्यो गृह सञ्चालनमा छ ? यावत प्रश्नको उत्तर सञ्चारर्गहले दिनुपर्छ ।  पारदर्शी हुनुपर्छ ।  नागरिकको जिज्ञासा मेट्ने दायित्व सञ्चारगृह सञ्चालनकर्ताको हो तर अहिलेसम्म त्यसो हुन सकेको छैन ।  सञ्चारगृहको आम्दानीको स्रोत विज्ञापनमात्र हो कि अरू पनि
छ ? को कसले शेयर लगानी गरेका छन् ।  कालोधन शुद्धीकरणको माध्यम त बनाइएको छैन सञ्चारगृहलाई ? जवाफ दिनुपर्छ नागरिकलाई ।  मिडिया पारदर्शी हुन सकेमात्र अरूलाई जिम्मेवार र पारदर्शी बनाउन सकिन्छ भन्ने हेक्का पत्रकारले राख्नैपर्छ ।  
गोरखापत्र, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति र रेडियो नेपाल हालसम्म पूर्ण सरकारी स्वामित्व रहेका सञ्चारगृह हुन् ।  यिनका धेरै विषय सार्वजनिक छन् ।  वार्षिक बजेट, कर्मचारीले पाउने तलव सुविधादेखि आम्दानीको स्रोत र खर्च पारदर्शी छन्, राज्यको लेखापरीक्षण प्रणालीमा रहेका छन् तर निजीस्तरका ब्रोडसिटका पत्रपत्रिकाका, स्याटेलाइट माध्यमबाट प्रशारण भइरहेका टेलिभिजन गृहको लगानीको स्रोत के हो ? के कसरी सञ्चालनमा छन् ? पत्रपत्रिका के कति सम्प्रेषण हुन्छ, विज्ञापन त धेरै देखिन्छ तर राजश्व कति तिर्छन् ? पाठकलाई जानकारी छैन ।  किनभने ती सञ्चारगृहले यी विषय सार्वजनिक गर्दैनन् ।  सरकारी संयन्त्र पनि यसको वास्तविकता खोतली राजस्व असुली गर्न डराएको देखिन्छ ।  
संविधानको धारा २७ मा सूचनाको हकबारे व्यवस्था गरेको छ ।  सार्वजनिक सरोकारका विषय र अन्य विषयमा सूचना पाउने नागरिकको अधिकार हो ।  राष्ट्रिय सूचना आयोगको वैशाख ७ गते काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलनमा सहभागीमध्येबाट केहीले पत्रकार र राजनीतिक दलका सङ्घ संस्थाले सबैभन्दा बढी सूचना लुकाउने गरेको आरोप लगाए ।  सूचना अधिकारी पनि नतोकिएको गुनासो सुनाए ।  जिज्ञासा जायज छ ।  दलका नेता, पत्रकार र पत्रकारिता पारदर्शी हुनैपर्छ ।  त्यसले अरूलाई पनि पारदर्शी बन्न उत्प्रेरित गर्छ ।  
आमरूपमा यो प्रश्न छ ।  पत्रकारिता पेशा समाजप्रति उत्तरदायी हुन्छ ।  पत्रकारका लागि समाचार समाजबाटै आउँछ र सूचना र सामग्रीको उपभोग पनि समाजले नै गर्छ ।  समाजभन्दा बाहिर पत्रकारिताको अस्तित्वको कल्पनै गर्न सकिँदैन ।  पत्रकार महासङ्घको विधान, आचारसंहिता, सूचना र सञ्चारसम्बन्धी ऐन नियम सबैमा पत्रकार निष्पक्ष हुनुपर्छ भन्ने उल्लेख छ ।  कुनै दलीय विचार बोक्नु हुँदैन भनिन्छ तर पत्रकार आमरूपमा विभाजित छन् ।  दलीय विचारका नजिक छन् ।  पत्रकार महासङ्घको छाता सङ्गठनको नेतृत्वका लागि पनि दलीय विचारका आधारमा प्रतिस्पर्धा हुने गर्छ ।  सञ्चार गृह वैचारिक आधारमा सञ्चालनमा छन् ।  लगानी पनि त्यही रूपमा भइरहेको छ ।  मिडिया नै विभाजित हुँदा समाजमा सही सूचना सम्प्रेषण हुन सकिरहेको छैन ।  अरूलाई बाटो देखाउने पक्ष नै विभाजित भइदिँदा समाजले सही बाटो पकड्न सकिरहेको छैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना