गोपालराज वंशावली र किराँतीकाल

 Ganesh adhikariगणेश अधिकारी
 

 

गोपालकाल र महिषपालकाल पछिमात्र किराँतकाल शुरु भएको इतिहास छ ।  किराँतकालको इतिहास लेखनमा कुनै पनि पुराताŒिवक अभिलेख, मुद्रा, कला वा लिखत र वंशावली आदि केही पनि पाइएको छैन भनिन्छ ।  यसैकारण पनि किराँतकालको प्राचीन अस्तित्वमाथि इतिहासकारलेभन्दा अरूले यदाकदा शङ्का गर्ने गरेको पाइन्छ ।  गोपालकालको प्रमाणको रूपमा ‘गोपालराज वंशावली’ लाई लिइने गरिएको छ तर यो वंशावली पनि गोपालकालमै लेखिएको होइन ।  जयस्थिति मल्लको राज्यकालमा अथवा वि.सं. १४११ पछि लेखिएको हो ।  यो वंशावली सङ्ग्रह गर्ने सेसिल बेण्डाल थिए ।  विद्वान् बेण्डाल वि.सं. १९५५ मा नेपाल आएका थिए ।  उनैको मिहिनेतपछि यो वंशावलीको प्रकाशन भएको इतिहास छ ।
जयस्थिति मल्ल स्वयम् पनि नेपाली थिएनन् ।  कर्णाटवंशी मिथिला (जनकपुर) का राजकुमार जगतसिंकी छोरी राजल्लदेवीसँग विवाह गराउन विदेशबाट ल्याइएका थिए ।  यो सबै तारतम्य मिलाउने देवलदेवी थिइन्, जो मुसलमानको आक्रमणपछि मिथिलाबाट भागेर आएका हरिसिंहकी रानी थिइन् ।  शरण दिने राजा रुद्रमल्लकी नायकदेवी भन्ने विधवा छोरीमात्र थिइन् र यिनैसँग छोरा जगतसिंको विवाह गराइदिएपछि राजल्लदेवीको जन्म भएको थियो ।  देवलदेवीले वैधानिक राजप्रतिधि नातिनीसँग विवाह गराएपछि जयस्थिति मल्ल राजा हुन पुगेका थिए ।  भागेर आई शरण लिएर बसेकी भए पनि देवलदेवीको बठ्याइँले त्यसबखतको नेपालको राजकाज जस्केलातर्फबाट उनको हातमा थियो ।  नातिनी ज्वाइँ जयस्थिति मल्ललाई राजल्लदेवीको पछाडि राखेर राजकाज चलेको थियो ।
यिनै जयस्थिति मल्लको सहायताले कसैले तयार गरेको गोपालराज वंशावलीको पाण्डुलिपि सेसिल बेण्डालले भेटेका थिए ।  किराँतकालभन्दा अघिको गोपालराज वंशावली सङ्कलन गर्ने विद्वान् सेसिल बेण्डालले किराँत वंशावलीको किन खोज गरेनन् ? गोपालकालसँग उनको व्यक्तिगत रूपमा के सम्बन्ध हुन सक्थ्यो होला ? यस देशको मात्र होइन बरु यस भारतीय उपमहाद्वीपमै बसोबास गर्ने सबैभन्दा प्राचीन जातिमा पर्ने किराँतीसमेतको वंशावलीको खोजतलास गर्ने खालका विद्वान् थिए होलान् त बेण्डाल ? जातिको होइन, राजकाज गर्नेहरूको खोजी गर्थे होलान् भन्नलाई पनि गोपाल र महिषपाल वंशीहरूभन्दा धेरै लामो अवधिसम्म किराँतीको शासन चलेको थियो र पनि उनले खोजतलास किन गरेनन् होला भन्ने प्रश्न नजन्मने होइन ।  राजकाज नै चलाइदिने देवलदेवीको हातको प्रभाव जयस्थिति मल्लमा परेन होला भन्न सकिँदैन ।  आखिर सेसिल बेण्डालले सम्पादन गरेको पाण्डुलिपि त्यही न हो ।  
देवलदेवीको मृत्यु र गोपालराज वंशावलीको प्रकाशनमा समयको तारतम्य नमिले पनि किराँत वंशावलीको खोजतलास र त्यसबाट पर्न सक्ने प्रभावको बारेमा देवलदेवीको आफ्नै किसिमको विचार निर्माण भएको हुनुपर्छ ।  धार्मिक दृष्टिले किराँती शैवमार्गी थिए ।  देवलदेवी हिन्दु थिइन् ।  किराँतकाल लामो भएकाले भारतमा भएका एकीकरण र विखण्डनका सबै उथलपुथलको नेपालमा प्रभाव पर्न दिएनन्, किराँतीले ।  भारतको शक्तिशाली मगध राज्यमा बिम्बिसार, अजातशत्रु र नन्दवंशको प्रभावलाई तत्कालीन नेपालमा पर्नबाट किराँतीले रोकेको कुरा देवलदेवीजस्ता चतुर महिलालाई अवश्य थाहा थियो ।  भारतका ती सबै शासकसँग किराँतीले मिलेर, राम्रो सम्बन्ध राखेर नेपालको सार्वभौमिकता जोगाएका थिए ।  मानदेव शासनमा आउनेबित्तिकै पूर्वमा किराँतीहरूले विद्रोह गरेको इतिहास पनि देवलदेवीलाई थाहा भएर नै किराँत इतिहासको खोजतलासमा उनको नकारात्मक विचार बनेको हुनुपर्छ ।  कारण किराँतीहरू त त्यस बखत पनि छँदै थिए ।
आज २१औँ शताब्दीमा आइपुग्दा पनि हाम्रो यहाँका महिलाको स्थितिमा खासै सुधार आएको छैन भने त्यो बखतमा देवलदेवीका पनि केही सीमा थिएनन् भन्न सकिन्न तर उनले नायकदेवी जसलाई बुहारी बनाइन्, ती विधवा थिइन् ।  एउटा भारदारी षड्यन्त्रमा उनका पति मारिएका थिए ।  कतिपय इतिहासकारहले नायकदेवीका पति मारिनुमा देवलदेवीकै हात त थिएन ? भनेर शङ्का पनि गरेका छन् ।  राजकाजमा जे पनि हुन सक्छ र त्यो कुशलता देवलदेवीमा पक्का थियो तर यो कुरा पनि इतिहासमा त्यसरी नै लुकाइयो जसरी स्वयम् नातिनी ज्वाइँ जयस्थिति मल्लका पुर्खाहरूको लुकाइएको छ ।  
डा. पेशल दाहालले लेख्नुभएको इतिहासमा मात्र यो विवेचना भेटिन्छ ।  नेपालका अन्य इतिहासकारले समेत यसमाथि विशेष चर्चा गरेको पाइन्न ।  सायद देवलदेवीले नै जयस्थिति मल्ल स्वयम्को वंशको साँचो कुरा लुकाइदिने षड्यन्त्र गरेकी थिइन् ।  डा. दाहालका अनुसार गोपालराज वंशावली लेख्नेले जयस्थिति मल्लले गरेका पूजापाठसमेत उल्लेख गरेका छन् तर जयस्थिति मल्ल कसका छोरा थिए र उनलाई राजप्रतिनिधि राजल्लदेवीसँग विवाह गराउन कहाँबाट ल्याइएको थियो भन्ने कुरासम्म पनि लुकाइएको छ ।  यति षड्यन्त्र गर्नेले किराँतकालका पुस्ताबाहेक अन्य कुरा किन पो लेखाउनु थियो र ?
राज्यसत्ता हारजीतको लडाइँमा हार्नेको इतिहासलाई जित्नेले मेटाइदिन्छ ।  त्यसमा पनि गोपाल, महिषपाल, लिच्छवि र मल्लको धार्मिक मान्यता मिल्थ्यो ।  तिनीहरू सबै हिन्दु थिए तर शैवमार्गी किराँतीले आफ्नो शासनकालभरि राज्य गुमाएर आउने शाक्य, मल्ल, कोलीय र लिच्छवि आदिलाई हिन्दु भए पनि नेपालमा शरण दिएर राखे ।  उनीहरू सहिष्णु थिए ।  किराँतीलाई हराउने लिच्छविहरूले मेटाउन नसकेका किराँतीका प्रमाणमात्र आजको पुस्ताले भेटेको छ ।  ‘यल’ भनेर रहेको पाटनको नाम मेटिन सकेन ।  शासनको केन्द्र काठमाडौँलाई गाउँ नै गाउँले भरिदिएका थिए र यसको प्राचीन नाम ‘यें’ आज पनि सम्झिने गरिन्छ ।  किराँतीका प्रमाणै प्रमाणले भरिएको ‘यें’ मा आज ‘काठमाडौँले त्यसमाथि शहर बसाएको छ’ भन्नुहुन्छ प्रपन्नाचार्य ।  यसरी किराँतकालका प्रमाण झन् पछि झन् अप्राप्य हुँदै गइरहेका छन् ।  गोपालराज वंशावलीलाई त्यसको एउटा शुरुआत मान्दामान्दै पनि किराँतकालका आज भएका प्रमाणको आधार पनि फेरि त्यही वंशावली मात्रै हो  ।
‘नेपालको प्रशासनिक ढाँचा पहिलोपल्ट किराँती युगमा नै स्थापित भएको बुझिन्छ’ भन्नुभएको छ इतिहासकार डा. दाहालले ।  राजस्व उठाउने तथा भूमि प्रशासनसम्बन्धी सम्पूर्ण कामका लागि ‘कुथेर’ अधिकरण (अड्डा ), न्याय व्यवस्था हेर्नका लागि ‘शुल्ली’ अधिकरण, कुलोपानी र यातायात व्यवस्था हेर्नका लागि ‘लिंग्वल’ अधिकरण, सामाजिक व्यवस्था हेर्नका लागि ‘मापचोक’ अधिकरणको प्रशासनिक ढाँचालाई लिच्छविहरूले पनि इन्कार गर्न नसकेपछि उनीहरूको शासनमा पनि ती अड्डा कायम रहे तर यी शब्द पनि ‘किराँती भाषाभित्रका’ थिए भनेर शोधकार्यको आवश्यकता छ ।  ‘दश मगर दश भान्सा तर एक भाषा’ भनेजस्तो ‘दश किराँती एक भान्सा तर दश भाषा’ भनिन्छ ।  यसले के सजिलो भएको छ भने कुथेर, शुल्ली, लिंग्वल र मापचोकलाई किराँतीका दशै भाषाभित्र खोज गरिने क्षेत्र फराकिलो छ ।
खोजतलासको यसै सेरोफेरोमा करिब पाँच वर्ष अगाडि इतिहासकार दिनेशराज पन्तले ‘प्रथम किराँत राजा यलम्बरको समय’ नाम दिएर एउटा सानो तर महŒवपूर्ण पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशनमा ल्याउनुभएको छ ।  विद्वान् पन्तले यस पुस्तकमार्फत ‘नभएको किराँतकाल’ भन्नेहरूलाई चोटिलो जवाफ पनि दिनुभएको छ ।  लिच्छविकालका करिव दुई सय अभिलेखको अध्ययनपछि उहाँ ‘लिच्छविकालभन्दा अघि किराँतकाल थियो भन्ने कुरामा शङ्का गर्ने ठाउँ रहँदैन’ भन्ने निष्कर्ष दिनुहुन्छ ।  लिच्छविकालको राष्ट्रभाषा संस्कृत थियो तर उनीहरूले लेखे लेखाएका अभिलेखमा जोडिएर आएका यस्ता अनेक शब्द छन् जो किराँत भाषा परिवारका हुन् ।  ती भाषाका शब्द खास गरेर मुख्यमुख्य अड्डा, खोला, बस्ती, पोखरी, डाँडा, वन, सोतो र कर जस्ता शब्द लेखिनुपर्ने स्थानमा प्रयोग भएर अभिलेखमा बसेका छन् ।  वि.सं. ५३५ देखि ९०५ सम्मका प्रायः काठमाडौँ उपत्यकाभित्र प्राप्त भएका अभिलेखमा यी शब्द पाइएका छन् ।
स्थानाभावका कारण अभिलेखमा भएको एउटा गाउँको नाम ‘किचप्रिचिङ’ र एउटा नदीको नाम ‘चुप्रिङ’ मात्र यहाँ लिने कोसिस गरिएको छ ।  खोटाङ जिल्लामा एउटा गाविसको नाम नै ‘चिप्रिङ’ छ ।  सो गाविसको सिरान हुँदै पुछारतर्फ बग्दै टुवाखोलामा मिसिएर कोशीमा गएर खस्ने एउटा नदीको नाम पनि ‘चिप्रिङ’ खोला छ ।  यो गाविस समेत जम्मा आठ वटा गाविसको समूहको गाउँपालिकाको नाम नै यतिखेरको स्थानीय तहको पुनःसंरचनामा त्यहाँका मानिसले ‘खोटेहाङ गाउँपालिका’ भनेर नामकरण गरे ।  कारण थियो प्राचीन पहिचानको ।  किराँतकालमा ‘खोटेहाङ’ भन्ने राजाले शासन गरेको स्थान हुनाले यसको नामकरण उनैका नामबाट हुन पुगेको छ ।  किचप्रिचिङ र चुप्रिङबाट ‘चिप्रिङ’ हुनु अत्यन्त स्वाभाविक लाग्छ ।  
पन्तले खोजेर निकाल्नुभएका किराँतभाषाका शब्द किराँतीका १० थान भाषा परिवारभित्र खोज्दै जाने हो भने ती शब्दको पुष्टि हुने सम्भावना शतप्रतिशत देखिन्छ ।  भाषाविद् डा. तारामणि राई ती १० भाषा परिवारमध्येको एक भाषाभित्र पर्नु हुन्छ ।  उहाँबाट खोजतलास हुने आशा गर्दा गोपालराज वंशावलीमा किराँतीकालका नदेखिएका प्रमाणसमेत बाहिर आउने विश्वास लिन सकिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना