रास्कोटमा गाडी पुग्दा स्थानीयवासीले मनाए खुसीयाली

बिस्नप्रसाद न्यौपाने

कालिकोट वैशाख १६ गते । कालिकोट जिल्लाको रास्कोट क्षेत्रमा पहिलो पटक गाडी पुग्दा स्थानीय नागरिकहरुले खुसीयाली मनाएका छन् । सन् २०१३ देखी जिल्लाको रास्कोट क्षेत्रलाई सडक संजालसँग जोड्न ग्रामिण पहुँच तेस्रो चरणको कार्यक्रमले समयमै काम सम्पन्न गरी रास्कोट नगरपालिकामा गाडी गुडाएपछि त्यहाँका नागरिकहरुले खुसीयाली नै मनाएका हुन् ।
नेपाल सरकार र बेलायत सरकारको अन्तराष्ट्रिय विकास विभागको सहयोगमा जिल्ला विकास समिति कालिकोटद्धारा संचालित ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणलेसडक संजालबाट बंचित भएका जिल्लाको रास्कोट क्षेत्र र पलाता क्षेत्रमा श्रममा आधारित, वातावरण मैत्री, सभागितात्मक पद्दती, र कुनै बिष्फोटक पदार्थ तथा भारी उपकरणहरुको प्रयोग विनानै अधिकतम स्थानिय श्रोत, साधन, र जनशत्तीको प्रयोग गर्दै सडक निर्माण कार्य गर्दै आएको छ । कर्णाली करिडोर अन्तरगत शान्निघाटदेखी रास्कोट नगरपालिकाको सेरा चौरसम्मको १८ किलोमिटर सडकमा गाडी गुडाएपछि स्थानिय नागरिकहरुले पहिलो पटक गाडी सहित रास्कोटमा पुग्ने गाडी सहित अतिथिहरुलाई नागरिक अभिनन्धन समेत गरेका छन् ।
ग्रामिण पहुँच तेस्रो चरण कार्यक्रमका कार्यक्रम संयोजक बिष्णुराम बिष्टले रास्कोटमा सडक निर्माणसँगै स्थानीय स्तरमा प्रयाप्त मात्रामा रोजगारीको सृजना गर्दै विपन्न तथा पछाडि पारिएका वर्ग तथा समुदायहरुको जीवनस्तरमा महत्वपूर्ण परिवर्तन ल्याईरहेको बताउनुभयो । उहाँले यस परियोजना मार्फत कालिकोट जिल्लाको शान्निघाट फुकोट स्यूना सिपखाना सडकखण्डको १८ किमी र जारकोट राम्नाकोट सडक खण्डको ६ किमी सडक खण्डमा निर्माण कार्य संचालन भईरहेको जानकारी दिनुभयो । जस मध्ये जारकोट राम्नाकोट सडक खण्ड हाल निर्माणाधीन अवस्थामा छ भने शान्निघाट फुकोट स्यूना सिपखाना सडक खण्डको १८ किलोमिटर जिल्ला विकास समिति कालिकोटका लेखा अधिकृत हरी क्षेत्री, जिल्ला प्राविधिक कार्यालयका प्राबिधिक कम्मर बम, ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणका डेपुटी प्रोग्राम म्यानेजर डिल्लीप्रकास सिटौला, सम्पत्ती व्यवस्थापन विशेषज्ञ मनोजकृष्ण श्रेष्ठ, ग्रामिण पहुँच तेस्रो चरण जिल्ला टिमलिडर विष्णुराम विष्ट लगायत अन्य सरोकारवालाहरुको उपस्थितीमा परीक्षणका रुपमा गाडी गुडाईएको छ ।
अक्टोवर २०१३ देखि उक्त १८ किमी सडक खण्डमा कार्य संचालन गरेको यस परियोजनाले आफ्नो निर्धारित समय मार्च २०१७ मा आफ्नो लक्ष्य अनुरुपको कार्य गरी समुदायको मन जित्न सफल भन्दै जिल्लाका सरोबारवालाहरुले धन्यबाद दिएका छन् । २ वटा स्थानीय सडक समन्वय समिति, ५ वटा स्थानीय सडक उपभोक्ता समति, ५४ वटा सडक निर्माण समुह, १८ वटा विशेष सडक निर्माण समुह, ६ वटा बोल्डर ब्रेकिग समुह तथा २ वटा ड्रिल मेसिन समुह मार्फत कार्य सम्पन्न गरिएको यस सडक खण्डमा महिला र पुरुष गरी जम्मा १ हजार ४ सय ८६ जना मजदुरहरुले काम गरेका थिए । जिल्लामै पहिलो पटक महिला पुरुष समान ज्यालाको पनि सुरुवात गरेको यस परियोजनाले जिल्लामै नमुना काम गरेको भन्दै जिल्लामा थप सडक निर्माणका लागि पनि अनुरोध गरिएको छ । raskot
सुरक्षित काम र प्रभावकारी विकासमा जोड दिदै बातावरण संरक्षणका लागि बायो ईन्जिनियरिंग गर्ने कार्य गरिएको थियो भने सडकले प्रभावित गरेको स्थानहरु जस्तै घर, गोठ, पैदल हिड्ने बाटो, खानेपानी पाईप, धारा, पोखरी, चौतारो आदिलाई पुनः स्थापित गर्ने कार्यले परियोजनालाई थप प्रभावकारी बनाएको थियो । अनुमानित लागत रु ३२ करोड ८१ लाख ६ हजार २ सय ९५ रहेको उक्त परियोजनामा हालसम्म ३१ करोड ९६ लाख ८२ हजार ७ सय २३ रुपैया खर्च भईसकेको आयोजनाले जनाएको छ । हरेक समुहहरुमा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता, सडक निर्माण कार्यबाट प्राप्त ज्याला रकमको १० प्रतिशत अनिबार्य बचत बापत रु २ करोड १६ लाख ७७ हजार ५ सय १३ रुपैया जम्मा भएको छ । समुहको बचत रकमबाट कुटानी पिसानी मिल संचालनमा छ भने गाऊ घरमा तरकारी खेती, कुखुरा पालन, खुदा्र पसल, स्थानीय बजारमा तरकारी पसल तथा होलट व्यवसाय सुरुवात भएका छन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना