अनौपचारिक क्षेत्रका कामदारको अवस्था उस्तै

सीता शर्मा

काठमाडौँ, वैशाख १८ गते । एक सय अठ्ठाइसौँ अन्तर्राष्ट्रिय श्रमिक वा ‘मे’ दिवस सोमबार नेपालसहित विश्वभर मनाइँदैछ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरूको नेतृत्व गर्नेहरूले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्तिविकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष उत्सव जस्तै गरी यो दिवस मनाउने गरिन्छ तर नेपालमा वास्तविक श्रमिकको अवस्था अहिले पनि खासै माथि उठ्न सकेको छैन ।
अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकमाथि हुने श्रम, आर्थिक, शारीरिक शोषण अति नै चर्को छ भने औपचारिक क्षेत्रमा काम गर्ने श्रमिक पनि न्यून तलब, सामाजिक सुरक्षा अभाव, अस्थायी, करार, वृत्तिविकासको अनिश्चितता, चर्को श्रम शोषणबाट मुक्त हुन नसकेको टे«ड युनियनकर्मीहरू बताउँछन ।
नेपाल टे«ड युनियन काँग्रेसका उपाध्यक्ष रमा पौडेलले नेपालमा झण्डै साढे सात दशकअघि सुरु भएको मजदुर आन्दोलनबाट नीतिगत रूपमा धेरै उपलब्धि भए पनि व्यावहारिक कार्यान्वयन असाध्यै कमजोर भएको बताउनुभयो । उहाँले भन्नुभयो, सबैभन्दा बढी समस्या अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरले भोगेका छन्, अहिले पनि समान काममा ज्यालामा विभेद छ, असाध्यै जोखिमयुक्त क्षेत्रमा काम गर्ने मजदुरलाई सुरक्षा व्यवस्था छैन, त्यहाँ काम गर्ने महिला मजदुरको अवस्था अझै दर्दनाक छ । majdur
बन्दै गरेको नयाँ श्रम ऐनले अनौपचारिक क्षेत्रका मजदुरका मुद्दाहरू धेरै हदसम्म समेटिएको बताउँदै उपाध्यक्ष पौडेलले उक्त ऐन व्यवस्थापिका संसद्बाट पारित भएर आउने अन्तिम प्रक्रियामा रहेको र यसलाई टे«ड युनियनका अगुवाहरूले मजदुर आन्दोलनका उपलब्धिका रूपमा लिएको जानकारी गराउनुभयो ।
नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट) नेपालका पूर्वउपाध्यक्ष बीना श्रेष्ठले संविधानबाट श्रमिकका आधारभूत अधिकारका रूपमा रहेको टे«ड युनियन अधिकार, सामाजिक सुरक्षाको अधिकार, बेरोजगार अन्त्य गरी रोजगारीको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, खाद्यान्न, खानेपानीको अधिकारलाई मौलिक हकमा रूपमा सुनिश्चित हुनु श्रमिक आन्दोलनको ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले ‘यसले मुलुकका श्रमिकलाई सङ्गठित गर्ने र सङ्गठित श्रमिकको माध्यमबाट श्रमिकको हकहितका साथै देशको आर्थिक विकासमा परिचालित गर्ने आधार तयार भएको छ, भन्नुभयो
जिफन्टअन्तर्गतको निर्माण मजदुर व्यवसायी महासङ्घका अध्यक्ष नरनाथ लुइँटेलले श्रमिकका हकहितको संरक्षण र सम्बद्र्धनका लागि ल्याउने अन्तिम तयारी भइरहेको श्रम ऐन २०७२ मा श्रमिकविरोधी प्रावधान समावेश गरिनु नै सबैभन्दा बढी दुःखलाग्दो अवस्था हो भन्नुभयो ।
संयुक्त राज्य अमेरिकास्थित सिकागो सहरका श्रमिकहरूले आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा विश्राम भन्ने तीन सूत्रीय माग राखी आन्दोलन गरेको सम्झनामा सन् १८९० देखि मनाउन थालिएको दिनको सम्झनामा श्रमिक दिवस विश्वभर मनाउने गरिएको इतिहास भेटिन्छ । त्यो समयमा श्रमिकले दैनिक आठ घण्टा काम गर्ने वातावरणका लागि भनेर आन्दोलन गरिरहेको बेलामा अपरिचित एक व्यक्तिले प्रहरीमाथि बम फालेको र बदलामा प्रहरीको जवाफी हमालामा धेरै जना निर्दोषहरूको ज्यान गएको घटनाको सम्झनास्वरूप संसारभरिका श्रमिक दिवस मनाउने गरिन्छ तर नेपालमा २००७ सालदेखि नै भूमिगत रूपमा श्रमिक आन्दोलन गर्दै आएको भए पनि खुला रूपमा २०४६ सालमा प्रजातन्त्र बहाली भएपछि मात्रै श्रमिक सङ्गठित भएर काम गरेको पाइन्छ ।
तथ्याङ्क अनुसार नेपालमा सङ्गठित र असङ्गठित गरेर एक करोड २० लाख श्रमिक छन् जसमा ९० प्रतिशत असङ्गठित क्षेत्रमा काम गर्दछन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना