भैरहवा भन्सारको स्तरोन्नति आवश्यक


लक्ष्मण पौडेल

भैरहवा, वैशाख १९ गते ।  भैरहवा देशकै आर्थिक केन्द्रको रूपमा रुपान्तरित हँुदै गएपछि बेलहिया भन्सारको स्तरोन्नति गर्नुपर्ने आवश्यकता देखिएको छ ।  अहिलेकै गतिमा औद्योगिक विकास अगाडि बढ्ने हो भने निकट भविष्यमै यो भन्सारले आयात–निर्यातको चाप थेग्न नसक्ने भन्सार अधिकारी बताउँछन् ।  
भैरहवा भन्सार कार्यालयले अहिले नै आफ्नो यार्डले नपुगेर आइसीपीको ५२ बिघा क्षेत्रफलमा थप यार्ड बनाइरहेको छ ।  हाल  त्यहाँ माटो भरेर ग्राभेल गर्ने काम सकिएको छ ।  “यसै पनि अघिल्लो वर्षको नाकाबन्दी र बन्द हडतालपछि भैरहवा नाकाबाट आयात–निर्यात बढ्न थालेको छ, भोलि विशेष आर्थिक क्षेत्र सञ्चालनमा आउँदा र  उद्योगहरू बढेपछि तयारी वस्तुको निर्यात एवं कच्चा पदार्थको आयात थप बढ्ने छ”–भैरहवा भन्सारका सूचना अधिकारी गोपाल भट्टराईले भन्नुभयो– “त्यही भएर अहिलेदेखि नै पूर्वाधार बढाउने काम सुरु गरेका हौँ । ”bhairahawa
नाकाबन्दीका बेला आयात–निर्यात सहज बनाउने मुख्य भूमिका खेल्नुभएका रूपन्देहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भैरहवा भन्सारको पूर्वाधार विस्तार गरेर मात्रै आयात–निर्यातको क्षमता बढाउन सकिने बताउनुभयो ।  “मैले नाकाबन्दीकै बेला भन्सार सुधारको महसुस गरेको थिएँ, अब उद्योगीहरूको रोजाई भैरहवा पर्न थालेपछि भन्सारको स्तरोन्नति नगरी सुखै छैन”–उहाँले भन्नुभयो ।
पूर्वाधार कमजोर भएकै कारण कुल भन्सार राजस्वमा १४.०७ प्रतिशतको योगदान पु¥याउने देशकै दोस्रो ठूलो नाका भैरहवा भन्सार क्षेत्रभित्र सामान बोकेर भित्रिएका गाडीको ‘क्लियरेन्स’ मा समस्या छ ।  यो भन्सार नाकाबाट दैनिक तीन सयदेखि साढे तीन सय मालबाहक ट्रक भित्रिन्छन् ।  ट्रान्स नेपालले सञ्चालन गर्दै आएको यो क्षेत्रको मर्मतसम्भार नहुँदा मालबाहक सवारी साधन आवतजावतमा झनै कठिनाइ छ ।  कम्पनीले प्रतिमालबाहक सवारीसँग एक सय ८० देखि पाँच सय रुपियाँसम्म शुल्क लिन्छ ।
निर्माण भएको झन्डै डेढ दशकभन्दा बढी समयमा एक पटक पनि मर्मत नहँुदा सो क्षेत्रको अवस्था जीर्ण हुनु स्वाभाविक भएको सूचना अधिकारी भट्टराईले बताउनुभयो ।  अत्यधिक चापलाई व्यवस्थापन गर्न भन्सार क्षेत्र बाहिरको एकीकृत भन्सार सेवा केन्द्र निर्माणस्थलमा अस्थायी केन्द्र निर्माणको पहल भइरहेको उहाँको भनाइ छ ।
आयात निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले अस्थायी केन्द्रको निर्माण भइरहेको हो ।  नेपालतर्फको आइसीपीको भौतिक निर्माणको सम्पूर्ण जिम्मा लिएको भारतीय पक्षले यससम्बन्धी ठेक्कासमेत आह्वान गरेको देखिंदैन भने अहिले नेपालतर्फको काम पनि जग्गा प्राप्तिमा रुमलिइरहेको छ तर अब सबै सुख्खा बन्दरगाह निर्माण हुनेतर्फ प्रक्रिया अगाडि बढिसकेको भट्टराईको दाबी छ ।  आइसीपी र सुख्खा बन्दरगाहमा रेल प्रयोग गर्दा कोलकाताबाट नेपालको सुख्खा बन्दरगाहसम्म कन्टेनर रेलबाट सामान ढुवानी गर्न २० दिनभन्दा कम लाग्छ ।  साथै ढुवानी खर्च, समयको बचत तथा बैंक ब्याजसमेतमा कम लागत पर्ने नेपाली व्यवसायीको भनाइ छ ।  आइसीपी सञ्चालनमा आएपछि निकासी बढ्ने उनीहरूको दाबी छ ।
लुम्बिनी अञ्चलको रूपन्देही जिल्लामा रहेको भैरहवा भन्सार कार्यालय राजस्व सङ्कलनका क्षेत्रले दोस्रो ठूलो भन्सार कार्यालयको रूपमा रहेको छ ।  यस भन्सार कार्यालयको कार्यक्षेत्रको रूपमा रूपन्देही र नवलपरासी दुई जिल्ला रहेका छन् ।  यस भन्सार कार्यालय अन्तर्गत १२ वटा छोटी भन्सार कार्यालय रहेकोमा हाल सातवटा भन्सार कार्यालयहरू पूर्णरूपमा सञ्चालनमा रहेका छन् ।  पर्यटन आगमनका हिसाबले समेत महìवपूर्ण रहेको यो भन्सार कार्यालय त्रिभुवन विमानस्थल भन्सार कार्यालयपछिको ठूलो पर्यटकीय प्रवेशद्वारको रूपमा समेत चिनिन्छ ।  
यस भन्सार कार्यालयबाट मुख्यरूपमा चार पाङ्ग्रे सवारी साधनहरू जिप, कार, भ्यान, मोटरसाइकल, विलेट्स, मार्बल, टायल्स, पेट्रोलियम पदार्थ, क्लिङ्करलगायतका वस्तुहरू पैठारी हुने गरेका छन् ।  निकासीतर्फ मुख्यरूपमा सेन्थेटिक यार्न, पिना, चोकर, फापर, कोदो, जडीबुटी र खाधान्न वस्तु निकासी हुने गरेका छन् ।  
आयातको तथ्याङ्कलाई हेर्दा झण्डै ९८ प्रतिशत भारतीय वस्तुको आयात रहेको छ भने दुई प्रतिशतको हाराहारीमा तेस्रो मुलुकका वस्तुहरू हुने गरेका छन् ।  कुल व्यापारमध्ये करिब ९४ प्रतिशत आयातको अंश र ६ प्रतिशत निकासीको अंश रहेको छ ।
अहिले वीरगञ्ज शान्त भइसक्दा समेत भैरहवाबाटै वस्तुहरू आयात घटेको छैन ।  नेपालमा सबैभन्दा बढी राजस्व संकलन हुने गाडीबाट हो ।  व्यवसायीले भैरहवाबाट गाडी ल्याउन थालेपछि एक दिनमा ४०÷५० करोडसम्म राजस्व असुली भएको सूचना अधिकारी भट्टराईले बताउनुभयो ।
सामान्य समयमा कुल भन्सार राजस्वको करिब १४ प्रतिशतमात्र भैरहवाबाट उठ्ने गरेको थियो तर, पछिल्ला वर्षहरूको आयात हेर्दा अब क्रमशः दोब्बर हुने अनुमान गरिएको छ ।  अगामी दिनमा भन्सार राजस्वमा भैरहवाको योगदान बढ्दै जाने प्रमुख शाक्यले बताउनुभयो ।
तर बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जाको ब्याज बढाएपछि त्यसको प्रत्यक्ष असर सवारी साधनको आयातमा देखिएको छ ।  शाक्यका अनुसार बैंक ब्याजको प्रभाव आयात निर्यात व्यापारमा पर्दा भन्सारको राजस्व असुलीमा फागुनमा २१ प्रतिशत र चैतमा ६ प्रतिशत नोक्सान पुगेको छ ।
“हिजोका दिनमा पनि अवरोध भएन, भोलिका दिनमा पनि यहाँ अवरोध हुनेवाला छैन” शाक्यले भन्नुभयो–“यही कारण भैरहवा व्यापारिक नाका तथा औद्योगिक क्षेत्रका रूपमा स्थापित भयो । ” भैरहवा वीरगञ्जको हाराहारीमा आउन सक्ने नाका हो भन्ने स्थापित गरेको उहाँको भनाइ छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना