विदेश पुगेका महिला ऋण बोकेर फर्किन्छन्

पथरी (मोरङ), वैशाख २० गते । भनिन्छ सबैभन्दा साह्रो ढुङ्गा र त्योभन्दा पनि साह्रो आर्थिक अभाव । तर आकाशको जून झारिदिने सपना देखाएका पे्रमीले कमाउलान् र खुवाउलान् भन्ने उमेरमा हिंसा गरेपछि मोरङको केरौन–५ भौसावारीकी दुर्गा पाठक (कटुवाल) विना योजना र तयारी वैदेशिक रोजगारीमा कुवेत हानिनुभयो ।

न त भाषाको ज्ञान थियो । न कुनै तालिम र सीप नै हातमा थियो । जीवनभरि सँगै जिउने प्रतिज्ञा गरेको आफ्नै पतिदेवले राक्षसी रुप देखाएपछि दुर्गाका लागि आफ्नोे भन्ने संसारमा कोही नभएको महसुस भयो । आफँैले रोजेर उपल्लो जातको केटासँग गएका कारण माइती र आफन्तजनमा पनि दुर्गालाई हेर्ने दृष्टिकोण सच्चिन सकेको थिएन । छोरीले आफ्नै ढङ्गले दुःख पाई भन्ने बाबुआमाको बुझाइ थियो । १५ र १३ वर्षका दुईजना छोरा भए पनि उनीहरू आमालाई न्याय दिलाउन सक्ने भइसकेका थिएनन् ।

गाउँकै साहुसँग रु ४५ हजार ऋण काढेर उहाँ २०६५ साल असारमा भारतको मुम्बईबाट कुवेत पुग्नुभयो । त्यो पनि निक्कै कष्टका साथ । तर उहाँको पैसा कमाउने सपना पानीको फोका झैँ बन्यो ।

केटाकेटी स्याहार्ने कामका लागि कुवेत पुग्नुभएकी दुर्गा भन्नुहुन्छ, “२२ दिन बसेँ, काम सजिलै थियो, तर पैसाको अनुहार देख्न पाइएन । खान पेटभरि पाइन ।” भाषा नबुझेपछि जहिल्यै गाली गरेजस्तो मात्र लाग्यो, उहाँ भन्नुहुन्छ । बिहानले दिनभरको सङ्केत दिन्छ भने झैँ दुर्गाले कुवेतमा पैसा कमाउने आशा मार्नुभयो र आफ्नै देशमा पाखुरा बजार्ने दृढ सङ्कल्प गर्नुभयो । तर अमिरको घरबाट निस्केर हिँड्न झनै गाह्रो थियो । बजार जाने बहाना बनाएर उहाँ आफ्नो झिटीझाम्टी सबै छोडेर नेपाल फर्कनुभयो, मात्र एकसरो लुगामा, त्यो पनि कहिल्यै पेटभरि खान नपाई ।

दुर्गा त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । दुर्गाजस्ता धेरै आमा गरिबी, घरेलु हिंसा र पारिवारिक अपमान लुकाउन वैदेशिक रोजगारमा जाने गरेका छन् । तर सीप, तालिम र भाषाको ज्ञान नहुँदा झनै ठूलो पीडाको भारी बोकेर स्वदेश फर्किरहेका छन् उनीहरू ।

विसं २०६६ साल साउनमा मोरङको केरौन–६ की कल्पना ओझा पनि झोलाभरि पैसा बोकेर आउने सपना लिएर लेबनान जानुभयो । तीन महिनामा एक रुपैयाँ पनि कमाई नभएपछि कल्पनाको सपना तासको महल झैँ ढल्यो । साहुले रोगी र काम गर्न नसक्ने भन्दै निकालिदियो ।

त्यसपछि अर्को घरमा सरेको बताउँदै कल्पना थप्नुहुन्छ–“मलाई रक्तस्राव भयो । २८ दिनसम्म उपचार पनि गरायो । निको भएपछि उसले पनि घरमा नराख्ने भयो ।” अर्काको देश, न भाषा बुझ्नु, न भेषमा मिल्नु, वैदेशिक रोजगार नै घाँडो भयो कल्पनालाई ।

स्वदेश फर्कन पाए गिट्टी कुटेर खाने हिम्मत पलायो उहाँमा । खाडी राष्ट्रमा भारतीय बाटो गरेर अवैधरुपमा पुगेका महिलालाई घर फर्कने कानुनी प्रक्रिया अप्ठ्यारो छ । उहाँ १८ दिनसम्म जसले लगेको हो उसैको त्यहाँको सम्पर्क कार्यालयमा बस्नुभयो पाउरोटी र पानीको भरमा । कार्यालयमा धेरै जिद्दी गरेपछि उहाँ नेपाल त फर्कनुभयो तर झनै ठूलो ऋण बोकेर । नेपाल फर्किंदा उहाँलाई रु एक लाख रुपैयाँ ऋण लागिसकेको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना